नेपाली फिल्म ‘पहाड’को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक भएको छ। निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत र शिव परियार र भारती घिमिरेको स्वर रहेको छ।
फिल्मका सबै कलाकार समेटीएका गीतमा अभिनेत्री पन्चमी घिमिरे शंख फुक्दै गरेको देख्न सकिन्छ। गीतमा पञ्चमीसँगै अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ।
यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिने निर्देशक घिमिरेले बताए। उनले भने, ‘हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरी यो गीतलाई तीन रात खिचेका थियौँ, फिल्मको महत्त्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकांश कलाकारलाई फिचर्ड गराएका छौं।’
आउँदाे वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्या चित्रण गरिएको छ।
प्रकाशित: १७ चैत्र २०८२ १३:१८ मंगलबार