कला/साहित्य

अभिनेता खानमाथि आक्रमण प्रयास भएको खुलासा, अदालतमा बयान

बलिउड अभिनेता सलमान खानमाथि समय–समयमा विभिन्न धम्की आइरहेका छन्। 

उनको मुम्बईस्थित निवास ग्यालेक्सी अपार्टमेन्ट बाहिर यसअघि पनि पटक–पटक गोली प्रहारका घटना भएका छन्। २०२४ अप्रिलमा सोही स्थानमा भएको गोलीकाण्डसम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन छ। शनिबार उक्त मुद्दाको सुनुवाइका क्रममा उनका अंगरक्षकले महत्वपूर्ण बयान दिएका छन्।

शनिबार विशेष अदालतमा बयान दिँदै अंगरक्षकले अभिनेतामाथि हत्या प्रयास भएको बताएका छन्। यद्यपि बयान दिने अंगरक्षकको नाम सार्वजनिक गरिएको छैन।

समाचार एजेन्सी पीटीआईका अनुसार उक्त मुद्दा गत महिनादेखि सुरु भएको हो। अदालतमा उनले दिएको बयानअनुसार दुई जना मोटरसाइकल सवार व्यक्तिले अपार्टमेन्टतर्फ ४–५ राउन्ड गोली प्रहार गरेका थिए। घटना २०२४ अप्रिल १४ को बिहान भएको थियो। सुरुमा उनले उक्त आवाजलाई “पटाका जस्तो” ठानेका थिए। पछि सिसिटीभी फुटेज हेर्दा हेलमेट लगाएका दुई व्यक्तिले गोली चलाएको पुष्टि भएको थियो।

घटनाको समयमा सलमान खान आफ्नो शयनकक्षमा रहेका थिए। गोली प्रहार गर्ने व्यक्तिहरू घटनालगत्तै फरार भएका थिए। प्रहरीले प्रयोग गरिएको ७।६२ पिस्तोल ताप्ती खोलाबाट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनामा विक्की गुप्ता र सागर पाल संलग्न रहेका छन् भने लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोई हालसम्म फरार छन्।

प्रकाशित: २० वैशाख २०८३ १२:१३ आइतबार