कला/साहित्य

‘अभिमन्यु : च्याप्टर-१’ ले पायाे उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु : च्याप्टर-१’ चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।ललितपुरस्थित लविम महलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर-१’ लाई उत्कृष्ट भनेका छन्।

चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन्। प्रिमियरमा बाक्लो संख्यामा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्ने बताएका छन्।

कौतुहल सिर्जना गर्ने कथा सिनेमाको बलियो पक्ष भएको भन्दै त्यसमा कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया निर्देशक, कलाकार र  निर्माताहरूले प्रतिक्रिया दिएका छन्।

‘अभिमन्यु : च्याप्टर-१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गरेका छन्। प्रिमियर शो हेरिसकेपछि कुरा गर्दै उनले ‘अभिमन्यु : च्याप्टर-१’ को कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिए।

कुराकानीमा दिव्यदेवले फिल्ममा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिए। उनले भने, "सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परा यो फिल्मले तोडेको छ। पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ।"

फिल्मको मेकिङ पक्षको प्रशंसा गर्दै दिव्यदेवले निर्माता विनोद (विनोद पौडेल) को आँटको कदर गरे।

उनले भने, "विनोद दाइले 'पूर्णबहादुरको सारङ्गी' मा जस्तै यसमा पनि 'अन्डररेटेड' (प्रतिभा भएर पनि ओझेलमा परेका) कलाकारहरूलाई विश्वास गर्नुभएको छ। बजारमा चलेका नाम चलेका स्टार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गर्नुभएको छ। यसको प्रतिफल ‘अभिमन्यु : च्याप्टर–१’मा देखिन्छ।"

‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने भन्ने प्रश्नमा दिव्यदेवले दर्शकलाई ढुक्क भएर हलसम्म जान सुझाए। उनले प्रिमियरमा सहभागी भएर औपचारिकताका लागि मात्र तारिफ नगरेको स्पष्ट पार्दै भने, "कलाकारले प्रिमियरमा राम्रो भनिहाल्छन् भन्ने सोच होला तर म मनैदेखि भन्दैछु, यो फिल्मको कथाले बाँधेर राख्छ। यो फिल्म हेरेर तपाईहरू पछुताउनु हुन्न।"

निर्देशक सोभित बस्नेतले नेपाली सिनेमा क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भने, "अहिले जति पनि नेपाली चलचित्र बढी चलिराख्या छ, त्यसमा कलाकारको चलचित्र चलिराख्या छन्। योभन्दा पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थाल्या छन्।"

उनले दर्शकले अहिले अनुहारभन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताए।

‘अभिमन्यु : च्याप्टर- १’ को कथावस्तुबारे बोल्दै उनले भने, "मजाले लास्टसम्म बाँधेर राख्छ। हरेक क्षण अब के हुन्छ, अब के हुन्छ भन्ने कौतुहल फिल्ममा देखिन्छ।"

फिल्मका मुख्य पात्र कामेश्वर चौरसियाको प्रशंसा गर्दै उनले भने, "अभिमन्युमा पनि कामेश्वर जस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ।"

उनले कामेश्वरका विगतका फिल्म रिलिज हुँदा केही घटनाहरू घट्ने गरेको भए पनि यसपटक भने राम्रो हुने विश्वास व्यक्त गरे। साथै उनले सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै यो फिल्म पनि राम्रो बनाएको बताए।

मोडल तथा अभिनेत्री अलिाशा बास्तोलाले फिल्म हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको बताइन्।

उनले भनिन्, "हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलका साथ हेर्छौ, यो फिल्ममा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ।"

उनले फिल्मको सबै पक्ष ‘अथेन्टिक’ र उत्कृष्ट रहेको बताइन्। सेभेन सिज ब्यानरबाटै आफूले डेब्यु गरेको बताउँदै उनले भनिन्, "मेरो आफ्नै ब्यानर हो, मलाई एकदम मन छ, यसले ‘पूर्णबहादुरको सारङ्गी’ को रेकर्ड तोडोस् शुभकामना।"

अर्की मोडल तथा अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ट्रेन्डभन्दा फरक फिल्म आएको बताउँदै यो फिल्म हेरेर दर्शक पछुताउनु नपर्ने ग्यारेन्टी दिँदै हलसम्म आउन आग्रह गरिन्।

उनको भनाइ थियो "नेपालमा फ्यामिली ड्रामा र सेन्टिमेन्टल फिल्म चलिरहेको बेला यो सस्पेन्स थ्रिलर र महिला केन्द्रित सिनेमा आएको छ। यसले निर्माताहरूलाई नयाँ जनरा एक्सप्लोर गर्न हौसला दिनेछ।"

फिल्ममा अभिनेत्री लक्ष्मी बर्देवाले निर्वाह गरेको भूमिकाको तारिफ गर्दै उनले भनिन्,"उहाँले त न्याय गर्नुभएकै छ तर बिइङ एन एक्टर (एक कलाकारको रूपमा) त्यो क्यारेक्टर देख्दा, यो रोल मैले गर्न पाएको भए हुन्थ्यो भन्ने फिल आइरहेको थियो।"

कमेडियन भरतमणि पौडेलले फिल्मले दाइजो प्रथा जस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज हुनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए। लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, "कलाकार बन्न स्क्रिप्ट नै चाहिँदो रहेछ। अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरका लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ। जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ।"

किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर–१’ मा अनुभवी र दिग्गज कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे। "तपाईंले त सोचेभन्दा राम्रो काम गर्नुभएछ नि?" भनेर सोध्दा उनले मुस्कुराउँदै स्वीकारे र आफ्नो भूमिकाप्रति सन्तुष्टि जनाए। उनले आफूले गरेको मिहिनेत पर्दामा राम्रो देखिएकोमा खुसी व्यक्त गरे।

अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो फिल्मको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन्। उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि फिल्मको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन्। उनले भनिन्, "सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा फिल्म हेर्दा अझ राम्रो बनेको पाएँ।"

अर्की अभिनेत्री सरिता गिरीले पुरुषप्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन्।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।

प्रकाशित: १७ मंसिर २०८२ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App