कला/साहित्य

अश्नीर ग्रोवरको बायोपिकबाट बाहिरिए आमिर

बलिउड अभिनेता आमिर खान भारतपेका पूर्व सह–संस्थापक तथा व्यवसायी अश्नीर ग्रोवरको बायोपिकबाट बाहिरिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राहुल मोदीसँग रचनात्मक मतभेद भएपछि उनले परियोजना छाड्ने निर्णय गरेका हुन्।

यसअघि आमिरले फिल्ममा अश्नीर ग्रोवरको भूमिका निर्वाह गर्ने र श्रद्धा कपूर मुख्य भूमिकामा रहने चर्चा थियो। आमिर बाहिरिए पनि निर्माण टोलीले फिल्मको काम भने निरन्तर अघि बढाउने जनाएको छ। अहिले श्रद्धा कपूर र निर्देशक राहुल मोदी अश्नीरको भूमिकाका लागि नयाँ युवा अभिनेताको खोजीमा छन्।

आमिर खानलाई स्टार्टअप क्षेत्रप्रति विशेष रुचि रहेको बताइन्छ। त्यसैले उनी अश्नीर ग्रोवरको जीवनमा आधारित फिल्मलाई लिएर निकै उत्साहित थिए। टाइम्स अफ इन्डियाका अनुसार उनले स्क्रिप्टमा पनि सक्रिय रूपमा काम गरेका थिए। तर स्क्रिप्ट र निर्देशनको विषयमा निर्देशक राहुल मोदीसँग विचार नमिल्दा लामो छलफलपछि पनि सहमति हुन नसकेपछि उनले परियोजनाबाट अलग हुने निर्णय गरे।

आमिर बाहिरिए पनि बायोपिकको निर्माण रोकिएको छैन। निर्देशक राहुल मोदी र अभिनेत्री श्रद्धा कपूर फिल्मलाई अघि बढाउन प्रतिबद्ध छन्। अहिले निर्माण टोलीले अश्नीर ग्रोवरको भूमिकाका लागि चर्चित युवा कलाकारहरूसँग छलफल गरिरहेको छ। छिट्टै मुख्य पात्रको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

फिल्ममा श्रद्धा कपूरले अश्नीर ग्रोवरकी पत्नी माधुरी जैन ग्रोवरको भूमिका निभाउन सक्ने बताइएको छ। साथै, उनी एक ठूलो स्टुडियोसँग मिलेर फिल्मको निर्माण पनि गर्दैछिन्। अभिनेता र निर्माता दुवै भूमिकामा यो फिल्म श्रद्धाको करियरको महत्त्वपूर्ण परियोजना मानिएको छ।

अश्नीर ग्रोवर भारतका चर्चित व्यवसायी तथा भारतपेका पूर्व सह–संस्थापक हुन्। उनको जन्म दिल्लीको मध्यमवर्गीय परिवारमा भएको थियो। उनले आईआईटी दिल्लीबाट बीटेक र आईआईएम अहमदाबादबाट एमबीए गरेका छन्।

सन् २०१८ मा उनले भारतपे स्थापना गरेका थिए, जसले साना व्यवसायीका लागि एउटै क्यूआर कोडमार्फत डिजिटल भुक्तानी सहज बनाएको थियो। सन् २०२१ मा रियालिटी शो ‘शार्क ट्याङ्क इन्डिया’ को पहिलो सिजनमा निर्णायकका रूपमा देखिएपछि उनी व्यापक रूपमा चर्चित बने। 

प्रकाशित: ६ श्रावण २०८३ १७:२२ बुधबार