बलिउड अभिनेता आमिर खानले आफूले तेस्रो विवाह गर्न लागेको सार्वजनिक रूपमा पुष्टि गरेका छन्। रिर्पोट अनुसा उनले जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्नेछन्। उनले यो जानकारी मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा दिएका हुन्।
आमिरका अनुसार विवाह निकै निजी हुने जनाइएको छ। विवाह समारोह उनको आफ्नै घरमा आयोजना गरिनेछ, जहाँ दुवै परिवारका सदस्य र केही नजिकका साथीभाइ मात्र सहभागी हुनेछन्। यस अवसरमा उनका छोरा जुनैद खान पनि उपस्थित थिए।
आमिर सञ्चारकर्मीसँग कुरा गरिरहेकै बेला निर्देशक राजकुमार हिरानी पनि कार्यक्रममा आइपुगेका थिए, जहाँ दुवैले एकअर्कालाई अँगालो हालेर अभिवादन गरेका थिए।
गौरी स्प्रैट बेंगलुरुकी एक सैलुन उद्यमी तथा फेसन व्यवसायी हुन्। उनका पिता तमिल–ब्रिटिश मूलका र आमा पञ्जाबी–आइरिस मूलकी हुन्। उनी भारतको स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित ब्रिटिश कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी हुन्।
आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गौरी पहिले विवाह गरिसकेकी हुन् र उनको सात वर्षको एक सन्तान पनि छ। उनी आफ्नो सन्तानसँग पछिल्ला दुई वर्षदेखि मुम्बईमा बस्दै आएकी छन्।
आमिर र गौरी एकअर्कालाई करिब २५ वर्षदेखि चिन्छन्। लामो समयसम्म उनीहरू असल साथी थिए र पछि उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको बताइएको छ।
प्रकाशित: १९ असार २०८३ १२:२५ शुक्रबार