कला/साहित्य

आधुनिकताको मूल्य बिर्सेको समाज

संस्कार

मातृ देवो भव ! पितृ देवो भव ! आचार्य देवो भव ! अतिथि देवो भव ! अर्थात् जन्म दिने आमालाई देवतासरह सम्मान गर, जीवनमा अघि बढ्न सिकाउने बाबुलाई देवतासरह सम्मान गर, ज्ञानसाथै शिक्षा प्रदान गर्ने गुरुलाई पनि उच्च सम्मान गर। घरमा आउने पाउना जो त्यतिकै आएका होइनन्, आदर सम्मान गरेर आएका हुन्छन्, तिनलाई पनि सम्मान गर।

यसरी हेर्दा दुई हरफको सूक्ति देखे पनि यसको धेरै ठुलो महिमा छ। यस सूक्तिले परिवारमा एकअर्कालाई सम्मान गर्दै परिवारको महत्त्व अनि मूल्य बुझाएको छ। गुरु, जसले शिक्षाको ज्योतिले बाँच्न सिकाउँछ, पाहुना जो हामीलाई मान गरेर सुख, दुःख पर्दा सधैं साथ दिएका हुन्छन्, उनलाई सम्मान गर।

माथिका सबै कुरा बुझ्दा बुझ्दै पनि हाम्रो समाज पूर्वेली र पश्चिमेलीको एउटा अव्यावहारिक संस्कार अपनाउँदै अघि बढिरहेको छ। पश्चिमेली समाजमा पनि एउटा शिक्षित वर्गले आफ्नो कला–संस्कृतिको जरा यति गहिरो रूपले गाडेका छन् कि हाम्रो देशको गाउँ गाउँमा यसले जरा गाडिसकेको छ। हामी यो किन बुझ्दैनौ कि हामीले आफ्नो घर, संस्कार, रीतिथिति छोड्दै अगाडि बढिरहेका छौं।

आज मैले यो विषयवस्तुको उठान किन गरेँ भने हिजो एउटा परिवारमा आमा बित्नुभयो अनि समवेदनाका लागि म पुगेको थिएँ। त्यहाँ एउटा बैठकमा निर्णय सुनाइयो– तेह्र दिन दुःखमा बस्ने तर क्रिया नबस्ने अनि दियोको सट्टा मैनबत्ती बाल्ने। जुन परिवारमा दिवंगत आमाले रीतिरिवाज, संस्कार आफ्नो जीवनमा सधैं पालना गर्नुहुन्थ्यो तर उहाँले सिकाएको पाठको निरन्तरता कसैले दिएनन्। यो नेपाली समाजका लागि एउटा दुःखद परिस्थिति हो।

नेपाल आज गम्भीर सामाजिक संक्रमणको चरणबाट गुज्रिएको छ। एकातिर आर्थिक अभाव, बेरोजगारी र आर्थिक अवसरको कमीका कारण हजारौं युवा हरेक वर्ष देश छोड्न बाध्य छन्। युुरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, अफ्रिका र खाडी मुलुक नेपाली युवाका सपनाका गन्तव्य बनेका छन्। उनीहरू राम्रो शिक्षा, सुरक्षित भविष्य र आर्थिक समृद्धिको खोजीमा घर, गाउँ र देश नै छोडिरहेका छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो। तर एउटा प्रश्न हामी सबैले आफैंसँग सोध्नुपर्छ - देश छोड्दा के हामीले आफ्नो जरा पनि छोडिरहेका छौं ? नेपालको पहिचान केवल सगरमाथा, बुद्ध वा प्राकृतिक सौन्दर्यले मात्र बनेको होइन। हाम्रो पहिचान परिवार, संस्कार, आपसी सम्बन्ध, सम्मान, सहानुभूति र सामाजिक उत्तरदायित्वले बनेको हो। यही मूल्य बुझेर नै नेपालीले कठिन समस्यामा पनि ऐक्यबद्धता राख्ने गर्छन्।

हाम्रो समाजमा संयुक्त परिवार केवल बसोबासको व्यवस्था होइन, भावनात्मक सुरक्षा प्रणाली हो। वृद्ध बुबाआमाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो। छोराछोरी सफल हुँदा समाजमा आमाबाबुको सम्मान थपिन्छ। सुखमा मात्र होइन, दुःखमा समेत परिवार एकै ठाउँमा उभिने संस्कार हाम्रो समाजको शक्ति हो। विशेषगरी परिवारका जेष्ठ सदस्यको निधन भएपछि गरिने शोक–संस्कारलाई आजको पुस्ताका केही वर्गले पुरानो वा अव्यावहारिक भनेर हेर्न थालेका छन्, जुन मैले सुरुमै उठान गरिसकेको छु। यस्तो खोक्रो आधुनिकताले यो परम्पराको अर्थ बुझ्ने प्रयास कम हुँदै गएको छ। १३ दिनसम्म क्रिया बस्नु, सादा जीवन बिताउनु, सेतो वस्त्र धारणा गर्नु, खानपानमा संयम अपनाउनु, उत्साहबाट टाढा हुनु, सामान्य रूपमा विश्राम गर्नु, यी सबैको उद्देश्य मानिसलाई दुःखपीडासँग सामना गर्ने समय दिनु हो, शोकलाई दबाएर होइन, स्वीकार गरेर बिस्तारै सामान्य जीवनतर्फ फर्किन सहयोग गर्नु हो। सेतो वस्त्र केवल एउटा रङ होइन, शान्ति, संयमता र आत्मचिन्तनको प्रतीक हो। साधारण भोजनले शरीर एवं मनलाई अनुशासित बनाउने सन्देश दिन्छ। परिवार र आफन्तको उपस्थितिले पीडामा परेका व्यक्तिलाई तिमी एक्लौ छैनौ भन्ने अनुभूति गराउँछ। यही सामाजिक सहारा नेपाली संस्कृतिको सुन्दर पक्ष हो। तर, हाम्रो समाजले आजकाल बैठक बोलाएर काका, मामा, फुपू सबैका अगाडि ‘मैले यो निर्णय गरे, हामी १३ दिनको क्रिया परम्परागतशैलीमा बस्दैनौं, दियोको सट्टा मैनबत्ती बाल्छौं’ भन्छ। सामाजिक असंयम र विकृतिको यहाँभन्दा ठुलो उदाहरण अरू हुन सक्दैन।

मनोविज्ञानिक रूपले पनि दुःखको बेला परिवार र समाजको साथलाई महत्त्वपूर्ण मानिन्छ। आधुनिकतामा ढल्केकाहरूले यो तथ्य बुझ्दैनन्। हाम्रो समाजले सयौं वर्षअघि नै यस्ता अभ्यासको विकास गरेको हो। त्यसैले हरेक परम्पराको वैज्ञानिक व्याख्या नहुन सक्छ तर धेरै परम्परामा गहिरो मानवीय अनुभव र सामाजिक बुद्धिमत्ता लुकेको हुन्छ। आजको चिन्ता परम्परा परिवर्तन हुनुमा होइन, संस्कारको अर्थ नबुझी उपहास गर्ने प्रवृत्तिप्रति हो।

विदेशमा बसेर सबै संस्कार उस्तै रूपमा पालन गर्न सम्भव नहुन सक्छ। परिस्थितिले परिवर्तन माग्छ तर परिवर्तनको नाममा आफ्नै संस्कृति र मूल्यलाई पिछडिएको ठान्नु भनेको आत्मविस्मृति संकेत हो। दुर्भाग्यवश आज केही मानिस आधुनिकता भनेको पश्चिमी शैलीको नक्कल गर्नु मात्र हो भन्ने भ्रममा छन्। विदेशी भाषा बोल्नु, आफ्नो परम्परालाई लज्जाको विषय ठान्नु वा आफ्नै संस्कृतिमाथि व्यंग्य गर्नु प्रगतिको परिचय होइन। वास्तविक आधुनिकता विश्वबाट सिक्दै आफ्ना असल मूल्यलाई जोगाएर अघि बढ्नु हो। आर्थिक विकास आवश्यक छ।

विदेशमा गएर सफलता हासिल गर्नु पनि गर्वको विषय हो तर समृद्धि केवल बैंक खाताको अंकले मापन हुँदैन। एउटा समाज कति सभ्य छ भन्ने कुरा उसले आफ्ना वृद्ध आमाबाबुको कति सम्मान गर्छ, दुःखमा परेका परिवारको कति साथ दिन्छ र आफ्नो संस्कृतिको मूल्यलाई कति जोगाउँछ भन्नेले निर्धारण गर्छ। हामीले आफ्ना बालबालिकालाई केवल पैसा कमाउन सिकायौं तर परिवारको मूल्य सिकाउन सकेनौं भने भविष्यमा घर त बन्ने छन् तर आत्मीय परिवार हराउँदै जानेछन्। हामीले प्रविधि सिकायौं तर करुणा सिकाउन बिर्सियौं भने समाज आधुनिक त देखिन्छ तर भित्रबाट खाली हुँदै जान्छ।

संस्कारको अर्थ समय रोक्नु होइन। संस्कार भनेको समयसँगै अघि बढ्दै मानवीय मूल्यलाई जोगाइराख्नु हो। हाम्रा धेरै परम्परा समयअनुसार परिवर्तन हुन सक्छन्, हुनु पनि पर्छ तर तिनको मूल्य, उद्देश्य, आदर, जिम्मेवारी, सहानुभूति, कृतज्ञता र पारिवारिक एकता कहिल्यै समाप्त हुनुहुँदैन। हामीलाई आज आर्थिक विकास चाहिएको छ तर त्योसँगै सामाजिक आत्मा पनि जोगिनुपर्छ। हामी विश्वको नागरिक बन्न सक्छौं तर आफ्ना आमाबाबुको सन्तान हुन छोड्न सक्दैनौं। हामी आधुनिक बन्न सक्छौ तर आफ्नो संस्कृतिप्रति सम्मान गुमाउनुहुँदैन। कुनै पनि राष्ट्रको शक्ति केवल पूर्वाधार लगानी र रोजगारीले मात्र निर्माण हुँदैन। राष्ट्रको वास्तविक शक्ति त्यसका नागरिकको चरित्र, परिवारको एकता र संस्कृतिप्रतिको सम्मानमा पनि निर्भर हुन्छ। आजको ठुलो चुनौती गरिबी मात्र होइन, आफ्नो पहिचान बिर्सने प्रवृत्ति पनि हो। अब आधुनिकतालाई अँगाल्ने समय आएको छ तर आधुनिकताका नाममा आफ्नो जरा भने छोड्नु हुँदैन। जरा बलियो भए मात्र रुखले आँधी सहन सक्छ, संस्कार बलियो भए मात्र समाजले समयको चुनौती सामना गर्न सक्छ।  

प्रकाशित: २ श्रावण २०८३ ०६:०३ शनिबार