कला/साहित्य

‘गौंथली’ : पढाइ, बालविवाह र अटिजमको संवेदनशील कथा

कथाको सुरुवात कक्षा ८ को कोठाबाट हुन्छ, जहाँ केटा–केटीहरूमाझ एक छात्रा ‘गौंथली’ अध्ययनरत छिन्। उनको पढाइप्रतिको लगाव अरूभन्दा फरक छ। निर्माता सुमन गिरीका अनुसार यो कथा २०६० सालको हो। त्यो बेला एउटा यस्तो गाउँ थियो, जहाँ कक्षा ८ भन्दा माथि कुनै पनि छोरीले अध्ययन गरेकी थिइनन्। ‘छोरी मान्छेले धेरै पढेर के गर्ने?’ भन्ने मानसिकता बोकेका मानिसहरूको वर्चस्व रहेको समाजमा गौंथलीजस्ती छात्राको पढाइको यात्रा कहाँसम्म पुग्ला भन्ने प्रश्नबाट कथा अघि बढ्छ।

यो कथा केवल बालविवाहको मात्र होइन, कथाका मुख्य पात्र ‘ठुले’ को पनि हो, जसको चरित्र सामान्य छैन। उनी एक क्षणमा करुणामयी देखिन्छन् भने अर्को क्षणमा हिंसात्मक बन्ने प्रवृत्ति राख्छन्।

कक्षा ८ मा अध्ययनरत रहँदै गौंथलीको विवाह असामान्य स्वभावका ठुलेसँग हुन्छ। अचम्मको कुरा के छ भने विवाहअघि गौंथलीको परिवारले घर–परिवारका बारेमा निकै सोधपुछ गर्छ, तर जससँग छोरीको विवाह हुन लागेको हुन्छ, उसकै अवस्थाबारे भने केही जानकारी लिँदैन। विवाहपछि मात्र गौंथलीले ठुले असामान्य रहेको थाहा पाउँछिन्। विवाहपछिको गौंथली र ठुलेको जीवनमा आउने उतारचढाव तथा गौंथलीको पढाइप्रतिको लगावलाई कथाले समेट्ने प्रयास गरेको छ।

अभिनय

अटिजम भएका पात्रका रूपमा अभिनेता अरुण क्षेत्रीले ठुलेको भूमिकालाई न्याय दिएका छन्। उनको यो पात्र सहज भने पक्कै थिएन। शारीरिक रूपमा बिरामी पात्रको भूमिका निर्वाह गर्न कहीँ–कतै सहज हुन सक्छ, तर मानसिक अवस्थाको जटिलता भएको पात्रलाई पर्दामा विश्वसनीय रूपमा उतार्नु त्यति सजिलो हुँदैन। यस्ता पात्रको जीवनशैलीबारे पर्याप्त अनुसन्धानबिना अभिनय गर्नु चुनौतीपूर्ण हुन्छ।

गौंथलीको भूमिकामा सिम्रन खड्काको अभिनय भने ठीकै छ। तर केही दृश्यमा उनको अभिनय अलि अतिरञ्जित भएको महसुस हुन्छ। विशेषगरी उनी रोएका केही दृश्य अनावश्यकजस्ता लाग्छन्। ठुलेको व्यवहारप्रति उनले पटक–पटक दिने ‘ए, के गरेको यस्तो?’ भन्ने प्रतिक्रिया पनि दर्शकलाई केही झन्झटिलो लाग्न सक्छ।

अर्कोतर्फ, ठुलेकी आमाको भूमिकामा रहेकी अभिनेत्री लुनिभा तुलाधरले गौंथलीकी सासूको पात्रलाई राम्रोसँग न्याय दिएकी छन्। मदनकृष्ण श्रेष्ठको भूमिका छोटो भए पनि प्रभावशाली र सकारात्मक छ। अन्य कलाकारहरूको अभिनय भने सन्तोषजनक रहेको छ।

प्राविधिक पक्ष

प्राविधिक पक्षको कुरा गर्दा केही ठाउँमा टोली चुकेको महसुस हुन्छ। उदाहरणका लागि, गौंथली बाटो हुँदै आफू काम गर्ने होटलतर्फ फर्किरहेको दृश्यमा कुनै स्पष्ट कारणबिना क्यामेरा अत्यधिक हल्लाइएको छ, जसले दृश्यलाई असहज बनाएको छ। 

त्यस्तै, केही ठाउँमा प्रयोग गरिएको पृष्ठभूमि सङ्गीत अनावश्यक रूपमा भारी लाग्छ, जसले दर्शकलाई बोर महसुस गराउन सक्छ।

निर्देशन

निर्देशनको कुरा गर्ने हो भने कपिल रिजालले ‘गौंथली’ जस्तो कथावस्तु चयन गर्नु प्रशंसायोग्य कदम हो। चलचित्रको मूल कथामा कुनै शंका छैन। अटिजम अहिलेको सान्दर्भिक र महत्त्वपूर्ण विषय पनि हो।

तर निर्देशनकै सन्दर्भमा भने रिजालले केही ठाउँमा अझै गर्न सक्ने ठाउँ देखिन्छ। कथाले दर्शकलाई पूर्ण रूपमा बाँध्न सकेको देखिँदैन। दृश्यहरू क्रमबद्ध रूपमा अघि नबढेका कारण दर्शक कथासँग भावनात्मक रूपमा जोडिन सक्दैनन्।

उदाहरणका लागि, विवाहपछि गौंथली पहिलो पटक माइत जाँदा मात्र परिवारले ठुलेको मानसिक अवस्थाबारे थाहा पाउँछ। तर त्यसप्रति परिवारको प्रतिक्रिया अत्यन्त सामान्य देखिन्छ। त्यस्तै, विवाहकै रात गौंथलीले ठुलेको अवस्थाबारे थाहा पाउने दृश्य दर्शकलाई भावुक बनाउने खालको हुनुपर्ने थियो, तर त्यसमा केही कुराको अभाव महसुस हुन्छ।

गौंथलीको पढाइप्रतिको गहिरो लगाव कहाँबाट आयो र पढाइपछि उनको उद्देश्य के हो भन्ने पक्ष पनि स्पष्ट रूपमा प्रस्तुत गरिएको छैन, जसलाई कथाको कमजोरीका रूपमा लिन सकिन्छ। यद्यपि, गौंथलीले ठुलेलाई श्रीमान्को जिम्मेवारी र कर्तव्यबोध गराउने प्रयास कथाको सबल पक्ष हो।

समग्रमा भन्नुपर्दा, यदि तपाईंलाई अटिजम र बालविवाहजस्ता विषयलाई फरक ढङ्गले प्रस्तुत गरिएको कथावस्तु मन पर्छ भने ‘गौंथली’ तपाईंलाई मन पर्न सक्छ।

प्रकाशित: ३० असार २०८३ १६:४० मंगलबार