१) महिलामुक्ति
शारदा भाउजू आज बिहानैदेखि कान्छीलाई कराउँदै थिइन्– “खाना किन ढिलो गरेकी? कुकुरलाई के खुवाइस्? बुनु र बाबुलाई खाजामा अमलेट हालिदिनू है।”
लुगाको थुप्रो देखाउँदै फेरि थपिन्– “यी सबै लुगा धुनू। हावाले उडाउला, लुगा सुकाएकै ठाउँमा नै बस्नू। घरआँगन चिटिक्क पारेर बढार्नू। घर छोडेर कतै नजानू नि।”
यी सबै कुरा एकै सासमा भनिन्। हुन त भाउजूका नित्यकर्मभित्रका भजनहरू सधैँ यस्तै हुन्थे तर आजचाहिँ अलि बढी नै फूर्ति थियो।मलाई खसखस लागेर सोधिहालेँ– “भाउजू! आज निकै हतारिनु हुँदै छ नि, किन होला?”
भाउजू पनि सोधिएकोमा गजक्क पर्दैै भन्न थालिन्– “आज खुलामञ्चमा महिलामुक्ति आन्दोलनको बारेमा विशाल आमसभा छ। बहिनीलाई पनि पठाउनू है। सबै महिला अनिवार्य भाग लिन जानुपर्छ। आफ्नो हक र अधिकारको लागि भेला हुनु परेन त।”
२) ए प्लस
पण्डित हरिहर बाजेका कान्छा छोरा मुकुन्दले एसईईमा ‘ए प्लस’ ल्याएर पास गरेपछि पण्डितजीसँग भन्यो – “बा, म सहरको राम्रो कलेजमा पढ्छु है।”
त्यसै बेला पण्डितजीले भने– “महँगो होला! कति खर्च लाग्ने हो?”
“खै, बार सक्दा चार लाख जति लाग्छ रे। साथीहरूले भनेका।”
“त्यत्रो खर्च ला’ र पनि कोही पढ्छ? यतैका कलेजाँ पढे भैहाल्ला नि।”
“अँ हुन्छ नि यत्रो ‘ए प्लस’ ल्या’र पनि कोही यताका कलेजाँ पढ्छ? साथीहरूले के भन्लान्। नाइँ, म त सहरकै कलेजाँ पढ्न जाने।”
छिमेकी पण्डितजी र उनका कान्छा छोरा मुकुन्दको वार्तालाप सुन्दै हामी बाउछोरा घरभित्र पस्यौँ। कक्षा दसमा पढ्दै गरेको मेरो छोरो बिर्खेले भन्यो, “बा! म पनि कान्छा बाजेको भन्दा धेरै नम्बर ल्या’ र एसईई. पास गर्छु। मलाई नि उनले पढ्या जस्तै सहरको राम्रो कलेजाँ भर्ना गरिदिनुपर्छ है।”
राम्रै नम्बरमा कक्षा नौ पास भएको मेरो छोराको मन पढाइबाट नहटोस् भनेर मैले ‘हुन्छ’ भनिदिए पनि घरको मूल खम्बापट्टि फर्केर मनमनै भने, “हे कुल देवता! एसईईमा मेरो छोराको ‘ए प्लस’ नआओस्। म त्यत्ति धेरै खर्च गर्न सक्दिनँ।”
३) आन्तरिक घुस
बलवीर बराल, कर्मचारी सङ्गठनको अध्यक्ष, उनी आफू पनि अनुशासनमा बसेर अरूलाई पनि अनुशासन सिकाउँछन्। अन्याय–अत्याचारको विरोधमा आवाज उठाउँछन्। कर्मचारीको हकहितको लागि अग्रपङ्क्तिमा उनैको नाम आउँछ।
उनको सङ्गठनभित्रकै एकजना महिला टाइपिष्ट कर्मचारी सुश्री सरू सरदारलाई त्यही कार्यालयका हाकिम गजाधर गौतमले रूप र सौन्दर्यको अगाडि आफ्नो कर्मेन्द्रीय वशमा राख्न नसकेर हातपात गर्न खोजे रे।
कुरो सामान्य हैन भन्दै सरूजीले सङ्गठनमा उजुर गरिन् – कर्मचारीको सुरक्षा चाहियो। हाम्रो अस्तित्व सङ्कटमा नपरोस्।
कार्यालयमा खासखुसबाट गाइँगुइँ भयो। त्यसपछि भने पक्ष र विपक्ष बनेर बहस हुने स्थिति आउलाझैं भयो। हाकिमले बलवीरलाई माथि आफ्नो कार्यकक्षमा बोलाए। अन्य कर्मचारीहरूले मुखामुख गरे।
बलवीर हाकिमलाई भेटेर तल आए। अब के भन्छन् होला भन्ने कौतुहल सबैमा भयो। उनले सबै कर्मचारीलाई एक हुन अनुरोध गरे। वरपरका त्यसै कक्षमा आए। त्यहीँकाले कान ठाडा पारे।
बलवीर बोल्न थाले– “वास्तवमा यो केस सामान्य हो। कुरा धेर गरेर तिललाई पहाड बनाउने काम कसैले नगरौँ। हाकिम साहेबले अब आइन्दा त्यस्ता खाले कार्य नगर्ने भनेर मेरै अगाडि कसम खानुभयो।”
सबै कर्मचारीले मुखामुख गरे। गोपिनी राउत बोल्न उठेकी थिइन् तर उनलाई बलवीरले बस्ने इसारा गरे र फेरि भने, “मैले सबैको हित सोच्नुपर्छ। हाकिम साहेब पनि कर्मचारी नै हुन्। मान, मर्यादा, इज्जतको पनि ख्याल गर्नुपर्छ। सरूजीलाई पनि हाकिम साहेबले बोलाउनुभएको छ। सरूजी, तपाईं माथि जानुहोस् त। अनि सबैले यो कुरालाई यहीँ समाप्त गर्नु उत्तम हुन्छ। अब तपाईंहरू आआफ्नो कममा जानुहोस्।”
बलवीरको कुराले सबै छक्क परे। सरू भने टाउको निहुराउँदै ब्याग टिपेर बाहिरिइन्।
४) विश्वास
शिवालयको दाहिनेपट्टि एउटा ठुलो र अनौठो पीपलको रूख थियो।त्यस रूखका हाँगाहरू बाक्लै भएकाले होला सोझा र नबटारिएका कुनै थिएनन्। सेपिलो ठाउँमा भएको त्यस अजङ्गको रूखका हाँगामा विभिन्न ऐँजेरू, झ्याउ आदि परजीवी झारहरूले भरिभराउ थियो लोखर्के, लामपुछ्रे ढेडु र चराचुरूङ्गीको ज्यादै सुरक्षित र सुगम बासस्थान थियो। शनिबार पानी चढाउने, ध्वजापताका चढाउने, धागो बेर्ने श्रद्धालुहरूको पनि आस्थाको केन्द्र नै थियो त्यो रूख।
राति सुताइ अप्ठ्यारो भएर होला गर्धन सोझो पार्दा दुख्थ्यो। दायाँबायाँ त झन् टाउको फर्काउन नै गाह्रो पर्दथ्यो। अगाडि हेर्नुपर्यो भने त गर्धन बङ्ग्याएर हेर्नुपर्थ्याे। ढाड पनि दुखेको हुनाले टेढो गर्धन बनाएर त्यही रूखको पश्चिमबाट पूर्वतर्फ फर्किएर एउटा ढुङ्गामा बसिरहेको थिएँ।
एक हुल आइमाई र केटाकेटी आए। मन्दिरबाट दर्शन गरेर फर्किएका होलान्। दुखाइको पीडाले पछाडि फर्केर हेर्न पनि मन लागेन। टेढो गर्धन पारेर एकोहोरो रूखैतिर हेरिरहेको थिएँ। एक जना महिलाले नजिकै आएर सोधिन्– “यहाँबाट यसरी के हेर्नुभएको दाइ?”
“गर्धन दुखेको छ; ढाड दुखेको छ अनि यसरी हेरेको।” मैले पछाडि नफर्कीकन बडो मुस्किलले जवाफ दिएँ।
“ए, यसरी हेर्यो भने गर्धन दुखेको अनि ढाड दुखेको पनि बिसेक हुन्छ हो ?” उनले फेरि सोधिन्।
मलाई पीडाले सताइरहेको थियो तसर्थ मैले अँ पनि भनिनँ न पनि भनिनँ। म चुप लागेको भएर होला उनले कराएर सबैलाई हातले इशारा गर्दै भनिन्– “ए, एता आओ न।यहाँ यसरी बसेर पीपलको उः त्यो टेढो हाँगालाई हेर्दा गर्धन दुखेको र ढाड दुखेको बिसेक हुँदो रहेछ। हामी पनि त्यसै गरौँ न।”
सबै जना त्यहाँ आएर मैले गर्धन टेढो बनाएझैं बनाएर पीपलको रूखतिर हेर्न थाले पालै पालो। म भने के भन्नु न नभन्नु भएर अलिपरको एउटा ढुङ्गामा गएर बसेँ। त्यस हुलको पालो नसकिँदै अर्को हुल आइपुग्यो। त्यो हुललाई पनि त्यसै भनियो। उनीहरू पनि दोहोर्याएर तेहेर्याएर त्यही कार्य गर्न थाले।
हिजोआज पनि म कहिले काहीँ त्यता जान्छु घुम्नलाई। शिवालयमा दर्शन गर्न आउने जाने सबै एक पटक त्यस स्थानमा अडिएर गर्धन केही टेढ्याउँदै त्यही पीपलको बटारिएका हाँगातिर हेरेर जाने आउने गर्न थालेका छन्। अझ कतिजनाले त व्यथा ठिक भयो भनेको पनि सुन्नमा आएको छ। सबैले यतिविघ्न विश्वास गरिएको धन्य अन्धविश्वास!
५) चेतना
चोकको पानपसलमा आठ–दस जना केटाहरू विश्वकप फुटबलका कुरा गर्दै चुरोटको धुवाँ उडाउँदै थिए। प्रायः सबैका हातमा चुरोट र मुखमा धुवाँको मुस्लो देखिन्थ्यो। कुहिराले पानपसललाई ढाकेको जस्तै भान पर्ने वातावरण बनेको थियो त्यहाँ।
समय बिहानको नौ बजेको थियो होला। म पनि खाना खाएर जागिरमा जानका लागि बस चढ्न चोकतिर गएँ। मोबाइलको रिचार्ज कार्ड किन्न त्यही पसलमा जानुपर्यो। पानपसलेलाई टाढैबाट इसारा गर्दै भनेँ– दाइ, नमस्तेको एउटा रिचार्ज कार्ड दिनुस् न।”
पसलेले भन्यो– “कति रूपैयाँको दिऊँ?”
“सय रूपैयाँको।”
उसले मलाई रिचार्ज कार्ड दियो। मैले पनि कार्ड लिएर नङले नै कोट्याउन थालेँ।
चुरोट तान्दै गर्ने एउटा केटाले मुखभरिको धुवाँको मुस्लो फालेर मलाई रोक्न खोज्दै भन्यो, “ए दाइ, पख्नुस्, त्यसो नगर्नुस्। रिचार्ज कार्डलाई नङले कोट्याउँदा औंलामा क्यान्सरको डर हुन्छ। बरू यो सिक्काले कोट्याउनुहोला।”
उसले मलाई एक रूपैयाँको सिक्का दिन खोज्यो।
मैले पनि मसँगै छ भन्ने सङ्केत गर्दै खल्तीबाट सिक्का निकालेर कोट्याउन थालेँ र मनमनै भनेँ– ‘यी नवयुवकहरूमा चुरोट पिउँदा क्यान्सर लाग्छ भन्ने ज्ञान नभए पनि रिचार्ज कार्ड नङले कोट्याउँदा क्यान्सर लाग्छ भन्ने चेतना चाहिँ रहेछ, धन्य भगवान्!’
(लघुकथाकार परशुराम पराशरकाे लघुकथासंग्रह ‘सावधान !’ मा सङ्गृहीत।)
प्रकाशित: ३० जेष्ठ २०८३ १०:०२ शनिबार