कला/साहित्य

बिहानीजस्तै मान्छे

निबन्ध

उदाउँदो सूर्य कति सुन्दर हुन्छ। कति प्यारो हुन्छ। त्यो याम क्या घमाइलो देखिन्छ। चिरबिर चिरबिर चरीहरूको सुललित संगीत कम्तीको सुनिरहूँ लाग्दैन। बिहानीको याम, ती कलिला घामका आभासँगै हरेक मान्छेको दिनचर्या उठ्छ आफूसँगै। हिमालका दन्ते लहरमा घामका कलिला आभा छरिँदा सुनौला देखिन्छन् हिमाल। फूलहरू पनि शीतलाई पातहरूबाट जरासम्म सार्दै सुकोमल मनसहित सुनौला घामका किरणसँग लाप्पा खेल्छन्। बलेसी पनि शीतमा भिजेको हुन्छ। हरिया रुखविरुवामा पनि शीतका बुँदाहरू चाँदीझैं टल्कन्छन्।

प्राकृतिक सौन्दर्यको दृश्यपान पनि बिहानै सुन्दर हुन्छ। मन्दिरमा घन्टाहरूको टिनिनी आवाजले मान्छेका मनमा प्राकृतिक थेरापीको काम गर्छ। आँगनी वरपर देखिने दुबोहरू पनि ऊर्जाले उठेका हुन्छन्। खोलाहरूको कलकल बगाइमा पनि संगीतको मधुर झंकार नेत्रले श्रवण गर्न पाउँछ। बारीका सागपातहरू तरोताजा देखिन्छन्। मान्छेहरू पनि उस्तै आफ्ना दिनचर्याको थालनीको तरखरमा हुन्छन्। मनहरू उस्तै उत्साहित।

नियालेर हेरौं त, कति सुन्दर छ बिहानी। बिहानी सबैलाई मन पर्छ। यसले आफूभित्र सबैलाई अटाउँछ। सबैलाई जोड्ने सेतु हो–बिहानी। अन्धकार रातले सेताम्मे सिरक खोलेपछि सुरु हुने बिहानी। मनका सपाट फाँटहरूमा उत्साह र उर्वरता भर्ने बिहानी। अँध्यारोलाई सिनित्तै आफैंमा निल्ने बिहानी। मेरा आँखाअगाडि टक्क उभिएको छ बिहान। हार्दिक लाग्छ मलाई बिहान। प्यारो लाग्छ यो समय। यही भएर त बिहानीको सुनौलो आभा मेरो ओछ्यानमा मलाई ब्युँझाउन आइपुग्दा म जुरुक्कै उठिदिन्छु। खोलेर मेरो झ्यालको खापा चारैतिर नियाल्छु। अँध्यारोको प्राणपखेरु उडाउने बिहानको दृश्य साँच्चै मेरो मनलाई ताजा बनाउने छ। निहाल्छु -सबका सब ताजा छन्। रुख, बोटविरुवा, फूल, मान्छे, चराचुरुंगी, मलखातवरपरको साग उस्तै।

जिन्दगीको सुखद सरगम बजेजस्तो मन्त्रमुग्ध भएर दृश्यपान गर्छु म। सौन्दर्यको आभा छरिएका वरपरका दृश्यले मेरो मनमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ। मनले उत्सवको महसुस गर्छ। लहलह झुल्छन् आशाका बाला। अँध्यारो मेटिँदै उज्यालोको मधुर तापले हरेक चिज स्पर्श गर्दाको पल कसलाई मन नपर्ला! बैंसालु घामका प्रहरहरूले मेरा आशाहरूलाई अझै बढी अपेक्षित बनाउँछन्। पीडाका कहरहरू भुलाउँछन्। सिर्सिरे बतासमा पनि गीत गुन्जेजस्तो। हेर्छु, आकृतिहरू गगनमा टलक्क टल्केका छन् विभिन्न आकार ग्रहण गरेर।

बिहानी देखावटी होइन। उसले कुनै बहाना गर्दैन। गतिविहीन पनि छैन। बिहानी दिनको प्रारम्भ हो। उज्यालोको पोतोले धर्ती पोत्ने बेला हो। सबैको प्रिय, सबैको नजरमा राम्रो बिहानी। बिहानीले जहिल्यै लेख्छ जितेर इतिहास। धर्तीका सारा जीवजनावरलाई उत्साहको सञ्चार जागृत गराउँछ। रुझेका मनहरूमा न्यानो सिञ्चन गर्छ। कति विशाल छाती बिहानीको–संसार अटाउँछ। उस्तै शान्त समय।

मन भन्छ, बिहानीको बैंसको मुस्कान चोरेर मनमा जब्बरे ताल्चा लगाई लुकाऊँ। मन भन्छ, बिहानीको प्रतिविम्बले मलाई सिञ्चन गर। अनि अझै अगाडि बढेर मन चाह गर्छ– त्यो बिहानीको आभाले हृदयका भावना र चाहलाई न्यानो गरेर सेक र चिसिनबाट बचाऊ। जीवनलाई लयबद्ध गराउन तिमीले बिहानीबाट सिक। धन्य मेरो मन।

ऊ भन्छ– सम्हालेर राख्न सक प्रदीप, बिहानीलाई। अनुपम सौन्दर्यलाई सलक्क समेटेर राख। तर के गर्नु, बिहानी समेटेर राख्न सकिन्न। रोकेर राख्न सकिन्न समयको चाल। ब्रेक हुँदैन उसको कि बिस्तारै रोकूँ उसको घर्काइ! बिहानी त कतै जान्छ हरेक दिन अपराह्नमा समेटिन। बसिरहँदैन। जुरुक्क उठेर बुर्कुसी मारिहाल्छ। गएर समाहित हुन्छ दिउँसोमा जसरी खोलानालाहरू मिसिन्छन् समुद्रमा।

सधैं बिहान रोकिइरहँदो हो त ! समयको गति पनि टक्क अडिन्थ्यो होला। अनि सायद यही कारण सृष्टि पनि नियमसंगत हुँदैनथ्यो होला। युक्तिसंगत नहुँदा यो धर्तीको हालत पनि अर्कै हुन्थ्यो होला। विचित्रको हुन्थ्यो होला दुनियाँ। त्यसैले त बिहान दिउँसोमा परिणत हुँदै रातमा सुस्ताएको होला। सृष्टिकर्ताले घडी घुमाएका त्यसैले होला। बिहान घाम झुल्किएर साँझमा क्षितिजपारि अस्ताञ्चलमा पुगेर घाम लुकेको होला।

सायद यस्तो हुँदैनथ्यो भने जीवन अर्कै हुन्थ्यो होला। सृष्टिमा थुप्रै बाधा व्यवधानहरू लाम लागेर आउँथे होला दिन–रातमा समय विभाजित नभएको भए। भन्न सक्दिन, सायद सृष्टि नै टक्क अडिन सक्थ्यो कि ! त्यो सब मेरो चेतनाको सीमाभन्दा पारिको कुरा। के हुन्थ्यो, यसै भन्न सक्दिन तर यति निश्चित हो - अहिलेको जस्तो सहज हुने थिएन जीवन। अनुमान न हो, मान्छेका आँखा चाँडै धमिला हुन्थे, मान्छेको शरीर चाँडै विभिन्न रोगहरूले आक्रान्त र ग्रसित हुन्थे। उत्पादन घटेर मान्छे भोक मेटाउन जे पनि गर्ने परिस्थिति आउँथ्यो कि। अहिलेको भन्दा बढी आपराधिक प्रवृत्तिले मौलाउने ठाउँ पाउँथ्यो होला। इको सिस्टममा ठुलो नकारात्मक प्रभाव पनि पथ्र्यो होला। यसले त संसारमा प्राणी जगतमै पनि हमला गर्दो हो। यसो सोचिहेरौं त– बिहानको महत्त्व र महिमा अनुपम छ हाम्रा लागि।

सधैं गोधुलीले छपक्कै छोप्यो भने के होला! मान्छेले हर क्षेत्रमा अभावका कारण बाँच्ने संघर्षमा ककसको जीवन अतिक्रमण गर्दो हो! डाइनोसरको हालत हुन्थ्यो होला मानव जातिको। खान–लाउन त परको कुरा, अस्तित्व नै नामेट हुन सक्थ्यो होला। यसैले एकदिनलाई पनि उज्यालो र अँध्यारोमा विभाजित गरेको होला प्रकृतिले। बिहानले दिनको सुरुवात र दैनिकीको थालनीसँगै थाकेर गलित शरीर बिसाउन अध्याँरो रातको सिर्जना भएको होला। अनुमान न हो।

तर मलाई किन किन बिहान अलिक बढी नै मनपर्छ। मेरो घरको बलेसी र ओछ्यानमै आइपुग्ने बिहानी याम साँच्चै मनपर्छ। म बिहानीको सौन्दर्य निखार्न चाहन्छु। त्यहींभित्र डुब्न चाहन्छु। अलौकिक अनुभूति हुन्छ मलाई बिहानीसँगको सामीप्यमा। अहोरात्र रहिरहोस्, अविचलित र अविराम बसिरहोस् बिहान, भन्छ मेरो मन तर सम्भव नभएर पो। यसैसँग लुकामारी खेलूँ, यसैसँग लाप्पाखेली बसूँ। तर मिल्दो रहेनछ। बिहानी पनि दिनमा पखालिँदो रहेछ। असिनपसिन हुने गरी घाम तातेर आउँदो रहेछ चालचुल आवाज ननिकाली। बिहान बितेको पत्तो नहुने रहेछ। चारैतिर आँखा डुलाउँछु तर देख्दिन बित्दै गरेको समय। बिहानीको मुखमण्डल दिनमा रूपान्तरित भएको चालै पाइन। सायद अपराह्नअघि बिहानले आफूलाई आत्मसमर्पण गर्छ क्यारे!

बिहानीको सौन्दर्यको पारखी म। बिहानीले फालेका सुन्दर फाल्साहरूको फ्यान म। बिहानीको बहाव चल्दै जाँदा मन पनि कता कता बत्ती निभेकोजस्तो अध्याँरो बन्छ। अदृश्य ढंगले बिहानी हराउँछ मेरो समीपबाट। भोलि बिहान फेरि तरोताजा भएर मेरो ओछ्यानमा आफ्नो सूर्यको मधुर आभा छर्दै आउँछ र मलाई उठाउँछ। उसको पदचाप मैले पत्तो पाउँछु। र म उठ्छु। सुनौला आभामा चाँदीझैं टल्कने त्यो हिमाल हेरेर ममा ताजापन छाउँछ। यो मेरो दैनिकी हो। न उसको आवागमनको आवाज आउँछ, न उ बाहिरिँदा ‘गएँ है’ भन्छ। यति धेरै सतर्कता अपनाउँछ ऊ कि गइसकेपछि मात्र चाल पाइन्छ। ऊ गएको सन्देश अपराह्नले प्रवाह गर्छ। यसैगरी बिहान हिँडिदिन्छ। तर उसले आफू जाँदा कसैलाई पर्खने यत्न गर्दैन। यो उसको नियति होला जुगौंजुगदेखिको। ऊ गएसँगै हाम्रा दैनिकीका व्यस्तताहरू बढ्दै जान्छन्। बजारमा मानिसहरूको चहलपहल बढ्दै जान्छ। सडकमा सवारी साधनका चापले पूरै जाम सुरु हुन्छ। सरकारी अड्डा अदालत, उद्योगधन्दा, कलकारखानाहरूमा कामको चाप बढ्छ। हर क्षेत्र व्यस्त र कोलाहलयुक्त हुन्छ।

दिन आउनका लागि बिहानीको अस्तित्व अनिवार्य छ। बिहानीले आँखा नखोले दिनको आवागमन हुँदैन। जबसम्म धर्तीमा सूर्यनारायणले आफ्नो किरण पोखिँदैनन्, तबसम्म बिहानी आउँदैन। बिहानी आउने संकेत दिने मलेवा र परेवा घुर्दैनन्। कुखुराले कुखुरी काँ गर्दैन। मन्दिरमा घन्टा बज्दैनन्। मान्छेहरूको निद्रा खुल्दैन। जब बिहान हुँदैन। बिहानीसँगै त होस् जुन र ताराहरू आकाशबाट लुक्ने। यसैले बिहानबाट सुरु हुने दिन र रात प्रकृतिको नियम नै हो।

तर, मलाई थाहा छ  -भोलि अनिश्चित छ। त्यसैले आजै गर्नु छ। सबेरै गर्नु छ। बिहानसँगै उठेर कर्ममा तल्लीन हुनु छ। समय आफ्ना पदचापहरूमा चिप्लिँदै जान्छ, पत्तो हुँदैन। पलपल गरेर ऊसँगै हाम्रा जीवनका सब चिज पनि खिइँदै जान्छन्। मक्किँदै जान्छन् शरीरका विभिन्न अंगहरू। हामीलाई लाग्छ– बिहानी भो, बिहानी दिउँसोमा सर्छ र बिलाउँछ। दिउँसो रातमा परिणत हुन्छ र हामीबाट हराउँछ। यो दैनिकी हो समयको। यही दैनिकीसँगै हाम्रा आयु पनि चिप्लिँदै जान्छन् क्रमशः पला, घडी, सेकेन्ड र मिनेट गर्दै। यसैले बिहानीसँगै जीवनका उद्देश्य पहिल्याएर अघि बढौं। वर्तमानमा बाँचौं। हर कुरा भोलिलाई नसाँचौं। साँच्चै भोलि अनिश्चितताको घेरामा छ। बिहानीको आभासँगै ताजा सोच र चिन्तन लिएर बाँचौं। बिहानीझैं उज्यालो र शीतल भएर बाँचौं। मान्छे हुनुको सार्थकतामा बाँचौं।

प्रकाशित: ३० फाल्गुन २०८२ ०७:१० शनिबार