कला/साहित्य

सहरभित्रको बन्द कोठा

कथा

ठमेल कहिल्यै शान्त अनि मौन भएको देखिँदैन। दिनभरि गाडी, रिक्सा अनि मानिसको आवाजले थर्काउँछ। हुन पनि सडकहरू सधैं चलायमान छन्। ट्याक्सीहरू दौडिरहेका छन्। मोटरसाइकलहरू कराउँदै गुड्छन्। चिया पसलहरू प्रायः चौबिसै घण्टा चलिरहन्छन्। एक किसिमले चीनको कुनै सानो सहरजस्तो पनि लाग्छ।

यही सहरभित्र हजारौं घर यस्ता छन्, जहाँ ढोका बन्द छन्, झ्याल बन्द छन् र मानिस आफैंभित्र थुनिएका छन्। यही सहरको एउटा अपार्टमेन्टको सातौं तल्लामा वर्षा आफ्नो कोठाको ऐनामा हेरेर आफूलाई आफैं प्रश्न गर्छिन्– म कति बदलिएकी छु?

वर्षा कामकाजी महिला, उमेर करिब तिसको हाराहारीमा, कर्पोरेट अफिसमा काम गर्ने, सक्षम अनि शिक्षित। राम्रो पढाइ, नियमित तलब, व्यवस्थित जीवन, समाजमा सम्मान। उनका श्रीमान् बादल सरकारी सेवामा थिए। जिम्मेवार र समाजले आदर्श मानेका पुरुष। बाहिरबाट हेर्दा उनीहरूको जीवन सुन्दर देखिन्थ्यो तर ती सुन्दर जोडीको भित्ताभित्र मौनता बाक्लिँदै गइरहेको थियो।

वर्षा र बादलको विवाह मन पराएर भएको होइन। मागी विवाह भए पनि जबरजस्ती भने गरिएको होइन। परिवारको सिफारिस, मिलेको जन्म–कुण्डली। समयसँगै माया बस्छ भन्ने विश्वासमा उनीहरू जोडिएका थिए। सुरुमा दिन राम्ररी बितेका थिए। भविष्यमा सपना, काम, योजना, दुवैले मिलेर एउटै देखेका थिए। सानो घर, रमाइलो जोडी, ठुलो आशा लिएर हिँडेका थिए। आआफ्नो अफिसमा दुवै परिपक्वतासाथ काम गर्दै आइरहेका थिए। बिस्तारै बिस्तारै काममा जिम्मेवारी बढ्दै गयो। उनीहरू आफूमा सीमित हुन थाले। घण्टौं बसेर कुरा गर्ने उनीहरूको कुराकानी छिटै सिद्धिन थाल्यो। लामो संवाद साना साना वाक्यमा झरे। पछि त्यो वाक्य पनि आवश्यक परेमा मात्र प्रयोग हुन थाल्यो। बादल प्रायः थाकेका देखिन्थे। उनलाई घरायसी कुरामा कुनै इच्छा हुन छोड्यो। दुवै थकित भएर कार्यालयबाट घर फर्किन्थे, बादल शारीरिक रूपमा अनि वर्षा भावनात्मक रूपमा।

वर्षाले धेरै पटक बादलसँग प्रश्न गरिन्– किन हामी टाढा भइरहेका छौं? हामी किन सँगै यताउता घुमफिर गर्दैनौं? तर बादलको प्रायः उत्तर एउटै हुन्थ्यो– यो उमेरमा सबै दम्पती यस्तै हुन्छन्। हामी टिन एजर हो र? जीवनमा धेरै कर्तव्यहरू हुन्छन्। कहिले केलाई प्राथमिकता दिनुपर्छ, कहिले केलाई।

उत्तर समाजका लागि पर्याप्त हुन सक्ला तर वर्षाका लागि भएन। सम्बन्धबारे वर्षाको फरक सोच थियो। उनलाई लाग्थ्यो, सम्बन्ध भनेको एकअर्कालाई खुसी राख्नु, अनुभूति बाँड्नु, एकअर्कालाई प्रोत्साहन गर्नु, तारिफ गर्नु हो, एउटै घर मेसिनजस्तो भएर बस्नु सम्बन्ध होइन। भावना साटासाट हुनुपर्‍यो, योजना–सपना एउटै हुनुपर्‍यो। तर बादलको व्यवहारले उनी एक्लिएकी थिइन्। सबै कुरा पुगे पनि केही नपुगेको जस्तो महसुस हुँदै थियो। आफूमा कुनै चाहना नदेखाएपछि वर्षा पनि आफ्नो कार्यालय र आफूमै रम्न थालिन्।

वर्षाको कार्यालयमा नयाँ प्रोजेक्ट म्यानेजर आर्यान नियुक्त  हुन्छन्। विदेशबाट फर्किएका, खुला सोच भएका, अरूका कुरा ध्यान दिएर सुन्ने अनि शब्दैपिच्छे वर्णन गर्ने। वर्षा र आर्यानको काम गर्ने शैली मिल्थ्यो। वर्षाले भनेका कुरा ध्यान दिएर सुन्ने अनि प्रश्न पनि गर्ने स्वभाव थियो आर्यानको। तपाईंलाई किन त्यस्तो लाग्यो? के यो तपाईंको विचार हो? वर्षाका लागि यो नयाँ अनुभव थियो। बिस्तारै बिस्तारै एकअर्काको चाहना तथा रोजाइ पनि दुवैले बुझ्न थाले। वर्षा र आर्यानले दिउँसोको खाजा पनि सँगै खान थाले। अब वर्षालाई समय काट्न त्यति धौ धौ भएन। अमेरिका बसेर आएको आर्यानलाई केटी साथीसँग कसरी काम गर्ने, मन कसरी जित्ने, साथीको महत्त्व कसरी दिने जस्ता कुरा थाहा थियो।

उनीहरूको मित्रता बाक्लिँदै गएको थियो। उनीहरू प्रोजेक्ट प्रपोजलबारे छलफल पनि गर्थे। आआफ्नो काममा सफल पनि भइरहेका थिए। उनीहरूको आत्मीयता पनि बढ्दै गइरहेको थियो। प्रोजेक्टपछिको छोटो हाँसो र संवादले उनीहरू एक अर्कामा हराउँदै पनि गएका थिए।

एक दिन आर्यानले सोधे– वर्षा, तपाईं बोल्दै गर्दा तपाईंको आवाजभन्दा तपाईंको मौनता धेरै बोल्छ। वर्षा चुप भइन्। उनको लामो समयपछि कसैले उनको मौनता सुनेको थियो। उनीहरूको मित्रता एकैचोटि प्रेम बनेन। सुरुमा सहयोग थियो, पछि आत्मीयता भयो। त्यो आत्मीयताले एकअर्काको सामीप्य खोज्ने त्यो दिन वर्षालाई अझै पनि याद छ। उनीहरू प्रोजेक्टको काममा यति व्यस्त थिए कि समय बितेको पत्तै पाएनन्। बाहिर पानी परिरहेको थियो। आकाश गड्याङगुडुङ गर्जिएको थियो। आर्यानले भनिरहेका थिए– कहिलेकाहीं हामी गलत होइनौं, केवल एक्लो हुन्छौं। वर्षाले उत्तर दिइनन् तर त्यो मौनताले निर्णय गरिसकेको थियो।  

त्यो साँझ पनि वर्षाको जीवन दुई भागमा बाँडिएको थियो– घर र बाहिर, कर्तव्य र चाहना, सही र सान्त्वना। कुनै पनि आधुनिक समाज बाहिरबाट खुलेको देखिए पनि भित्र अझ कठोर छ भन्ने कुरा वर्षालाई थाहा थियो। उनी आफैं प्रश्न गर्थिन्– के म गलत छु? म स्वार्थी छु? वा म केवल मेरो भावना, मेरो कुरा सुन्ने व्यक्ति  खोजिरहेको थिएँ? यिनै प्रश्नमा वर्षा अलमलिइरहेकी थिइन्।

उता बादलको रुटिन एउटै थियो। समयमा घर आउने, टिभीमा समाचार हेर्ने, खाना खाने, समाचार पढ्ने अनि सुत्ने। यता वर्षा चाहिनेभन्दा बढी ठुलो स्वरले हाँस्ने। कम बोल्न थाल्दै थिइन् र राती निदाउन गाह्रो हुन थालेको थियो। अपराधबोध र खुसी एउटै मनभित्र सँगै बस्न थाले। वर्षाले मनलाई बाँध्न सकिनन्। यो सम्बन्ध गोप्य थियो तर सुरक्षित थिएन। उनीहरूको मित्रताबारे अफिसमा हल्ला चल्न थाल्यो। एक सहकर्मीको नजर अलि लामो हुन थाल्यो।

एउटा सन्देश गलत समयमा आयो। वर्षा डराउन थालिन्। उनले आर्यानलाई भनिन्– हामी अब टाढिनुपर्छ। आर्यान केहीबेर चुप रहे र भने, ‘के तिमी फेरि मौनतामा जान सक्छौ?’ त्यो प्रश्न वर्षाको मनमा गहिरिएर बस्यो।

वर्षा अलि बढी व्यस्त भएको देखेर एकदिन साँझ बादलले सोधे– वर्षा के तिमी खुसी छौ? वर्षा पहिलो पटक अलमलिइन्। झुट बोल्न सकिनन्। सत्य बोल्ने हिम्मत आएन। त्यो रात बादल सुत्न सकेनन्।

उनीहरूको कथाको मोड नाटकीय खुलासामा आएन। एकअर्कामाथि विश्वास बिस्तारै फुट्दै गयो। एक दिन बादलले श्रीमतीको मोबाइलमा म्यासेज आएको देखे। ‘आर्यान’, ‘आर्यान’ बारम्बार आएको देखे तर पढेनन्। त्यतिमै पर्याप्त भयो। घरमा ठुलो झगडा भएन। आँसु पनि तत्काल आएन। केवल लामो मौनता छायो। अन्नतः बादलले भने, ‘म तिमीलाई दोष दिन्नँ। तर म आफूलाई पनि माफ गर्न सक्दिनँ।’

आर्यानसँगको सम्बन्ध त्यही दिन अन्त्य भयो, कुनै नाटकीय बिदाइ भएन। केवल स्वीकारोक्ति भयो। वर्षा एक्लै भइन, न बादल न आर्यान। समाजले दबाबस्वरूपको प्रश्न गर्‍यो– ‘सम्झौता गर, पुराना कुरा बिर्स, घरलाई बचाऊ।’ तर कसैले सोधेन– तिमी के चाहन्छौ?

समय बित्दै गयो। वर्षा र बादल कानुनी रूपमा होइन, भावनात्मक रूपमा अलग भए। वर्षा नयाँ घरमा सरेकी थिइन्। उनी अझै पनि आफैंलाई दोष दिन्छिन्। तर उनले एउटा कुरा बुझिनन्, ‘एक्स्ट्रा मेरिटल अफेयर’ सधैं कामनाबाट सुरु हुँदैन। कहिलेकाहीं यो शून्य–अभावबाट सुरु हुन्छ। मौनताबाट जन्मिन्छ। यो कथाले सम्बन्ध तोडेको छैन, भ्रम तोडेको छ।

ठमेल उस्तै छ, चौबिसै घण्टा भिडभाड अनि व्यस्त। एकछिन रोकिएर कुरा गर्ने फुर्सद कसैलाई छैन। वर्षा अब ऐनामा हेर्दा एउटा प्रश्न गर्छिन्– अब म इमानदार छु? सायद यही प्रश्न आधुनिक समाजको सबैभन्दा गाह्रो प्रश्न हो। सहर खुल्दै गएको छ तर मनहरू अझै बन्द छन्, ढोकाहरू खुला छन् तर संवादहरू बन्द भएका छन्। बन्द ढोकाभित्रको सहर यही हो, जहाँ मानिसहरू सँगै बस्छन् तर एक्लै बाँच्छन्।

प्रकाशित: १७ माघ २०८२ ०७:२७ शनिबार