कला/साहित्य

कवि लाकाेजूकाे साताैं कवितासंग्रह ‘सूर्यको एक झुल्को घाम’ माथि चर्चा

कहिलेकाहीँ अँध्यारो सुरुङजस्तै लाग्छ जिन्दगी तर त्यही अँध्यारो बीच आशाको एउटा झुल्को घाम उदाउँछ। यस्तै विश्वास, अनुभूति र जीवनदर्शन समेट्ने प्रयास गरेर सिर्जना गरिएका कविताहरूको सँगालो हो ‘एक झुल्को घाम’। कवि सूर्यप्रसाद लाकोजूले नवीन कवितासंग्रह एक झुल्को घाममाथि एक समारोहबीच हालै परिचर्चा भएको छ।

देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाको आयोजनामा सम्पन्न सो परिचर्चा कार्यक्रममा देवा पत्रकार राष्ट्रिय दवूका केन्द्रीय सचिव राजु नापितले आउँदै गरेको तिहारको शुभकामना दिँदै नेपाली साहित्यमा सूर्य लाकोजु जस्ता जनजातिको प्रतिनिधित्व गर्ने साहित्यकारहरूको उल्लेखनीय भूमिका रहेको बताए।

कवि लाकोजूले कविता सदैव सकारात्मक सन्देश बोकेको हुनुपर्ने विचार व्यक्त गरे। कविताले सदैव सद्भाव, समभाव र सहभावको चेतना छर्नुपर्ने भनाइ राखे।

साहित्यकार तथा पत्रकार हरिसुन्दर छुकांले पुस्तकमाथि आफ्नो समालोचकीय टिप्पणी प्रस्तुत गरेका थिए। उनले कविताहरू घामजस्तै उज्याला र बलिया रहेको बताए। कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे उनले व्यापक चर्चा गरेका थिए।

समारोहमा साहित्यकार कृष्णकुमार वैद्य, नवराज दाहल उत्साही, विजयराम कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य, पत्रकार इन्द्रबहादुर थापा, सनम सुवाल, विपशना शाक्य, अन्जली तामाङ, हर्षनारायण कर्माचार्य, टीकाभक्त भोछिभोया, दीलिप श्रेष्ठ, विश्वराम मानन्धर, अर्चना कर्माचार्य लगायतले शुभकामना दिएका थिए।

कार्यक्रम देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाका सभापति शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो।

तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाइरहेका छन्। यस कृतिसँगै उनी सात कवितासंग्रहका सर्जक भएका छन्। घाम कविको रूपमा लाेकप्रिय लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय छन्।

प्रकाशित: १८ कार्तिक २०८३ १२:३९ बुधबार