कला/साहित्य

भत्किएको घर

लघुकथा

"के भयो सपना? घर जाने साधन पाएनौं?" प्रेमको आवाजले सपना झसङ्ग भइन्।

"अहँ, धेरैबेरदेखि कुर्दै छु। अझै आएको छैन। नानी आत्तिएकी होली। यता बस नपाएर कुर्नुपरेको छ।" सपनाले प्रेमतिर नहेरी भनेकी थिई।

"त्यसो भए आउ बस वाइकमा, घरसम्म म छाडिदिउँला।" प्रेमले सहयोगी भाव देखायो।

"भैगो भर्खरै हामीले अन्तिम निर्णय लिइसकेका छौं। आआफ्नो सुखदुःख आआफैँले समाधान गर्न सिक्नुपर्छ।" सपनाले मलिन अनुहार बनाउँदै भनी।

प्रेमले भन्यो, "सपना, कसैले पनि अन्तिम निर्णय गर्न सक्दैन मानिस बाँचुञ्जेल थुप्रै ज्वारभाटा आउँछन्।"

"बस रात पर्न थालेको छ। यो एरिया अलिक ठिक छैन तिमीलाई म घर पुर्‍याइदिन्छु।" प्रेमले थप भन्यो।

"अझै तिमीलाई मेरो चिन्ता उस्तै लाग्छ? " सपनाले साेध्दै बाइकमा बसी।

प्रेमले वाइक स्टार्ट गर्‍याे र गुड्न थाले। सपनाले एउटा हातले प्रेमलाई छोपी।

"अब के विचार छ तिम्रो? कसरी चलाउँछ्यौ अबकाे जीवन?" प्रेमले ठटौले पारामा भन्यो।

सपनाले पनि ठटौले पारामा भनी, "अब तिमीले छाडिसकेपछि जानुपर्ला नि कतै।" 

"सपना छोरीलाई तिमी जहाँ गए पनि दुःख नदिए।" प्रेमले सम्झाउन खोज्यो।

सपनाले अलिक भावुक हुँदै भनी, "केरे? आफ्नो छोरीको यति चिन्ता थियो भने डिभाेर्स नै किन गर्नुभएको हो?"

"डिभाेर्स त तिम्रो खुसीका लागि दिएको हो। तिम्रो चाहना त्यही त थियो।" प्रेमको गला पनि अवरूद्ध भएको थियो।

सपनाले प्रेमको कम्मरमा हात राखेर उसको पिठ्यूँमा आफ्नो शिर राखेकी थिई।

"सुन्नुस् त एउटा कुरा भनौँ?" सपनाले अनुमति मागी।

प्रेमले सटिकमा अनुमति दियो, "भन!"

"के अब यो भूल सुधार हुन सक्दैन्?" सपनाको यिनै शब्दले गुडिरहेको बाइकमा घचक्क ब्रेक लगायो।

प्रकाशित: ११ आश्विन २०८३ १३:४४ आइतबार