साहित्य के हो र कस्तो हुनुपर्छ भन्ने कुरासँग भलिभाँती परिचित डा. लक्ष्मणप्रसाद गौतम स्वयं सशक्त स्रष्टा पनि हुन्। सिर्जना र समालोचना दुवैमा समानान्तर कलम चलाउन सक्ने खुबी भएका गौतमका सिर्जनामा समालोचकीय दृष्टि झल्किएको पाइन्छ। सिर्जनाले पुस्तकको रूप लिइसकेपछि आउन सक्ने सम्भावित टिप्पणी र पाठक प्रतिक्रियालाई समेत ध्यानमा राखेर सकेसम्म त्यस्तो टिप्पणी र प्रतिक्रिया नआओस् भन्ने सचेतता अपनाएर लेखिएका गौतमका सिर्जनाहरू अब्बल दर्जाका हुन्छन् र प्रभावशाली हुन्छन्।
मूलतः समालाेचकका रूपमा परिचित गौतमका डेढ दर्जनभन्दा बढी अनुन्धानमूलक समालोचना कृति र त्यति नै सङ्ख्यामा सम्पादित ग्रन्थहरू प्रकाशित छन्। साथै यसअघि उनको ‘उहापोह’ शीर्षकको एउटा कथासङ्ग्रह पनि प्रकाशित छ। यो कथासङ्ग्रहभित्र समयको प्रवाहमय गतिसँगै परिवर्तन भइरहने मानवीय जीवनका प्राप्ति–अप्राप्तिमा केन्द्रित, नारी संवेदना, पुरुषमनोविज्ञान, प्रेम–प्रणयका साथै विज्ञानप्रविधि र साइबरसंस्कृति जस्ता समयसापेक्ष सन्दर्भलाई अन्तर्वस्तु बनाइएका १४ सुन्दर कथा सङ्गृहीत छन्।
उनै प्राज्ञिक व्यक्तित्व लक्ष्मणप्रसाद गौतम निबन्धकारका रूपमा पनि पाठकसमक्ष उपस्थित भएका छन्। पचासको दशकदेखि नै फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा निबन्ध प्रकाशित हुँदै आएका निबन्धकार गौतमको नवीनतम निबन्धसङ्ग्रह ‘समवेत’ हालै प्रकाशित भएको छ।
उनको त्यो प्रज्ञा र बुद्धि ‘समवेत’मा सङ्गृहीत सुललित निबन्धहरूमा छरपस्ट पोखिएका छन्। पाठकले निबन्ध पठनको रसास्वादन गर्दै उनको त्यो अमूल्य प्राज्ञिकता र बौद्धिकताबाट पनि लाभान्वित हुने अवसर पाउने छन्।
‘समवेत’ निबन्धसङ्ग्रहभित्र ‘उपासना’ शीर्षकखण्डमा पाँच वटा, ‘भावना–स्पर्श’ शीर्षकखण्डमा चार वटा, ‘ऋतदृष्टि’ शीर्षकखण्डमा चार वटा, ‘प्रत्यास्मरण’ शीर्षकखण्डमा चार वटा र ‘विसंलाप’ शीर्षकखण्डमा चार वटा गरी कुल २१ वटा अत्यन्तै सुन्दर र सुललित निबन्धहरू सङ्गृहीत छन्। शीर्षकखण्ड विभाजनले निबन्धको भाव बुझ्न सहज बनाएको छ।
परिष्कृत भाषाशैली, कलात्मकता र विम्बात्मकता, कायाव्यात्मक रस, चिन्तनप्रधान र सम्बोधन शैली ‘समवेत’ निबन्धसङ्ग्रहका विशेषता हुन्। यिनै विशेषताहरूले गर्दा सङ्ग्रहका निबन्धहरू अत्यन्तै दमदार र प्रभावशाली बनेका छन्। निबन्धका हरेक शब्दावलीले नवीनताको भिन्न अनुभूति गराउँछ। सुन्तलाका केस्राजस्तै रसिला छन् शब्दहरू। जति पर्गेल्दै जान्छौं, उति रस निष्पत्ति हुन्छन्। निबन्ध पठन गर्दैगर्दा मनमा पठनको आनन्द सञ्चार भइरहन्छ। शब्दहरू फूलका थुँगाजस्तै सुवासिला छन्। हरेक शब्द र शब्दावली फूलजस्तै मगमगाउँछन् र पाठकलाई भिरमौरीको महले झैं लठ्याउँछन्। शब्दहरू वजनदार छन् र हरेक वाक्यको बान्की सानदार छन्। दर्शन र चिन्तनले भरिएका निबन्धहरूले पाठकको चेतना र चिन्तनमा सकारात्मक परिवर्तन ल्याउने छन्।
निबन्धका शीर्षकले नै गहन अर्थ बोकेका छन्। सामान्य निबन्धभन्दा फरक छन्। लेखाइ पनि फरक छन् र उत्कृष्ट छन्। हरेक निबन्ध कलात्मक छन्। विम्बात्मक छन्। गुणात्मक घनत्वका दृष्टिले अत्यन्तै उच्च र उत्कृष्ट छन्। निबन्धका भाव र सन्देश सम्प्रेष्य छन्। हरेक निबन्धले मानवीय चेतना, जीवनदर्शन र चिन्तनको यथास्थितिमा परिवर्तन गर्ने सामथ्र्य राख्छन्। निबन्धकार गौतमले आफ्नो निबन्ध ‘उषा–आमन्त्रण’ मा उषाको दिव्यता देखेजस्तै पाठकले उनका निबन्धमा शब्दविम्बको दिव्यता देख्नेछन्।
गौतमका निबन्धमा समभावका अमृतवचनहरू छन्। समभावका आदर्शवाणीले हृदय सिञ्चित गर्छन्। भाव, विचार, ज्ञान, दर्शन र चिन्तनको भरपुर समायोजन भएका निबन्धहरूमा पाठकहरूले जीवनको दर्शन भेट्नेछन्। हरेक निबन्धमा उत्कृष्ट विचार, सुन्दर कल्पना, व्यावहारिक दर्शन र नवीन चिन्तनले जीवनको यथार्थलाई सुन्दर ढङ्गले परिभाषित गरेको पाइन्छ। उनले आफ्नै दर्शनको प्रतिपादन गरेका छन्। जीवन र जगत्लाई बुझ्ने र मान्छेलाई चिन्ने चिन्तन गरेका छन्। काँडाले बोल्ने भाषामा जीवनको अर्थ खोज्ने प्रयास गरेका छन्। ‘समुद्रको पिँधमा पाइने मणि पो रहेछ काँडासँग माया गर्नुको गहिराइ’ (पृष्ठ ७५) भनेर तत्त्वज्ञान सिकाएका छन्।
आफैंलाई पोखेर विरेचित हुन लालायित निबन्धकारका मनका बिस्कुनहरू किताबका पानाभरि पोखिएका छन्। अक्षरमा पोखिनुभन्दा आँसुमा पोखिनुमा निश्छलता र निर्दोषता देखिने अनुभूति गरेका छन्। ईश्वर मर्यो भने पनि, ईश्वर जिउँदै छ भने पनि साक्षात् ईश्वर कसैले देखेका छैनन्। हामीले देख्ने ईश्वर हुन् हाम्रैसामु उभिएका वृद्धवृद्धा अनि अबोध शिशुहरू। तिनकै अनुहारमा प्रतिविम्बित हुन्छन् साक्षात् ईश्वर। ‘ईश्वर त एउटा मिठो अनुभूति रहेछ। मलाई ईश्वरको मूर्तताभन्दा अमूर्तता मिठो लाग्छ। दुःख, सुख, वेदना, चिन्ता, चिन्तन र सबैसबै संवेदित क्षणहरूमा पुकारिने अमूर्त नाम रहेछ ईश्वर। पूरै एकान्तिक क्षणहरूको अन्तरङ्ग साथी र आत्मीय मित्र रहेछ ईश्वर।’ (पृष्ठ १०२) ईश्वरप्रतिको उनको यो फरक धारणा अनुसरणीय छ।
बत्ती निभाएर बर्थ डे मनाउने संस्कारको अन्धानुकरण र अन्धानुसरणप्रति असन्तुष्टि, गुनासो र कटाक्ष गरेका छन् गौतमले। बढ्दै गरेको सांस्कृतिक उपनिवेशप्रति चिन्ता पनि व्यक्त गरेका छन्। मानव जीवनका सङ्गति, असङ्गति र विसङ्गतिहरूलाई आफ्ना विचार, चिन्तन र दर्शनको माध्यमबाट सरल ढङ्गमा विश्लेषण गरेका छन्। जीवन र मृत्युलाई समाजशास्त्रीय आँखाले हेर्दै त्यसलाई बुझ्ने प्रयास गरेका छन्। मानवीय संवेदना, जिजीविषा र समाजको कटु यथार्थलाई ज्ञान, चिन्तन र दर्शनको माध्यमबाट बुझ्ने र बुझाउने प्रयास स्तुत्य छ।
निबन्धकार गौतमको हेराइमा व्याकपता छ, बुझाइमा गहिराइ छ र अभिव्यक्तिमा इमानदारी छ। त्यसैले निबन्धहरूमा यथार्थता छ र सत्यता छ। हेराइमा व्यापकता, बुझाइमा गहिराइ र अभिव्यक्तिमा यथार्थ अथवा सत्यता बोकेका गुणात्मक घनत्वका निबन्धहरूको प्रस्तुतिमा कलात्मकता र बिम्बात्मकता थप सौन्दयका रूपमा रहेका छन्। कलात्मक र विम्बात्मक सौन्दयले भरपुर निबन्धहरूले पाठकलाई मोहित पार्नेछन्।
ज्ञानको ज्योति, भावनाको संवेग, कल्पनाको उडान, दर्शनको दिव्यता र चिन्तनको चमत्कारले हरेक निबन्ध अर्थपूर्ण, प्रभावशाली र पठनीय बनेका छन्। मानवीय यथार्थ, सामाजिक यथार्थ र राजनीतिक यथार्थ निबन्धका अन्तर्य हुन्। मानव, समाज र नेतृत्वलाई पनि सन्देश दिएका छन् र खबरदारी गरेका छन्। मानवीय, सामाजिक र नेतृत्वको प्रवृत्तिले मान्छेले दुःख र पीडा भोग्नुपरेको यथार्थलाई कलात्मक र विम्बात्मक रूपमा प्रस्तुत गरिएका छन्।
आफैंभित्र ज्ञान, दर्शन र चिन्तनको एउटा नदी बोकेर बाँचेका गौतम अरूलाई त्यो ज्ञान, दर्शन र चिन्तनले सिञ्चित गर्न सधैं लालायित छन्। यही लालसा यो निबन्धसङ्ग्रहका निबन्धहरूमा पनि पोखिएका छन्। वृक्षवनस्पतिजस्तै छन् निबन्धकार गौतम पनि अरूका लागि फुलिरहेका छन् र अरूका लागि फलिरहेका छन्। सुन्दर भावना, मिठो कल्पना, गहकिलो ज्ञान, गहिरो चिन्तन अनि गम्भीर र मननीय दर्शन। यी सबैको कोलाज हो ‘समवेत’।
प्रकाशित: ९ फाल्गुन २०८२ ०८:०५ शनिबार



