कला/साहित्य

नयाँ कुमारी आर्यताराको विधिपूर्वक स्वागत, पुरानी कुमारी तृष्णाको बिदाइ

नव घोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारी घरमा आसन गराइएको छ। मंगलबार आयोजित एक विशेष समारोहमा जीवित देवीका रूपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो।

विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ। इटुम्बहालकी साढे दुई वर्षिया आर्यताराले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ । 

कुमारीभर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ। 

वसन्तपुरस्थित कुमारी घरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो। 

यसैबिच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाइ गरिएको छ।

प्रकाशित: १४ आश्विन २०८२ १९:२८ मंगलबार