कला/साहित्य

तेलकोटदेखि तेलअभिभसम्म तस्बिरको १४ वर्षे यात्रा

तस्बिर कथा

चौध वर्षअघि भक्तपुरको तेलकोटमा घुम्दै थिएँ। म र मेरो क्यामेरा नयाँ दृश्यको खोजीमा थियौं। गाउँको साँघुरो बाटोमा मन्द गति हुँदै हिँड्दै गर्दा नजर पर्‍यो, एउटा इजरायली परिवार, आमाबाबु र तीन साना बच्चा। काँधमा ब्याग, हातमा पानीको बोतल र अनुहारमा हाँसो। उनीहरू हाइकिङ गर्दै थिए तर त्यो हाइकिङ साधारण थिएन । उनीहरू गाउँसँग, जीवनसँग र नेपाली माटोसँग जोडिँदै थिए।

म क्यामेरा निकालेर केही तस्बिर खिचेँ। ती दृश्यमा केवल पर्यटक मात्र होइन, एउटा संस्कृतिको संगम थियो। नेपाली आँगनमा उभिएका इजरायली परिवार, पृष्ठभूमिमा हरियो खेत, बाख्राका हुल। तीमध्ये एउटा फोटो मैले त्यसै रात समाचार कक्षमा पठाएँ। भोलिपल्ट त्यो तस्बिर पत्रिकामा छापियो।

दुई दिनपछि इमेल इनबक्समा एउटा छोटो सन्देश आयो। पत्रिकामा तस्बिर छापिएको रहेछ। हामीलाई घुम्नेक्रममा कसैले देखाइदिए,  धन्यवाद!  पठाउने थिए एलन, त्यही परिवारका पिता।

उनले लेखेका शब्दहरू छोटा थिए, तर ती शब्दमा धन्यवादभन्दा बढी आत्मीयता थियो। त्यो दिनदेखि मेरो मनमा त्यो परिवारको अनुहार अंकित रह्यो। सानी केटी मिखाल, अर्की सानी छोरी टल र ठुलो छोरा युभाल। एलन र इभायाका सन्तान थिए उनीहरू। जो आमाबुबाको पछि लागेर नेपाल घुम्न आएका थिए।  

जीवनको दौडमा त्यो भेट बिस्तारै विस्मृतिमा हरायो। म नयाँ रिपोर्टिङ र यात्रामा व्यस्त भएँ  तर १४ वर्षपछि जब पुरानो फोटो फाइलहरू फेरेर हेर्दै थिएँ, त्यो तस्बिर फेरि देखापर्‍यो। गाउँको बाटो, तीन साना हातहरू र त्यो निष्कपट हाँसो। समय एकछिन रोकिएझैं लाग्यो।

त्यो पुरानो इमेल ठेगाना अझै मेरो नोटबुकमा थियो। धेरै सोचेर मैले फेरि लेखेँ– ‘हेलो एलन दिस इज द जर्नलिस्ट, हु टुक योर फोटो इन भक्तपुर, डु यु रिमेम्बर मी?’

दुई दिनपछि उत्तर आयो।

‘अफकोर्स, वी रिमेम्बर यु। यु आर जर्नलिस्ट।’

त्यो मेल पढ्दा आँखामा चमक आयो। उनीहरूले नत्र कसरी सम्झन्थे र? त्यो यात्राको तस्बिर मात्र होइन, ती सम्झना पनि त उनीहरूसँग गडेको रहेछ।

एलनले लेखे - ती हाम्रा रमाइला दिन थिए। बच्चा नेपालमा निकै रमाए। उनीहरू थाक्दा पनि हाँस्थे। केही समय दुःखी पनि हुन्थे तर साझ फेरि रमाउँथे। मैले तीन साना नानीहरू कत्रा भए त भनेर सोधेँ।  

त्यसपछि उनले आफ्ना सन्तानहरूको हालसालका तस्बिर पठाए। यो हेर्दा म अचम्ममा परें - त्यो समयको आठ वर्षकी मिखाल अहिले २२ वर्षकी भइसकेकी छन्। अनि चार वर्षकी सानी टल अहिले १८ वर्षकी साच्चिकै टल भइछिन्। ११ वर्षका युभाल अहिले २५ वर्षका लक्का जवान।

मैले दुवै तस्बिर, पुरानो र नयाँ, एकसाथ हेरेँ। एउटामा बाल्यकालको जिज्ञासा र हाँसो, अर्कोमा परिपक्व अनुहार तर दुवैमा एउटै कुरा झल्किएको थियो-नेपालप्रतिको माया।

एलनले भने, ‘हामीले नेपालमा बिताएको समय कहिल्यै बिर्सिन सक्दैनौं। बच्चाहरूले कहिल्यै उक्लाइ र थकानलाई दुःख मानेनन्, बरु रमाइलो गरे। उनीहरूले गाउँका मानिससँग हात मिलाए, स्थानीयले पकाएको दालभात खाए अनि हरेक रात नयाँ कथा सुते।’

उनी हाँस्दै थपे, ‘इजरायल फर्किएपछि पनि उनीहरूले आफ्ना साथीहरूलाई नेपाली कथाहरू सुनाए - हिमाल, मित्रता र सादगीका कथा।’

नेपालको त्यो यात्रा उनीहरूका लागि केवल छुट्टी थिएन, त्यो एउटा मानवीय सम्बन्धको पाठशाला थियो।

विपिनको प्रसङ्ग: संवेदनाको पुल

कुराकानीकै क्रममा एलनले अर्को विषय उठाए -नेपाली युवक विपिन। उनले भने, ‘हामीले समाचारमा विपिनबारे पढ्यौं, जो इजरायलमा बन्धक परेका थिए। मेरो परिवारलाई त्यो समाचारले निकै छोयो।’

एलनका अनुसार उनका सन्तानले पनि विपिनबारे सोध्थे। एलनको स्वर गम्भीर भयो, ‘हामीले उहाँको मुक्तिका लागि प्रार्थना गर्‍यौं। उहाँ नभएको समाचारले हामी सबै दुःखी भयौं।’

त्यस क्षण मलाई लाग्यो - एउटा तस्बिरले मात्र होइन, एउटा देश र देशबिचको मानवीय नाता पनि बनाउँछ।

एलनले भने, ‘अब जब हामी कुनै नेपालीलाई देख्छौं, हामीलाई उनीहरू सबै विपिनजस्तै लाग्छन् - परिश्रमी, निष्कपट र परिवारका लागि समर्पित।’

त्यो वाक्यले मलाई गहिरो छोयो। त्यो तस्बिरले म र एलनबिच मात्र सम्बन्ध बनाएन, त्यो फोटोग्राफीको सार पनि सम्झायो - दृश्यले शब्दभन्दा बढी कुरा बोल्छ। त्यो तस्बिरले समयको सीमालाई पार गर्‍यो, माइलका ढुंगाजस्तै दुई जीवनलाई जोड्यो। पत्रकार वा फोटोग्राफरका लागि हरेक तस्बिर केवल समाचार होइन, कहिलेकाहीं आत्माको सम्झना पनि हुन्छ।

एलनले अन्त्यमा लेखे, ‘सम्भव भयो भने हमीलाई फेरि नेपाल आउने रहर छ। मैले कल्पना गरेँ, १४ वर्षपछि उनीहरू पुनः त्यही माटोमा पाइला राख्नेछन्, जहाँ उनीहरूले पहिलो पटक नेपाललाई महसुस गरेका थिए। म सोच्दै छु - जब उनीहरू भक्तपुरको तेलकोट पुग्नेछन्, उनीहरूका आँखामा पुरानो दृश्य झल्किनेछ - आँगनमा खेल्दै गरेका बाख्रा, ढुंगाको ढिस्को र सँगै हिँड्ने त्यो नेपाली पत्रकार।

कहिलेकाहीं एउटा क्लिकले केवल छविहरू मात्र होइन, समयको सम्झना र सम्बन्धको कथा पनि कैद गर्छ। त्यो इजरायली परिवारको मुस्कान अहिले पनि मेरो मनको भित्तामा टाँसिएको छ। नेपाल र इजरायलबिच हजारौं किलोमिटरको दुरी छ तर एउटा तस्बिरले त्यो दुरी पगालिदियो।

प्रकाशित: २२ कार्तिक २०८२ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App