गायक कविन्द्र श्रेष्ठले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएका छन्।
उनले कागेश्वरी मनहरामा रहेको स्नेहा आश्रममा पुगेर खाद्यान्न र नगद रकम सहयोग गर्दै आश्रममा रहेका १६ बालबालिकाहरुसँग केक काटेका थिए। गायक कविन्द्रले चामल, तेल लगायतका खाद्यान्नको साथमा नगद २५ हजार रुपैंया सहयोग गरेका थिए। गतबर्ष पनि स्नेहा आश्रममा जन्मदिन मनाउन पुगेका कविन्द्र आगामी दिनमा पनि विभिन्न समयमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
स्काई ब्याण्डका गायक कविन्द्रको जन्मदिन सेलिब्रेशनलाई साथ दिनका लागी कविन्द्र समेत आबद्ध रहेको ‘किवानिज क्लव अफ ब्राइटर फ्युचर लाइफ’का अन्य सदस्यहरुपनि पुगेका थिए। उक्त क्लबले नेपालमा सन् २०१५ देखी बालबालिकाकै क्षेत्रमा विभिन्न कार्य गर्दै आएको भन्दै गायक कविन्द्रको जन्मदिनको अवसर पारेर बालबालिकालाई कपि र कलम हस्तान्तरण गरेको थियो।
स्नेहा आश्रमका सञ्चालक आफैमा कलाकार समेत रहेका सुलेमान शंकर (ईकु)ले गायक कविन्द्रसँगै उपस्थित क्लबका सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे। उनले प्राय कलाकारहरुले जन्मदिनमा विभिन्न क्लब, रेष्टुरेन्टमा गएर पैसा खर्च गर्ने गरेको तर गायक कविन्द्रको पबित्र मन भएको भन्दै सम्मान ब्यक्त गरे।
ईकुले आगामी दिन स्नेहा आश्रमलाई केहि फराकिलो बनाउने योजना राखेको जानकारी गराएका थिए। उनका अनुसार अहिले आश्रममा १६ अनाथबालबालिका आश्रीत छन्। नयाँ ठाउँमा जग्गा भाडामै लिएर फराकिलो ठाँउमा सर्ने योजनामा रहेको बताए।
साथै गायक कविन्द्रले आफ्नो ब्यक्तिगतसँगै विभिन्न संघसंस्थाको तर्फबाट आश्रमका लागी सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने ‘आश्रमलाई फराकिलो ठाउँमा स्थानान्तरण गर्नका लागी आफूले गर्न सक्ने सहयोग गर्छु। म आबद्ध रहेका विभिन्न संघसंस्थालाई पहल गर्छु। बालबालिकाहरु खेल्न मिल्ने ठाउँ भयो भने राम्रो हुन्छ।’
गायक कविन्द्रले बालबालिकाहरुलाई गीत गाएर पनि सुनाएका थिए। उनले आफ्नो स्काई ब्याण्डकै ‘डाँडैमा मेला लागेछ’ बोलको गीत गाउँदा बालबालिका रमाएका थिए।
प्रकाशित: २२ कार्तिक २०७९ १५:३५ मंगलबार