‘आजकाल मान्छे धेरै मर्दैनन् किनभने रोगअनुसारको औषधि प्राप्त हुन्छ,’ ८२ वर्षीय वैकुण्ठबहादुर रन्जितले रमाइलो गर्दै भने, ‘मेरो त नामै वैकुण्ठ सबैलाई वैकुण्ठ बास गराउने नै मेरो नामको अर्थ हो।’ स्वयम्भूमा मर्निङ वाकमा वैकुण्ठले साथीभाइसँग रमाइलो गफ गर्दै भने, ‘भगवान्ले हामीलाई यति सुन्दर जीवन दिनु भएको छ। यसलाई रमाइलो गरी बाँच्न सक्नु नै जीवनको सार्थकता हो।’
उमेरले कात्तिक १३ गते ८२ टेक्दै छ तर उनको व्यवहार तन्नेरी जस्तै छ। दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म स्वयम्भूमा बिहानीको पैदल यात्रा गरेर स्वयम्भूको ठाडो भर्याङ चढेर मन्दिर पुग्दा उनी आफूलाई निकै फुर्तिलो महसुस गर्छन्।
दैनिक बिहानको २ घन्टा रन्जितले स्वयम्भूमै मर्निङवाक, खेलकुद र व्यायाम गरी बिताउने गर्छन्। साथीभाइसँग भेटेर रमाइलो गफ गर्दा अनि समाज विकासका कुरा गर्दा उनलाई निकै सन्तुष्टि मिल्छ। यति मात्र होइन, यो उमेरमा पनि उनको मेमोरी पावर निकै राम्रो रहेको छ भने दाँत पनि कुनै फुक्लेका छैनन्। आँखामा चमक र अनुहार हँसिलो छ। त्यही भएर त उनी स्वयम्भूमा सबैसँग सहजै घुलमिल हुन्छन्। नेवार सुमदायको भए पनि कहिल्यै जाँड, रक्सी, चुरोट खाने बानी उनको छैन। सादा खाना नै खाने बानीले पनि उनी स्वस्थ्य रहेको बताउँछन्।
त्यही भएर उनी वाकमा आउँदा भेट्नेहरू उनीसँग गफ मात्र होइन, सेल्फी खिच्न पनि निकै रुचाउँछन्।
रन्जितको कुरा गर्ने शैली निकै मिठो भएकै कारण बिहानीको पैदल यात्रामा स्वयम्भू क्ष्ोत्रमा आएका जोकोही पनि उनीसँग सहजै घुलमिल भइहाल्छन्। जोकोही पनि रोकिएर उनको केही बेर रमाइलो र उपलब्धि तथा सूचनामूलक गफ सुन्न बाध्य नै बन्छन्। कहिले आफ्नो परिवारका बारेमा, कहिले जीवनजगत्का बारेमा, कहिले स्वास्थ्य, कहिले शिक्षा, कहिले सामाजिक त कहिले राजनीतिलगायत सबै विषयमा उनीसँग उत्तिकै अनुभव छ। त्यही अनुभव उनले रमाइलो गरी सुनाउँछन्। ८२ वर्षको उमेरमा पनि तन्नेरीजस्तै देखिनुको मुख्य कारण नै मर्निङ वाक, योगा तथा नियमित शारीरिक व्यायाम गर्नु नै रहेको उनी खुसीसाथ सुनाउँछन्। बिहान उठेपछि नुहाएर पूजापाठ गरेपछि मात्र उनी बिहानीको पैदल यात्रामा निस्कन्छन्। स्वरसस्ती स्थान हुँदै ८ बजेभित्र स्वयम्भूको कारखाना चोकमा रहेको घर पुग्छन्। मानिस स्वभावले नै परिवर्तनशील हुने भनाइ उनको जीवनसँग ठ्याक्कै मेल खाएको छ। १६ वर्षकै उमेरमा उनले श्री ५ को सरकारको ग्रामविकास केन्द्रमा खरिदारको जागिर खाए पनि उनी दुई वर्षभन्दा बढी काम नगरेको सुनाउँछन्। मेट्रिकुलेसन (एसएलसी) पास नगरेकाले उनी पढाइका लागि जागिर छाडेको सुनाए।
त्यसपछि उनले आइएससी अध्ययन गरे। पढाइ सुरु गरेपछि घरपरिवारको पालनपोषणका लागि उनले यही समयमा भारतीय दुतावासमा काम गर्न थाले। यहाँ पनि तीन वर्ष मात्र गरेपछि उनी युएसएडमा छनौट भए तर घर छाडेर बाहिर जानुपर्ने भएकाले उनलाई यो काम पनि मन परेन। तीन छोराका पिता वैकुण्ठको जेठा छोरा ६२ वर्षका, माहिला ५९ र कान्छा ५७ वर्षका छन्। पछि उनी नेपाल क्यारियर्समा १५ वर्ष काम गरेर त्यो पनि छाडेको सुनाए। ‘मलाई जे मन लाग्छ, जेमा रमाइलो लाग्छ, त्यही काम गर्ने बानी छ। म पछिल्लो समयमा आफ्नै कारखाना र गाडीसमेत मान्छे राखेर चलाउन लगाए,’ उनले अनुभव सुनाए, ‘मान्छेले जति धेरै ठाउँमा जति धेरै प्रकारको काम गर्यो, त्यति धेरै विषयमा उसले ज्ञान पाउँछ।’ उनले ज्ञान बाँडे, ‘म धेरै पढेको छैन तर क्यारियर्समा काम गर्दा म्यानेजर भएँ। अंग्रेजीमा लेखपढ गर्दागर्दै अंग्रेजीको राम्रो जानकार भएँ। कामलाई तनावले होइन, रमाइलोसँग गरे मात्र स्वस्थ भइन्छ।’ त्यसपछि उनको घर गृहस्थीको काम सुरु हुन्छ। भनिन्छ, श्रीमतीले श्रीमान्को सेवा गर्नुपर्छ। तर
उनी आफ्नी श्रीमतीको विगत १२ वर्षदेखि नियमित बालकजस्तै सेवा गर्दै आएका छन्। किनभने १२ वर्षदेखि उनकी श्रीमतीलाई पक्षघात भएको छ। उनी विस्ताराबाट उठ्न सक्दिनन्। हुन त श्रीमान् र श्रीमतीमा ६ महिनाको मात्र फरक छ। श्रीमती ६ महिनाले कान्छी छिन्। तर उनी यसलाई पनि निकै रमाइलो गरी लिने गरेका छन्। ‘मेरी श्रीमतीको सेवा गर्न पाउनु नै मेरा लागि सौभाग्य हो।
उनको दिसापिसाब स्याहार्दा मलाई एउटा बच्चाको ख्याल गरेजस्तै लाग्छ। कुनै घिन लाग्दैन। खाना खुवाउने, नुहाइदिनेजस्ता सबै काम म आफै गर्छु,’ उनले निकै मिठो स्वरमा भने, ‘यो काममा मेरा तीन छोराले सहयोग गर्छन्। आमाले छोराको स्याहार गर्छिन् भने आमाको स्याहार गर्ने त भाग्यमानी छोरा हुन्छन्। मैले बुहारीलाई भने सासुआमाको कुनै काम गर्न लगाइनँ र लगाउँदिनँ पनि। तिनीहरू पनि त बच्चा नै हुन्। किन दुःख दिने भनेर मैले नै गर्न लगाइनँ। हामी बाबु र छोरा चारजना मिलेर सबै काम गरिहाल्छौं। निकै रमाएकै छौं।’
प्रकाशित: ८ आश्विन २०७९ ०२:०० शनिबार