कला

अत्यन्त सम्मानित तर तिरस्कृत जनकलाकार जेबी टुहुरे

मैले ठ्याक्कै जेबी टुहुरेलाई सुन्न थालेको कहिलेदेखि हो भन्ने कुरा एकिन गर्न सकेको छैन। मलाई यति थाहा छ कि २०२६/२७ सालतिर म एघार–बाह्र वर्षको थिएँ। त्यसबेला म चिनियाँ क्रान्तिको समर्थक भइसकेको थिएँ। त्यसपछि नै हो मैले हो जेबी टुहुरेलाई सुन्न थालेको। योचाहिँ पक्कै हो। मभन्दा ४/५ वर्ष जेठा भतिजहरूले खै कुन्नि कहाँबाट रामेश, मञ्जुल र जेबी टुहुरेहरूका गीत सुनेर आउँथे। खेल्दाखेल्दै जानी नजानी यसो गाउँथे उनीहरू। त्यसो सुनेपछि मलाई ती एकदुई पंक्तिकै गीतहरूले पनि छुन्थ्यो। ‘अरे! कस्तो गीत पो गाउँछन् यिनीहरू?’ मनमनै भन्थेँ। बिस्तारै बिस्तारै त्यस्ता गीतहरू व्यापक बन्दै गए। जेबी टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘जान्नँ म त नि गोर्खा भर्ती’ आदि गीतहरूले पूर्वमा त आगै बालेको थियो।

मेरो जेबी टुहुरेसँगको प्रत्यक्ष भेट २०३७/३८ सालदेखि भएको हो। तिथिमिति नै चाहिँ थाहा भएन। तर साल एकिन नभएपछि ठूलो हुनकै लागि अरूजस्तो उहिले नै भेट भएको थियो भन्न सकिनँ। त्यसबेलासम्ममा म पनि सानो सानो कलाकार भइसकेको थिएँ। म पनि आफ्नै गीतहरू र रामेश, मञ्जुल र जेबी टुहुरेहरूको गीत सकेसम्म उस्तै स्वरमा गाउने कोसिस गरिरहेको नयाँ कलाकार भएको थिएँ।

अतः मैले जेबी टुहुरेलाई भेट्न खोज्नु ठूलो कुरै भएन। कहाँ भेट्न पाइन्छ भन्नेमात्र थियो। नेपालको विशेष गरी राजधानी पूर्वका जिल्लाहरूका कम्युनिस्ट समर्थकहरूले जेबी टुहुरेलाई चिन्न खोज्नु अनि चिन्नु अनौठो पनि थिएन।

जेबी दाइले शान्तिशीतल लज कहिलेदेखि खोल्नुभएको हो, त्यो मलाई थाहा छैन। तर म काठमाडौंबाट तेह्रथुम वा विराटनगर बास बसेर कहीँ जानुपरेको खण्डमा उहाँको विराटनगर बसपार्क नजिकैको शान्तिशीतल लजमा बस्ने गर्थें। त्यहाँ कहिलेकाहीँ मदन भण्डारी कमरेडसँग पनि भेट हुने गर्थ्यो।

पछि २०४४ सालमा मेरो जागिर विराटनगर सरुवा भएर गएपछि त मदन भण्डारीसँग पटक पटक भेट हुन थालिहाल्यो। एकपटक म जेबी दाइको लजमा पुगेको थिएँ। त्यहाँ मदन भण्डारी पनि आउनुभएको रहेछ। त्यसदिन मदनले मलाई ‘के छ?’ मात्र भनेर सोध्नुभएको थियो। त्यसरी उहाँको संक्षिप्त प्रश्न र ठीकै छ भन्ने मेरो उत्तरपछि हाम्रो संवाद सकिएको थियो। त्यति बेला मदनले कम बोल्नुभएको कुराले मलाई चित्त बुझेन। म कार्यकर्ता न परेँ।

काठमाडौं आएर कमरेड प्रदीप नेपालसँग उहाँको आलोचना गरेँ। किनकि म सबैभन्दा नजिक प्रदीप नेपालसँग रहने गर्दथेँ। उहाँ हाम्रो डेरामा पार्टीको आश्रय लिनुहुन्थ्यो। प्रदीप नेपाल मुसुक्क हाँस्नुभयो र ‘ठीक छ म कुरा गर्छु’ मात्र भन्नुभयो। प्रदीप नेपालले कुरा गर्नुभयो कि भएन, खोजी गर्ने विषय पनि भएन। एकचोटि पार्टीमा कुरा राखेपछि सम्बन्धित ठाउँमा पुग्छ नै भन्ने प्रगाढ विश्वास गरिन्थ्यो। मैले पनि त्यस्तै विश्वास गरेको थिएँ।

मैले २०४० साल फागुन ११ गते महारानीझोडा गाविस, वडा नं. ३, झापामा पार्टीमार्फत् तत्कालीन गौरादह गाविस वडा नं. १ सीतापुरीकी झुमाकुमारी लिम्बूसँग बिहे गरेको थिएँ। बिहेपछि मैले झुमालाई तेह्रथुममा लिएर गएको थिएँ। म पार्टीसँग कुरा गरेर तेह्रथुममा पार्टीको काम गर्ने गरी गएको थिएँ। तर केही समयपछि घरायसी कारणले गर्दा म ओखलढुङ्गा सरुवा लिएर गएको थिएँ। यहाँ यो असान्दर्भिक जस्तो लाग्ने प्रसङ्ग जोड्नुको कारण मेरो बिहे हुनु ठीकअघिको रमाइलो स्मरण रहेका कारणले हो।

२०३९ सालमा तत्कालीन नेकपा (माले)मा चर्को अन्तरपार्टी सङ्घर्ष चलिरहेको थियो। पार्टी पंक्तिका नाम चलेका सङ्गीतकर्मीहरू सबै पार्टी महासचिवबाट हटाइएका सिपी मैनाली समर्थक हुनुहुँदो रहेछ। पार्टी महासचिव कमरेड झलनाथ खनाललाई बनाइएको थियो। रामेश, मञ्जुल, अरिम र रघुजी पन्त सबै असन्तुष्ट रहनुभएका कारण पार्टीको निर्देशनमा चल्न छोड्नुभएको रहेछ।

हुन त मलाई पनि मदनको उदय भइनसकेको त्यो बेला सिपी मैनाली नै एकमात्र ठूला नेता लागेकै थियो। तर मलाई उहाँको लाइन बेठीक लागेकाले पार्टी संस्थापनकै पक्षमा उभिएको थिएँ। तर पनि कमरेड सिपी मैनालीको पक्षमा लाग्नुभएका अग्रज कलाकारहरू रामेश, मञ्जुल, अरिम दाइहरूले ‘कलाकारहरू सिङ्गै हाम्रो पकडमा छन्’ भन्नुहुँदो रहेछ। त्यस कुरालाई चिर्नका लागि पार्टीले पूर्वाञ्चलका कलाकारहरू भनेर २०४० साल फागुनको पहिलो हप्तामा कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रम त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा राखिएको रहेछ। यता पूर्वबाट हामी जेबी टुहुरे, शम्भु राई, चेतनारायण राई, म, खगेन्द्र श्रेष्ठ, सीमा पोखरेलहरूलाई काठमाडौं बोलाइएको थियो। हामीलाई केही थाहा थिएन काठमाडौंमा के भएको थियो भनेर। मलाई यति थाहा थियो कि पार्टीमा राजनीतिक स्वतन्त्रता वा पार्टी स्वतन्त्रता भन्ने विषयमा व्यापक विवाद भइरहेको छ। अनि अग्रज कलाकार दाजुहरू हुँदाहुँदै हामीलाई बोलाइनुमा केही त पक्कै छ भन्ने मनमा पनि लागिरहेको थियो। त्यसबेला तेह्रथुमका पार्टी सङ्गठक साहित्यकार राजेश वान्तवा हुनुहुन्थ्यो। उहाँमार्फत् पार्टीको सूचना आएको थियो।

हामी काठमाडौं पुग्यौं। कार्यक्रमको दिन आयो। हलमा जानुअघि हामी त्रिविको होस्टेलमा गयौं। विद्यार्थी नेता कालुराम खम्बुको कोठामा बस्यौं। कार्यक्रमको तयारीका बारेमा केही छलफल र निष्कर्ष तयार भयो। त्यसबेला रघुजी पन्तचाहिँ आउनुभएकोजस्तो लाग्छ। अरू दाइहरू आउनुभएन। रघुजी पन्त कलाकार नभएर रामेश, मञ्जुल, अरिम आदि अग्रज कलाकारहरूलाई सङ्गठित गर्ने संगठक हुनुहुन्थ्यो। २०३८ सालमा म, लीलाराज कार्की र ध्रुव प्रधानलाई सङ्कल्प परिवारको उपसमितिमा संगठित गर्ने पनि रघुजी पन्त नै हुनुहुन्थ्यो। जुन उपसमिति पार्टीको तत्कालीन अवस्थामा इलाका कमिटी थियो।

अन्ततः हामी कार्यक्रम हल त्रिवि अडिटोरियममा गयौं। मलाई भने कार्यक्रमको उद्घोषकको चिन्ता छँदै थियो। कार्यक्रमको नाम थियो ‘हाम्रो गीत हाम्रो आवाज’। कार्यक्रम सुरु भयो, सिंह गर्जनका साथ विक्रम सुब्बाको स्वरमा। तीन चार वाक्य सुन्ने बित्तिकै कार्यक्रम कसले चलाउला भन्ने पिर सकिइहाल्यो। हरिभक्त कटुवालको चर्चित साना कविताहरूको हरफका साथ सुरु भयो कार्यक्रम। आहा ! कति राम्रो आवाजमा विक्रम सुब्बाको उद्घोषण रहेछ। ढुक्क भएँ म।

अरू साथीहरूको अवस्था के थियो कुन्नि, म पहाड तेह्रथुममा भएको मान्छेलाई अप्ठेरो थियो। तीनवटा गीत गाउनुपर्ने तर सामूहिक अभ्यास भने एकपल्ट पनि भएको थिएन। जेबी दाइ, शम्भु, चेतनारायण, खगेन्द्र र सीमा सहरमै भएकाले कम्तीमा हारमोनियम र गितारको अभ्यासमा थिए होलान्। तर जब मलाई जेबी दाइको गीतमा गितार बजाउन म मञ्चमा जानुपर्‍यो, तब मात्र थाहा भयो, अरूले पनि संयुक्त अभ्यास गर्न पाएका थिएनन् कि क्या हो। हाम्रो कार्यक्रममा रामेश, मञ्जुल, अरिम, रघुजी पन्त, प्रमोद हमाल, माधव श्रेष्ठ, लोचन भट्टराई र उहाँहरूका साथमा मञ्चमा देखिने अरू साथीहरू कोही पनि देखिनुभएन। हामीलाई पूर्वबाट किन बोलाइएको रहेछ भन्ने कुरा झन् प्रस्ट हुँदै गइरहेको थियो।

त्यो कार्यक्रम यति प्रभावकारी भएको थियो कि दर्शकहरू, विद्यार्थी आयोजक नेताहरू पनि बाहिर निस्कँदा निस्कँदै शम्भु राईसँग भनिरहेका थिए ‘दाइ, कस्तो कार्यक्रम हो यो? खै के भो के भो? निराश भनूँ भने निराश पनि हैन ।’ मलाई पनि त्यस्तै लागेको थियो। म आफै पनि कार्यक्रमको प्रभावले असाध्य द्रवित भएको थिएँ। त्यो अवस्था भावुक वातावरणले लछप्पै भिजेको अवस्था थियो। अर्थात् मलाई भन्नै आएन केचाहिँ भएको थियो भनेर। कार्यक्रम असाध्य प्रभावकारी भएको थियो। जेबी दाइ, शम्भु राई, चेतनारायण राई र मेरा तीनतीनवटा गीतहरू राखिएका थिए भने खगेन्द्र श्रेष्ठ र सीमा पोखरेलका पनि तीनवटा नै गीत राखिएका थिएजस्तो लाग्छ।

जेबी दाइको एउटा स्वाद, शम्भु राईको अर्को स्वाद, चेतनारायण राईको अर्को स्वाद, मेरो पहाडको स्वाद र खगेन्द्र र सीमा पोखरेलका गीतहरूको अर्को स्वाद मिसिएको थियो। खै कसरी हो, यसरी पृथक स्वादहरू मिलाएर कार्यक्रम गर्ने भनेजस्तो भएको थियो त्यो कार्यक्रम। पार्टीका वरिष्ठ कलाकारहरूले पार्टीलाई असहयोग गरिरहेको बेला गरिएको त्यो कार्यक्रम असाध्य चर्चित भएको थियो।

जेबी दाइसँगको त्यो क्षण बिर्सिनसक्नु थियो। त्यो कार्यक्रममा मैले गिटार बजाएको थिएँ। त्यसपछि हामीले त्यही कार्यक्रम हात्तीसार क्याम्पस, धरान र महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा गरेका थियौँ। शम्भु राईको चर्चित गीत ‘चलेछ बतास सुस्तरी’ पहिलोपटक त्यहीँ गाइएको थियो। त्यस कार्यक्रमका गीतहरू चर्चित भएका पनि थिए। जेबी दाइको पिस्कर हत्याकाण्डको गीत ‘संक्रान्ति मुनि’, ‘डाँडा है पारी जून पनि लुकेछ’, ‘ए सानो नानी’ र अर्को एउटा गीत अझै पनि चर्चित छन्।

यो मेरा लागि ऐतिहासिक कार्यक्रम थियो। काठमाडौं जानुअघि पार्टीको संयोजनमा बिहे गर्नका लागि केटीको कुरा छिनेको थिएँ। उल्लिखित कार्यक्रम सकेपछि झापा पुगेँ। पार्टीका ५ जना साथीहरू र दाजुलाई लिएर सधैं लाउने गरेकै लुगामा म केटी लिन गएको थिएँ। केटीको घरमा पनि ठूलो तामझाम गरिएको थिएन। गर्नुपर्ने जति भने गरिएको थियो। मेरो ससुराली पनि तत्कालीन नेकपा मालेको पहिल्यैदेखि सम्पर्कमा काम गरिआएको राजनीतिक परिवार भएकाले मेरो बिहेको सादगीपनमा प्रश्न गर्ने ठाउँ नै भएन। एउटा फूलको थुँगा दिएर केटी लिएर घरमा आएको थिएँ। मेरो बुबाआमा त छक्कै पर्नुभएको थियो। घरमा ल्याएपछि आमाबुबालाई पो आपत्। विजयले केटी ल्याइसक्यो। अनि दाजुले बजारबाट बेहुलीका लागि सामान्य कपडा किनेर ल्याएको देखेको थिएँ। ठट्टै ठट्टामा आज पनि मेरी पत्नी झुमाले ‘मलाई त सित्तैमा पाउनुभएको त हो नि’ भन्छिन्।

कार्यक्रम जहाँजहाँ गर्न गइन्थ्यो, त्यहाँत्यहाँ मान्छेहरू जेबी टुहुरेलाई हेर्न आउँथे। पछिल्लो समयमा दाइलाई ‘आमा दिदी बहिनी हो’ भन्ने गीतबाट चिनिन्थ्यो भने अघिल्लो बेला उहाँको स्वरको ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘जान्न म त नि गोर्खा भर्ती’ र ‘धामी गीत’ आदि असाध्य चर्चित गीतहरूबाट चिनिन्थ्यो। दाइका थुप्रै गीत, सङ्गीत र रचनाहरू अजरअमर छन्।

दाइले नयाँ पुराना सबै उमेरका रचनाकार र सङ्गीतकारहरूका गीतहरू गाउने गर्नुहुन्थ्यो। उहाँको सुरिलो र उच्च सुरको स्वरका कारण समूह गानमा भने अप्ठेरो पर्ने गर्दथ्यो। दाइको स्वर मंद्र सप्तकमा विरलैमात्र झर्दथ्यो। प्रायः सबै गीतहरू मध्य र तार सप्तकमा हुन्थे। मध्य सप्तकको पनि प्रायः मध्य सुरहरूबाट माथिमात्र चढ्ने गर्दथ्यो। उहाँका कतिपय गीतहरू म उहाँकै सङ्गीत र स्वर (स्केल)मा गाउन सक्दिनथेँ। मैले मेरो एउटा माथिल्लो सुरमा गाउनुपर्ने गीत दाइलाई गाउन अनुरोध गरेँ र गाइदिनुभएको थियो।

के मनले बुझाउने, के मनले रिझाउने?

हाम्रो बस्ती मासेको होहो

के मनले बुझाउने हो?

यो गीत मैले गाउँदा ई मेजरमा गाउँथेँ तर दाइका लागि तयार गरिएको सुर उच्च भएका कारण त्यो सङ्गीतको ट्रयाक अहिले मेरा लागि उपयुक्त भएन। किनभने म त्यस स्केलमा गाउनै सक्दिन। समूह स्वरमा गीत गाउनुपर्दा दाइलाई र अरूलाई एकैचोटि समस्या हुन्थ्यो। उच्च सुरमा गाउन हामीलाई र मंद्र सुरमा गाउनुपर्दा दाइलाई समस्या हुने अनि दुवैका लागि मिल्ने सुरको छनोट गरिन्थ्यो।

जेबी टुहुरे दाइले मेरो एउटा गीत खुब गाउनुहुन्थ्यो। जुन गीतको धून शम्भु राईले सङ्कलन गरी बनाएको लोकगीत ‘शिरैमा लायौ शिरफूल कान्छी’ कै थियो। मेरा शब्दहरूमा तिहारको सन्दर्भ राखिएको थियो। त्यसका शब्दहरू ‘कुन देश पारी ए माइती राजै खबरै गर्दैनौ? भाइटीका सम्झी फर्केर आउने, मन गर्दै छौ छैनौ, मन गर्दै छौ छैनौ?’ भन्ने थियो। अर्थात् मन पर्‍यो कि जसको गीत भए पनि दाइले गाइदिनुहुन्थ्यो। जसले गर्दा नयाँनयाँ कलाकारलाई आकाशकै उचाइ प्राप्त भए जस्तो लाग्दथ्यो।

२०४० साल मंसिरमा म ओखलढुङ्गाका लागि हिँडे। रुम्जाटारका लागि जहाज चढ्न विराटनगरमा झरेको थिएँ। बासका लागि जेबी टुहुरे दाइको विराटनगर स्थित शान्तिशीतल लजमा पुगेँ। त्यहीँ राती साढे नौ बजेतिर कोठामा पसेपछि घरको सम्झना खुब आएको थियो। हो त्यही बेला मैले एउटा गीत लेखेको थिएँ। जुन गीत चर्चित पनि भएको थियो। सन्दर्भचाहिँ मैले भर्खर बिहे गरेर पहाड लगेकी श्रीमतीलाई तेह्रथुममा छाडेर ओखलढुङ्गामा जाँदाको थियो। त्यही कुरालाई सामान्यीकरण गरेर गीत बनाएको थिएँ।

त्यस गीतको शब्द यस्तो थियो:

त्यो पारी पाखा बादलै फाट्यो

के घमाइलो भयो

आफन्त गयो परेली पारी

नरमाइलो भयो।

यस गीतलाई भूमिका सुब्बाको स्वरमा रेकर्ड पनि गरिएको छ। गीत भने महिला र पुरुष दुवैले गाउने गरी बनाइएको हो। रचना गर्भ यस्तो भए पनि यसलाई स्थायीपछि अन्तरामा सबै विदेसिने नेपालीहरूको सन्दर्भमा लगिएको थियो।

म विराटनगर २०४४ सालदेखि २०४७ सालसम्म बसेको थिएँ। त्यसबेला पार्टीका हरेक कार्यक्रममा हामी सँगै हुन्थ्यौँ। प्रायः प्रत्येक दिनजसो भेट हुने नै भयो। दाइले पछि त बसपार्क मै लज सार्नुभएको थियो। बाँच्नका लागि गरिएको जेबी टुहुरेको जीवन सङ्घर्ष साँच्चै नै उल्लेखनीय छ। थोरै मान्छेले मात्र हातमुख जोर्ने समस्यालाई जित्दै यसरी राष्ट्रिय पहिचान भएको व्यक्तित्व निर्माण गर्नसक्छन्। जेबी टुहुरेको पूर्ण जीवनको अध्ययन गर्नाले जो कोहीलाई पनि प्रेरणा मिल्छ।

मोरङको मधुमल्ला लगायतका हाटबजारहरूमा तयारी कपडा बेची हिँड्ने एकजना कम्युनिस्ट विचारले खारिएको जुठबहादुर खड्गी कसरी आफ्नी पत्नी र ५ जना छोराछोरीहरूलाई हुर्काउँदै राष्ट्रिय व्यक्तित्व बन्न सक्नुभएको होला। कसरी जेबी टुहुरे बन्न सक्नुभएको होला। विभिन्न कोणबाट लेखिनुपर्छ। तर यत्ति धेरै सङ्घर्षपूर्ण जीवन पार गरेर आउनुभएका जेबी टुहुरेलाई जीवनको उत्तरार्ध कालमा दिनुपर्ने सामान्य सम्मान पनि उहाँको पार्टीले दिएको थिएन। उहाँको सर्वस्व खर्च भएको घरले याद गरेन।

जेबी टुहुरेको जति योग्यता नपुगेका सयौँ बच्चाबच्चीहरू सांसद् हुनका लागि मरिहत्ते गरिरहेको बेला दाइले आफ्नो पनि सही मूल्याङ्कन होस् मात्र भन्दै हुनुहुन्थ्यो। तर त्यसको प्रत्युत्तरमा पार्टीका तत्कालीन उच्च नेताहरूले जेबी टुहुरेले पढ्नै सक्दैनन्, सही पनि गर्न जान्दैनन् आदि भनेर दाइको बेसरी चित्त दुखाएका थिए। आजीवन बाँच्नका लागि दुःखपूर्ण जीवन बिताएका जेबी टुहुरेले गीत हेर्दै हजारौँ मञ्चहरूमा गाएको कुरालाई पढ्नै जान्दैन भनिदिए नेताहरूले।

अन्ततः यो हदैसम्मको अपमानलाई अरूले पनि सहँदैनथे। दाइले पनि सहनुभएन। उहाँले आफ्नो सारा जीवन बिताएको घर छाडेर सानो घरतर्फ लाग्नुभयो र त्यहाँबाट उहाँ संविधानसभा सदस्य बन्नुभएको थियो। नेपालको साङ्गीतिक इतिहासमा जेबी टुहुरेमाथिको त्यो अपमानलाई हामी कलाकारहरूले शिक्षाका रूपमा ख्याल राखिरहनुपर्छ भन्न चाहन्छु।

मेरो जीवनको एक अविस्मरणीय क्षणको कुरा गर्न गइरहेको छु। त्यसबेलाका मोरङका नेता हालका नेकपा एमालेका स्थायी समिति सदस्य गुरु बरालले एउटा महत्त्वपूर्ण कार्यक्रमका लागि भूमिगत गीत बनाउनोस् त भन्नुभयो। त्यो समय संकेतकै भरमा काम गर्ने बानी परिसकेको थियो। त्यति भन्नासाथ म गीतको तयारीमा लागेँ। मैले अनुमान गरेँ, त्यो पक्कै पनि पार्टीको चानचुने कार्यक्रम होइन।

म विराटनगरको मधुमारादेखि हाटखोला जाने त्यस बेलाका चर्चित प्रगतिवादी कथाकार तीर्थ न्यौपानेको घर भएको टोलमा बस्ने गर्दथेँ। मसँग मेरो अति मिल्ने साथी लक्ष्मण रायमाझी बस्नुहुन्थ्यो। घरको अघिल्तिर पोखरी पनि थियो। त्यो घरमा धेरै बसिएन कि जस्तो लाग्छ। अलिअलिमात्र सम्झना आउँछ। म एक्लै थिएँ कोठामा। गितार लिएर बसेँ र गीत कल्पना गरेर शब्द र धून एकैचोटि बनाउन थालेँ। असाध्य डुबेँ म शब्द र धूनमा। र त्यही बसाइमा करिब गीत तयार गरेँ।

गीत तयार भइन्जेलसम्म म पटकपटक रोएको थिएँ। त्यस नेकपा माले कालमा हाम्रो सोच्ने तरिका, पार्टी कार्यकर्ताको व्यवहार, पार्टी काम, पार्टीका पूर्णकालीन नेताहरू, सहिदहरूको जीवनगाथा, भूमिगत नेताहरूको त्याग, सङ्घर्ष र बलिदानको महागाथा आदि सम्झँदै गीतका शब्दहरू छान्दा आँसु आउनु स्वाभाविक थियो। गीत तयार गर्न धेरै बेर पनि लागेन। त्यसपछिका केही दिनमा भने मैले गीत कण्ठ पार्ने, गितारका कर्डहरूलाई मिलाउने, सङ्गीतलाई माझ्ने काममात्र गरेको थिएँ।

गुरु बरालले भन्नुभएको कार्यक्रमको दिन पनि आयो। म, गोपाल नेपाल र साथी शंकर देवकोटा उर्लाबारीको सम्पर्क दिइएको घरमा पुग्यौँ। त्यो बम योञ्जन, चन्द्र योञ्जनको घर रहेछ। त्यसपछि हामीलाई कार्यक्रमस्थलतिर हिँडाएरै लगिएको जस्तो लाग्छ। त्यो कार्यक्रम मोरङ जिल्ला नेकपा (माले)को पहिलो जिल्ला अधिवेशन रहेछ। त्यो २०४४ साल माघ १० गतेका दिन मोरङ टाँडीका तिलबहादुर राईको घरमा सम्पन्न भएको थियो। श्रद्धेय तिलबहादुर राईको मृत्यु भइसकेको छ। कार्यक्रमस्थलमा पुगियो। गोपाल नेपाल, शंकर देवकोटा र मलाई तत्काल भित्र लगिएन। किनकि हामी अधिवेशनका प्रतिनिधि थिएनौँ। कार्यक्रम सकिएको थिएन। म भर्खरै मोरङ आएकाले मेरो विराटनगर बसाइ हुन्छ कि हुन्न भन्ने थियो।

हामीलाई हलबाहिर एक ठाउँमा राखिएको थियो। करिब एक डेढ घण्टापछि होला, हलभित्र लगियो। भित्र सबैलाई त चिनिएन। अनुहार धेरै जनाको थाहा भए पनि नामले जान्न सकिएन। जिल्ला अधिवेशनका प्रतिनिधिहरू पार्टीका कार्यक्रमहरूमा भेट भइरहने साथीहरू नै हुनुहुन्थ्यो। नामले जानेका नेताहरूमा मदन भण्डारी, अशोक राई, गुरु बराल, जेबी दाइ, जेबी राई, घनश्याम भण्डारी, घनश्याम खतिवडा, धर्मानन्द कार्की, छत्रपति पौडेल, तिलक वान्तवा, काशीनाथ दाहाल, नरेश पोखरेल, डिकबहादुर कटुवाल, देवी बराल, भुवनसिंह राई, गञ्जबहादुर राई, प्रेम भण्डारी, हर्कमान तामाङ, लालबाबु पण्डित आदि जिल्लाका नेताहरू हुनुहुन्थ्यो।

अधिवेशनको अन्तिम क्षणमा हामीलाई सांस्कृतिक कार्यक्रमका लागि लगिएको रहेछ। जेबी दाइ र मैले पटकपटक गीत गायौँ। गोपाल नेपाल भाइले पनि गीतहरू गाउनुभयो। मेरा दुई गीतहरू ‘कहीँ झुप्राहरूमा’ र ‘आजादको सम्झनामा’ लेखिएको गीत कमरेड मदन भण्डारीले चार पटकसम्म दोहो¥याउन लगाउनुभएको थियो। पार्टीका नाममा बनाएको ‘कहीँ झुप्राहरूमा’ भन्ने गीतले कमरेडलाई रुवाएको रहेछ।

म त दोहोर्‍याउन लगाएपछि अझै भावनामा डुबेर कसैलाई नहेरी गाउनमा तल्लीन हुन्थेँ। पछि कमरेड अशोक राईले ‘विजयजी, तपाईंको त्यो गीतमा त कमरेड मदन राम्रैगरी रुनुभयो नि’ भनेपछि मात्र थाहा भयो मदन रुनुभएको कुरा। त्यही भएर दोहोर्‍याउन लगाउनुभएको रहेछ। साथीहरूका अनुसार कमरेड मदन भण्डारी मेरा अरू गीतहरू पनि गुनगुनाइरहनुहुन्थ्यो रे। मलाई त्यही बेला मदनले अब भूमिगत जाऊँ भन्नुभएको थियो।

मलाई राम्रो थाहा थियो मदन भण्डारी मदेखि निकै प्रभावित हुनुहुन्थ्यो। तर मेरो पारिवारिक समस्याका कारण हिँड्न सकेको थिइनँ। जेबी दाइले त्यसबेला गाउने गर्नुभएको मैथिली भाषाको गीतको नृत्य निकै राम्रो र चर्चित थियो। जसमा शंकर देवकोटा नाच्नुभएको थियो। घरको तला होचो भएको याद नगरी शंकर उफ्रिएर नृत्य सुरु गर्दा माथि टाउको पनि सारो ठोकिएको थियो।

अर्को प्रसङ्ग, २०४४ साल पौष १७ गते प्रगतिशील लेखक कलाकार संघको राष्ट्रिय सम्मेलन काठमाडौंको ल क्याम्पसमा भएको थियो। त्यो सम्मेलनले लेखक कलाकार संघबाट कलाकारलाई अलग गराएको थियो। यसमा पार्टीहरू पनि एकैमत थिए जस्तो लाग्छ। तर हामी कलाकारहरूले भने त्यसको विरोध गरेका थियौं।

रामेश दाइहरूसमेतले धेरै विरोध गरेका थियौँ। मैले रघुजी पन्तसँग निकै धेरै विवाद गरेको थिएँ। तर अन्तमा प्रगतिशील कलाकार संघपछि बनाउने भनेर त्यसलाई अलग गराएरै छाडियो। त्यसको दुई दिनपछि पौष १९ गते तत्कालीन नेकपा (माले)का स्रष्टाहरू देशैभरिबाट आएको मौका पारेर पार्टीले राष्ट्रिय जनसांस्कृतिक मञ्च, नेपालको स्थापना गरेको थियो। त्यसको अध्यक्षमा मोदनाथ प्रश्रित र महासचिवमा रघुजी पन्त हुनुभएको थियो। त्यस समितिमा जेबी टुहुरे दाइ र मलगायत रामचन्द्र भट्टराई, रामप्रसाद प्रदीप, प्रचण्डबहादुर बुढाथोकी, रविलाल अधिकारी, विष्णु प्रभात, नारायण ढकाल, त्रिरत्न शाक्य, श्यामलाल दिवाकर, मोहन श्रेष्ठ र रेख ब्लोन रहेका थियौँ।

यसरी जेबी टुहुरे दाइ पार्टीभित्र असाध्य विश्वासिला र सम्मानित अग्रज कलाकार हुनुहुन्थ्यो। यस कालभरि अर्थात् बहुदल नआएसम्मका लागि जेबी टुहुरे असाध्य सम्मानित कलाकार हुनुहुन्थ्यो। सबैको मुखमा उहाँको नाम झुन्डिएकै हुन्थ्यो। दाइ उमेरमा बराबरीका थोरै नेताबाहेक सबैबाट जेबी दाइ नै भनिएका कलाकार हुनुहुन्थ्यो। तर जब बहुदल आयो र अवसरहरू आए तब जेबी टुहुरे अनपढ, अशिक्षित, नामसम्म राम्रो लेख्न नजान्ने, भाषण गर्न नसक्ने आदि विशेषण लगाएर सदा पन्छाइएको व्यक्ति हुनुभएको थियो। उहाँजति पनि योग्यता नभएकाहरू सांसद भएका बेला दाइले पनि पार्टीमा कुरा राख्नुभएको थियो।

मैले पनि दाइलाई सांसद बनाउन नेताहरूको घरमा धाउने काम गरेकै थिएँ। तर नेताहरूको भनाइ त्यही हुन्थ्यो। मेरो भनाइ थियो-हैन, अरूचाहिँ हुनसक्ने, जेबी दाइ किन हुन नसक्ने? त्यसो भए उहाँभन्दा कम योग्यता भएकालाई नबनाउनोस् न त। यसरी सुन्दा पद खोजेजस्तो लाग्ने तर यथार्थमा उहाँप्रति अन्याय नै भएको थियो। पछि उहाँ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि भने उहाँलाई संविधानसभा सदस्य बनाइएको थियो। खासमा उहाँलाई सांसद नबनाउनुको कारण नेताहरूको कलाकारप्रतिको निच हेराइ मात्र थियो। त्यस बेलाका पार्टीका मुख्य नेता महासचिव माधव नेपाल र पछिका अध्यक्ष झलनाथ खनालले कलाकारहरूलाई बेवास्ता नै गर्नुभएको प्रमाण थियो त्यो।

२०४६ सालको जनआन्दोलनका बेला म विराटनगर मै थिएँ। रमाइलो त त्यत्रो नेपाली कांग्रेसको गढ मानिने मोरङ जिल्लाको सदरमुकाममा कांग्रेस नेताहरू डराएर सडकमा त्यति देखिँदैनथे। पार्टीहरूको झन्डा पनि देख्न पाइन्नथ्यो। कतै सिलाइयो भने पनि कति बेला पक्राउ परिने हो भन्ने डर हुन्थ्यो। म मधुमारामा नेपाली कांग्रेसका इमान्दार निष्ठावान् नेता दुर्गा सुवेदी अर्थात् तत्कालीन अधिवक्ता हालका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको घरसँग जोडिएको स्व. गङ्गाबहादुर अधिकारी, भवानी अधिकारीको घरमा भाडामा बस्थेँ।

२०४६ साल चैत्र २६ गते राती बहुदलको घोषणा त भयो। मसँग झन्डा पनि थिएन। मेरी पत्नी झुमाले पार्टीको झन्डा जानी नजानी बनाइन् र बिहान हुने बित्तिकै घर अगाडिको बिजुलीको पोलमा हाल्यौँ। दिउँसो भयो। नेकपा (माले)का हामी त सडकमा जताततै देखियौँ तर कांग्रेस पाइएन।

अझै डराएकैजस्तो लाग्ने। मैले साथीहरूबाट कांग्रेसको झन्डा ल्याएर साइकलको एकातिर हाम्रो र अर्कोतिर कांग्रेसको झन्डा बाँधेर बजारभरि त्यतिकै डुल्न थालेँ बहुदलको प्रचारमा। विराटनगरमा हामी सांस्कृतिक क्षेत्रका कार्यकर्ताका नेता जेबी दाइ नै हुनुहुन्थ्यो। हाम्रो खुलेआम बहुदलको प्रचारप्रसारमा गीत गाउने जागिर खुलिहाल्यो नि।

हामी कलाकारहरू बाँडिएर कार्यक्रममा जान्थ्यौँ। त्यही क्रममा एकपटक कलाकारको तर्फबाट म, महिलाहरूको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पार्टीको नेता गुरु बराल आदि भएर मोरङका केही सहरी क्षेत्रहरूमा बहुदलको प्रचारमा हिँडेका थियौँ। त्यसबेला आजको जस्तो महिलाहरूले छ्यासछ्यास्ती गगल्स लगाउने चलन थिएन।

विद्या भण्डारीले कालो गगल्स लाउनुभएको थियो। म आज पनि गगल्स लगाउन लाज मान्ने मान्छे। त्यो २०४७ सालमा लगाएको कुरालाई सहज मान्न सक्ने थिइनँ। अनि मैले उहाँलाई ‘हैन कमरेड गगल्स लाउनुभएको?’ भनेर हल्का रूपमा सोधेँ। उहाँले पनि ‘अँ आँखाको सुरक्षाका लागि लगाउनु राम्रो’ भन्नुभएको थियो। त्यसबेला बहुदलको प्रचारका लागि हामीले मोरङका विभिन्न क्षेत्रलाई बाँडेर लिएका थियौँ। जेबी दाइको अर्को क्षेत्रमा भाग परेको थियो।

अब बहुदलको प्रचारप्रसारका हुटहुटीले गुरु बराललाई के बस्न दिन्थ्यो र। जेबी दाइ, म, सूर्यप्रसाद कन्दङ्वा, हर्कमान तामाङ र यशोदा अधिकारीलाई लिएर गुरु बरालले तेह्रथुम र संखुवासभामा डुल्ने योजना बनाउनुभयो र हामी त्यता लाग्यौँ। म स्थायी जागिरे भए पनि पार्टी काममा लाग्दा कहिल्यै पनि जागिरका कारण रोकिएको थिइनँ। मलाई जागिरको वास्ता पनि थिएन। जागिर गए जाओस्, झन् ईखले पार्टीमा पूर्णकालीन भएर लागिन्छ नि भनेर २०३४ सालदेखि नै पार्टी काममा होमिएको थिएँ।

हामी अब पहाड लाग्यौँ मेरो जिल्ला तेह्रथुममा। त्यसबेला तेह्रथुम गुरु बरालको कार्यक्षेत्र थियो। त्यहाँ राष्ट्रिय जनसांस्कृतिक मञ्चको जिल्ला भेला गरी जिल्ला समिति बनाइएको थियो। अन्य जनवर्गीय सङ्गठनको काम पनि गरियो। किराँत याक्थुङ चुम्लुङको पनि जिल्ला समिति बनाएकोजस्तो लाग्छ। त्यसपछि लाग्यौँ सङ्खुवासभातिर। गीत गाउने जिम्मा दाइ र मेरो अनि भाषण गर्ने जिम्मा चाहिँ गुरु बराल, सूर्यप्रसाद कन्दङ्वा, हर्कमान तामाङ र यशोदा अधिकारीको थियो। अनेक दुःख गरेर हामी तेह्रथुम म्याङलुङबाट वसन्तपुर, टुटे देउराली, तामाफोक, माम्लिङ, खराङ, मादी, चैनपुर हुँदै खाँदबारी पुगेका थियौँ।

हामीले माम्लिङमा, मादी रामबेनी स्कुल, चैनपुर बजार र खाँदबारीमा कार्यक्रम गरेर बिट मारेका थियौँ। चैनपुरमा हामीले चर्चित नेता वासु शाक्यको दाजुको घरमा खाना खाएका थियौँ। त्यसपछि मचाहिँ मन्त्रालयबाट खबर आएका कारण तुम्लिङटारबाट काठमाडौँ उडेको थिएँ। त्यसबेला दाइको नामले नै धेरै प्रचार भइसकेको हुन्थ्यो। टोली विराटनगर फर्केको थियो। त्यसबेला हिँडेका हामी समयक्रममा सबै प्रतिनिधिसभा र संविधानसभा सदस्य हुनपुग्यौँ। तेह्रथुमबाट म र सूर्यप्रसाद कन्दङ्वा, मोरङबाट हर्कमान तामाङ र गुरु बराल र संविधानसभा सदस्यमा यशोदा अधिकारी कानुन निर्माता भयौँ।

पार्टीमा काम गर्ने सवालमा जेबी दाइ र शम्भु राईसँग मेरो कुरा मिल्दैनथ्यो। हुन त अरू संस्कृतिकर्मीहरू पनि उहाँहरूजस्तै सोच्नुहुन्थ्यो कि जस्तो लाग्छ अहिले आएर। त्यस्तो सोचाइ गलत पनि हैन। किनभने प्रत्येक पार्टी कार्यकर्ताको आआफ्नै कार्यक्षेत्र हुन्छ र उसको मूल्याङ्कन पनि त्यहीँबाट गरिनुपर्छ। तर हाम्रो पार्टीमा त्यस्तो भएन। मचाहिँ पार्टी काम मेरुदण्ड हो भनेर विशेष गरी कोअर्डिनेसन कालदेखि नै पार्टी काममा लाग्न पार्टी कमिटीमा बस्नैपर्छ भन्ने पक्षमा थिएँ। तर दाइ र शम्भु राई भन्नुहुन्थ्यो, ‘हाम्रो काम गाउने हो, गीत लेख्ने हो र सङ्गीत रचना गर्ने हो नि।’

त्यो कुरा बेठीक थिएन। तर हाम्रा पार्टीहरूमा हामी कलाकारहरूलाई गाइनेको दर्जामा मात्र राखियो र व्यवहार पनि त्यस्तै गरियो। त्यसैले जेबी दाइ बारम्बार भन्नुहुन्थ्यो ‘हामीलाई एमालेले पार्टीको दमाइ बनायो।’ यहाँ प्रयोग गरिएको ‘दमाइ’ शब्द आजभोलि प्रयोग गर्न छाडिएको छ। यहाँ मैले दाइको शब्द र वाक्यलाई जीवन्तता दिनका लागि मात्र प्रयोग गरेको छु। यसमा क्षमा पनि चाहन्छु। तर समाजमा जातपातका नाममा दलित जातिलाई जसरी दोस्रो दर्जाको व्यवहार गरिन्छ पार्टी काममा हामीलाई पनि त्यस्तै व्यवहार गरिने गरिन्छ।

म आफैँ पनि त त्यसको उदाहरण भएको थिएँ। मलाई गाइने, मादले भनेर हुनसम्मको होच्याउने शब्दहरू आफ्नै साथीहरूले प्रयोग गर्दथे। त्यस्तै त्यस्तै बुझेर म दाइ र शम्भु राईहरूलाई जहिले पनि पार्टी कमिटीमा पनि बस्नुपर्छ है भनिरहन्थेँ। म आज जे छु, पार्टीको सेल कमिटीदेखि आजको स्थायी समितिसम्मका सबै तह पार गरेर आएको छु। म २०४७ साल कार्तिक २३ र २४ मा आयोजना भएको राष्ट्रिय जनसांस्कृतिक मञ्च, नेपालको पहिलो राष्ट्रिय सम्मेलनमा दाजु मोदनाथ प्रश्रितसँगको विवादपछि मञ्चको कामबाट अलग भएको थिएँ। विवादको विषय ठूलो पनि थिएन।

सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानको सानो हलमा चलिरहेको थियो। प्रश्रित दाइको केन्द्रीय सदस्यहरूको छनोट तरिका देखेर मलाई वैराग लागेर आएको थियो। उहाँ आफूलाई नजिक लागेका नयाँनयाँ भाइ बहिनीहरूलाई लिएर कमिटी बनाउन लाग्नुभयो। मलाई त्यो मन परेको थिएन। मेरो भनाइचाहिँ मञ्च जस्तो नेकपा एमालेको केन्द्रीय संगठनमा यसरी नयाँ (जसको पहिचान बनिसकेको छैन) लाई केन्द्रमा राख्ने काम नगरौँ भन्ने थियो। जसले संगठनको इज्जत र प्रतिष्ठा पनि कमजोर देखिन्छ भन्ने पिर थियो।

त्यसैगरी त्यस सम्मेलनअगाडि केन्द्रमा बसेका तर संगठनको सिन्को नभाँच्ने साथीहरूलाई पनि नराखौँ, राख्ने हो भने म त बस्दिन भनेको थिएँ। दुवै कुरा स्वीकारिएन। पछि सम्झिएँ वास्तवमा प्रश्रित दाइलाई पुराना (निस्क्रिय नै सही) साथीहरूलाई लिएर जानैपर्ने अवस्था पनि थियो होला। मेरो भनाइचाहिँ पुराना, स्थापित र सक्रिय व्यक्तिहरू हामीसँग प्रशस्त हुनुहुन्छ। उहाँहरूलाई राखेर केन्द्र बनाउँ भन्ने थियो। जेबी दाइलगायतका अग्रजहरू यसबारेमा केही बोलेको सुनिएन। मेरो र प्रश्रित दाइको विवादले करिब एक घन्टा नै समय लिएको थियो।

लामो विवादपछि प्रश्रित दाइले मलाई केन्द्रमा नराख्ने आशय राख्नुभयो। अनि उहाँले कमिटीको घोषणा पनि गर्नुभएको थियो। कमिटीमा मेरो नाम नभएको सुनेपछि विशेष गरी झापा, सुनसरी, मोरङका प्रतिनिधि साथीहरूले हल नै उचालिने गरी आवाज उठाउन थाल्नुभयो। पूर्वाञ्चलका प्रायः प्रतिनिधिहरू मलाई कमिटीमा राखिएको हेर्न चाहन्थे। तराइका माथि उल्लिखित जिल्लाहरूले त आवाज उठाए नै। झापाका प्रतिनिधि चन्द्र भण्डारीले त उठेर ‘हामीलाई थाहा भयो। नेतृत्वले विजय सुब्बालाई कमिटीमा राख्न खोजिरहेको छैन। उहाँलाई नराख्ने हो हामी पनि बस्दैनौँ। यस्तो पनि कहीँ हुन्छ?’ भनेर आवाज उठाएपछि चाहिँ प्रश्रित दाइले मेरो नाम समेत राखेर कमिटी बनाएको घोषणा गर्नुभएको थियो। तर मेरो आवाजअनुसारको कमिटी बनेन।

नयाँनयाँ मञ्चको कुरा तल समूहमा गर्नै नसक्ने भाइबहिनीहरूलाई कमिटीमा राखियो। मैले अब म मञ्चको काममा लाग्दिन भनेर केन्द्रको काम छाडिदिएँ। तर स्थानीय रूपमा पार्टीले हेर्ने ठाउँमा भने मञ्चको काम म नै हेर्ने गर्दथेँ। त्यस प्रथम राष्ट्रिय सम्मेलनले जेबी टुहुरे दाइलाई उपाध्यक्ष बनाएको थियो भने महासचिव रामचन्द्र भट्टराई बन्नुभएको थियो। यो कमिटीले देशव्यापी रूपमा सांस्कृतिक अभियान सफलतापूर्वक सञ्चालन गरेको थियो।

जेबी टुहुरे मञ्चको २०५२ जेठ १९ र २० मा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा पनि पुनः उपाध्यक्ष बन्नुभएको थियो। अर्का उपाध्यक्षमा गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो। अध्यक्ष मोदनाथ प्रश्रित नै हुनुभएको थियो। महासचिवमा पुनः रामचन्द्र भट्टराई नै हुनुहुन्थ्यो। त्यसैगरी मञ्चको २०५५ साल मंसिर २७ र २८ मा आयोजित तेस्रो राष्ट्रिय सम्मेलन भने मोदनाथ प्रश्रितले बिदा लिनुभएपछि जेबी दाइ अध्यक्ष बन्नुभएको थियो। महासचिवमा वासुदेव अधिकारी निर्वाचित हुनुभएको थियो।

यसकालमा देशव्यापी सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका थिए। यो समिति नेकपा एमालेमा २०५४ सालको विभाजनपछि बनेको थियो। यसैक्रममा मञ्चको चौथो राष्ट्रिय सम्मेलन २०५८ साल चैत्र १० र ११ मा भएको थियो। त्यस सम्मेलनले जेबी दाइलाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको थियो। उपाध्यक्षमा लक्ष्मण रायमाझी, म, रामकृष्ण दुवाल, माधव प्रधान र रमेश रञ्जन झा थियौँ भने महासचिव उदय श्रेष्ठ बन्नुभएको थियो।

राष्ट्रिय जनसांस्कृतिक मञ्चको काम छाडेर पार्टी काममा लागेको अनि दोस्रो र तेस्रो केन्द्रीय समितिमा नबसेको मलाई संस्कृति विभाग र मञ्चको इञ्चार्ज रघुजी पन्तले चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिमा राखेर पुनः मञ्चको काममा फर्काउनुभएको थियो। पार्टीले नै यसरी पटकपटक भनेपछि म फर्कन तयार भएको थिएँ। सायद रघुजी पन्तको योजना जेबी दाइपछि मलाई अध्यक्षको जिम्मा दिने थियो क्यार। अर्को कुरा मेरो लागि मञ्चमा संलग्न नहुनु भनेको पानीबिनाको माछा हुनुसरह हुँदो रहेछ।

त्यसपछि २०६२ साल जेठ २८ र २९ मा भएको पाँचौँ राष्ट्रिय सम्मेलनले मलाई अध्यक्ष बनाएको थियो। उपाध्यक्षहरू विधागत प्रतिनिधित्व गराएर ७ जनाको संख्यामा राखिएको थियो। उपाध्यक्षहरूमा लक्ष्मण रायमाझी, रामकृष्ण दुवाल, अमर गिरी, रमेश रञ्जन झा, गोपाल ठाकुर, शान्तकुमार राई र भिक्टर प्रधान रहनुभएको थियो। महासचिव माधव प्रधान रहनुभयो। यसरी अग्रज दाइ जेबी टुहुरेसँगको राष्ट्रिय जनसांस्कृतिक मञ्चमा सँगै काम गरेका वर्षहरू बितेका थिए।

२०६५ साल पौष १९ देखि २२ सम्म सञ्चालित छैटौँ राष्ट्रिय सम्मेलनमा भने मलाई जेबी दाइप्रति निकै चित्त दुखेको थियो। मैले त्यसबेलासम्ममा मञ्चलाई महासंघ बनाउने सबै तयारी गरिसकेको थिएँ। काम सोचेजस्तो नभए पनि धेरै काम गरिएको थियो। मेरै दोस्रो कार्यकालमा मञ्च महासंघ भएको थियो। तर सम्मेलनमा मलाई अध्यक्ष नबनाउने तत्कालीन विभागीय इञ्चार्ज प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रित, गंगाप्रसाद उप्रेती, जेबी दाइ, वासुदेव अधिकारीले योजना बनाउनुभएको थाहा पाएँ।

मलाई उहाँहरूले प्रस्ट कुरा पनि नगर्ने अनि अरु मान्छे पनि अघि नसार्ने काममा समय खर्चनुभयो। मैले उहाँहरूलाई सोधेँ, ‘मेरो के गल्ती भयो भन्नोस् न। म किन हुनु नहुने ? मैले काम नगरेको पनि हैन। मभन्दा योग्यलाई अघि सार्नुहोस् न, म तत्काल छाडिदिन्छु। बिना आरोप मलाई धकेल्ने कामको म विरोध गर्छु,’ भनेँ। प्रायः सबैले बेलाबेला ‘तपाइँको बोल्ने कुरा कम गर्नुप¥यो’ भन्नुहुन्छ। म केमा बढी बोलिरहेको छु भन्ने मलाई नै थाहा थिएन। त्यो कुरा आजसम्म पनि मलाई थाहा छैन। मैले उहाँहरू कसैलाई सोधेको पनि छैन।  

मेरो अनुमान

१. म देखेको कुरा प्रस्ट बोल्ने मान्छे हुँ। पार्टीलाई असल बनाउनका लागि आलोचना र आत्मालोचनालाई म राम्रैगरी अपनाउने गर्दथेँ। त्यसमा नियन्त्रण गर्नु भनेको होला कि।

२. त्यसबेला नेपालमा पहिचानसहितको सङ्घीयताको खुब चर्चा भइरहेको थियो। हाम्रो पार्टी नेकपा एमाले पनि कहिले १७, १५, १४, १२, १० वटा पहिचानसहितको प्रदेश भएको सङ्घीय नेपाल बनाउने कुरा गरिरहेको थियो। म पनि त्यसैमा बोलिरहेको थिएँ। त्यही कुरा मन परेको थिएन कि? मलाई पार्टी नै पहिचानसहितको संघीयताको पक्षमा भएकाले मैले त्यो बोल्दा साथीहरूलाई त्यसले बिझाउँछ होला भन्ने कल्पना गर्न सक्दिनथेँ। म विभिन्न जातीय संगठनहरू नबनाऊँ, पार्टीकै जातीय मामिला विभाग छ।

त्यसैबाट जातीय समस्यालाई सम्बोधन गरौँ भनेर तत्कालीन पार्टी महासचिव माधवकुमार नेपाललाई भनिरहेको मान्छे पनि थिएँ। माओवादीको जातीय राज्य नै दिने कुराको विरुद्धमा हाम्रो पार्टी विभाग नै लागेपछि हामी नै सही मार्गमा देखिन्छौँ भनेर माधवकुमार नेपाललाई एक्लै राखेर गम्भीर सुझाव पनि दिएकै थिएँ। तर पार्टीको आफ्नो अडान नदेखिने त्यो अवधिमा मेरो कहाँ लागु हुनु नि। पार्टी नै विभिन्न प्रदेशमा लागिसकेको थियो। त्यसबारेमा म जे बोल्दै थिएँ, त्यो पार्टीकै निर्णय थियो।

त्यसैले उहाँहरूलाई मैले पटकपटक सोधेको थिएँ, ‘मेरो गल्ती के छ र मलाई अध्यक्ष बनाउन चाहिरहनुभएको छैन?’ भनेर। अन्तमा हदै गरिएको अनुभव भएपछि भने मैले भनेँ, ‘अब म पछि हट्दिनँ, हारे पनि छाड्दिन। इन्चार्ज नै मसँग लड्नुहुन्छ भने पनि छाड्दिन भनेँ।’ म सजिलो हिसाबले अब तपाईं बस्नुहोस्, अरूलाई अवसर दिऊँ, भनेर मभन्दा स्थापित साथीहरूलाई अगाडि सारेको भए अध्यक्ष नहुने विचारमा थिएँ।

किनकि मञ्चको केन्द्रीय जिम्मेवारीका कारण जिल्लाको राजनीतिक काम गर्नलाई मलाई कम समयमात्र उब्रिएको थियो। त्यसैले पदका लागि मरिहत्ते गरिरहेको थिइनँ। तर जब अकारण नै नराख्न खोजियो अनि मेरो नसक्नुको ढिपी सुरु भएको थियो। त्यसबेला जेबी दाइले मेरो पक्षमा कुरा गरिदिनुपर्दथ्यो भन्ने मेरो ठूलो आशा थियो। तर इन्चार्जलगायत सबै प्रमुख साथीहरू मेरो विपक्षमा देखिएपछि दाइ बोल्नु भएको थिएन।

जे होस्, त्यस सम्मेलनबाट म दोस्रोपटक अध्यक्ष भएँ। मैले जिन्दगीमा जुनजुन जिम्मामा रहेँ, सबैमा राम्रै गरेर आएको ठान्दछु। मैले याद नगरेको काम भनेको तत्कालीन कोसी अञ्चल कमिटीको सांस्कृतिक विभागको प्रमुख हुँदामात्र थियो। मलाई त्यसबेला आफूभन्दा कनिष्ठहरू आफूभन्दा माथिमाथि रहेको पटक्कै मन परेको थिएन। अनि जिल्लामा केन्द्रित म अञ्चलभित्रका अरू जिल्लामा जान अनिच्छा गरेको थिएँ। मैले त्यहाँ मात्र जानीजानी काम नगरेको हो।

जेबी टुहुरेको विराटनगरमा उहाँको पुच्छर मसमेत भएको बेला तिहारमा देउसी नखेलिने त कुरै भएन। प्रत्येक तिहारमा हामी देउसी खेलेर पार्टीलाई पैसा संकलन अभियानमा जुटिहाल्थ्यौँ। कहिल्यै नसुक्ने दाइको स्वरमा स्वर थप्ने हामी थुप्रै कलाकार थियौँ। अरू कलाकारको भन्दा छुट्टै प्रकारको सुरिलो स्वरको पहिचान नै फरक थियो। जहाँ गए पनि जेबी टुहुरेको स्वर सुन्ने भन्थे दर्शक–स्रोताहरू। यसरी विराटनगरमा उहाँको प्रत्यक्ष संगतमा म २०४४ सालदेखि २०४७ सम्म रहेको थिएँ।

सबैतिरको संगत हिसाब गर्दा त २०४४ सालदेखि नेकपा माओवादी प्रवेश नहुँदासम्म नै थियो। जेबी दाइ अर्को पार्टीमा प्रवेश भएको भए पनि हामी उहाँसँग हुर्किएका कलाकारहरूले उहाँलाई कहिल्यै फरक व्यवहार गरेका थिएनौँ। उहाँप्रतिको श्रद्धा जस्ताको त्यस्तै थियो किनकि दाइलाई पार्टीले अवमूल्यन गरेको मलाई पनि पटक्कै मन परेको थिएन। महासचिव माधवकुमार नेपाल त निरस नेता नै हुनुहुन्थ्यो तर झलनाथ खनाल (जो आफैँमा पनि स्रष्टा हुनुहुन्थ्यो) ले पनि जेबी टुहुरेको अवमूल्यन गरेकोमा भने म असाध्य चकित थिएँ।

जे होस्, दाइले पनि हामीलाई फरक आँखाले हेर्नुहुन्थ्यो भन्ने कहिल्यै लागेन। त्यही कारण नै थियो उहाँको मृत्युमा उहाँको अन्तिम संस्कार गर्दा हाम्रा कलाकार भाइहरू थाहै नपाइ काँध थाप्न अनायासै अगाडि सरेका थिए। उहाँको पार्थिव शरीरलाई केही पर बसेर हेर्नै दिएन हाम्रा कलाकारहरूको मनले। हाम्रा भाइहरू स्वचालित यन्त्रझैँ अचानक दाइको शवतिर अघि लागिहाल्थे। आखिर उहाँकै नेतृत्वमा हुर्किएका न थिए कलाकारहरू।

आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। दाइसँगको पौने चार दशकको समयलाई आफैँ घुमाइदिँदो रहेछ दिमागले। श्रद्धाञ्जली कार्यक्रममा मलाई बोल्न लाउलान् भाइहरूले भन्ने डरले हुलको पछाडि बसिरहेको थिएँ। मेरो नाम बोलाइयो तर पनि अघि सरिनँ। पर्दैन म बोल्दिन भनेर पटकपटक भनेँ। साथीहरूले धेरै कर गरेर अघि पठाए। बल्ल बल्ल सुरु गरेँ तर वाक्य पूरा गर्न सकिएन। एक्कासी रुवाइ छुट्यो। मेरो त्यो दशा हेरिरहेका दाइका अनुयायीहरू सबैको आँखामा आँसु थामिएको थिएन। हामी दाजुलाई त्यति नजिकको आफ्नै अग्रज ठानिरहेका रहेछौँ।

अन्ततः जेबी टुहुरे त्यसरी हामी सबैबाट बिदा हुनु भएको थियो। यसरी ‘मेरा शवयात्रामा यही आमा दिदी बहिनी हो भन्ने गीत बजाइदिनु है’ भन्ने दाजु जेबी टुहुरेले आफ्नो अन्तिम दर्शन हामीलाई दिएर सदाका लागि हिँड्नुभयो। अहिले दाइ कहाँ हुनुहुन्छ होला, दाइलाई कहाँ भेटिन्छ होला सोचौँ त। अब कहिल्यै भेटिन्न नि प्यारो दाजुलाई। मलाई सबैभन्दा पिर्ने कुरा नै यही हो, ‘अब उहाँसँग कहिल्यै भेट हुँदैन’ भन्ने।

म आफूलाई दाइको परिवारको जस्तै ठान्दथेँ। दाइका छोराछोरी सबैले हामी संगतियाहरूलाई काका भनेर बोलाउँछन्। त्यो कतिकति प्यारो लाग्छ अहिले पनि। २०४० सालपछिको त्यो परिवारसँगको संगत थियो मेरो। उहाँको मृत्युले प्रगतिशील सांस्कृतिक क्षेत्र स्तब्ध भएकै बेला मलाई चर्चित राष्ट्रिय दैनिक नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलजीले ‘जेबी टुहुरेको नाममा जति लामो भए पनि एउटा संस्मरण लेखिदिनोस् न है’ भन्नुभएको थियो। तर कम्प्युटरमा बस्ने समय नपाएर त्यो त्यत्तिकै थाँती रहेको थियो।

फेरि करिब तीन हप्ताअघि उहिलेको सिँगाने कान्छी छोरी निर्भिकाले मलाई भनी, ‘काका बुबाको स्मृति ग्रन्थ  निकाल्ने भएका छौँ। संस्मरण लेखिदिनुहोस् न है।’ म आफैँ पनि लेख्ने योजनामा थिएँ। हुन्छ छोरी लेख्छु, मलाई नछुटाउ है भनेको थिएँ। मेरो आशय पर्खेरै भए पनि नछुटाउ भन्ने थियो। अब त स्मृति ग्रन्थका लागि पनि लेख्नै परेपछि करै लाग्यो र यति लेख्न पुगेँ। मलाई थाहा छ, जेबी टुहुरेसँग संगत गर्न पाउनु नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनमा गर्वको कुरा हो। त्यो संगतलाई कसरी नलेखी रहन सक्थेँ र म।

जेबी टुहुरे तत्कालीन नेकपा, पूर्व कोसी प्रान्तीय कमिटी, कोअर्डिनेसन केन्द्र (माले), नेकपा (माले) र नेकपा (एमाले)मा हुनुहुन्थ्यो। त्यसबेलासम्मको लगानीमा उहाँ पार्टीका भूमिगत नेताहरू जत्तिकै कठिन र सङ्घर्षपूर्ण इतिहासका साथ जिउनुभएको अग्रज कलाकार हुनुहुन्थ्यो। नेपाली प्रगतिशील र प्रगतिवादी सांस्कृतिक आन्दोलनको इतिहासमा उहाँको चर्चा भएन भने त्यो इतिहास अधुरो हुनेछ। पछि उहाँ नेकपा   (माओवादी केन्द्र) मा प्रवेश भएपछिको कुरा अरूबाट लेखिने नै छ तर उहाँको बाँचुन्जेलसम्मको जीवनको मुख्य भाग मलगायतका उहाँको पछिपछि हिँडिरहेका हजारौँ साङ्गीतिक यात्रीहरूको लामसँग थियो।

कलाकार जेबी टुहुरेको खास नाम जुठबहादुर खड्गी हो। उहाँको जन्म वि.सं. २००१ साल कार्तिक १५ गते भएको हो। उहाँ काठमाडौँ निवासी भए पनि उहाँका मातापिता दानदेवी र कृष्णबहादुर खड्गी पुरानो बजार, धरान, सुनसरीमा बसोबास गर्नुहुन्थ्यो। टुहुरे त्यहीँ धरानमा जन्मनुभएको थियो। नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनका सबैभन्दा बढी तत्कालीन पञ्चायती शासकद्वारा दुःख यातना दिइएका र जेलनेल भोगेकामध्येका कलाकार हुनुहुन्थ्यो जेबी टुहुरे।

हुन त चन्द्र भण्डारी पनि उस्तै सङ्घर्षपूर्ण जीवन बिताएका कलाकार हुन् तर उनलाई विद्यार्थी नेताका नाताले बढी दुःख दिइएको थियो। चन्द्र भण्डारीको आर्थिक पाटो दाइको जस्तो कमजोर थिएन। जे होस् जेबी दाइको सङ्घर्षपूर्ण जीवनको कथा अत्यन्त प्रेरणादायक र शिक्षाप्रद रहेको छ। मलाई लाग्छ असाध्य आर्थिक प्रतिकूलताका बीच यस आन्दोलनमा सबैभन्दा धेरै पढिनुपर्ने इतिहास जेबी दाइकै होला।

जेबी टुहुरे एकपटक नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद्, सांस्कृतिक संस्थानका अध्यक्ष, राष्ट्रिय जनसांस्कृतिक मञ्च, नेपालका उपाध्यक्ष, दुईपटक अध्यक्ष र एकपटक संविधानसभाका सदस्य हुनुभएको थियो। उहाँ विधागत हिसाबले गीत, सङ्गीत, गायन, लेखन, संस्मरण आदिमा संलग्न हुनुहुन्थ्यो। जेबी टुहुरे वाद्यवादनमा मादलमात्र बजाएर गीत गाउन सक्नुहुन्थ्यो। उहाँको पहिलो रचना अनपढ प्रयास (गीतिपुस्तक, २०२४) हो।

अन्य कृतिहरूमाजनगीति माला (२०५०) हुन् भने गीतिएल्बमहरूमा आमा दिदी बैनी हो (२०४७), शहीदका लाशहरू आलै छन् (२०४९), शान्ति सन्देश (२०४९), सुखानीको रगत (२०५०), जनताको छोरो (२०५१), चेतना गीतको मुहान (२०५६), ढालेर शालिक ढल्दैन (२०५६), निरन्तरता (२०६०) हुन्। त्यसबाहेक उहाँका दर्जनौँ गीतहरू तथा अन्य सिर्जनाहरू विभिन्न एल्बमहरूमा छरिएर रहेका पनि छन्।

जे.बी. टुहुरेले प्राप्त गर्नुभएका सम्मान तथा पुरस्कारहरूमा गोरखा दक्षिणबाहु चौथो (२०५१), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५१), साहित्य सन्ध्या सम्मान (२०४७), नेपाल सम्मान (२०५७), राष्ट्रिय नागरिक स्वर्ण साँझ सम्मान (२०६१) लगायत थुप्रै रहेका छन् (प्रभात, सम्पा., २०७०ः१८८; मुकारुङ, २०७१ः ११९)। उहाँ राष्ट्रिय जनसांस्कृतिक मञ्चको नेता हुँदा पनि नहुँदा पनि सदा सक्रिय र अत्यन्त सम्मानित कलाकार हुनुहुन्थ्यो। उहाँ हजारौँ सांस्कृतिक कार्यक्रमहरूमा संलग्न हुनभएको थियो।

फरक प्रकृतिको स्वर भएका उहाँ २० को दशकको उत्तराद्र्धदेखि प्रगतिशील सांस्कृतिक आन्दोलनमा होमिनु भएको थियो। उहाँको बसाइँ हिँड्नेको ताँतीले, जान्न म त नि गोर्खा भर्ती आदिजस्ता गीतहरू नेपाली प्रगतिशील गीतसङ्गीतको क्षेत्रमा कोसेढुङ्गाको रूपमा स्थापित भइसकेका छन्। अत्यन्त लोकप्रिय अग्रज जेबी टुहुरे प्रगतिशील सांस्कृतिक कर्मीका लागि एकजना उदाहरणीय व्यक्तित्व हुन् (सुब्बा, २०७४ः १७४–१७५)।

नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनको एकजना शीर्षस्थ व्यक्तित्व जेबी टुहुरेलाई हामी सबैले पढ्नैपर्छ। तबमात्र जेबी टुहुरेको चेलो हुँ भन्न सुहाउँछ। जेबी टुहुरेलाई चिनेपछि मात्र नेपाली प्रगतिशील कलाकार हुँ भन्ने आधिकारिकता प्राप्त हुन्छ। नत्र जेबी टुहुरेलाई नचिन्ने मान्छे कसरी प्रगतिशील कलाकार हुनसक्छ? आफ्नो इतिहास नपढ्ने मान्छे कसरी जनसांस्कृतिक कर्मी हुनसक्छ? जसरी कम्युनिस्ट पार्टीमा लागेकाहरूले कमरेड पुष्पलाललाई चिनेको छैन, जानेको छैन भन्न सुहाउँदैन।

अन्तमा, जनगायक, सङ्गीतकार एवम् गीतकार अग्रज कलाकार दाजु जेबी टुहुरेप्रति सगरमाथा सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली छ। 

प्रकाशित: २८ श्रावण २०७९ ०१:४२ शनिबार

अक्षर