कला

'को आफ्नो' फागुनमा

काठमाडौं- अमेरिकामा लामो समयदेखि बस्दै आएका अनिल थापाद्वारा निर्देशित नेपाली फिल्म 'को आफ्नो' आगामी फागुन ७ देखि देशभर रिलिज हुने भएको छ। काठमाडौंको सिने डाइन थियटरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फिल्म युनिटले रिलिज मिति घोषणा गरेको हो।गरिब परिवारको बच्चालाई एक सम्भ्रान्त दम्पतीले धर्मपुत्र बनाएपछि आउने समस्यामा आधारित कथा फिल्ममा हेर्न पाइन्छ। फिल्मको प्रिमियर गत मंसिर १९ मा अमेरिकामा भइसकेको छ। काठमाडौंमा बुधबार ट्रेलर रिलिज गरियो।

'फरक खालको कथा र पात्रहरु उठाएर फिल्म बनाउने प्रयास गरेको छु,' निर्देशक थापाले भने, 'मेरो प्रयासमा कलाकार तथा प्राविधिकले मिहेनत गरेका छन्।'

ऋचा शर्मा, सुवास थापा, सुशांक मैनाली, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरी, सुदाम सिके, सुलक्षण भारती, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहेको 'को आफ्नो'को छायांकन शैलेन्द्र डि कार्कीले गरेका हुन्।

'फिल्मको छायांकन एकदमै व्यवस्थित थियो, त्यसैले फिल्मको काम पूर्वनिर्धारित समयसीमाभित्रै सकिएको थियो,' छायाँकार कार्कीले भने, 'निर्देशकजीले सानासाना पक्षमा समेत रिसर्च र मिहेनत गर्नुभएको छ।'

यो वर्ष 'टलकजंग भर्सेस टुल्के'बाट उत्कृष्ट अभिनेत्री विधामा नेसनल फिल्म अवार्ड पाएकी ऋचा शर्माले 'को आफ्नो'मा आफूलाई अर्कै रुपमा प्रस्तुत गरेकी छन्। मेकअप आर्टिस्ट दिपु पौडेलले ऋचाको रुप बदल्न सघाएका हुन्। 'अभिनेत्री राम्री नै देखिनुपर्छ भन्ने मान्यता छ, त्यसलाई हामीले यसमा तोड्ने प्रयास गरेका छौं,' ऋचाले भनिन्, 'मैले मेकअपमात्र होइन आफ्नो अभिनयमा पनि फरकपन ल्याउन मिहेनत गरेको छु।'

प्रकाशित: ६ माघ २०७२ २३:३५ बुधबार