कला

एकै दिन तीन फिल्म

काठमाडौं- माघ २९ मा प्रदर्शन हुने गरी अर्को फिल्मले पनि ट्रेलर सार्वजनिक गरेको छ। फिल्म 'चलेछ बतास सुस्तरी' पनि सोही मितिमा आउने भएको हो। फिल्म 'प्रेमगीत' र 'क्लासिक'ले यसअघि नै उक्त मितिमा चल्ने घोषणा गरिसकेका छन्। फिल्मले बिहीबार औपचारिक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको छ।

तर ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा लेखक प्रदीप भारद्वाज आक्रामक देखिए। आफूसँग भिडिरहेका फिल्मलाई व्यंग्य गर्दै बोल्न सुरु गरेका उनले रुवाउनु र सुन्दर लोकेसनमा खिच्दैमा फिल्मलाई सफल मान्न नमिल्ने तर्क गरे। दुवै फिल्मको प्रचारशैलीलाई समेत भारद्वाजले निको मानेनन्।

'प्रचार गरेर मात्र हुने भए बागमती हिट हुन्थ्यो। फिल्म प्रचारले होइन विषयले चल्छ, जुन हाम्रो फिल्ममा छ,' प्रदीपले भने।

उनले आफूले व्यापारका लागि फिल्म नबानाएकाले पनि आफ्नो फिल्म कोसँग भिड्दैछ र कति कमाउँछ भन्ने चासो नभएको बताए।

'म सर्जक हुँ। सर्जकले व्यापारको चिन्ता गर्दैनन्। व्यापारको चिन्ता छवि ओझाहरुले गर्छन्। यो फिल्म चल्यो भने अर्को फिल्म बनाउँछु। चलेन भने पनि डेफिनेट्ली अर्को फिल्म बनाउँछु,' प्रदीपले भने।

फिल्ममा निर्माता प्रदीपकै भाइ प्रमोद भारद्वाज मुख्य भूमिकामा छन्। 'सो सिम्पल'बाट डेब्यु गरेका उनको यो दोस्रो फिल्म हो। प्रमोदले पनि एक्लै दौडेर विजेता बन्नुभन्दा धेरैसँग दौडिएर विजेता बन्नुमा मज्जा रहेको भन्दै भिडन्तले केही फरक नपार्ने बताए।

'सो सिम्पल पनि तीनवटा फिल्मसँगै रिलिज भएको थियो। त्यतिबेला मलाई निर्देशक शिव रेग्मी सरले डेब्यु फिल्म हो, कि सार्ने त भन्दा आफूलाई, एक्लो दौडिएर विजेता बन्न रुचि नभएको बताएको थिएँ र र फिल्म चौथो फिल्मका रुपमा हलमा आएको थियो। आज पनि मेरो भनाइ यही हो,' प्रमोदले भने।

फिल्ममा प्रमोदलाई सुष्मा कार्कीले साथ दिएकी छिन्। उनले पनि फिल्म आफ्ना लागि डेब्यु जस्तै रहेको बताउँदै फिल्मप्रति आशा प्रकट गरिन्।

कार्यक्रममा वितरक सुनिल मानन्धरले फिल्मको गीत हेरेपछि वितरणका लागि राजी भएको बताउँदै सके पहिलो हुने नभए पनि दोस्रो स्थान चाहिँ नछाड्ने दाबी गरे। फिल्मलाई दुई महिला निर्देशक सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन्। फिल्ममा विकास चौधरी र सन्तोष रजौरेको संगीत रहेको छ भने फिल्ममा स्वरुपराज आचार्य, जेम्स प्रधान, डेभिड शंकर, आकांक्षा बस्याल आदिले स्वर दिएका छन्।

प्रकाशित: ३० पुस २०७२ २२:४७ बिहीबार