कला

बंगलादेश जाँदै 'सरजमिन'

काठमाडौं– गत असोजमा मण्डला थिएटरमा मञ्चन भएको नाटक 'सरजमिन' मञ्चनका लागि बंगलादेश जाने भएको छ । निर्देशक प्रवीण खतिवडाको नेतृत्वमा १३ सदस्यीय टोली शुक्रबार बंगलादेशका लागि प्रस्थान गर्न लागेका छन् ।करिब १५ दिनको यात्रामा निस्कन लागेको कलाकारको समूहले बंगलादेशका ६ स्थानमा नाटक देखाउनेछ ।

'सरजमिन'को पहिलो शो बंगलादेशको रंगपुर भन्ने स्थानमा ७ गते सोमबार हुनेछ भने अन्तिम शो १९ गते शनिबारका दिन राजसाईको युनिभर्सिटी हलमा हुनेछ ।

त्यसैगरी दिनाजपुर, चितगोङ, जेसोर भन्ने स्थानमा पनि कलाकारले नाटक प्रस्तुत गर्नेछन् । देशबाहिर कुनै पनि नाटकले यति धेरै मञ्चनको मौका पाएको पहिलो पटक हो । निर्देशक खतिवडाले यसलाई राम्रो सुरुवातका रुपमा लिँदै यसले बाँकी नाट्यकर्मीका लागि पनि बाटो खोल्ने धारणा राखे ।

'नाट्यकर्मीले बिना अपेक्षा गरिरहेको लगानीको प्रतिफल पाएजस्तो लागिरहेको छ । यसले देशको कलालाई अरु देशसँग परिचित गराउनुका साथै कलाकारलाई पनि आत्मसन्तुष्टि दिनेछ,' खतिवडाले भने ।

लेखक पुष्कर शमशेरको 'परिबन्द' कथामा आधारित नाटक 'सरजमिन'ले कसरी निर्दोष मानिसलाई अपराधी बनाउँछ भन्ने कथा पस्केको छ । नाटक गत असोज १५ देखि ३० गतेसम्म मण्डला थिएटरमा मञ्चित भएको थियो । राणाकालको पृष्ठभूमिमा लिखित कथालाई समयसापेक्ष परिवर्तनका साथ नाटकमा रुपान्तरण गरिएको हो । बंगलादेश जाने टोलीमध्ये विजय बराल, सोमनाथ खनाल, उमेश तामाङ, बुद्धि तामाङ, रोहित पौडेल, बिनिता गुरुङ, रञ्जना ओली, संयोग गुरागाईं, विकास जोशीले नाटकमा अभिनय गर्नेछन्।

प्रकाशित: २ मंसिर २०७२ २१:५४ बुधबार