कला

भेदभाव

लघुकथा

अनुग्रह राना मगर ‘पुष्प’

पूर्णिमाको दिन थियो। बिहानै  धनलक्ष्मी घर पोत्दै थिइन्। हजुरआमा कुखुराको   खोरमाथिको  ढिकमा  बसिरहेकी थिइन्। तल्लो घर माथ्लो घर छिमेकी भएकाले  विश्वकर्मा बद्रीको छोरा धनलक्ष्मीको छोरासँग खेल्न भनेर गयो।

तल्लो घरकी हजुरआमाले  सात्तो खाइन्, ‘यस्तो बेलामा जानु हुँदैन भनेर विचरा त्यो पाँच वर्षको बालकलाई के थाह! अरू बेला त बाहिरबाहिरै खेलेर आउँथे। आज बाहिर   नदेखेकाले र पूर्णिमा भन्ने पनि थाहा नभएकाले गइहाले। अरू बेला त बुवाआमाले देख्थे र त्यता जानु हुँदैन भन्थे। आज त सुटुक्क गएको पत्तै पाएनन्। एकैचोटि तल्लो घरको  हजुरआमा चिच्याउँदा पो बद्रीले थाहा पाए।

हत्तपत्त तल गएर हजुरआमासँग माफी मागे। उसलाई घर ल्याएर सम्झाउन लागे, ‘त्यस्तरी यस्तो बेलामा जानु हुन्न के छोरा।’

छोराले च्याँठिंदै भन्यो, ‘अनि हिजो नै भन्नु पर्दैन त?’

‘बाबू, नरिसा न। हामीले बुझ्नुपर्छ। हामी भनेको सानो जात हौं। फेरि तिमी सानै छौ। अहिले  यस्तो कुरा पनि त बुझ्दैनौ।’ बद्रीले सम्झायो र आफ्नो कामतर्फ लाग्यो।

छोरा  सानो भए पनि चनाखो थियो। बुवाको कुराले मनमा गहिरो चोट लाग्यो र सोच्न थाल्यो, ‘यो सानो जातको, त्यो ठूलो जातको भनेर कसले छुट्यायो! आखिर काट्दा त रगत रातै बग्छ। मरेपछि पोल्न लाँदा पनि एकैठाउँ लग्छ।’

‘कस्तो अचम्म’ भन्दै भित्र पस्यो।

फेरि अर्को दिन अर्को छिमेकीको घरमा त्यस्तै दिनमा पुगेछ। बुढा कडा   रहेछन्।   जातिय  भेदभावको  कुरा गर्दै दुईचार भाटा  लाइहालेछन्। छोरा रुँदै घर पुगेकाले बद्रीले सोधे। सबै कुरा भनेपछि ‘यो असह्य भो। सानो छ, बुझ्दैन  भनेर सम्झाउनुपर्छ नि। कुटिहाल्नुपर्छ’ भन्दै मुर्मुरिंदै तल्लो घरतिर लागेको हजुरआमाले देखिन् र भनिन्, ‘भेदभावचाहिं नगरेको भा हुन्थ्या नि?’

प्रकाशित: २२ जेष्ठ २०७९ ०८:१२ आइतबार

अक्षर