कला

'तारा खस्यो नि बरै...'

काठमाडौं, पुस १२ (नागरिक)- 'मनदेखि गाउने प्रयास गर्नेछु' शुक्रबार बिहान आभासको फेसबुकमा स्टेटसमा लेखिएको थियो। साँझ डिल्लीबजार बाँसघारीको पल्लोपट्टी उनी गाउने तरखर गर्दै थिए। मनदेखि गरेको कामले मात्र सन्तोष दिन्छ भन्ने उनको पूरानो मान्यता हो। यही मान्यताले कती साथ छुटायो तर यो बानी छुटेन।
पुष माघको ठिहिरो सुरु भएको संकेत गर्दै शनिबार राजधानीमा बिहानै कुहिरो उड्दै थियो। यसको अघिल्लो साँझ आभासले सामाजिक कुहिरोको गीत गाएका थिए, 'भूइँ कुइरो उड्न थाल्यो है...।' राजनीतिक गतिरोध र हरेक दिन चर्किदै गएको दलहरूको द्वन्द्व यो गीतमा 'कुहिरो' बनेर देखापर्‍यो।
उनको पहलो एल्बम 'पलापला'मा राखेको यो गीतको निर्माण कथा भने बेग्लै छ। 'त्यो पञ्चायतको बेला थियो,' गाइसकेपछि शीरको भादगाउले टोपी मिलाउँदे उनले भने, 'मेरो साथी चन्द्र भण्डारी नख्खु जेलमा थियो।' कुनैबेलाका अनेरास्ववियु अध्यक्ष भएका चन्द्र भण्डारी यो गीतका रचयीता र संगीतकार हुन्। 'हामी दशैंमा टिका लगाउने निहुँमा भेट्न गएका थियौं, उसले गिटार बजाएर यो गीत सुनायो,' जसलाई टिपेर आभासले माझे।
कुनैबेला थियो, रामेश, मञ्जुलसँग आभास जनवादी गीत गाएर हिँड्थे। त्यसपछि संगीतको औपचारिक र सैद्दान्तिक ज्ञानको खोजी सुरु भयो। यो खोजीले अन्ततः नेपाली संगीतका महत्वपूर्ण स्रष्टाको खोजीको रूप लियो। वर्षौदेखि प्रतक्ष्य नगाएका अम्बर गुरुङ हुन् या सिलगुणीका नेपाली गायक अशोक राई, आभासको 'पलेँटी' नेपाली आधुनिक गीतको नयाँ अखडा बनेर जन्मियो। गायक खोज्न उनी कहिले आसाम पुगे, कहिले मेघालय। खेतमा काम गरिरहेका पूर्वबेलायती सैनिक सान्तनुकुमार लिम्बुलाई 'पलेँटी'मा ल्याइपुर्‍याए।
पहिलो एक वर्ष आभासले एक्लै गाएको 'पलेँटी'मा अहिलेसम्म ३१ स्रष्टा आइसकेका छन्। कोही गायकका रूपमा आए, कोही गीतकार त कोही कम्पोजरका रूपमा। यो महिना चाहिँ आभास संचालकको कुर्सीबाट हार्मोनियम पछिल्तिर सरुवा भएका थिए। सुरुवात भयो, श्रवण मुकारुङको गीत, 'हजुर हजुर ए हजुर...'बाट र अन्त्य भयो, आभासकै गीत, 'लेकका हामी केटाकेटी...'मा।
'यो राम्रो कवि पनि हो नि,' पलेँटीका नियमित स्रोता रघु पन्तले मञ्चतिर देखाउँदै भने। प्रायः अर्काका गीतले हिट हुने गायकको भीडमा आभासको कद आफ्नै शब्दले उचो बनाएका छन्। चाहे, लेकका केटाकेटीका लागि लेखिएको बाल गीत होस् या आफ्नै मन टक्टक्याएर लेखेको 'आँसुले यो मन...' होस्, आभासका शब्दमा गजबको काव्य र संगीत भेट्न सकिन्छ।
चल्तीका गायकको भन्दा एकदमै भिन्न माधुर्यले भरिएको आवाजमा जब उनी अम्बर गुरुङ वा भिम विरागका गीत गाउँछन्, स्रोतालाई ताल मिलाउन धेरै समय लाग्दैन। आखिर ताल पनि त तबला कम मनबाट ज्यादा निस्किन्छ!
देशको सबैभन्दा ठूलो पार्टीले नागरिक सर्वोच्चताको मागमा गरेको तीन दिने बन्दले रिहर्सललाई जिस्क्याउन खोज्यो। साँझको कार्यक्रममा भने त्यही माओवादी नेतृ हिसिला यमी आइपुगिन्। जम्माजम्मी दुई गीत सुनेकी हिसिलाले मध्यान्तरमा आभासलाई भनिन्, 'मलाई त मेडिटेसन गरेजस्तो भयो।' केहीबेर आभासको संगीत इतिहासका बारे जिज्ञासा राखिन्, 'तपाई राल्फामा हुनुहुन्थ्यो?' आफ्नो सहज मुस्कानका साथ आभासले जवाफ दिए, 'होइन, संकल्पमा थिएँ।' एकछिनको वार्तापछि उनी हिडिन्।
आभास भने दोस्रो 'हाफ'मा 'ओ तेन्जिङ...' लिएर आए। शुक्रबारको साँझ आभासले अम्बर, श्रवण र विरागका शब्द धेरै गाए। सँगै अम्बरका मित इन्द्र थपलियाको 'तारा खस्यो नि बरै...' जस्ता विरलै सुन्न पाइने गीत पनि गाए। र, मिटरमा नभएका केही बेग्लैखाले कवितालाई पनि गीत बनाएर पेश गरे। यसमा प्रमुख थियो, श्रवण मुकारुङको कविता 'ल्याम्पोष्टमुनि आगो तापिरहेछन्, नानीहरू...'। पप शैलीको भन्न मिल्ने यो गीत गाइसकेपछि उनले भने, 'यो वर्ष म यस्तै केही गीतको एल्बम लिएर आउँदैछु।'
अहिले उनी सात वटा एल्बमको तयारीमा छन्। 'अहिले गीत रेकर्डिङ भइरहेको छ,' यीमध्ये दुई एल्बम यसै वर्ष आउने सम्भावना छ।
भनिन्छ, एउटा संगीतकारले आफूलाई संगीतमा जसरी अभिव्यक्त गर्छ, अरु केहीमा पनि त्यस्तो अभिव्यक्ति सम्भव छैन। यो कुरा आभासका सवालमा पनि लागु भयो। कार्यक्रमका बीचमा आफ्नै शब्द र संगीतको गीत 'आँसुले यो मन बहकिन्छ...' गाएपछि उनले भने, 'यो त मेरो आफ्नै कथा हो।'

प्रकाशित: १२ पुस २०६६ ०४:१३ आइतबार