कला

समाजले नारी लेखिकालाई सुन्दर ढंगले हेर्छ

समाजमा अनेक विभेदले जरो गाडेको छ। पूर्ण रूपमा अझै लैंगिक विभेद हट्न सकेको छैन। विभिन्न क्षेत्रमा जस्तो साहित्य क्षेत्रमा पनि महिलालाई भने जस्तो सजिलो छैन। नानीहरूको हेरचाह र घरधन्दा एक्लै गर्नुपर्ने बाध्यता छ। कहीं कतै भने आशालाग्दो अवस्था पनि छ। महिला साहित्यकारको अवस्था कस्तो छ भन्ने सन्दर्भमा मैले साहित्यकार रेखा सुवेदीलाई पाँच ओटा कुरा सोधेको थिएँ। उहाँको कुरालाई यहाँ प्रस्तुत गरिएको छ:

१) नारीलाई लेख्न कतिको सजिलो छ?

  - घरगृहस्थी,पेसा,व्यवसायबाट छुट्टिएको फुर्सदिलो समय मिलाएर लेख्ने हो। कुनै विषय वा घटनामाथि लेख्दा कहिलेकाहीं चुनौती आउन सक्छ। तर, लेख्छु नै भनेर लागेपछि अप्ठ्याराहरूलाई पनि सजिलो मान्दै जानुपर्छ।

२) तपाईले घरपरिवार(श्रीमान) बाट कतिको साथसहयोग पाउनुभएको छ?

    - मैले त श्रीमान् र घरपरिवारबाट एकदम धेरै साथसहयोग पाएकी छु। एउटै कर्म क्षेत्र र रुचिका कारण पनि हुनुपर्छ। हामी एक अर्कालाई सहयोगी बनेर हिंडिरहेका छौं।

३) नारी र पुरुषको लेखाइमा फरक पाइन्छ कि?

   -सोच्ने,हेर्ने र अनुभव गर्ने कुरा लैङ्गिक आधारमा फरक त पर्छ नै। यसर्थ वैचारिकता,कलात्मकता र प्रस्तुतिमा एकरूपता भए पनि लेखनमा विषय छनौट गर्ने पक्ष र यसलाई हेर्ने,सोच्ने र निर्णय गर्ने कुरा लेखनमा अलि फरक पर्ला कि भन्ने लाग्छ। नारीले नारीको सवाल बेसी उठाउलिन् र पुरुषले पुरुषको हितमा केन्द्रित भएर बढी लेख्लान्। अपवाद छोडेर हेर्ने हो भने यो देखिएको कुरा पनि हो।

४) समाजमा नारी लेखकप्रति कस्तो व्यवहार पाउनुभएको छ?

 -समाजले नारी लेखिकालाई सुन्दर ढंगले हेर्छ। सम्मानित व्यवहार गर्छ। आजसम्म लेखनको विषय निकालेर कुनै नारीलाई नेपाली समाजले अपमानित गरेको मैले सुनेकी,देखेकी छुइनँ। बरु सम्मान,अभिनन्दन गरेको छ।

५) नारी लेखकहरू लेखनमा कतिको निरन्तरता पाउनुभएको छ?

 - यो गम्भीर सवाल हो। लेखिरहने चाहना हुँदाहुँदै घरव्यवहार आदिको व्यवस्थापनका लागि लगातार उत्तिकै समय दिन नसकिंदोरहेछ। यो टड्कारो रूपमा देखिएको कुरा हो। नारी लेखिका निरन्तर लेखिरहोस् भन्ने समाजको अपेक्षा पूरा गर्न विभिन्न संघसंस्था,स्थानीय तथा संघीय सरकारले प्रेरणात्मक भूमिका निर्वाह गर्नुपर्छ। नारी लेखिकाको कृति प्रकासन गर्न दर्विलो योजना ल्याउनुपर्छ भन्ने मलाई लागेको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०६:२६ बिहीबार

अक्षर