‘जीवन केवल वसन्त मात्र हैन, तुसारे शिशिर पनि हो,
फूलको कालीन मात्र हैन, संघर्ष पनि हो।’
‘घनघश्याको उकालो काट्दा’ निबन्धका यिनै हरफबाट पाठकको मनमस्तिष्कमा बस्न सफल झर्रोवादी पहिचानबाट परिचित साहित्यकार डा. तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ। उनका भाई लक्ष्मीनाथ शर्माले लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त साहित्यकार तानाको मंगलबार राजधानीको चावहिल सरस्वतीनगरस्थित आफ्नै निवासमा निधन भएको पुष्टि गरेका थिए।
उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या समेत थियो। प्रजापति उपाध्याय र देवकी उपाध्यायका जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मेका उनले प्रारम्भिकमा संस्कृत शिक्षा लिएका थिए। विसं. २००८ सालमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा पहिलोपटक उनको ‘इलाम’ शीर्षकमा निबन्ध प्रकाशित भएको थियो। भारतमा पढ्दै गर्दा उनले ‘आह्वान’ हस्तलिखित पत्रिका प्रकाशित गरेका थिए।
नियात्रा विधाका लोकप्रिय साहित्यकार शर्मा झर्रोवादी आन्दोलनका अभियन्तामध्ये एक थिए। विसं. २०१३ सालमा बनारसमा पढ्दै गर्दा बालकृष्ण पोखरेल, कोषराज रेग्मी र वल्लभमणि दाहाललगायतका व्यक्तिहरूसँग मिलेर सुरू गरेको झर्रोवादी आन्दोलन नेपाली भाषिक फाँटमा महत्वपूर्ण मानिन्छ। ‘झर्रोवाद’लाई व्याख्या गर्दै उनले निबन्ध र लेखहरू लेखेका थिए। झर्रोवादलाई स्थापित गर्न उनले ‘शर्मा’को सट्टा ‘सर्मा’ लेख्ने गरेका थिए।
माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्दा’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई परिचित गराएको थियो। उनले विसं. २०२६ सालमा ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए। सोही कृतिबाट उनीले आत्मपरक नियात्रा लेखन विधामा ख्याति कमाएका थिए। ‘उहाँ नियात्रा समाजको संरक्षक हुनुहुन्थ्यो,’ नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले भने, ‘नेपाली साहित्यमा नियात्रा लेखनलाई लोकप्रिय बनाउने श्रेय उहाँलाई जान्छ। वास्तवमा उहाँको यात्रा संस्मरण पढेपछि भाषाशास्त्री बालकृष्ण पोखरेलले यस विधालाई नियात्रा भनिनुपर्छ भनेर उल्लेख गरेका थिए।’
बालकृष्ण समका आलोचक उनले विसं. २०२९ सालमा ‘सम र समका कृति’बाट साझा पुरस्कार पाएका थिए। तत्कालीन राजा महेन्द्रका कविताहरूको आलोचना गर्ने उनले ‘महेन्द्रमाला’ पुस्तक रचना गरेका थिए। उनी एक समय त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्थे। त्यसपछि नेपाल कमर्स क्याम्पसमा सरुवा लिएका थिए। पछि उच्च माध्यमिक स्कुल प्लस टूका प्रमुख र प्राइमरी स्कुलका हेडमास्टर समेत भए।
उनले रानी ऐश्वर्य शाहलाई पद्मकन्या कलेजमा पढाएका थिए। ऐश्वर्यको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा सदस्य भएपछि भने उनी चाकडीबाजका रूपमा बदनाम भएका थिए। उनले साझा प्रकाशनको शेयर होल्डरको तर्फबाट हुने सञ्चालकको चुनावमा उम्मेदवार भएर जितेका थिए। उनी हौसिएर ‘गरिमा’ पत्रिकालाई सघाउन पुगेका थिए। त्रिभुवन विश्वविद्यालयबाट जागिर छाडेर अमेरिका गएका उनी त्यहाँ पनि लामो समय टिक्न सकेनन्।
नेपाली भाषामा हिन्दी, संस्कृत र अंग्रेजी भाषाको प्रयोग र प्रभावलाई लिएर असन्तुष्टि व्यक्त गरिरहने उनको पहिलो ‘नमस्ते’ निबन्ध संग्रह रत्न पुस्तक भण्डारले विसं. २०१८ सालमा प्रकाशित गरेको थियो। उनका ‘घोत्ल्याइँहरू’, ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’, ‘पाताल प्रवास’, ‘दुई पोका चुरा’ र ‘चरी भरर’लगायत कृति प्रकाशित छन्। उनले गोपालप्रसाद रिमालको कविता कृति ‘आमाको सपना’ (२०१९) र गुरूप्रसाद मैनालीको कथा संग्रह नासो’ (२०२१) सम्पादन गरेका थिए। उनी ‘द राइजिङ नेपाल’को प्रधान सम्पादकसम्म भएका थिए।
अंग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले विसं. २०२३ मा रत्नश्री स्वर्णपदक र विसं. २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार प्राप्त गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुःख व्यक्त गरेका थिए। ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले निकै दुःख लागेको छ,’ उनले ट्विट गरेका थिए, ‘दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। शर्माका श्रीमती र दुई छोरा छन्।
प्रकाशित: ४ फाल्गुन २०७८ ०४:०८ बुधबार