कला

कलाका 'पावर लेडी'

नेपाली कला, साहित्य, फिल्म र संगीत क्षेत्रमा महिलाहरूको संख्या न्युन छ। अप्ठ्यारो चिर्दै आफ्नो उपस्थिति जनाउनेहरू क्रमशः बढ्न थालेका छन्। यस क्षेत्रमा लागेकालाई उत्साहित तुल्याउने ध्येयका साथ कलाको अग्रिम मोर्चा सम्हाल्ने महिलाको संख्या थोरै छ तर सशक्त । कला क्षेत्रमा लाग्न चाहनेलाई प्रोत्साहन र रोजगारीको समेत पहल गरिदिने 'पावर लेडी' देखापरेका छन्।पछिल्लो समयमा कलाकार र निर्देशकको फिल्म असफल भइरहेको बेला रेखा थापाले आफ्नै बलबुतामा फिल्म निर्माण र निर्देशनको लगाम हाँकेकी छिन् । रेखाको 'स्टारडम'ले पुरुषको मनोपोलीलाई छायामा पारेको छ । उनी नाम र दाम कमाउन सफल छिन् । एक्सन भूमिकालाई समेत अपनाएर उनले महिला चरित्रलाई 'बोल्ड' बनाएकी छिन् । पुरुषले मात्र गर्ने सक्ने ठानिएको एक्सन रोलमा उनले आफूलाई फिट राखेकी छिन् । दर्शक अब रेखाको 'अंग' होइन 'दंगा' पनि हेर्न हलमा धाउन थालेका छन् ।

'बाटुली', 'किस्मत', 'कसले छोयो मेरो मन', 'इसारा', 'अन्दाज', 'लंका', 'रावण', 'काली', 'हिम्मतवाली' लगायत डेढ सय फिल्ममा अभिनय गरिसकेकी छिन्, रेखाले । उनी अभिनय र फिल्म निर्माणमा सफल मानिन्छिन् । फिल्मका अतिरिक्त महिला अधिकारका क्षेत्रमा पनि उनले आफूलाई क्रियाशील तुल्याउँदै लगेकी छिन् ।

गायिका अभया सुब्बा यस्तो 'ब्याड लिडर' हुन्, जसको पछाडि बसेर पुरुषहरू गिटार र ड्रम बजाउँछन् । आफ्नै नाम अगाडि राखेर ब्यान्ड हाँकेकी अभया रक गायकनमा कहलिएकी छिन् । उनी आफूले गाउने गीत आफैं लेख्छिन्, आफैं संगीत दिन्छिन् र आफैं गाउँछिन् । जुन हाउभाउका साथ स्टेटमा उनी देखिन्छिन् त्यसले सुरुमा राम्रो प्रतिक्रिया पाएको थिएन ।

म्युजिक भिडियोमा उनको अभिनय देखेर कतिपयले त 'महिला भएर भिडियोमा लात्तीले हान्न लाज लाग्दैन ?' भन्ने प्रश्न पनि गरे । 'अहिले त धेरै सुधार भइसक्यो । महिलाले जे पनि गर्न सक्छन्,' अरूको भनाइप्रति उनी चासो राख्दिनन्, 'मलाई थाहा छ, अरू घमण्डी भन्छन् । मलाई मतलब छैन । आफूले बनाएको गीत आफ्नै मर्जीअनुसार हुनुपर्छ ।'

नभन्दै, समयले उनीप्रति सम्मान देखाउन थालेको छ । आइकोनिक स्टेज प्रस्तुतिमा उनको विकल्प छैन । उनको 'रक्की स्टाइल'ले युवा ढुकढुकीलाई उचाल्न थालेको छ । रक गायनमा भविष्य देख्नेसामु त उनी ट्रेडमार्क नै हुन् ।

१२ वर्Èदेखि उनको एकल प्रयासमा हुने 'वुमन इन कन्सर्ट'ले महिला सशक्तीकरणमा जोड दिने गरेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन आयोजना हुने 'वुमन इन कन्सर्ट' मा नया" र पुराना गायिकाले प्रस्तुति दिन्छन् ।

'महिलाका अधिकारबारे महिलामात्र नभएर पुरुÈहरू समेत जागरुक हुनुपर्छ,' उनी भन्छिन, 'सुरुवाती दिनमा नेपाली संगीतमा लाग्न मलाई मेरो बाबा, दाजुभाइ र श्रीमान्ले साथ दिएका थिए । सबैको साथले गर्दा कामलाई निरन्तरता दिन प्रोत्साहित गरिरहेको छ ।'

हरेक वर्ष 'वुमन इन कन्सर्ट'का लागि उनी नेपालका विभिन्न क्षेत्रमा नयाँ प्रतिभा खोज्न पुग्छिन् । नयाँ प्रतिभालाई नेपाली संगीतमा ल्याएर निरन्तरता दिनसमेत उनले प्रोत्साहित गरिरहेकी छिन् । 'नयाँ प्रतिभालाई 'वुमन इन कन्सर्ट'मार्फत प्ल्याटफर्म दिँदा कहिलेकाहीँ उनीहरूले नेपाली संगीतलाई निरन्तरता दिन पाउँदैनन् । मेरो जोड उनीहरूले संगीतलाई प्राथमिकता दिऊन् भन्नेमा हुन्छ,' उनी भन्छिन् ।

एक दशकभन्दा बढी नेपाली संगीतमा बिताईसकेकी गायिका अभयाका सन्देशमूलक गीतको प्रभाव सकारात्मक देखिएको छ । उनका 'तिम्रा लागि', 'सक्दिना' र 'सधैं' लगायतका गीत चर्चामा छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय नेपाली चित्रकलामा बोल्ड नाम हो । निधारमा त्रिशूल आकारको लामो कालो टीकामा देखिने उनले नेपाली चित्रकलाका विभिन्न फाँटमा महिलालाई स्थापित हुन एकजुट गराइन् । महिला सशक्तीकरण र चित्रकलामा लागिपरेका विभिन्न संस्थाको नेतृत्व लिएर काम गर्न उनी सफल देखिइन् । चित्रकलाका माध्यमले महिला सशक्तीकरणसँगै तिनका चित्रलाई प्रोत्साहित समेत गरिन् । उनका चित्रहरूले नारी, प्रकृति, वातावरण र देवीका विभिन्न रूपमार्फत समाजलाई जागरुक गर्न मद्दत गरिरहेका हुन्छन् ।

झन्डै तीन दर्जन नेपाली चित्रकलामा बिताइसकेकी उपाध्यायले ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि नेपालभर फैलिएर बसेका महिला चित्रकारलाई विभिन्न कलाको माध्यमले साथ दिइरहेकी छिन् । 'नयाँ कलाकारका लागि कलासम्बन्धी प्रशिक्षणदेखि अवसर नपाएकालाई अवसर दिन मेरोतर्फबाट सक्ने सहयोग गरिरहेको छु,' उनी भन्छिन्, 'सबै कलाकार जुट्न सकेका भएर अहिले नेपालमा फाइन आर्ट र कमसिर्यल आर्ट विधाले व्यावसायिक मोड लिइसकेको छ ।'

सन् १९९४ बाट सुरु भएको 'मिस नेपाल' को ब्यान्डमा धेरै सुन्दरीको नाम जोडियो । मिस नेपालको २१औं संस्करणसम्म आइपुग्दा ती सुन्दरी सुन्दरताभित्र बिलाए । महिलाहरूलाई प्ल्याटफर्म दिएर नेतृत्व विकास गर्नका लागि सुरु गरिएको मिस नेपालमा 'ब्युटी विथ वेन' पर्यायवाची हुन्, पूर्व मिस नेपाल माल्भिका सुब्बा । हरेक दिन उनको जोड सकारात्मक सामाजिक रूपान्तरमा हुन्छ । हाल मिस नेपालको नयाँ संस्करणको कोरियोग्राफी गरिरहेकी उनी युवतीहरूका लागि 'मिस नेपाल' उत्कृष्ट प्ल्याटफर्म भएको बताउँछिन् । 'कलेज पढ्ने पढेलेखेका युवतीहरू समाज परिवर्तनका लागि अगाडि बढ्न नसकेको अवस्थामा मिस नेपालले नेतृत्व विकासदेखि आत्मविश्वास बढाउने काम गरिरहेको छ,' उनी ढुक्क छिन्, 'प्रशिक्षण अवधिमा सिकेका कुराले समाजप्रति जिम्मेवार हुन सिकायो । यस्तो प्रतियोगितालाई हामीले अवसरको रूपमा लिन सक्नुपर्छ ।'

महिला सशक्तीकरणको लागि काम गरिरहेको 'हाम्री बहिनी प्रोजेक्ट'लाई उनैले लिड गरिरहेकी छिन् । एलजीबिटीआइमाथि थेसिस गरिरहेकी उनीले केही दिनअघि बैंककमा सम्पन्न क्षेत्रीय अन्तरक्रियालाई मोडरेड गरेकी थिइन् । मिस नेपालबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी उनको नामअगाडि अभिनेत्री र निर्मात्रीको उपाधिसमेत जोडिएका छन् ।

नेपाली थिएटरहरूमा सशक्त नाटक निर्देशन गरिरहेकी निर्देशक पशुपति राई उत्कृष्ट कलाकारसमेत हुन् । गुरुकुलमा छँदै स्थापित उनले पछिल्लो समय संस्कृतिविद् सत्यमोहन जोशीको नेवारी लोककथामा आधारित नाटक 'धोँच्वलेचा' निर्देशन गरिन् । महिलाले महिलालाई दिने दुःखमाथि केन्द्रित नाटकको सन्देशको तारिफ सबैतिर भयो ।

त्यसअघि लेखक राजन मुकारुङले पुस्तकमा आधारित 'हेत्छाकुप्पा'मा उनले निर्देशकीय क्षमताको परिभाषा दिइसकेकी थिइन् । ०६० सालदेखि नेपाली थिएटरलाई करियर बनाएकी उनले महिला सशक्तीकरणका विषयलाई नाटकमार्फत प्रस्तुत गरेकी छिन् । हाल 'कबड्डी कबड्डी' फिल्ममा व्यस्त छिन् । 'दुवै नाटकमा महिला पात्रको अभिनय उत्कृष्ट भयो,' उनको अनुभव छ, 'महिला भएर महिलाको विषयमा नाटक निर्देशक गर्न सजिलो भयो ।'

महिला सशक्तीकरण र अधिकारमा जोड दिने कवि मोमिला जोशी नेपाली साहित्यमा बेजोड नाम हो । नारी संवेदना र अस्तित्वको खोजीमा उनको कलम चल्ने गरेको छ । उनले लेखेका अधिकांश कवितामा नारीका विभिन्न सवाल भेट्न सकिन्छ । 'महिलाका विभिन्न विषयलाई कवितामा समेट्ने गरेको छु । यसले मलाई समेत आत्मिक आनन्द दिने गरेको छ,' उनी भन्छिन् ।

पछिल्लो समय उनले वाचन गरेका नारी अस्तित्वका कविताले महिला सशक्तीकरणको विषयलाई प्राथमिकतामा राखेका थिए । 'दया देखाएर दिइएको आरक्षणभन्दा माया दिएर महिला अघि बढ्न सक्नेछन्,' उनी पुरुषको साथको पनि अपेक्षा गर्छिन्, 'महिलामाथि हुने हिंसाविरुद्ध पुरुष कविहरूले पनि आवाज बुलन्द गर्न सके हामीमाथि न्याय हुने थियो ।' कहिलेकाहीँ हुने साहित्यिक भेटघाटमा उनले महिलामाथि तयार गरिएको सकारात्मक कविता चुस्स सुनाउन भ्याइहाल्छिन्।

नेपाली कला साहित्य डटकम प्रातिष्ठानबाट नेपाली साहित्यलाई विश्वसामु पुर्‍याउन उनी लागिपरेकी छिन् । 'नेपाली साहित्यकारका कृतिहरू अंग्रेजीमा अनुवाद गर्न सकिए नेपाली साहित्यले अन्तर्राष्ट्रिय बजार पाउन सक्छ भन्ने मान्यमाले अघि बढेको छु । यसमा विभिन्न क्षेत्रका व्यक्तिले सहयोग गरिदिनुभएको छ,' उनी भन्छिन्।

प्रकाशित: २२ फाल्गुन २०७१ २०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App