कला/साहित्य

७३ वर्षीय निर्देशक शकील नुरानी यौन उत्पीडनको आरोपमा पक्राउ

बलिउड चर्चित चलचित्र ‘जोरू का गुलाम’ लगायत पुराना चलचित्रको निर्देशन गरेका ७३ वर्षीय निर्देशक शकील नुरानीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।

भारतीय मिडिया अनुसार मुम्बईको मालवणी प्रहरीले ३३ वर्षीय एक अभिनेत्रीले दर्ता गराएको यौन उत्पीडनसम्बन्धी उजुरीका आधारमा शकील नुरानीलाई पक्राउ परेका हुन्। यद्यपि अभिनेत्रीको नाम भने खुलाइएको छैन।

शकील नुरानीले चलचित्र ‘बडे दिलवाला’ र ‘जोरू का गुलाम’ जस्ता चलचित्रको लेखन, निर्माण तथा निर्देशन गरेका थिए।

प्रहरीका अनुसार नुरानीले आगामी चलचित्रको परियोजनाबारे छलफल गर्ने बहानामा ३३ वर्षीय अभिनेत्रीलाई मालवणीस्थित आफ्नो निवासमा बोलाएका थिए। त्यहाँ ती महिलामाथि यौन उत्पीडन गरेको आरोप छ।

यस मामिलामा महिलालाई कथित रूपमा नशालु पदार्थ खुवाएको र त्यसपछि कथित भिडियोमार्फत धम्की दिएको आरोप पनि समावेश छ। प्रहरीले भारतीय न्याय संहिता अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।

पक्राउपछि नुरानीलाई मालवणी प्रहरीले कोर्टमा पेस गरेको थियो। अदालतले उनलाई १२ अगस्टसम्म प्रहरी हिरासतमा पठाएको छ।

शकील नुरानीले बलिउड उद्योगमा निर्देशक तथा निर्माताका रूपमा आफ्नो सफल पहिचान बनाएका छन्। उनको करियर धेरै लामो नभए पनि केही चर्चित चलचित्रका कारण उनी परिचित छन्।

उनलाई सबैभन्दा बढी सन् २००० मा प्रदर्शनमा आएको चलचित्र ‘जोरू का गुलाम’ का लागि चिनिन्छ, जसमा गोविन्दा र ट्विंकल खन्नाले अभिनय गरेका थिए।  

प्रकाशित: २४ श्रावण २०८३ ११:२३ आइतबार