कला

उज्ज्वल थापाको धर्म

धेरै जनाले मलाई सोध्ने गर्छन्, उज्ज्वल थापाको परिवारमा को को छन्? उनका सन्तान छन् कि छैनन्? मैले पछाडि फर्केर हेर्दा, उहाँसँग मेरो पहिलो भेट २०५९ को दशैंमा उहाँको घरमा खाना खान जाँदा भएको थियो।

हाम्रो सम्बन्ध यसकारण थियो कि हामी दुवैको परिवारको उद्गम थलो स्याङ्जा थियो। उज्ज्वल दाइको बुबा उदय अंकल र मेरो बज्यैहरूको सम्बन्ध भेडाबारी गाउँदेखिकै थियो। त्यस बेला पहिलोचोटि भेट हुँदा उहाँ धेरै कुरा गर्ने गर्नुहुन्नथ्यो तर हामीलाई तास खेल्न सिकाइदिन्छु भन्नुभएको थियो। मेरा दिदीबहिनी र मैले पहिलोचोटि तास दाइसँगै दशैंमा खेलेका थियौँ।

उज्ज्वल दाइकी आमा काठमाडौंको ठमेलमा जन्मनुभएको र यतै हुर्कनुभएको हो। मैले अहिलेसम्म भेटेका महिलामध्ये उहाँ मलाई धेरै सशक्त र सक्षम लाग्नुहुन्छ। जन्मिदै पोलियोको सिकार भए पनि उहाँसँग पढाइलेखाइदेखि नेतृत्व क्षमता केहीमा पनि कुनै कमी भएन। उहाँले दुई छोरालाई हुर्काएर पढाएर अगाडि बढाएर हामीलाई धेरै प्रेरणा दिनुभएको छ।

मलाई दाइको बाल्यकालका कथा मेरी बज्यैले सुनाउनुभएको थियो। उहाँ बज्यैकोमा आउँदा अरू बच्चाजस्तै खेल्न रुचाउने, टिभी हेर्ने, खाना थपीथपी खाने तर धेरै ज्ञानी र कम बोल्ने हुनुहुन्थ्यो रे। काठमाडौंमा स्कुल छुट्टी हुँदा उदय अंकल (उज्ज्वल थापाको बुवा) ले आफ्ना दुई छोरा उज्ज्वल र उदीपलाई हरेक वर्ष गाउँ लैजानुहुन्थ्यो। रात्रि बसमा स्याङ्जा जाँदा अंकलले आफ्ना छोरालाई पाचन सजिलो होस् भनेर रहर मुगीको दाल खोजीखोजी खुवाउनुहुन्थ्यो रे, कहिलेकाहीँ दाल खोज्दै गर्दा ढिला हुँदा बस चालक उहाँसँग रिसाउँथे रे।

०५९ पछि मेरो उहाँसँगको भेट लामो समयपछि मात्र भो, २०७१ सालमा। उहाँले विवेकशील नेपाली भन्ने राजनीतिक पार्टीमार्फत काम गर्दै हुनुहुन्छ भन्ने सुनेर म धेरै नै प्रभावित भएकी थिएँ। विवेकशीलको गतिविधिमा भाउजू एरिका (उहाँकी श्रीमती) कहिल्यै प्रत्यक्ष संलग्न हुनुभएन तर उहाँ साथमा हुनुहुन्छ भन्ने थाहा थियो। उहाँ एक रहस्यझैँ लाग्थ्यो मलाई, विवेकशीलमा उहाँ अगाडि हामीसँग नआए पनि, उहाँ सधैँ हाम्रो आफ्नै हो जस्तो लाग्थ्यो। आजको समयमा पनि एरिका भाउजू किन एक रहस्यजस्तो हुनुहुन्छ भनेर म बुझ्ने क्रममा छु।

धेरै जनाले उज्ज्वल थापाका बारेमा लेखिसक्नुभएको छ। म कुनै अध्यात्म वा धर्म दर्शनशास्त्रको विद्यार्थी होइन तर उहाँले अपनाएको धर्मका बारेमा मेरा केही बुझाइ प्रस्तुत गर्ने प्रयास गरेकी छु। उहाँले कसरी आफ्नो जीवनधर्मलाई व्याख्या गर्नुभएको रहेछ त?

उहाँको बाल्यकाल अरूहरूको जस्तै भए पनि उहाँको शान्त र अन्तर्मुखी स्वभावमा केही गहिरो भावना प्रकट हुन बाँकी रहेछ भन्ने हामीले उहाँ ठूलो भएपछि देख्न पायौँ। आफू फरक छु भन्ने महसुस उहाँलाई थियो।

उहाँको धर्म नै ती आफ्नो देशप्रतिको प्रेमलाई साकार बनाउने हो भन्ने उहाँलाई आत्मानुभूति भएको हुनुपर्छ। उहाँ बुद्धको अध्ययन गर्नुहुन्थ्यो, बुद्धको मार्ग हिँड्न चाहनुहुन्थ्यो। उहाँले पहिला भिक्षु भएर बस्ने कि भनेर सोच्नुभएको थियो तर अन्त्यमा उहाँका हातमा अरू नै कर्तव्य रहेछन्।

अमेरिकामा लिबरल आर्ट्स कलेजमा स्नातक पढेपछि आफ्नो सोच अनुसारको काम नभेटेर बरु देशमै केही गर्छु भनेर स्वदेश फर्कनुभयो। नेपालमा आफैँ सूचना प्रविधिमा एक युवा उद्यमी बनेर उहाँले देशको आर्थिक गतिशीलतामा योगदान गर्नुभयो र सफल पनि हुनुभयो। अहिले उहाँका सहकर्मीले आ–आफ्ना कम्पनी खोलेर काम गर्दै हुनुहुन्छ।

हार खानु केही नराम्रो र लजाउनुपर्ने कुरा होइन भनेर खुला रूपमा उहाँले लेख्नु र बोल्नुभयो। नेपालजस्तो ठाउँमा पनि केही सुरुवात गर्न सकिन्छ भनेर उदाहरण बन्नुभयो। यही बेला, उहाँले आफ्नो सपना र जीवनधर्मलाई साकार पार्न जीवनसाथीका रूपमा एरिका भाउजूलाई रोज्नुभयो।

उज्ज्वल थापाले ‘विकल्प भन्ने कि विकल्प बन्ने? प्रश्न गर्नुहुन्थ्यो र आफैँ विकल्प बन्न प्रेरित गर्नुहुन्थ्यो। उहाँले नेपालका लागि उद्यमीको सहसंस्थापक भएर उद्यमशीलताको संस्कृतिलाई प्रोत्साहित र एकीकृत गर्न सुरु गर्नुभयो। ‘नेपाल युनाइटस्’ (एकजुट नेपाल) नागरिक आन्दोलनमार्फत र पछि युवाको साथ लिएर विवेकशील अभियानमार्फत हाम्रो समाज र राजनीतिका विकृतिलाई सुधार्न सिर्जनात्मक काम गर्नुभयो।

समाजको फोहोरलाई सफा गर्न क्षमतावान् व्यक्तिले आफैँ त्यो फोहोरमा गएर सफा गर्नुपर्छ र आम नागरिकलाई नयाँ विकल्प दिनुपर्छ भनेर युवा पुस्तामा नेतृत्व विकास गर्दै मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिको सुरुवात गर्नुभयो। उहाँको मान्यता नै ‘हाँगा काटेर हुँदैन, जराबाटै परिवर्तन चाहिन्छ’ भन्ने थियो।

हाम्रो सामाजिक र राजनीतिक समस्याको जड त हामी एक व्यक्ति वा नागरिकको तहबाट सुरु हुन्छ। यदि हामी हाम्रो नियम र दायित्वहरू नैतिक मूल्य–मान्यताका साथ पालना गर्न सक्दैनौँ भने अरूबाट धेरै अपेक्षा गर्नु गलत हो। परिवर्तन त आफैँबाट सुरु हुन्छ। उज्ज्वल थापाको गुरु राष्ट्रको कल्पनामा पहिला हाम्रो समाजमा गुरु संस्कार सिर्जना गर्नुपर्छ जहाँ हरेक व्यक्तिमा गुरुको जस्तो केही आधारभूत मूल्यमान्यता आवश्यक हुन्छ।

ती आधारभूत मूल्यमान्यता निष्ठा, विनम्रता, समानुभूति, साहस, उत्कृष्टता र पारदर्शिता हुन्। हरेक नागरिकमा यी आधारभूत मूल्यमान्यता भए, हामी हाम्रो समाजको दैनिक भूमिका चाहे त्यो विद्यार्थी भएर होस् कि पेसामा रहेर होस् वा देशको नेतृत्वमा होस्, राम्ररी निर्वाह गर्न सक्छौँ।

राष्ट्र निर्माणजस्तो जटिल कार्य अरूको साथ–सहयोग विना सफल हुँदैन। अरूसँग काम गर्दा सामूहिक हितका लागि आफ्नो अहंकार र इच्छालाई त्याग्न गाह्रो हुन्छ र समस्या बढ्दै जान्छन्। ठोस मूल्यमान्यताविना आफ्नो गन्तव्यमा पुगिँदैन भन्ने भान भयो।

आफू विनम्र भएर अरूको भावनालाई बुझ्ने प्रयास गर्दा र उहाँहरूको समस्यामा समानुभूति राखेर समाधान खोज्दा बन्ने जितजितको वातावरण सबैको हितमा हुन्छ। यस सम्बन्धित समस्या कसरी न्यून गर्न सकिन्छ भनेर समाधान पनि सोच्नुभयो। त्यही भएर उहाँले आफूले सफा गर्न खोजेको राजनीतिलाई फरक परिभाषा दिएर राजनीति मात्र नभई ‘मूल्य मान्यताको राजनीति’ भन्नुभयो।

उहाँले बुद्धको जन्मस्थल गएर त्यस शान्त ठाउँमा आफ्ना लागि समय निकाल्नुहुन्थ्यो। लुम्बिनीले उहाँलाई पुनः ऊर्जा भर्छ भन्नुहुन्थ्यो। आध्यात्मिक अभ्यासले मानव जातिको भित्री प्रकृति र प्रवृत्तिबारे बुझ्न, सही र गलतलाई छुट्ट्याउन र मध्यमार्गी समाधान खोज्न सहयोग हुन्छ।

भन्नुहुन्थ्यो कि समाजको विष निलेर अमृत निकाल्नका लागि हामीमा शिव भगवान् जस्तो समानुभूति र साहसको महाशक्ति होस्। नेपालको विविधता, कला–सम्पदा र भौगोलिक सुन्दरताको गर्व गर्नुहुन्थ्यो, नेपाल सुन्दर छ, नेपाल परिवर्तन हुनुपर्दैन, हामी हुनुपर्छ भन्नुहुन्थ्यो।

उहाँले देश बनाउने यात्राका लागि केही बुँदा आफ्नो अफिसको ह्वाइट–बोर्डमा लेख्नुभएको थियो। उहाँको परिवारको अनुमतिमा यिनै विषयको केही बुँदा यहाँ उल्लेख गर्न चाहन्छुः

१. विवेकशीलता दार्शनिक केन्द्र निर्माण गर्ने।

२. लुम्बिनीलाई अन्तर्राष्ट्रिय संवाद र समझदारीको केन्द्रका रूपमा निर्माण गर्ने। 

३. रुढीवादी र उदारवादीलाई आध्यात्मिक मध्यमार्गतर्फ लैजाने।

४. आध्यात्मिक जागरण, सहकार्य र समन्वय खोज्ने। ५. मानिसहरूलाई वातावरणसँग आध्यात्मिक रूपमा जोड्ने। 

यी बुँदा पढ्दा म विपश्यना ध्यान गरेर फर्कंदा दाइले भन्नुभएको एउटा कुरा याद आयो, ‘अस्ति हाम्रो छलफलमा यो कुरा गरेका थियौँ, हाम्रो यात्रामा ध्यान केन्द्र विभिन्न ठाउँमा बनाउनेछौँ, जहाँ हामीले चाहे अनुसार आराम र ध्यान गर्न सक्छौँ। र, हामी यसलाई हाम्रो निरन्तर अभ्यासमा राख्नेछौँ।’ जहाँ अहंकार र नकारात्मक सोच हाबी हुन्छ, कोही कसैले देशका लागि राम्रो काम गर्न खोज्दा चाँडै थाकिने छ, त्यस्तो बेला शान्त तरिकाले ध्यान अभ्यास नियमित रूपमा गर्न जरुरी हुन्छ।

एकचोटि दाइले आफ्नो बच्चाको सन्दर्भमा, अनपेक्षित कुरा भन्नुभएको थियो, ‘विवेकशीलको काम नै मेरो बच्चा हो।’ अहिले सोच्दा उहाँको सत्कर्म नै उहाँका सन्तान रहेछन्।

उहाँको धर्म र कर्म अर्थात् अध्यात्म र अभ्यास एकै थियो। उहाँले अपनाएको धर्मलाई जीवित राख्न उहाँको परिवारको सक्रियतामा उज्ज्वल थापा फाउन्डेसनको स्थापना भएको छ। उहाँले अवलम्बन गरेका मूल्य–मान्यता (निष्ठा, विनम्रता, समानुभूति, साहस, उत्कृष्टता र पारदर्शिता) लाई आधार मानेर र गुरुहरूको सन्देश नियालेर, पहिला मानवतालाई प्राथमिकता दिएर उज्ज्वल थापा फाउन्डेसनले सबै आस्था, संस्कृति, पृष्ठभूमिका (सामाजिक, आर्थिक वा राजनीतिक) व्यक्तिसँग काम गर्नेछ।

उहाँको धर्म सबै मानवको सहअस्तित्वमा निस्वार्थ सेवा थियो। फाउन्डेसनले सहभागितामूलक सहकार्यमा आधारित, दिगो र द्रूत सामाजिक रूपान्तरणका लागि नीति, नेतृत्व र अभियानमा योगदान गर्ने छ।

प्रकाशित: २४ पुस २०७८ ०६:४६ शनिबार

उज्ज्वल थापा