कला

८ वर्षे निर्देशकको 'लभ यु बाबा' मंसिरमा प्रदर्शन हुने

काठमाडौं– अभिनेता गजित बिष्टका ८ वर्षिय छोरा सौगात बिष्टले निर्देशन गरेको फिल्म 'लभ यु बाबा' मंसीर २६ मा प्रदर्शन हुने भएको छ। आइतबार मण्डला थिएटरमा पत्रकार सम्मेलन गर्दै फिल्मले सार्वजनिक प्रदर्शनको मिति घोषणा गरेको हो। घोषणा अनुसार फिल्म मंसिर २६ मा प्रदर्शन हुनेछ। आइतबारको कार्यक्रममा फिल्मको सार्वजनिक प्रदर्शन मिति घोषणासँगै फिल्मको टिजर र फिल्मको फस्ट लुक सार्वजनिक गरियो।अभिनता गजित बिष्टले फिल्म अपेक्षा अनुरुप बनेको बताए। उनले भने,'पटकथालाई दृश्यमा उतार्ने काम सोचे भन्दा राम्ररी भएको छ। हेर्न लायकको फिल्म बन्ने कुरामा विश्वस्त छौं।'

फिल्मले आमाबिहीन १० वर्षिय बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षलाई कथा बनाएको छ।

फिल्ममा संगम बिष्ट, गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी,बसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल आदिको अभिनय रहेको छ। कार्यक्रममा 'योङगेस्ट फिल्म डाइरेक्टर'को रुपमा सौगातको नाम गिनिज वल्र्ड रेकर्डस् राख्ने तयारी भईरहेको पनि जानकारी गराईयो । विश्व रेकर्ड होल्डर्स परिषद नेपालका अध्यक्ष दीपक शर्मा बजगाईंले गिनिज बुकले पठाएको मापदण्ड अनुसार प्रमाण जुटाउने काम भईरहेको जानकारी गराए ।

सम्झना पोखरेल र रोशनी बज्राचार्य निर्माता रहेको फिल्मलाई नृत्य निर्देशक गम्भिर बिष्टले लेखेका हुन्। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला,दीपक शर्मा र प्रदिप बाँस्तोलाको संगीत रहेको छ ।

प्रकाशित: १२ आश्विन २०७१ ०६:२२ आइतबार