कला

मेरो घामभित्रका सूर्य

कवि सूर्यप्रसाद लाकोजूको अठारौँ कृति मेरो घाम त्रिपन्नओटा विभिन्न कविताहरूको  सङ्ग्रह हो। सूर्यप्रसाद लाकोजूको अन्तरमनमा प्रदीप्त उक्त  त्रिपन्न वटा आलोकहरूले जीवन सम्बद्ध  अलग–अलग विषयहरूसँग सम्बन्धको यथार्थ माधुर्यको अभिव्यक्ति दिएका छन्। कविता सङ्ग्रहको सुरुमै मङ्गलाचरणमा आफ्नी ममतामयी  जननी र  अन्तमा  आफ्नो सम्पूर्ण प्रेरणाका स्रोत  जनकको  श्रद्धा  र भक्तिका साथ स्मरण गरिएको छ। यसबाट  संसारमा मातापिताभन्दा ठूलो ईश्वर पनि हुँदैनन्  भन्ने  कुरा चरितार्थ भएको पाइन्छ।

कविता सङ्ग्रहको बीचमा विभिन्न प्रसङ्गमा एकाउन्न वटा  कविताहरू रहेका छन्। ती सबै आलोकहरू अत्यन्त अर्थवाहक र बोधगम्यका दृष्टिले निकै उच्च कोटिका छन्। कविताहरूमा कुनैले राजनैतिक आशीर्वादका निम्ति राजनैतिक नाटकका नायकहरूलाई हजुरको गजुर चढाउँदै  उनका लठैतहरूले श्वानभक्ति देखाएकाप्रति  खिन्नता जाहेर गरेका छन्। कुनैले मानव जीवन  स्वयम्मा एक युद्ध भएकाले यसबाट भाग्न खोज्नु कायरता हो भनी मानवीय चेतनामा साध लगाउँने काम गरेका  छन्। कुनै कविताले देशको मुटुमा ठडिएको ऐतिहासिक मियो धरहराको महत्वबारे चर्चा गरेको छ त कतैे आफ्नो स्वार्थपूर्तिका लागि पदका पुजारीहरूसमक्ष  हनुमन्ते चाकरी  गरी आफ्नो स्वार्थगत मृगतृष्णा मेट्ने प्रवृत्तिको विरोध छ। देशलाई के दिन सक्छु होइन, देशबाट के लिन सक्छु भनी राज्यकोषमा र्याल चुहाउनेहरूप्रति  भत्र्सना  प्रकट गरेका पनि छन् कवितामा। कविता संग्रहभित्र रहेका अन्य कविताहरूले पनि अहंकारको हुँकार, निराशा, शोषण, गरिबीको विवशता, कुकर्मकाविरुद्ध आवाज उठाएको पाइन्छ। क्रान्ति, अर्थहीनता, राजनीतिक सुझबुझ, अशान्ति, भय, त्रास, आतङ्क, यातना आदिको कहर, बाठाको स्वर्ग, बुद्ध हराएको बेलाजस्ता मानवीय सन्देशवाहक मननमयोग्य कविताहरु रहेका छन्। संक्षेपमा भन्नुपर्दा सबै कविताहरु अत्यन्त ज्ञानबद्र्धक,   सन्देशमूलक र बौद्धिक छन्, कविताहरुले प्रत्येक मानिसले आफूमा भएको साहस, आँट, इमानदारीता, देशभक्ति, राष्ट्रप्रेम, शान्ति, जनसेवा, सदाचार, परोपकार, निर्भेद्य, अक्रोध, संयम, सदाशय, मानवता, आत्मीयता, मानवीय  संवेदनायुक्त महत्वपूर्ण कुराहरुलाई तिलाञ्जलि दिएर आफ्ना स्वार्थजन्य अभीष्ट पूरा गर्नेतिरमात्र सदा लीन रहने नराधमहरुप्रति कवि लाकोजूले गहिरो क्षोभ प्रकट गरेका छन्।

अतः मानव एकमात्र विवेकशील प्राणी भएकोले  उसमा अधिकार र कर्तव्यको बोध हुनुपर्छ। दया होइन, न्यायको सोच हुनुपर्छ, आपसी सद्भाव र प्रेम हुनुपर्छ,  घृणा होइन, सम्मानको भावना हुनुपर्छ भन्ने वैचारिक प्रवाहका साथै आपसी मेलमिलाप, सहयोग, प्रेम, सहिष्णुता, सत्य, अहिंसा, स्वाभिमान, सहअस्तित्व, समभाव जस्ता  कुरामा सदा सकारात्मक सोच लिनुपर्छ, आफ्नो माटो, आफ्ना सम्पदा, सांस्कृतिक धरोहर, राष्ट्रिय गौरवपूर्ण इतिहास, भाषा, लिपि, जाति तथा संस्कृतिको  संरक्षणमा  निरन्तर  मन, वचन र कर्मले जुट्नुपर्छ भन्नेजस्ता गहनवाहक आलोकहरुले आलोकित कवितासङ्ग्रह पाठकहरूका निम्ति पक्कै पनि भावात्मक, ज्ञानात्मक तथा बौद्धिक  खुराक बन्न सक्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु।  

– भीमप्रसाद काफ्ले

कृतिः मेरो घाम

कविः सूर्यप्रसाद लाकोजू

प्रकाशकः अनुज बुक इन्टरप्राइजेज

मूल्यः रू ३५०।–

प्रकाशित: ३० भाद्र २०७८ १०:१० बुधबार

कवि सूर्यप्रसाद लाकोजू