खेमराज पोखरेल
आज भदौ ३। मेरो आफ्नै जन्मदिन हो। हो त नि आज मेरो बर्थ डे हो । मेरो छैसट्ठियौँ बर्थडे। पार्टीको व्यापक तयारी गरिएको छ। मलाईभन्दा परिवारजनलाई उखरमाउलो भएको छ। त्यसैले मेरो जन्म दिन मनाउन छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना सबै भेला भएका छन्। आफन्त साथीभाइ भेला भएका छन् । नयाँ कपडा लगाएका छन्। अत्तरले सुवासित छन्। फुर्किएका छन्। फुर्तिफार्ती मापाको छ। म पनि त परिधानमा सज्जित छु । भव्य पार्टी छ। रसिलो र पोसिलो सबै व्यवस्था छ।
आजै गए राति सपना देखेँथेँँ । सपनामा त म ज्ञानी रहेँछु रे। दानी रहेँछु रे। मानी रहेँछु रे। धनी रहेँछु रे। प्रभावशाली रहेँछु रे। निरोगी रहेँछु रे। फूलमा उड्दै थिएँ रे। निजी पुष्प विमान के। सर्वत्र मेरो जयजयकार थियो। तर के गर्नु नियति। साला सपना! मलाई पटाङ्गिनीमा पछारेर लुसुक्क भागेछ। किन लुसुक्क हरायो कुन्नि? नहराएको भए त आनन्दको संसारमा हुने थिएँ नि। मुतकै न्यानो भए पनि एक छिन त हुन्थ्यो नि !
बिउझिँदा सामुन्नेमा विपनी थियो। विपनीमा जपनी थियो। जपनीमा तपनी थियो। विपनी माने वर्तमानको कहर थियो। जपनी माने उन्मुक्तिको कामना थियो। सुदूर भविष्यको चिन्ता थियो । तपनी याने आफ्नै कर्म थियो। आफ्नै सन्ताप थियो। तप्तता थियो । योभन्दा उराठ लाग्ने क्षण के हुन सक्छ र मान्छेको जीवनमा ? सपनीको धङ्धङी एकैपल्ट स्वात्त हराएकाले दिक्दार भएको थिएँ । दिक्दारीले ग्रसित भएको थिएँ । सोचिरहेको थिएँ - साला! टेन्सनको अर्को नाम हो जिन्दगी। थपिएको बर्थडे पनि टेन्सन हो यार।
मेरो जन्म दिन मनाउने सवालमा मैले छोराबुहारीलाई भनेको थिएँ- शुद्ध पण्डित बोलाएर अष्टचिरञ्जीवीको पूजा लाऊँ न बरु। यो केकसेकको झन्झट नगर। देववाणीले धर्मसंस्कृति पनि जोगिने, पैसो पनि धेरै खर्च नहुने । के भन्छौ तिमेरु ?
परिवारका सबै जना मान्छे मेरो कुरा सुनेर पहिले त बेस्सरी हाँसे अनि नातिनातिनाले मेरै अगाडि आएर भने - हजुरबा अब त पूरै सेन्टी भइसक्नुभयो । केकै पो नकाट्ने अरे !सो बोरिङ !
तत्क्षण इतिहासको प्रोफेसर छोराले भन्यो - कस्तो पाषाण कुरा गर्नुहुन्छ बुबा? अहिले केक नकाट्ने कुन हिन्दू नेपालीको घर छ र ? आधुनिक तरिकाले पो मनाउनुपर्छ त ! केटाकेटीले कस्तो रहर गरेका छन्। केटाकेटीको रहरको पो त ख्याल गर्नुपर्छ।
धार्मिक मानवतावादी बुहारीले भनिन् - बाबा! यो संसार नै एउटै ईश्वरले बनाएको हो अनि ईश्वरको एउटै सृष्टिमा के तेरो के मेरो ? सबै एकै त हो नि। सोचाइमा कन्जरवेटिभ हुनु हुँदैन बाबा।
वैज्ञानिक छोरीले भनी- यो संसार विज्ञानको कमाल हो। बाबा, झिनामसिना कुरामा अलमलिनु हुँदैन। केक अन्तर्राष्ट्रिय प्रचलन हो। अष्टचिरञ्जीवी भन्नु राष्ट्रिय पनि होइन, क्षेत्रीय पनि होइन, एउटा सानो समुदायको मात्र हो । त्यसकारण केकको विकल्प अष्टचिरञ्जीवी हुन सक्दैन।
समाजशास्त्री ज्वाइँले भने - यो सामाजिक, धार्मिक, राजनीतिक तथा अन्य विभेद त मान्छेले गरेका हुन्। सूक्ष्म रूपमा बुझ्नुभयो भने केक काट्नु र अष्टचिरञ्जीवीको पूजा लाउनु एकै हो। खाली नाम चलेको कम्पनीको परिधान लाउने जस्तै हो केकको अन्तर्य।
मैले बोल्नु केही थिएन। चारतले केक ल्याएका छन्। पैसा सोधी नसक्नु छ। म आफूलाई त सुगरले डल्याएको छ। बरु खल्लो सेल भए यसो टोक्दो हुँ तर के गर्नु नातिनातिना उफ्रेर थेगी नसक्नुभएका छन्। सके आकाश छुने थिए। कागजका चुच्चे टोपी लगाएर नाचेका छन्। घरमा हल्लाखल्ला छ। हल्लाखल्लामा सोमरसले तागत थपेको छ। गीत घन्केको छ। नाचेका छन्। मेरो जन्मदिन समारोह जमेको छ। बोतलमाथि बोतल रित्तिएका छन्। निस्फिक्री छन् सबै। त्यसैले मैले बोल्ने कुरा नै केही थिएन। बोले पनि तोलाको वचन खोलामा भनेझैँ हुने त हो।
यसैबेला मैले गोब्य्राएका ६५ वर्षहरू हुल बाँधेर आइपुगे। किनभने भदौ ३ गते मेरो जन्मदिन उनीहरूलाई राम्ररी थाहा छ। त्यसैले मेरो जन्मदिन मनाउन उनीहरू आइपुगेका हुन्। तर म त आफैँलाई जन्मदिनको शुभकामना दिइरहेको थिएँ। खासमा अन्तरहृदयले मजत्तिको मलाई शुभकामना दिने सायद अरू कोही छैन। किनकि मजत्तिको मलाई माया गर्ने पनि कोही छैन। म जत्तिको मलाई बुझ्ने पनि कोही छैन। मलाई मेरो अन्तर्य र बाह्य सबै कुरा थाहा छ। म नितान्त एक्लो भएका बेला म नै सारथी भएर उभिन्छु। त्यसैले म जत्तिको मीठो र उपयोगी कोही छैन मेरो जीवनमा। त्यसैले म मनभित्रबाट कराएर भनिरहेको छु ‘ह्याप्पी बर्थ डे टु मी’।
मैले गोब्य्राएका वर्षहरू मेरै अगाडि उभिएर हाँस्तै थिए। उनीहरूले मलाई हेपाइस् पारामा भने -ह्याप्पी बर्थ डे तन्नम्। तन्नम् भइस् गोवर्धन । के छ तेरो खबर ? के छ तेरो वर्तमान ? मरेर बाँचेको छस् कि बाँचेर मरेको छस् ?
तिनका कुरा सुनेर मलाई कस्तो रिस उठ्यो अनि मैले मुख छाडेरै भनिदिएँ- साला, मैले गोब्य्राएर फालेका तिमीहरू, अहिले मलाई नै तन्नम् भन्छौ ? मेरो जीवन त तिमीहरूलाई गोब्य्राउने सामानको जोहो गर्दै बित्यो। सारा शक्ति लगाएर तिमीहरूलाई गोब्य्राएँ । पालोतालो नाति मैमाथि भनेझैँ उल्टै म पो तन्नम? नकच्चरा कृतघ्नहरू।
मेरो रिसाएको जवाफ सुुनेर तिनीहरू रिसाएनन्। बरु अट्टहास गरेर हाँस्नथाले। उनीहरूको हाँसोले म बसेको कुर्सी नै हल्लियो। हेर्दाहेर्दै घर नै हल्लिन थाल्यो । बिस्तारैबिस्तारै परिवेश नै हल्लियो । म थकित भइसकेको थिएँ अनि बल्लबल्ल उनीहरू शान्त भए र मलाई भने - तँलाई गाईको पालनपोषण गर्लास्। धर्मसंस्कृतिको रक्षा गर्लास्, ज्ञान, नाम, दाम सब कमाउलास् भनेर पो गोवर्धन नाम राखिएको थियो त। तर तैँले त धर्म संस्कृतिको कुरा परै जाओस्, सम्पत्ति कमाउन त कुरै छोडौँ, बरु गोबरलाई धन मानेर रछ्यानमै बिताइस् जीवन। गाई दुहेर दूध अर्कैले खान्छ । तँ त गोबरे भइस्। फुट्टी कौडी जोहो छैन तेरो, अनि तँ तन्नम भएर के होस् त ? न वरत्र सपारिस् न परत्र । अब बुढ्यौलीमा चाख्लास् । पुङ्माङे भइस्तँ । पुङ्ग्रो होस् तँ। एकातिर काटे ढुङ्ग्रो, दुवैतिर काटे पुङ्ग्रो। बुझिस्?
असाध्य रिस उठ्यो अबचाहिँ जे पर्ला आमाचकारी गाली गर्नु पर्यो भनेर सोच्दै थिएँ । वाइनका चुस्कीले सनक चढेकै थियो। झन् तिनीहरूले मेरो कन्पारा तताएका थिए। तर उनीहरूले नै मेरो हुलिया देखेर कुरा बुझेछन् र भने -भो नरिसा न गोवर्धन। तँ हामीलाई गोब्य्राएको भन्छस्। हामी तँलाई गोब्य्राएको भन्छौँ। जुन दिन हामी तँलाई गोब्य्राउन छोड्छौँ, तेरो खिसाखत्तम हुन्छ। बुझिस्। ऐनामा गएर हेर। पुरानो फोटो हेर। एकदम मजाले मगज खिया र सोच् । तैले हामीलाई गोब्य्राएको कि हामीले तँलाई। पत्तो लगा तर अहिले त्यो टेन्सननले। अहिले तेरा जैविक सन्तान तेरो जन्मदिन मनाउने मुडमा छन् । जैविक जीवनलाई जीवन नै होइन भन्ने भ्रम पनि नपाल् । रमा । रामरउस गर। किनकि तेरो आज जन्मदिन हो। आजबाट तँ एक वर्ष बुढिन्छस् । भोलि के हुन्छ कसलाई के थाहा छ र ?
यत्तिकैमा छोरीले मलाई भनी- केक काट्ने बेला भयो। कता एकोहोरिनुभएको हो बुबा?
अनि मैले उनीहरूले लगाएका सबै काम आज्ञाकारी बालखलेझैँ गरेँ। मैनबत्ती निभाएँ। हातमा छुरी लिएँ। केकको डडाल्नामा छुरी धसेँ। आफ्नै जिन्दगीलाई झैँ टुक्राटुक्रा पारेँ अनि छेउमा मेरी बुढीमाउले अलिकति केक चटाइन्। कुरा बुझ्नुभएको छ नि, बुढीमाउ भनेकै मह चटाएर तह लाउने हुन्। उपस्थित सबै मान्छे रामरउस गर्नपट्टि लागे।
अनि म फेरि ती वर्षहरूतिर फर्केँ। उनीहरूलाई एकमुस्ट भनेँ - जिन्दगीलाई सकारात्मक तरिकाले लिन सक्दैनौ हगि! एक वर्ष बढी अुनभवी भन्न सक्दैनौँ हगि! मैले गरिखाएको देखीनसहने हौ तिमीहरू।
उनीहरूले मलाई रेडिमेड उत्तर दिए- मूर्ख गोवर्धन। समयको महत्त्वलाई नचिनी तँ जाने भइस्। सकिने भइस्। एकपल्ट कल्पना गर। आजको दिन तेरो जन्मदिन हो। यो जन्मदिन तेरो वर्तमान हो।
वर्तमान जत्तिको मायालु के हुन सक्छ र ? हामीलाई थाहा छ कि भूत त बिस्टा निर्माणमा नै बित्यो तेरो। असफल बिस्टा निर्माता मात्र त भइस्त्यो बेला । न आफूले खाइस्, न हामीलाई खान दिइस्। अनि भविष्य जाबोको के पत्तो। नआगे नपिछे। त्यो कहिले आइपुग्छ ? कुन रूपमा आइपुग्छ के टुङ्गो ? कुन बेला घचेड्ने हो जिन्दगीलाई, के ठेगान? त्यसपछि त खिसाखत्तम। तैँले कहिले गरिखाइस् र गोवर्धन। समयले जे खुवायो त्यही त खाइस् खुवाइस् नि। अब त बूढो भइस्। यत्ति जाबो कुरा त बुझ्न यार !
मेरा छेउमा बसेर ती पुराना वर्षका हुल रमिता हेरेर मुसुमुसु हाँस्तै थिए । मैले तिनीहरूलाई फेरि भनेँ -अब तिमीहरूको काम सकियो । अब त अर्को वर्ष आइसक्यो। तिमीहरू आफ्नो बाटो जान सक्छौ । मलाई डिस्टर्भ नगर। तिमीहरूको अर्तीको पनि केही काम छैन।
मेरो कुरा सुनेर तिनीहरू त झन् ढिट भएर पो बसे। अनि भन्नथाले - हेर गोवर्धन ! तँ कृतघ्न होस् । हामीले गोब्य्राएर तँलाई तेत्रो बनायौँ । अहिले तेरो जन्मदिन समारोह हामीले हेर्न नहुने । तँ कहीँ नभएको साइँदुवा होस्। तँ सिल्ली, पाजी, डबल स्यान्डर्डको छस्।
रिसको पारा चढ्यो । मैले पनि पाखुरा खँैचिएँ र गाली गर्न थालेँ - साले ! कृतघ्न त तिमीहरूहौ। के देखेर मलाई कृतघ्न, साइँदुवा, सिल्ली त थापाजी भन्छौ हँ?तिमीहरूका जिब्राहरूथुतेर पातमा राखिदिऊँ? डडाल्नामा भाटाका डाम बर्साइदिऊँ? तिमीहरूको कुनचाहिँ तोरीबारी फाँडिदिएको छु र मैले ?
उनीहरूले एकै श्वासमा भने - हेर गोवर्धन ! नरिसान । तँ आफैँभित्र हेर पहिला । आफूलाई ऐनामा हेर । बेहोरामा हेर। बुद्धिमा हेर। ज्ञानमा हेर । तँ फेच्चा होस् । निकम्मा होस्। जिन्दगीलाई आफूअनुकूल व्याख्या गर्छस् । कहिले मान्छेलाई ‘जिन्दगीमा आशा जिउँदो राख्नुपर्छ। आशा नै मर्यो भने त जिन्दगी नै मर्छ’ भन्छस् तँ। फेरि परिवेश फेरिनेबित्तिकै ‘एकपल्ट मरिजाने जिन्दगीसँग केको आशा? यो आसे बानी त्याग गर, सबै कुरा ठीक हुन्छ। आशाले गर्नु नगर्नु गराउँछ। टेन्सन दिन्छ ।’ तैँ भन्न थाल्छस् बेबकुफ। सालातँ डबल स्ट्यान्र्डड मान्छेको प्रतिमूर्ति होस्।
पार्टी एकदम जमेको थियो। मलाई पनि हात समाएरै भए पनि नचाएका थिए। उत्पात रमाइलो भयो भन्थे सबै आगन्तुक। म पनि नँच्न व्यस्त भएँछु। ती त गएछन्। टन्टा खलास।
पार्टी सकिएको थियो। जिउ थङथिलो भएको थियो । सबै मान्छे आफ्नाआफ्नातिर लागिसकेका थिए। म पनि लुसुक्क आफ्ना कोठामा पसेको थिएँ। बूढीमाउ सुतिसकेकी रहिछिन्। सोचेँ - ठीक भो। अलिकति कचकच कम भयो। आज रहे भोलि त अग्राख पलाउँछ भन्छन् तर मेरो अनुमान सरासर गलत निस्क्यो। बूढीमाउ त कतिबेला बूढा आउँछन् र छ्याँसौँला भनेर ननिदाई बसेकी रहिछिन्। उनका मुखबाट सदाझैँ महानवाणी निस्कनथाले - उमेर घर्केको थाहा छैन। बैँस सिद्धिएको पत्तो छैन। अझै उरन्ठ्यौलासँग बस्यो। जे पायो त्यही खायो । पियो। न आफ्नो स्याहार गर्न जानेको छ। खाने पनि खायो। नखाने पनि खायो। आफ्नो शरीर पनि हेर्नुपर्छ ए ! कस्तो झन्झन् घामड भएको हो यो मान्छे? म त आजित भइसकेँ।
म भने सोच्दै थिएँ आफ्नै बुढीमाउलाई । उनको भनाइ पनि ठीक थियो। डाक्टरले भाउँटो लाइदिएको छ। प्रेसर, सुगर, थाइराइड। यो खाने, त्यो नखाने। यति खाने। उति खाने आदि। यसो गर्ने उसो गर्ने । यति पाएपछि के चहियो र उनलाई। छोराछोरीलाई । यही मौकामा छोराछोरी र श्रीमती मायाको आग्लो लिएर उभिएका छन्। त्यो आग्लो टाउकामा बज्रिरहन्छ । खवरदार यो खालास् । यो गर्लास् । धन्न मलाई त्यति खप्की गरेपछि बुढीमाउ सुतिन् र मात्र नत्र त अझै कतिकति?
श्रीमती भाते निद्रामा परेको चाल पाएँ। छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना पनि मातको रनाहामा सुतिसकेका थिए। मलाई भने पटक्कै निद लागेको थिएन। ती ६५ गोब्य्राएका वर्षहरूको सम्झना आयो ।अनि बिरालाको चालमा उठेँ। कोठामा बत्ती बाल्ने कुरा थिएन । बाथरुममा पसेँ। अलिअलि मातेकै थिएँ। बाथरुममा पसेर ऐनामा हेरेँ। थुइक्क मेरो अनुहार के भएको हो। गालामा मुजा परेछन्। मुजाभित्र खिलजस्ता ससाना पाप्रा पो रेहछन्। चस्मा नलाई ऐनामा आफ्नै अनुहार हेर्न नसकिने दिन पनि आउँदा रहेछन्। मातेर त होइन होला यी हातहरू पनि किन लगलग कामेका होलान्। खुट्टा थिग्रिन मान्दैनन पो त।
यसो आफैँलाई सोचेँ। उहिले अग्राख थियो यो शरीर। अहिले किन यस्तो पिलन्धरे भएको हो ?उफ! के रहेछ र यो जीवन। सोचिरहेको छु मेरा जन्म र मृत्युका सत्यहरू। मृत्यु सत्य हो कि जीवन ? जन्म सत्य हो कि अजन्म? बीचको जीवन रामछाया हो कि अवसर हो ?सोचिरहेको छु कि मैले पढेर के गरेँ र ?उही हजारौँ पल्ट मरेर गोब्य्राउने व्यवस्था न गरेको हो ! उही अर्काले बनाइदिएका ज्ञानका सूत्र नबुझी-नपर्गेली घोकेर अर्कालाई हस्तान्तरण गरेको न हो। त्यसैले यही रन्कामा म खोजिरहेको छु मेरो
भौतिकवाद। सुनका थालीमा भात खान्छु भन्थे सेठ मदनलाल। कोरोनामा मरे १० जना मलामीबाहेक कोही पुगेनन् घाटमा। तिनको त्यो अन्याय गरी बनाएको सुनको थालउनै छोराछोरीको कलहको बिउ भएको आफ्नै आँखाले देखेको छु। वाहियात छ यो भौतिकवाद।
कन्सिरीमा पसिना आएछ । वास बेसिनबाट मनतातो पानी निकालेर पसिना पुछेँ । धोएँ अनि म फेरि सोच्नै पो थालेँछु। म खोजिरहेको छु मेरो अध्यात्मवाद। धर्म, ईश्वर, ज्ञान एकैपल्ट दिमागका पत्रमा आइपुगे। महाज्ञानी आध्यात्मका ज्ञाता स्वामी सत्यानन्द १० बर्से शिष्यालाई बलात्कार गरेर जेलमा छन्। ईश्वर एउटै छ भन्छन् मान्छे अनि अर्को धर्मको मान्छेको टाउको काट्छ मान्छे। आफूअनुकूल ज्ञानको व्याख्या गर्छ मान्छे । मैले यो छुसी बुद्धिले पनिज्ञानी ठहराएका मान्छेले पनि सुन्दर छ यो वसुन्धरा भन्दाभन्दै अन्याय गरेरै बिते। ज्ञानीले पनि प्राण त्यागे। अज्ञानी भनिएकाले पनि त्यागे। अपच भएर कोही मरे। भोकले कोही मरे। मृत्युलाई के फरक ? मैले धनी ठानेका मान्छेले कमाएका घाटानाफा यहीँ छोडेर बिलाए। गरिब ठानिएको पनि आफ्नो सुस्याहट तथा फुस्याहट छोडेर बिलाए। मृत्युलाई के फरक ?
गए भनिएका ती वर्षहरू त फेरि टुप्लुक्क देखापरे अनि बडो मायालु पाराले भने - भो छोड्दे गोवर्धन। तँ बिचरा होस्। यो सनातनीय प्रक्रिया हो। यो बुझेर बुझिनसक्नुको खेला हो। तँ चिन्तानले। बाँचुञ्जेल केही केही त गरिराख्। घुमिरहेको ढुङ्गामा काइ लाग्दैन। जुन दिन काइ लाग्छ तँपनि सकिन्छस्। हामी पनि सकिन्छौँ। यही हो जिन्दगी।
यस्तैयस्तै सोच्दै थिएँ । बूढीले कोठाबाटै कराई - यो आधा रातमा के खोज्छौ हौ बूढा ?
म पनि अलि सेन्टी भएको थिएँ कि क्याहो, भनिदिए - जिन्दगी खोज्दैछु।
बूढीले खजमजिएको फरिया मिलाउँदै भनिन् -किन यसरी छटाएर रातिराति जिन्दगीको परिभाषा खोज्छौ बूढा ? जजस्ले जिन्दगीको परिभाषा खोज्न खोजे, ती सब छटाए। ती सबको तार खुस्क्यो। जिन्दगी बुझेँ भन्नु घँसेटा कुरा हो । झेली कुरा हो। बाचुञ्जेल जिन्दगी यहाँ छ। मरेपछि बाँच्नेले सम्झेलान् तर अहिले त तिमी छौ, म छु र पो संसार छ त बूढा। मरेको भोलिपल्ट दुई दिन हुन्छ नि। आज तिम्रो जन्मदिन हो । आऊ, विशेष मनाऔँ।
१९ अगस्ट, २०२१
सानमार्कोस, अमेरिका
प्रकाशित: ३ भाद्र २०७८ ०१:५० बिहीबार