कला

कलामा सौन्दर्यको चासो

केही दिनअघि कलाविद् गौतम बज्राचार्यले सामाजिक सञ्जाल फेसबुकमा एउटा गहन प्रश्न उठाए। काठमाडौं बूढानीलकण्ठको नारायणथानमा रहेको महाविष्णुको विशाल मूर्तिमा कालो चिल्लोपन हराउने क्रममा रहेको उनको चासो थियो। यहाँ भगवान् महाविष्णुलाई ‘रिक्लाइनिङ स्टाचु’को पोजिसनमा एक अलग्ग रूपमा स्थापित गरिएको छ। विश्वमै यति ठूलो र यस्तो पोजिसनमा रहेका मूर्ति बिरलै पाइन्छन्। नेपालमा त्यस वेलाको समयमा बनेका यस्ता मूर्ति अन्यन्त्र पाइएका छैनन्। आज एक हजार चार सय वर्षपछि पनि भर्खर बनाएर राखिएको जस्तो देखिने यो मूर्तिको उचाइ पाँच मिटर र लम्बाइ १३ मिटर छ। यो मूर्ति सातौँ शताब्दीका लिच्छवि राजा विष्णुगुप्तको पालामा बनेको थियो। यो मूर्ति एउटै विशालकाय कालो पत्थरबाट बनाइएको छ। जसलाई ‘ब्लाक बसाल्ट’ वा कसैले ‘सिलिका बेस्ड स्टोन’ले बनेको मूर्ति भन्ने गर्छन्।  

यसअघि र पछि बनेका मूर्ति कस्ता शिलामा बन्थे, यसको अलग्ग अनुसन्धान हुन सकेको छैन। यस्तो स्टोन कसरी, कहाँबाट ल्याउन सम्भव भयो र कसरी त्यति वेलाका कुशल शिल्पीले मनमोहक ढंगबाट यसलाई जीवन्त तुल्याए, यो आफैँमा अचम्मलाग्दो छ।  

यसबारे अनेकौँ किंवदन्ती पाइन्छन्। राजा प्रताप मल्लको पालादेखि ‘राजाहरू यहाँ दर्शन गर्न जानु हुँदैन, गयो भने अनिष्ट हुन्छ’ भन्ने मान्यता थियो। त्यस्तै, नागमाथि चढेर पूजाआजा गर्नुपर्ने हुनाले १६ वर्षमुनिका मात्र यहाँका मूल पुजारी हुने गर्छन् भन्ने चलन अद्यापि छ।

पूजाआजाले मूर्तिको सौन्दर्यमाथि हानि गरिरहेको छ । तर, यसको  पछाडि आम समुदायको आस्था, परम्परा, संस्कार, वैदिक विधिविधान रहेको छ । त्यसैले मूर्तिलाई हानि हुनबाट जोगाउन आम समुदायको आस्था, संस्कार र परम्परालाई परिमार्जन गर्नुपर्ने हुन्छ । यसका लागि कस्ता अनौचारिक वा अरितिक शिक्षाको प्रक्रियालाई अवलम्बन गर्न सकिएला, यतातिर सोच्ने वेला भएन ?    

अर्को कथा छ, नीलकण्ठ भन्ने व्यक्तिले सपनामा खेत खन्दा यो मूर्ति निस्कन्छ। उनले भगवानकै आदेशमा खेत खनेका थिए भन्ने पनि सुनिन्छ। त्यस्तै, नीलकण्ठ भन्ने ती व्यक्ति बूढा थिए। त्यसैले यसको नाम बूढानीलकण्ठ रहन गएको बताइन्छ। एउटै ढुंगामा कुँदिएको यस मूर्तिका कारण यस क्षेत्र धार्मिक स्थलका रूपमा मात्रै होइन, कलाको गहन स्थेटिक्स भ्यालु (कलाको बहुमूल्य सम्पदा)का रूपमा पनि यसले विश्वमा प्रसिद्धि पाएको छ। यसको महत्तालाई बढाउन आधिकारिक सानाठूला अभिलेख (पुस्तक, पुस्तिका) तयार गर्न सकिन्छ। त्यस्तै, वरिपरिका अन्य भौतिक संरचनालाई अझ कलामय बनाएर आन्तरिक वा बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बनाउन सकिन्छ। नेपालमा सबैभन्दा ठूलो र सग्लो रूपमा रहेको यो विष्णुको मूर्तिलाई हिन्दू धर्मावलम्बीले आराध्यदेवका रुपमा मान्छन्, बौद्ध धर्मावलम्बीले पनि यसलाई तीर्थस्थलका रूपमा लिने गर्छन्।

एस्थेटिक्सको सन्दर्भ  

जब पुजारीद्वारा मूर्ति (भगवान्) सजाउने क्रममा अबिर, चन्दन, वा केमिकल मिश्रित रङ प्रयोग हुन थाल्यो, वा हुने क्रम सदियौँदेखि चलिरहेको छ, यस्ता रङले विशेषगरी मूर्ति (अझ लिच्छविकालका मूर्ति)मा कालो चिल्लो पारिएको पालिस उड्न सक्छ। र, मूर्तिको सौन्दर्यता (एस्थेटिक्स) ह्रास हुन्छ भन्ने चिन्ता बज्राचार्यले गरेपछि धेरैले अनेकौँ सुझाव, विचार र आ–आफ्नो आसयलाई सार्वजनिक गरे। यो हल्लाखल्ला सामाजिक सञ्जालमा केही दिन रह्यो। अनि अन्य यस्तै अन्य मुद्दा सहजै हराएर गएझैँ यो पनि हराएर गयो। लिच्छविकालमा देखिएका यस्ता चिल्ला मूर्ति, वा मूर्तिमा चिल्लो पालिस लगाउने प्रचलन कहीँ न कहीँबाट प्रभावित देखिन्छ। यसरी स्तम्भ कलामा चिल्लो लगाउने प्रचलन भारतको इसा पूर्वकालको मौर्यवंशका वेला पनि भएको थियो। तथापि मौर्यकाल अघि र पछि यस्तो प्रचलन देखिँदैन। यो प्रचलन भारतमै पनि कहाँबाट प्रभावित भयो भन्ने स्पष्ट हुन सकेको छैन। नेपालमा लिच्छविकालभन्दा पछि मल्लकाल वा लिच्छविकालभन्दा पहिलेको किरातकालमा यस्ता मूर्ति पाइएका छैनन्। मूर्तिमा यसरी चिल्लो पार्ने प्रचलन पनि देखिँदैन। यो एक अलग खोजीको विषय बन्न गएको छ। यस्तो ऐतिहासिक बहुमूल्य सम्पदालाई जोगाउनुपर्छ भन्ने कलाविद् गौतमका सत्प्रयास स्वागतयोग्य छ।  

यो चर्चा र बहसले आममान्छेकोे चासो यथेष्ठ रूपमा जगायो। यो चासो भनेको यो समस्याको समाधानका लागि हामीसँग अस्थायी वा स्थायी निराकरणको संरचना के छ त ? वा, सरकारी कुन संरचनाले यसलाई सम्बोधन गर्छ ? जसले यस्ता सम्पदाको संरक्षण गरोस्। त्यस्तो संरचनाको जिज्ञासा नै बहसको केन्द्र भयो।  

यस मूर्तिको चिल्लो कालोपन हराएर गएको मात्रै समस्या होइन। कला र सम्पदाको संरक्षणसम्बन्धी थुप्रै समस्या हामीकहाँ छन्। यसै मूर्ति रहेको जलासय (जलसाय सफा कञ्चन रहे/नरहेको सन्दर्भ) वरिपरि रहेका सानाठूला मठमन्दिर, पाटीपौवा, वास्तुकला (जहाँ थोरै पनि सौन्दर्यतालाई छाम्न सकिन्न) लगायत अन्य मूर्तिकै सन्दर्भमा चिन्ता गर्नुपर्ने अवस्था छ। मूर्तिको तेजस्वी सौन्दर्यताको अगाडि अति निम्नस्तरको भौतिक संरचना बनाइएको छ। जसले मूर्तिकै गरिमामा ठेस लागेको छ। आजको दिनमा हामीसँग धेरै स्रोत छन् तर कलाको यस्तै स्तरको वरिपरिको भौतिक संरचनामा ध्यान जान सकेन।  

काठमाडौं उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा रहेको यो नारायणस्थान, जसलाई नेवारीमा भुइजःसि भनिन्छ, यहाँ पूजाका आफ्नै विधि–विधान छन्। दैनिक भगवान्लाई स्नान गराइदिनेदेखि शृंगार गर्ने क्रममा श्रीखण्ड, चन्दन, केसरी, जौतिल, अक्षता फूल दुबो धूप, दीप, नैवेद्यको प्रयोग गरिन्छ, अर्थात् चढाइन्छ। नैवेद्यमा मनभोग, मालपुवा समेत मिष्ठानको भोग लगाएर पञ्चोपचार र विशेष अवसरमा षोडशोपचार वैदिक विधिपूर्वक भगवान्को पूजा गरिन्छ। आम समुदायसँग दुःखसुखको रूपमा जोडिएको यो विधिविधान र यस्ता पूजाआजामा समुदाय बिहानैदेखि तनमनका साथ सहभागी हुन आतुर हुन्छन्। यी सब सामग्री आदिले मूर्तिलाई हानि गरिरहेको छ। तर, यसको पछाडि आम समुदायको आस्था, परम्परा, संस्कार, वैदिक विधिविधान रहेको छ। त्यसैले मूर्तिलाई हानि हुनबाट जोगाउन आम समुदायको आस्था, संस्कार र परम्परालाई परिमार्जन गर्नुपर्ने हुन्छ। यसका लागि कस्ता अनौचारिक वा अरितिक शिक्षाको प्रक्रियालाई अवलम्बन गर्न सकिएला, अब यतातिर सोच्ने वेला भएन र ? 

मन्त्रालय अन्तर्गत पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय, भाषा आयोग, प्रतिष्ठान, संग्रहालय, सांस्कृतिक संस्थान, विकास कोष, विकास समिति आदि छन् । प्रतिष्ठान, विकास कोष र संग्रहालय छन् । अनि, बूढानीलकण्ठको मूर्तिको चिल्लोपन बचाउने निकाय कुन हो ? 

दूरदृष्टि, लक्ष्य, नीति र कार्यक्रम  

कला र सम्पदाको संरक्षणमा हामीसँग सरकारी र गैरसरकारी निकाय छन्। तर, तिनमा कलाको विकास वा संरक्षणको दूरदृष्टि, लक्ष्य, उद्देश्य र नीति तथा कार्यक्रम स्पष्ट हुन जरुरी छ। त्यस्तै, कला र सम्पदा संरक्षणका लागि आर्थिक स्रोत पनि स्पष्ट हुनुपर्छ। सीधै कलासँग नजोडिएका अन्य परियोजना (जस्तैः लुम्बिनी विकास कोष वा पशुपति विकास कोष आदि)मा कलालाई समावेश गर्न गर्न आवश्यक छ। यसो भयो भने पुराना मूर्तिका कलात्मकता, लालित्य जोगाउने उपाय वा कार्यक्रम गर्न सकिन्छ। यस्ता कला हाम्रा सम्पत्ति मात्रै होइनन्, विविध खालका पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ। त्यसैले यसको संरक्षणमा अध्ययन अनुसन्धान हुनुपर्छ। प्रश्न यो हो, यसका लागि हामीसँग खास निकाय वा संरचना छ त ?  

कलालाई विकास, संरक्षण वा संवद्र्धन गर्ने सरकारी निकाय भनेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो। जसको अधिकांश आर्थिक भार पर्यटन र उड्ययनतिरै देखिन्छ। संस्कृतिभित्र पनि कलाका लागि कति बजेट छुट्ट्याइन्छ छ ? सोचनीय स्थिति यहीँनेर छ। वेबसाइटमा राखेको मन्त्रालयको सामान्य परिचयको खाकामा कलाको एउटा शब्द पनि नपर्नुले कलालाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ। संरचनामा कलाकार वा कलाविद् नहुनुले पनि यो खाकाबाट कला बाहिरिएको हुन सक्छ। यो खाकामा सांस्कृतिक सम्पदा र सांस्कृतिक विविधता भन्ने शब्द परेको छ। सांस्कृतिक सम्पदाको अर्थ र आसय प्राचीन वस्तु (गुणस्तरको सम्बन्ध यहाँ देखिँदैन)मा बढी  

केन्द्रित हुने गर्छ। सम्पदा शब्दले पुरातात्विक वस्तु वा सामग्रीतर्फ ज्यादा इंगित गरेको देखिन्छ। सांस्कृतिक विविधता शब्दले बरु विविध जातजाति, समुदायको संस्कार, चालचलन दैनिक, स्वभाव आदिलाई सम्बोधन गर्छ। यसर्थ पनि कला खोइ भन्ने चासो स्वभावतः जन्मन्छ।  

कला, त्यसमा अझ ललितकला आफैँमा एउटा विहंगम क्षेत्र हो। यसभित्र हजारौँ मठ–मन्दिर, स्तुपा, विहार, महल र दरबारदेखि लाखौँ मूर्ति र चित्र मात्र पर्दैन, राष्ट्रका सम्पूर्ण समुदायले आ–आफ्नो संस्कारमा आबद्ध गरेका अनगिन्ती लोककला, हस्तकला पनि पर्छन्। राष्ट्रको आर्थिक क्षेत्रलाई टेवा दिने कला, व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने कला, समाजका हरेक क्षेत्रसँग गाँसिने कला, सामान्य मान्छे बस्ने घरदेखि धर्मलाई समेत सम्पूर्णमा समेट्ने वास्तुकला र संगीत, नाच, नाटक वा साहित्य वाङ्मय समेतलाई आकर्षक ढंगले प्रस्तुत गर्ने कला किन आज उपेक्षित छ ? मन्त्रालयको संरचनाले यसलाई किन पन्छाएको छ ? कलाको संवद्र्धनका दृष्टिले अहिलेको मूल प्रश्न यही हो। मूलतः प्रकृति र कलाबाटै हामीले राष्ट्रलाई विश्वमा परिचत गराएका छौँ। पर्यटकको आकर्षणको केन्द्र पनि यही कला हो। यस्तो अवस्थामा सरकारी दस्तावेज (सोच)मा कलाले ठाउँ नपाएपछि बूढानीलकण्ठको मूर्तिको कालो चिल्लोपन कसले र कसरी हटाउन सक्छ ?  

मन्त्रालयको संरचना  

मन्त्रालयको संगठनात्मक संरचनामा रहेको चारवटा महाशाखाभित्र एउटा संस्कृति महाशाखा पनि छ। सहसचिवस्तरको यो महाशाखामा अधिकृत द्वितीय र प्राविधिकतर्फ पुरातत्व अधिकृत तृतीयको व्यवस्था छ। यही महाशाखाअन्तर्गत पुरातत्व तथा सम्पदाशाखा छ, जहाँ अर्को पुरातत्व अधिकृतको व्यवस्था गरिएको छ।  

अब कल्पना गरौँ, ललितकला कसले हेर्छ होला ? यही मन्त्रालय अन्तर्गत पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय, भाषा आयोग, प्रतिष्ठान, संग्रहालय, सांस्कृतिक संस्थान, विकास कोष, विकास समिति आदि छन्। यही प्रतिष्ठान अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान रहेको छ। विकास कोष अन्तर्गत पशुपति विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, लुम्बिनी विकास कोष छन्। संग्रहालय अन्तर्गत हनुमान ढोका दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी र पाटन संग्रहालय छ।

अनि, बूढानीलकण्ठको मूर्तिको चिल्लोपन बचाउने निकाय कुन हो ?  

गैरसरकारी क्षेत्रमा भने कला संस्था, कलाका ग्यालरी, कलाका शैक्षिक संस्था, कला समूह छन्। कलाका संस्था, शैक्षिक संस्था र ग्यालरीले अधिकांश समसामयिक कलालाई केन्द्रमा राखेर कार्यक्रम बनाउँछन्। व्यक्तिगत कलाको विकास, कलाको प्रदर्शन र क्रय–विक्रय आदिमा यी निकाय संलग्न देखिन्छन्। यसबाहेक समाजमा अवस्थित गुठी पनि गैरसरकारी क्षेत्र हुन्। नेवार समुदायले लिच्छविकालदेखि गुठीको अवधारणालाई अवलम्बन गर्दै आएको विश्वास गरिन्छ। हुन त यो आर्थिक सामाजिक संस्थाको रूपमा चिनिन्छ। तथापि समाजको हरेकजसो  

क्रियाकलाप, जात्रा, संस्कार, धर्म आदिलाई निश्चित नीतिनियमका साथ नियन्त्रण, सहजीकरण र निर्देशन यसले गर्छ। योसँगै गुठीले मठ–मन्दिर, विहार आदिको संरक्षण, रेखदेख, पुनर्निर्माण आदि गर्ने गर्छ, तापनि यसैमा कलाको सन्दर्भमा भने कुनै सोच अलग्गाइएको देखिँदैन।  

यीमाथि उल्लिखित सबैजसो निकायका आ–आफ्नै परिधि र उद्देश्य छन्। त्यसैले त बूढानीलकण्ठको मात्र सौन्दर्य ह्रास भएको होइन, हजारौँ मन्दिरको छानामाथि हरियो घाँस र झ्याउ देखिन्छन्। देशका थुप्रै मूर्ति तथा मन्दिर, स्तुपाका कलात्मक पक्ष ह्रास हुँदै छन्, तिनमा घीनलाग्दो लेदो वा फोहोर जमेको देखिन्छ। टलक्कै टल्कनुपर्ने धातुको गजुर, छाना वा मूर्ति कालो देखिन्छ। हजारौँ मूर्ति त्यसै सडक, गल्लीमा फालिएको वा खिएर धुजाधुजा भएको अवस्थामा देखिन्छ। हजारौँ भक्तले तिनलाई पूजाआजा गरिरहेको देखिन्छ, तर कसैको ध्यान मर्मतसम्हारप्रति देखिँदैन।  

गरिबी निवारण तथा श्रम व्यवस्थापन मन्त्रालय अन्तर्गत रहेको गुठी संस्थान कलासँग प्रत्यक्ष संलग्न भने देखिँदैन। गुठीको ध्यान जग्गा व्यवस्थापन, यसबाट आयआर्जनको सन्दर्भ र यसलाई कहाँ कसरी खर्च गर्दा मोहीको अधिकार सुरक्षित हुन्छ भन्नेतर्फ केन्द्रित देखिन्छ। मन्त्रालय अनुसार यो उद्देश्य ठीकै पनि होला। यहाँनेर प्रश्न उठ्न सक्छ– मठमन्दिर, विहार आदिको संरक्षण, विकास र यसका संस्कारगत परम्परालाई निरन्तरता दिन आर्थिक संकट नहोस् भनेर रहेको यो गुठीको व्यवस्थालाई मन्त्रालयले कसरी हेर्ला ?  

जहाँसम्म नेवार समुदायले परम्परादेखि चलाइआएको गुठी छ, जसको सम्बन्ध मठमन्दिरसँग पनि छ। यहाँनेर गुठी संस्थानले थोरै भूमिका खेल्न खोजेको देखिन्छ। तथापि कलाको प्रसंगमा यसले पनि केही बोलेको देखिँदैन। बरु सन् २०१९ मा एउटा कन्ट्रोभर्सियल गुठी बिल ल्याएर नेवार समुदायले चलाइआएको गुठीका संरचनालाई भत्काउन भरमग्दुर प्रयास गरिएको थियो। धेरै ठूलो विरोध भएपछि सरकारले दुई महिनापछि यो बिललाई विथड्र गर्नुपरेको थियो। गुठीमा राखिएको जग्गासम्बन्धी व्यवस्था मोहीको हक अधिकारमा केन्द्रित हुन खोज्दा यसले कलाको प्रसंगलाई कहीँ छुन खोजेको देखिँदैन।  

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान  

यसरी हेर्दा ललितकलाको समग्र विकासको परिकल्पना कतैबाट भएको देखिँदैन। समग्र ललितकला भनेको प्राचीन अझ यसभन्दा अगाडिका नवपाषाण कालदेखिका पुरातात्विक विशेषगरी कलात्मक वस्तु (कला), चित्र, मूर्ति वास्तुकला सबै हुन्। यसबाहेक आजका समसामयिक कला, लोककला वा हस्तकलाका अनेकौँ  

हाँगाबिँगा विकास भएका छन्। यी सबै कलाकोे विकास र संरक्षण कसैले न कसैले गर्नैपर्छ। हाम्रा पुर्खाले विकास गरेका कला, स्थापित गरिदिएको गरिमामय सभ्यता र सन्तुलित सामाजिक राजनीतिक व्यवस्थालाई पनि बचाउन आज धौधौ परिरहेको छ। यसर्थ जातीय पहिचानका नाममा केही वेशभूषा, गरगहना र दुई–चार आदिवासीका मूर्ति उभ्याइदिएर कसरी समग्र कलाको विकास हुन्छ ?  

अर्कोतर्फ यी सबै सन्दर्भमा यसको जिम्मा र उत्तरदायित्व राष्ट्रले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमाथि नै परिकल्पना गरेको हो भने स्वभावतः प्रतिष्ठानको अहं भूमिका देखिन आउँछ। ‘अटोनोमस बडी’का रूपमा कल्पना गरिएको यो प्रतिष्ठान संरचनागत रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जोडिएको छ। यस प्रतिष्ठानमा कुलपति, उपकुलपति लगायत नौजना प्राज्ञ संलग्न प्राज्ञ परिषद्को व्यवस्था छ। सल्लाह दिनका लागि अन्य १५ सभासद मनोनयन हुने व्यवस्था छ। यसबाहेक सम्बन्धित मन्त्रालयका सचिव पनि पदेन सभासदका रूपमा रहने व्यवस्था छ। यसबाहेक सम्बन्धित मन्त्रालयका मन्त्री सह–संरक्षक र प्रधानमन्त्री यसका मुख्य संरक्षक हुने व्यवस्था गरिएको छ। धेरैथोरै बजेट अलग्गाइएको यो प्रज्ञा प्रतिष्ठानमा ६ वटा विभाग अलग्गाइएका छन्। 

हरेक विभागमा अनेक उपविधालाई समावेश गराइएको छ। समसामयिक मूर्तिकला, समसामयिक चित्रकला, शिल्प र परम्परागत कला, लोककला अन्य सिर्जनात्मक कला र हस्तकला विभाग बनाइएको छ। उपविधाअन्तर्गत वास्तुकलादेखि, आधुनिक उत्तरआधुनिककला, फोटोग्राफीदेखि कार्टुन कला, प्रिन्ट मेकिङ कला, दृष्टान्तचित्रदेखि हस्तकला अन्तर्गतका उपयोगी कला, विविध प्रकारका क्राफ्ट आदि भएभरका कलालाई समावेश गर्न कोसिस गरिएको छ। थोरै मानवीय स्रोत र थोरै बजेटले यी सबै क्षेत्रको अनुसन्धान, संरक्षण र विकास कसरी सम्भव हुन सक्छ, सबैभन्दा ठूलो प्रश्न यहीँनेर छ। कहाँ प्रत्यक्ष संलग्न हुनुपर्ने र कहाँ समन्वयको भूमिका निर्वाह गर्नुपर्ने ! नीतिगत रूपमा स्पष्ट नहुँदा यसका कार्यान्वयन पक्ष फितलो देखिनु स्वाभाविक हो। तथापि सम्बन्धित विभागका प्राज्ञलाई आफैँ अनुसन्धानमा संलग्न भएर आ–आफ्नो विधाको आधिकारिक परिभाषा, लक्षण, परिधि स्वभाव ऐतिहासिक आरोह–अवरोह आदिको अभिलेखन र ग्रन्थको प्रकाशन गर्न सुनौलो अवसर पनि हो। यसमा जागरुक हुन आवश्यक छ।  

निचोड  

निचोडको रूपमा भन्नुपर्दा कलाको विकासका लागि मन्त्रालयमा नीतिनिर्माण तहमै कला विज्ञको संलग्नता अपरिहार्य देखिन्छ। जसबाट समग्र राष्ट्रकै कलाको विकास र संरक्षणमा स्पष्ट भिजन ल्याउनेदेखि त्यससँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको सम्भव हुन्छ। सम्भवतः यसैका आधारमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भिजन स्पष्ट हुन सम्भव हुन्छ र यसका कार्यक्रम पनि कलागत दूरदृष्टिले औँल्याएको गन्तव्यतर्फ अग्रसर हुन सहज हुन जान्छ। योसँगै मठ–मन्दिर, स्तुपा, विहार आदि संरचना र यसभित्र रहेका मूर्ति वा चित्रको संरक्षण गर्न अपनाउनुपर्ने कलाका इन्डिकेटरलाई सम्भवतः सम्बोधन गर्न सकिन्छ। जुन इन्डिकेटरले सहरलाई कलामय बनाउन, कलाका संग्रहालयमा अभिलेखन गर्न, कला संचेतनाको प्रवाहका लागि संरचना बनाउन र कलाको औपचारिक शिक्षा प्रक्रियामा पाठ्यक्रम बनाउन सहज बनाउँछ। यी काम हुन सके भावी पुस्ता आफ्ना पुर्खा वा अग्रजका कलाबारे परिचित हुन पाउनेछन्।  

केन्द्र मात्र होइन, प्रदेश र स्थानीय तहको सरकारले कलाका विविध कार्यक्रम गर्न आवश्यक छ। आज पनि हजारौँ अति तीक्ष्ण शिल्पीगत क्षमता भएका कलाकार छन्, जसलाई परिचालन गरेर हाम्रा पुर्खाले बनाइदिएका वास्तुकलालाई अझ परिष्कृत गरी नयाँ ढंगबाट बनाउन सकिन्छ र बनाउनुपर्छ। यही नै आजको अपरिहार्य आवश्यकता हो।  

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: ५ असार २०७८ ०८:३३ शनिबार

कलामा सौन्दर्यको चासो