निर्माता छवि ओझाको छविराज प्रोडक्सनले निर्माण गरेको फिल्म समग्रमा मध्यम रहेको प्रतिक्रिया पत्रकारहरुले दिएका थिए। शोमा फिल्मका निर्माता र निर्देशकबाहेक अभिनेत्री रजनी केसी, कमलमणि नेपाल र सुशीलराज पाण्डे लगायत सहभागिता जनाएका थिए।
'मल्टिप्लेक्समा दर्शकले फिल्मलाई रुचाएका छन्। शनिबार फिल्मले राम्रो व्यापार गरेको छ। आइतबारको कलेक्सन भने मध्यम रहे पनि फिल्मबारे सकारात्मक प्रतिक्रिया आइरहेकोले राम्रो हुनेमा आशावादी छु,' निर्माता ओझाले भने। फिल्मबाट निर्देशनमा डेब्यु गरेका आदित्यविक्रम फिल्मको सम्पादन केही खस्किएको प्रतिक्रिया पाएको बताए ।
'अहिलेसम्म नराम्रो प्रतिक्रिया पाएको छैन। सम्पादनमा अझ मेहनत गर्ने सुझाव पाएको छु। केही कमजोरी हामीले पनि अनुभव गरेका छौं,' निर्देशक लम्सालले भने। विषयवस्तु राम्रो भएकोले मल्टिप्लेक्सका दर्शकले फिल्मलाई मन पराइरहेको उनले बताए, 'युवाहरुको कथा भएकोले दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।'
यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री रजनी केसी उत्साहजनक प्रतिक्रिया आइरहेको बताउँछिन्। 'फिल्ममा गरेको कामलाई मन पराए पनि संवाद कम भयो भन्ने प्रतिक्रिया पाइरहेको छु। त्यसलाई सकारात्मक रुपमा लिएको छु,' उनले भनिन्। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणि नेपाल, सुशीलराज पाण्डे आदिको अभिनय छ।
प्रकाशित: २४ मंसिर २०७० ०१:४२ सोमबार