कला

मेरो बालापन

कविता

ऋषि तिवारी 

 

के हो टाँडे घरको छानो,  

के हो गुवाली घरको छानो,  

चढीचढी टेक्थे खरको छानो,

घिरांैला चुँडाल्थे,

मेरो बालापन,  

सम्झिदा पनि भक्कानिएर आउँछ,  

ओहो,  

मेरो प्यारो सितागंज।

भोर्लाको टाँडमा चढेर,

शीतलसँगै प्रशस्त अक्सिजन लिन्थे।

भोर्लाको लहरासँगै

चचहुई – चचहुई गर्दै खेल्थे,  

सम्झिदा पनि भक्कानिएर आउँछ,

मेरो त्यो बालापन।  

ओहो, मेरो प्यारो सितागंज।  

भोर्लाको रुख

म हिँडेदेखि नै रुष्ट थियो,

आँप र लिच्चीका बोटहरू रुष्ट थिएँ।  

 

निकै भो,  छैनन् अब केही त्यहाँ।  

छ त बालापनको स्मरण  

मेरो यो उमेरको मानसपटलमा।

 

भक्कानिएर आउँछ,  

ओहो,  

मेरो प्यारो सितागंज।

बाढीको भेल उस्तै,

ट्यांग्रा खोलामा पौडी खेल्दै गर्दा,

खोलाको त्यो बहावको

मीठो संगीतको आनन्द लिएको थिएँ।

पौडिँदै, दुई हातले पानीमै ढोल पिट्दै थिएँ।  

ओहो मेरो त्यो बालापन,

खोलानाला,  रुखबिरुवासँग मितेरी गाँसेको थिएँ।  

सम्झिदा पनि भक्कानिएर आउँछ,  

ओहो, मेरो प्यारो सितागंज।

प्रकाशित: २९ वैशाख २०७८ ०२:४१ बुधबार

अक्षर