कला

नमरे बाँचे तपाईहामी छँदै छौं

मन्दिरा शर्मा पौडेल

 

पोहोर सालको भन्दा यसपालिको कोरोनाले धेरैलाई भयभीत तुल्याएको छ।  तर, पोहोरभन्दा यसपालि  ममा धैर्य शक्ति बढेको छ। विश्वभर फैलिएको कोरोना महामारीबाट नेपालमा पनि अछुतो रहेन र हामी पनि यही कारण घरमै थुनिन बाध्य छौं ।  

यतिबेला मेरी छोरी प्रिसिला मामाघर बेलबारीमा बस्छिन्। उनी  भर्खरै ३ वर्षकी भइन्। कोरोनाको कारण मेरी नानीले हजुरबा–हजुरआमासित बस्न पाएकी छ। हजुरबाहजुरआमासित बसेका नानीहरू केही न केही संस्कारयुक्त हुन्छन् भन्ने मेरो ठम्याइ छ।  चराहरूको चिरबिर, झरनाको झरझर र नानीहरूको बोली उस्तै लाग्छ मलाई। नानीहरूको बोलीमा छुट्टै आनन्द हुन्छ । उकुसमुकुस भएको बोझिलो मनलाई नानीहरूको बोलीले हलुको बनाउने रहेछ। तर,  भिडियो कल गरेर भए पनि नियाँस्रोपन हटाउँदै छु। वातावरण सहज बन्दै गएपछि नानीलाई आफूसँगै राख्ने छु।

कतिलाई कोरोनाको कारण भएको लकडाउनले खुसी साट्ने मौका पनि दिएको होला! कति हुनेखाने मोज गरेर बसेका होलान्! तर यो लकडाउनले  पनि  कति परिवारलाई  दुखमा पारेको होला ? कतिको घरमा त खानसम्म धौधौ बनाको होला! जो दुई छाक टार्न बिहानबाट साँझसम्म  बनी गर्थे । उनीहरूलाई न कहिले परिवारमा दिने समय भयो न आफ्ना लागि समय भयो।  कामै गर्न नपाएपछि कति दिन बल्छ  चुलोमा  आगो?

आफू बाँचौं र अरूलाई बचाऔं भन्ने बेला कालो बजारी उस्तै फस्टाएको छ। दैनिक उपभोग्य वस्तुमा धेरै नै मूल्य बढाएको छ। बिहानबेलुकी हातमुख जोर्न धौधौ हुने परिवारमा झन्–झन् समस्या थपिँदै गएको छ।

कति घरमा महिला हिंसा भएको होला ? कतिले त संयम्ता र सम्झौताको अभावमा पारपाचुकेको अवस्थामा पनि पुगेका होला ?

अहिले मान्छेदेखि मान्छे तर्सिनु परेको अवस्था छ। देशमा यस्तो भय छ कि  मान्छे मान्छेसँग तर्सिनु परेको छ।  अहिले त धेरै ठाउँमा लास जलाउने ठाउँ पनि पाउन छोड्यो भन्दै छन्। यो अप्ठेरोमा नपाएको सरकारको साथ जनताले कैले पाउलान ! यो दर्दनाक अवस्थामा  राज्यबाट नागरिकले खोई के पायो सहयोग ? अब जनताका लागि सरकारले केही न केही गर्नै बेला आएको छ? यस्तो अवस्थामा तपाईहामी मिलेर बाँचौं। 

प्रकाशित: २९ वैशाख २०७८ ०१:३१ बुधबार

अक्षर