कला

पाठकसँग लेखक मुकारुङ

काठमाडौं– आफ्नो उपन्यासको नाम केही पाठकले गलत रुपले चिन्ने गरेकामा लेखक राजन मुकारुङले सच्याइदिए। नेपाल भारत पुस्तकालयमा सोमबार 'कन्भर्सेसन्स' कार्यक्रममा राजनले भने, 'मेरो किताबको नाम दमिनी भीर हो दामिनी भीर होइन।'भारतीय दूतावास र बिपी कोइराला नेपाल भारत फाउन्डेसनले गरेको कार्यक्रममा राजनसँग सञ्चारकर्मी वसन्त बस्नेतले संवाद गरेका थिए। नेपाली पाठकहरुले शब्दको उच्चारणमा ध्यान नदिएको लेखक राजनको गुनासो थियो। मदन पुरस्कार विजयी पुस्तक 'दमिनी भीर'का विभिन्न अंश उनले पढेर सुनाए।

'यस पुस्तकका धेरै पात्र र घटना वास्तविकतासँग नजिक छन्। यसले पिछडिएका समुदायको कथालाई स्थापित गर्ने प्रयास गरेजस्तो लाग्यो,' बताउँदै लेखक राजनले भने, 'यस्तो अन्तत्र्रिmयाले नयाँ पुस्तकमा गल्ती घटाउन सहयोग गर्छ।'

कार्यक्रममा उनले पाठकका विभिन्न प्रश्नको जवाफ पनि दिए। 'पाठक र साहित्यकारलाई आमनेसामने प्रस्तुत गरेर एकअर्कालाई सुनाउने वातावरण निर्माण गर्न यस्तो कार्यक्रम गरिएको हो,' भारतीय दूतावासका आभाष कर्माचार्यले भने । कार्यक्रमको यो दसौं संस्करण हो।

प्रकाशित: १२ कार्तिक २०७० ००:०९ मंगलबार