कला

जीवन र रेखालाई डि–सिने अवार्ड

काठमाडौं– अभिनेता जीवन लुइँटेलले यो वर्ष आफ्नो पोल्टामा अर्को अवार्ड थपेका छन्। आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको एचटिभी डि सिने अवार्डमा उनले 'नोटबुक'बाट उत्कृष्ट अभिनेताको उपाधि जिते। यसअघि उनले फिल्मीखबरले गरेको फिल्मीखबर सम्मान, फिल्मीखबर डटकमको ओफा र गोपीकृष्ण अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जितिसकेका छन्।'डेब्यु अवार्ड पाउँदा उत्साह थपेको थियो। त्यसपछिका अवार्डहरुले प्रोत्साहित बनायो भने अहिले जिम्मेवारी थपिदिएको छ, अवार्डले दिएको प्याटफर्मलाई जोगाउन सजिलो छैन,' अभिनेता लुइँटेलले भने। हालै उनी 'स्टुपिड मन'को सुटिङ सिध्याएर थाइल्यान्डबाट फर्किएका हुन्। फिल्म क्षेत्रले दिएको जिम्मेवारीलाई स्वीकार गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

आइतबारको कार्यक्रममा अभिनेत्री रेखा थापाले 'लंका' फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् छायाँछविले गरेको डि सिने अवार्डमा फिल्म 'रिदम'ले ६ वटा अवार्ड हात जित्यो। उत्कृष्ट फिल्म, निर्देशक, सहअभिनेता, बालकलाकार, पटकथा र गीतकारको अवार्ड यसले कब्जा गर्यो।

यसका निर्देशक विकास आचार्य, सहअभिनेता विल्सनविक्रम राई, बालकलाकार अनुभव रेग्मी र गीतकार कृष्णहरि बरालले अवार्ड जिते। निर्देशक आचार्यले पटकथामा पनि अवार्ड पाए।

फिल्म 'मायाज बार'बाट सहअभिनेत्रीमा करिश्मा मानन्धर, नवअभिनेता गजित विष्ट, छायाकार पुरुषोत्तम प्रधान र पाश्र्व संगीतकार एलिस कार्कीले अवार्ड पाएका छन्। कथाको अवार्ड योगेश घिमिरेले 'नोटबुक' र यही फिल्मबाट शिवम अधिकारीको संवाद उत्कृष्ट ठहरियो।

फिल्म 'हमेसा'का चन्द्र पन्त द्वन्द्व निर्देशन र फिल्म 'मेरो जीवनसाथी'का शंकर बिसी नृत्य निर्देशनमा विजयी भए। 'मेरो जीवनसाथी'कै संगीतकार अर्जुन पोखरेलले अवार्ड हात पारे। 'धन्दा'बाट निमा लामा (शृंगार), 'फुलस्टप'बाट मनोज राजभण्डारी (साउन्ड मिक्सिङ), 'नोटबुक'बाट मिलन अमात्य (गायिका) र प्रल्हाद तिमल्सिना (गायक)ले अवार्ड पाए।

फिल्म 'अन्तराल'की दीपा बस्नेत नवनिर्देशक र 'युज'की सीमा केसी नवअभिनेत्री साबित भए। सम्पादनमा फिल्म 'अध्याय'बाट विपिन मल्लले सबैलाई उछिने। 'मञ्जरी'का टीका पहाडी उत्कृष्ट चरित्र अभिनेता र 'फेसबुक'की झरना थापा उत्कृष्ट खलपात्र भए। पब्लिक च्वाइस अवार्ड चाहिँ 'मञ्जरी'का गौरव पहाडीले जितेका छन्।

चलचित्र पत्रकार सम्मानबाट राजन घिमिरे सम्मानित भएको कार्यक्रममा थ्रिडी फिल्म निर्देशन गरेबापत निर्देशक दीपेन्द्र के खनाललाई 'भिजिलान्ते'का लागि प्रोत्साहन अवार्ड प्रदान गरियो। अभिनेत्री निशा अधिकारीले 'मायाज बार' र अर्पण थापाले 'धन्दा'बाट क्रिटिक्स अवार्ड थापे। निर्देशनतर्फ दिनेश डिसीले क्रिटिक्स अवार्ड जिते। जुरी अवार्ड भने 'शिरिषको फूल'ले लग्यो।

कार्यक्रममा गायक सनुप पौडेल, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री अशिस्मा नकर्मी र गजित विष्ट लगायतले विभिन्न प्रस्तुति दिएका थिए। 'राम्रा फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं। राम्रा भनिएका कति फिल्महरु अवार्डमा सहभागी हुनसकेनन्,' आयोजक शान्तिप्रियले भने। यो अवार्डको पाँचौ संस्करण हो।

मोहन निरौला, विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ र सबनम मुखियाको निर्णायक टोलीले विभिन्न विधामा फिल्महरु छनोट गरेका थिए। 'रिदम', 'फेसबुक', 'मायाज बार', 'नोटबुक' र 'के म तिम्रो साथी बन्न सक्छु' उत्कृष्ट फिल्मको विधामा मनोनित थिए। 'धन्दा', 'छड्के', 'हमेशा' ,'साँघुरो', 'मञ्जरी', 'अध्याय, 'कर्कश', 'अन्तराल', 'नेपथ्य' र 'इशारा' लगायत फिल्महरु विभिन्न विधामा मनोनित भएका थिए।

प्रकाशित: १० कार्तिक २०७० २३:५५ आइतबार