कला

'मदनकृष्ण नौ सय, हरिवंश एक सय'

काठमाडौं– एनसेल नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन काठमाडौंको प्रज्ञा प्रतिष्ठान परिसर साहित्य अनुरागीले भरिभराउ रह्यो। आइतबारका दिन विभिन्न नौ शीर्षकमा छलफलहरु सम्पन्न भए।आइतबारको छलफल सुरुवात गरे मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले। 'जीवन्त जोडी' शीर्षकमा उनिएको संवादका सहजकर्ता थिए पत्रकार विजय कुमार। मह जोडीको उपस्थितिमा दर्शकहरुले जे कुराको अपेक्षा गर्छन् त्यो अपेक्षाभन्दा भिन्न रहेन उनीहरुको संवाद। दर्शकले महको 'सेन्स अफ ह्युमर'को आनन्द लिए, सम्बन्धका अनुभव सुने र सुने उतारचढावका कथाहरु।

३४ वर्षदेखि सहकार्य गरिरहेका 'मह'ले एक आपसमा आफूले गर्ने सम्मान नै दिगो सम्बन्धको कारक रहेको बताए। स्वभाव अनुरुप ठट्यौली शैलीमा प्रस्तुत भएका हरिवंशले मदनकृष्णसँगको सहकार्यले नै कलाकारितामा यति विघ्न अघि बढ्न सकेको विचार व्यक्त गरे। 'मदन दाइ हजारमा नौ सय हो भने म जम्मा एक सय हुँ। मेरा बा, आमा र पत्नीले दिन नसकेको साथ उहाँले दिनुभएको छ। उहाँजस्तो सहयात्री पाउनु मेरो जीवनको भाग्य ठानेको छु।'

कार्यक्रम अवधिभर हरिवंशको सम्मानमा शब्द खर्चिएका मदनकृष्णले भने आफूहरुको सम्बन्धको जस आपसी समझदारीलाई दिए। 'एकआपसको विश्वास र समझदारीले हाम्रो यात्रा तय भएको हो। म आगो भएको बेला हरिवंश पानी हुन्छ र हरिवंश आगो भएको बेला म पानी,' मदनकृष्णले भने।

एक घन्टा चलेको छलफलमा प्रस्तोता विजय कुमारले लामो बोलिदिँदा सहभागीहरु खिन्न बनेका थिए। 'मह'को छलफल लगत्तै सुरु भएको दोस्रो चरणमा दुई समानान्तर सत्र सम्पन्न भएका थिए। एकातिरको सत्रमा 'राष्ट्रियताको पुर्नव्याख्या' शीर्षकमा सीके लाल, प्रत्युष वन्त र डम्बर चेम्जोङसँग विष्णु सापकोटाले बहस चलाए भने त्यसैबेला अर्कोतर्फ पत्रकार प्रतिभा तुलाधर भारतीय कवि, फिल्ममेकर एवं पत्रकार एन्नी जेडीसँग 'टकिङ लभ' सत्रमा छलफलमा थिइन्।

छलफलको तेस्रो चरणमा भारतीय उपन्यासकार रवीन्दर सिंहसँग अभिनेत्री निशा अधिकारी 'आई टु ह्याड अ लभस्टोरी'बारे कुराकानी गरिन्। छलफलमा सिंहले उपन्यासको शीर्षकदेखि व्यक्तिगत प्रेमलाई पुस्तक रुप दिनुको सन्दर्भ समेत सुनाएका थिए।

निशा र रवीन्दर प्रेमको सेरोफेरोमा रुमल्लिरहँदा कविहरु विक्रम सुब्बा, सरस्वती प्रतीक्षा र तुलसी दिवस भने वर्तमानमा कविताको विषय र स्वरुपका विषयमा व्यस्त थिए। 'वर्तमान कविताको अनुहार' शीर्षकमा छलफल गरेका कविहरुले कविताको अवस्था तुलनात्मक रुपमा अन्य विधाभन्दा कमजोर रहेको विचार व्यक्त गरेका थिए। छलफलको मध्यस्थता कवि हेमन यात्रीले गरेका थिए।

चौथो चरणको सत्रमा एकतर्फ 'ध्वनि, भिजन भर अ ट्रान्सलेसन क्याम्पेन' शीर्षकमा कनकमणि दीक्षितले वसन्त थापा, भिक्टर प्रधान र बालकृष्ण बलसँग गफ गरे भने सोही समयमा डबलीमा बंगलादेशी लेखक फराह गुज्नवी, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली र बेलायती लेखक नेड बउमन 'द इम्पेयर राइट्स ब्याक' शीर्षकमा संजीव उप्रेतीसँग संवादमा थिए।

शनिबार पत्रकार कुन्द दीक्षितसँग 'फ्रयान्क' गफ गरेकी भारतीय लेखिक शोभा डेले आइतबार पनि आफ्नो छवि कायम राखिन्। सोफिया टमोटसँग 'राइटिङ अ स्टेन्ज अबसेसन शीर्षकमा बोलेकी उनले लेखनका लागि जन्मजात प्रतिभा आवश्यक रहेको धारणा व्यक्त गरिन्।

दिनको अन्त्य भयो गजलसम्बन्धी सत्र 'मुसायरा'बाट जहाँ नेपालगञ्जबाट आएका दुई सायर अब्दुल लतिफ शौक र अब्दुल वहिदले गजलको स्वाद चखाए। हस्त गुरुङले मध्यस्तता गरेको सत्रमा उर्दू र नेपाली शेरहरु स्वरबद्ध रुपमा वाचन गरिएको थियो।

सोमबार समापन हुने फेस्टिभलको अन्तिम दिन विभिन्न आठ शीर्षकमा छलफल हुनेछन् भने वासुदेव अधिकारी लिखित पुस्तक 'गायक सभामुख'को लोकार्पण हुने कार्यक्रम छ। बुकवर्म फाउन्डेसनले गरिहेको फेस्टिभलको यो तेस्रो संस्करण हो।

प्रकाशित: १० कार्तिक २०७० २३:५३ आइतबार