काठमाडौं– युएईमा भइरहेको सातौं 'आबुधाबी फिल्म फेस्टिभल'मा नेपाली छोटो फिल्म 'द कन्टाजियस एपारिसन्स अफ डम्बरे डेन्ड्राइट' छानिएको छ। विभूषण बस्नेत र पूजा गुरुङले निर्देशन गरेको १८ मिनेटको फिल्मले फेस्टिभलमा टर्की, फ्रान्स, क्यानडा, इरान, जर्मनी लगायत देशका १९ फिल्मसँग अवार्डका लागि भिड्नेछ।नशालु गम सुँघ्ने डम्बरेका भ्रम र मानसिकतामा आधारित घटनाले प्रभावित गर्ने कथा यस फिल्ममा छ । फिल्म 'ब्याच नम्बर १६'का निर्माता विक्रान्त श्रेष्ठले निर्माण गरेको यो फिल्म दसैंअघि काठमाडौंमा भएको 'एकादेशमा' फेस्टिभलमा प्रिमियर गरिएको थियो ।
आबुधाबी फेस्टिभलमा मंगलबार अन्तर्राष्ट्रिय प्रिमियर गरिने यस फिल्ममा अनुपम शर्मा, भुवन लामा, हरि कार्की, हीरा बिजुली नेपाली, मनीष राई, पूजा गुरुङ र साजन थापा मगरले अभिनय गरेका छन् । नरेन्द्र मैनालीको छायांकन र राजन श्रेष्ठको सम्पादन रहेको फिल्म बनाउन यथार्थ सडक बालबालिकाबाट प्रेरणा मिलेको निर्देशकद्वय बताउँछन् ।
गत बिहीबार सुरु भएको आबुधाबी फिल्म फेस्टिभल कात्तिक १६ सम्म चल्नेछ ।
प्रकाशित: १० कार्तिक २०७० ०२:२२ आइतबार