कला

१२ वर्षपछि फर्किंदै शम्भु

काठमाडौ– निर्देशक शम्भु प्रधान १२ वर्षपछि निर्देशनमा फर्किने भएका छन्। निर्देशनमा पुनरागमन गर्न लागेको फिल्म 'रङ बैगनी'को बिहीबार राजधानीमा औपचारिक घोषणा गर्दै उनले निर्देशनमा पुनरागमनको उद्घोष गरेका हुन्। नेपाल भ्रमणमा आएका भारतीय छायाकर विनोद प्रधानको उपस्थितिमा नयाँ फिल्मको घोषणा गरेका उनले 'मुड' आएकोले १२ वर्षपछि निर्देशनमा फर्किएको बताए।'फिल्म बनाउने 'मुड'चलेर निर्देशनमा फर्कन लागेको हुँ। फिल्म नयाँ र पुरानो पुस्ताको विचारको 'ब्लेन्डिङ' हुनेछ। निर्देशनमा फर्कन लाग्दा एकदमै रमाइलो अनुभव गरिरहेको छु,' प्रधानले भने।

२०५८ सालमा 'संन्यास' फिल्म निर्देशन गरेर फिल्मबाट लगभग संन्यास लिएको अवस्थामा बसेका शम्भु प्रधानले 'रङ बैगनी'मार्फत् दुई नयाँ प्रतिभालाई नेपाली फिल्ममा पदार्पण गराउने भएका छन्। यही फिल्मबाट उद्योगमा पाइला चाल्नेमा सशांक प्रधान र दीप प्रधान रहेका छन्। सशांक शम्भुकै छोरा हुन् भने विनोद प्रधानका छोरा हुन् दीप।

कुनै जमानामा शम्भु प्रधानको 'सम्झना' र 'सपना'मा सिनेम्याटोग्राफरको रुपमा काम गरेका थिए विनोदले। दीपले भने 'रङ बैगनी'मा संगीतकारको भूमिका निर्वाह गर्नेछन्। चंकी प्रधानका रुपमा थुप्रै नेपाली फिल्ममा अभिनय गरेका संशाकले भने फिल्ममा सिनेम्याटोग्राफरको भूमिका निर्वाह गर्नेछन्।

पुनाको एक इन्स्टिच्युटमा डेढ वर्षे फोटोग्राफी कोर्स गरेर आएका सशांकले घरमा फिल्म बनाउन चाहिने सबै चीज उपलब्ध भएकोले फिल्म बनाउन लागेको बताए।

'घरमै लेखक, निर्देशक, छायाकार, स्टुडियो तथा निर्माण सामग्री उपलब्ध छन्। सानैदेखि फिल्मको वातावरणमा हुर्किएकाले पनि फिल्मलाई माया मार्न सकिएन,' सशांकले भने। 'प्रेमकथा' श्रेणीमा बन्ने फिल्मको सुटिङ यही वर्षभित्रै हुने भए पनि कहिले सुरु गर्ने भन्ने टुंगो नरहेको सशांकले बताए।

फिल्ममा केही प्राविधिकहरुको टुंगो लागे पनि कलाकारहरु तय हुन बाँकी रहेको निर्माता नुतन प्रधानले बताइन्। फिल्मको लेखक समेत रहेकी नुतनले 'रङ बैगनी'ले 'फिमेल बन्डिङ'को कथा भन्ने बताइन्। 'बैगनी रङ रोमान्स, लगाव र संवेदनशीलताको रङ हो। फिल्मले पनि यिनै कुरालाई कलात्मक तवरले प्रस्तुत गर्नेछ,' नुतनले भनिन्। फिल्म निर्माणमा नुतनलाई छोरी ईश्वरी प्रधानले सघाउनेछिन् जो अहिले अमेरिकामा घरजम गरेर बसेकी छन्।

बर्कली स्कुल अफ म्युजिकबाट संगीतमा ग्रयाजुएसन गरेका दीप प्रधान नेपाली फिल्ममा काम गर्न उत्साहित रहेको विनोदले बताए। 'दीप नेपाली फिल्ममा काम गर्न पाएकामा एकदमै उत्साहित छन्। नेपालप्रति उसको माया देखेर मलाई पनि गर्व लाग्छ,' विनोदले भने।

६ गीत रहने फिल्मका दुइटा गीतको काम सकिइसकेको पनि जानकारी दिइयो। गीतमा शब्द रचनाको जिम्मा रमण घिमिरेले पाएका छन्। गीत फाइनल भइसकेपछि अडिसनमार्फत् कलाकार टुंगो लगाएर सुटिङमा जाने शम्भु प्रधानले जानकारी गराए। शम्भुले यसअघि 'सम्झना', 'सपना', 'स्वर्ग', 'सरस्वती', 'सुनचाँदी', 'सक्कली नक्कली' जस्ता फिल्म निर्देशन गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०७० ००:०६ शुक्रबार