कला

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ को सार्वजनिक

कथाकार एवम् सक्रिय पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किमबाट सार्वजनिक भएको छ ।

सिक्किम राज्यमा २५ वर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो । विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए । न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तक कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् ।

खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन् ।  

‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । पुस्तकको आवरण चर्चित कलाकार विक्रम श्रिले तयार गरेका हुन् । भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् । कथासङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र, प्रस्तुति निकै रोचक रहेको समिक्षकहरूले बताएका छन् । कार्यक्रममा खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफूले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए ।

कार्यक्रममा सिक्किम प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको उल्लेख गरे ।  

अध्यक्ष चामलिङले संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए ।

‘मैले संसारका कुनै पनि कुनामा रहेका नेपालीहरू एक भएर नेपाली भाषाको उत्थानका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन नै गर्नुपर्छ भनेर भनेको छर’ चामलिङले भने । ‘कथाकार खरेलसित मेरो पहिलेकै चिनजान हो, उहाँले मलाई धेरैपटक विराटनगरका लागि निम्तो गर्नुभयो, आउन सकेको छैन’ चामलिङले भने, ‘गत वर्ष आउँछु भनेर कार्यक्रम बनाए तर, कोरोनासँगै लकडाउनपछि जान सकिनँ, चाँडै अब मिलाएर म विराटनगर जानेछु, विराटनगरको धेरै बखान मैले सुनेको छु ।’  

‘टिलो’ कथासङ्ग्रहको यो पहिलो विमोचन हो । दोस्र्रो विमोचन विराटनगरमा हुनेछ । तेस्राे विमोचनको कार्यक्रम काठमाडौंमा राखिने न्यू सृष्टि दैनिकले जनाएको छ ।

प्रकाशित: ९ वैशाख २०७८ १४:४९ बिहीबार

सिक्किममा चामलिङ कथासङ्ग्रह