हार्मोनियम फिटिरहेका फत्तेमानलाई मैले पहिलोपल्ट ३५ वर्षअघि पशुपतिनाथमा देखेकी हुँ। म आठ वर्षकी हुँदी हुँ, उहाँ त्यस्तै ३५–४० वर्षको। 'सान्नानीको गालैमा' गाएर साह्रै चर्चित हुनुभएको थियो उहाँ त्यो बेला। उहाँ सायद कुनै आधुनिक गीत गाउँदै हुनुहुन्थ्यो र नातिकाजी सँगै हुनुहुन्थ्यो। मेरा लागि भने उहाँ केवल एक साथीको बुवा, अनि मेरो बुवाको साथी।
उहाँकी माइली छोरी जानकी र मेरो मिल्ती थियो। त्यसैले म उहाँको घर गइरहन्थेँ। उहाँ पनि कहिलेकाहीँ हाम्रो घर आउनुहुन्थ्यो– मेरो बुवालाई भेट्न।
पशुपतिका राजभण्डारी परिवार, पूजापाठमा भट्टका सहयोगी। फत्तेमानलाई बेलाबेला पशुपतिनाथभित्र पूजाआजामा सहयोग गरेको देखिन्थ्यो। पशुपति परिसरमा हार्मोनियम समातेर मिठो धुन निकाल्दै गरेको पनि देखेकी हुँ तर उहाँले धेरै भजन गाउनुभएन। उहाँ आधुनिक गीतहरू नै गाउनुहुन्थ्यो। तर भजनमा अचम्मको दखल थियोः
जडदेह यो अवश्य, एक दिन समाप्त होला
चैतन्य ता अमर छ
कोही पनि कदाचित मृत्यु रुचाउँदैन
अविनाशीको चरणमा दुःखको पहुँच हुँदैन।
यस्ता भजनमा गला हाल्ने उहाँ आफैं भने मन्दिर धाउनुहुन्नथ्यो। पूजापाठबाट भक्ति हुन्छ भन्ने उहाँमा उति विश्वास थिएन।
उहाँको भजनशक्ति छोटो वाक्यमा वर्णन गर्न गाह्रो छ। यत्ति भन्छु, भजन भनेको भक्तिरस हो। गाउने व्यक्तिमा भक्ति रस हुनुपर्योह। स्रोतामा पनि हुनुपर्योट। अनिमात्रै भजनले दिन खोजेको कुरा बुझिन्छ। उहाँ भरपूर भक्ति रसका कलाकार हुनुहुन्थ्यो। स्रोतालाई ग्रहण गर्न सजिलो!
पछि उहाँ पशुपति वरिपरि देखिन छाड्नुभयो। स्वाभिमानी गायकलाई के भयो थाहा छैन, तर उहाँले घोषणा गरिदिनुभयो, 'अबदेखि म पशुपतिनाथमा गाउँदिनँ, यहाँका मानिस संगीत बुझ्दैनन्।'
उहाँको ओज आधुनिक गीतमै थियो, त्यसैले उहाँलाई लोकप्रिय बनायो। अमर फत्तेमान बनायो। 'यस्तो पनि हुँदो रैछ, वनै खायो डढेलोले, सान्नानीको गालैमा, मर्न बरु गाह्रो हुन्न' केही उदाहरण हुन्। कतिपय धेरै चर्चित नभएका गीत झन मिठा छन्। जस्तो,
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
चाँदीमाथिको स्वर्ण, तिम्रो मुहारको कान्ति
त्यसै त राम्री छौ तिमी फाहा नलाए हुन्छ
मैले बुझ्न सकिनँ
बिन्ती म लाटोलाई भाषा सजिलै बोल
टम्म मिलेको ओठ संकोच नमानी खोल
त्यस्तै अर्को गीत छ :
जीवन हुरीको गीत हो भने जसरी पनि जिउनुपर्छ
सुखी मिलेन भन्दा पनि दुःखी दुःखी नै मिल्नुपर्छ
...
बिन्दास फत्तेमानको दुनियाँ अलग थियो। 'बाँसको डोलीमा चढेर, सेतो वस्त्र ओढेर जाने' टाइपका भजन गाएर मान्छेलाई अतिरिक्त तर्साउने कर्ममा उहाँको कुनै रुचि थिएन। जीवनवादी भजनहरू गाउने। शान्त, शीतल शैलीका भजनगायक हुनुहुन्थ्यो उहाँ।
२०३५/३६ सालतिरको एक दिन। उहाँले मलाई पशुपतिनाथमा तबला बजाइरहेका बेला देख्नुभएछ। संगीत सकिएपछि मैले देखेँ। उहाँले मुन्टो हल्लाउँदै 'हुँ' भन्नुभयो। अरू केही भन्नुभएन। केही कुरा मन पर्योर भने अनुहारबाटै प्रतिक्रिया दिने बानी थियो उहाँको। खासै बोल्नुहुन्नथ्यो।
त्यसपछि लामो अन्तरालसम्म भेट भएन।
२०५७ सालमा हामीले 'नारायण संगीत प्रतिष्ठान'मार्फत् उहाँको सम्मान कार्यक्रम राख्यौं। अतुल गौतम, नरोत्तम वैद्य र म भेट्न गएका थियौं। खासमा उहाँ यति ठूलो व्यक्तित्व हुनुहुन्थ्यो कि घरमा भेट्न जान समेत हच्कन्थे मानिस। मलाई भने त्यस्तो केही लाग्दैनथ्यो।
'मलाई किन सम्मान गर्नुपर्योि, नगरे पनि हुन्छ,' उहाँले प्रतिक्रिया दिनुभयो। कस्तो आशक्तिविहीन भाव, हामी छक्क पर्यौंो।
उहाँ बढी नै अन्तर्मुखी। अरूको चासो खासै नलिने। मेरो घरबाट नजिकै बस्ने हुनाले थाहा थियो, उहाँ आफ्नै संसारमा रमाउनुहुन्थ्यो। एउटा साधकको संसार। प्रायः कलाकार विगतको कुरा गरेर असन्तुष्टि पोखिरहेका हुन्छन्। उहाँ सधैं वर्तमानमा बाँच्नुभयो।
एकदम् मदमस्त मानिस। सायद समर्पित कलाकारको मुड त्यस्तै हुन्छ। आनीबानी, खानपानमा कुनै नियमितता नहुने। किशोरकुमारजस्ता विख्यात गायक त्यही बानीको सिकार भए। सायद फत्तेमानज्यू पनि त्यसैको सिकार हुनुभयो। बिहान आठ बजे पत्नीले मासु लिएर आउनू भनी पठाउनुभयो भने साँझ आठ बजे आइदिने। मासु पसलमा पुग्दा कोही साथी भेटिइसक्छ। उसले कता लिएर गइदिन्छ। उहाँ पनि सहजै चल्दिने। कलाकार भनेको यस्तै होला।
जे होस्, किरातेश्वरको कार्यक्रमपछि भने मसँग धेरै खुुसी हुनुभएको थियो। मेरो विद्यालय 'नाद संगीत पाठशाला'बारे चासो राखिरहनुहुन्थ्यो। त्यहाँ एक सयजना बच्चालाई निःशुल्क संगीत सिकाइन्छ। उहाँसँग बाद्यवादनमा संलग्न कलाकार पनि मसँगै काम गर्ने भएकाले सधैं सोधिरहनुहुन्थ्यो।
अस्ति फागुनको कुनै दिन मैले त्यही स्कुलमा नेवारी बाँसुरी सिकाउने योजना सुनाएँ। फत्तेमानज्यू खुसी हुनुभयो। लगत्तै भन्नुभयो, 'सरिता, तिमीलाई यहाँ कसैले सहयोग गर्दैन, तैपनि योजना पूरा गर्नू।'
मैले कोर्स सुरु गरेँ। बीचबीचमा उहाँले विद्यार्थी कति घटबढ भए भनी सोधिरहनुहुन्थ्यो। उहाँलाई राम्रै थाहा थियो– संगीतमा जुनसुकै विद्यार्थी लामो समय टिकिरहन सक्दैनन्।
उहाँ बिरामी भएपछि भेट्न गएँ। बाहिरियालाई भेट्न दिएनन् अस्पतालमा। आज दिउँसो भेट्न जाने योजना बनाएकी थिएँ। तर अस्पताल जानु परेन। फत्तेमानज्यूले भेट त दिनुभयो, तर आर्यघाटमा।
(बसन्त बस्नेतले गरेको कुराकानीमा आधारित)
प्रकाशित: २६ भाद्र २०७० ०१:०३ बुधबार