फ्रिगेट आइल्याण्डको हेलिप्याडमा तिन जना यात्रु बोकेर हेलिकोप्टर सेसेल्स उत्रिन्छ । यही हो रित, सामुन्द्रिक देशमा आवागमनको । कि पानीजहाज, कि हवाईजहाज, कि हेलिकोप्टर एक हप्ता लामो फ्रिगेट आइल्याण्डको लक्जरी रिसोर्टमा पेइङ गेस्ट बसेर आफ्नो देश फर्किन लागेको एउटा जर्मन जोडीलाई लिन आएको हेलिकोप्टरको एम्प्टी लेग प्रयोग गरेर सेसेल्सको राजधानी भिक्टोरिया, माहे आइल्याण्डबाट आएका हुन् । ती तिन जना यात्रुहरू । दुई जना निक्खुर हब्सी केटा छन् र एक जना सुनकेशरी कुइरेनी केटी । फ्रिगेटबाट माहे आइल्याण्ड हेलिकोप्टरमा र त्यहाँबाट अन्तराष्ट्रिय विमान समात्न पुग्नु छ गेस्टले फ्रयाङ्कफोर्ट जर्मनीका लागि । हेलिकोप्टरबाट निस्किएका तिन जना अपरिचित यात्रुलाई आगमन कक्षमा बस्न अनुरोध गर्दै गेस्टलाई लाइफ ज्याकेट पहिरयाइदिएर हेलिकोप्टरतर्फ लिएर जान्छु र सिटमा बसाउँछु । सिट बेल्ट बाँधिदिन्छु। हेडफोन लगाइदिन्छु र हेलिकोप्टरको ढोका बन्द गर्छु। पुनः एकपटक सबैतिर निरीक्षण गर्छु। पाइलटलाई उड्नको निम्ति इशारा गर्छु थम्ब्स अप गरेर । गेस्ट सर्भिसमा काम गरेपछि आगमनको बेला स्वागत र प्रस्थानको बेला बिदाइ गर्नु डयूटीभित्रै पर्दछ ।
हेलिकोप्टरको ग्राउण्ड क्रु समेतको भूमिका निभाउनु पर्दछ । हेलिकोप्टर उड्छ , बिदाइको हात हल्लाउँछु उपस्थित अन्य म्यानेजमेन्ट टिमझैं । तल निलो समुद्र,माथि निलै आकाश सामुद्रिक देशको हवाईमार्गमा देखिने दृश्य यत्ति नै हो । एउटा नारी स्वर चिच्यायो । हठात् मेरो कानमा जबर्जस्ती घुस्छ त्यो चर्को आवाज ‘हेई ह्वाटस् अप । ह्वाई यु आर स्क्रिमिङ् ’ कोही सोध्दै थियो । चिच्याउने आवाज भरखर आएकी कुरेनी केटीको थियो । गेस्टलाई लिएर उडेको हेलिकोप्टरले भुइँ छोडेपछि समुन्द्रतिर पुग्दा झन्डै पानीमा छोएजस्तो देखिछ र पो चिच्याकी रहिछे ऊ । क्याप्टेन एन्डी हेलिकोप्टर लिएर आएको बेला यसै गर्छ प्रायः हामी पनि आत्तिएका थियौं पहिलो दिन देख्दा । अहिले अभ्यस्त भयौं । खासमा फ्रिगेट आइल्याण्ड नजिकैको समुद्रमा एउटा भीमकाय सार्क माछाको बच्चा छ रे । , त्यो हेर्दै जान उसलाई मज्जा आउँछ अनि पानीको नजिक एकफेर हेलिकोप्टर पुर्याएर त्यो बालक सार्कको दर्शन गरीवरी फेरि आकाशिन्छ । यो कुरा मैले नै बुझाइदिएँ त्यो युवतीलाई ।
अनि छातीमा हात राख्दै लामो सास तानी। ‘Calm Down...!’ यत्ति भनेर त्यहाँबाट टाढिने उपक्रम गर्दै थिएँ । उसले पनि ‘Thank you so much...!’ भनेर एक मधुर मुस्कान फाल्न भ्याइहाली ।
‘वेलकम’ भनेर त्यो मुस्कानको छोटो जवाफ दिंदै त्यहाँबाट पाइला अघि बढाउनै लाग्दा एचआर म्यानेजर शेरिलिनले अनुरोध गरी – ‘यिनीहरूलाई स्टाफ क्यानटिनमा पुरयाइदेऊ न प्लिज ।’ मसँग क्लब कार थियो । हुन्छ भने । यही क्रममा परिचय पनि भयो । तिनै जनासँग हात मिलाउदै मैले आफ्नो नाम दिनेश भनें । दुइटा हब्सी केटामध्ये जगल्टेको नाम केविन र तक्लुको नाम रिचार्ड रहेछ । सुनकेशरी कुइरेनी केटीको नामचाहिँ जुलियाना । होटेल म्यानेजमेन्ट तालिमको लागि इन्टर्नशिप गर्न आएका रहेछन् एसटिए अर्थात् सेसेल्स टुरिजम एकेडेमीबाट । उनीहरुलाई स्टाफ क्यान्टिन कार पार्कमा ड्रप गरेर सँगै भित्र लगें, खानाको बफेट देखाइदिएँ र एउटै टेबलमा बसेर लन्च पनि गरियो । खाने क्रममा पुलुकपुलुक मतिर आँखा फाल्छे जुलियाना । लागु औषध दुर्व्यशनी जस्ता लाग्ने दुइटा हब्सी केटा आफ्नै सुरमा खाइरहन्छन् क्रेओल भाषामा कुरा गर्दै । ‘तिमी कुन देशबाट ?’ फुत्त सोध्छे जुलियाना ।
‘नेपाल ‘ छोटो उत्तर दिन्छु । ‘ओ नेपाले ।’ हब्सी केटाहरू लापरबाहीसाथ बोल्छन् ।
नेपाले होइन, नेपाली – म भन्छु । हामी सेसेल्वाको पारामा यसरी नै भनिन्छ – केविन बोल्छ । कति भयो यहाँ जब गर्न थालेको ? जुलियाना फेरि सोधिपठाउँछे ।
छिट्टो जवाफ दिन्छु – तिन वर्ष ।
– खुशी छौ ? फेरि सोध्छे ।
म भन्छु – ठिकै छ । अब सोध्ने पालो मेरो जुलियानालाई – ‘तिमीचाहिं कुन देशबाट ?’
– ‘सेसेल्सबाटै नि, किन र ? ’ हाँस्दै बोल्छे ऊ । ‘सेसेल्वा जस्तो देख्दिन र नि ।’ – म उत्सुकता जाहेर गर्छु ।
ओरिजिनल्ली हामी फ्रेन्च हौँ । दुई पुस्ता भयो सेसेल्वा भएको । म यहीं जन्मीहुर्की गरेकी । एसटिएमा होटेल म्यानेजमेन्ट पढ्दैछु यी दुई साथीसँगै – केविन र रिचार्डतर्फ मुन्टो फर्काउदै एकैसासमा बोली जुलियाना । ‘वास्तवमा सुपर मिक्स रङ्गहरुको देश हो सेसेल्स ।
पहिला फ्रेन्च र ब्रिटिश कोलोनी अनि अहिले स्वतन्त्र देश । उहिल्येदेखि थुप्रै रङ्गका मान्छेको बसोबास छ । हुन त यहाँका खास बासिन्दा हब्सीहरू नै हुन् । तर, ब्रिटिश फ्रेन्च अधिनस्थ हुँदादेखि नै संसारभरिका मान्छेहरू आएर बसोबास गर्न थालेकोले अनेक रङ्गका मान्छेहरूको सुन्दर देश बनेको छ सेसेल्स । भौगोलिक रुपमा, जनसंख्याको आधारमा र जमिनको क्षेत्रफलको हिसाबले निक्कै सानो देश भएकोले आजकलचाहिं यो देशमा अन्यत्र देशका मान्छेहरूलाई नागरिकता पाउन निक्कै कठिन छ । ’ फेरि मस्किदै भनी– ‘यदि यहींको नागरिकसँग बिहे गरे । केही सहज छ ।
यति त मलाई पनि थाहा थियो नै । मेरो मोबाइलको घन्टी बज्यो, एचआर म्यानेजर शेरिलिन बोली । ‘तिनीहरुलाई स्टाफ भिलेजमा पुरयाइदेऊ है । आज मसँग क्लब कार छैन । ’ मैले हुन्छ भने ।
अहिलेसम्म हामीले लन्च पनि खाइसकेका थियौं । पुनः आफ्नो क्लब कारमा बसालेर उनीहरूलाई स्टाफ भिलेजको कार पार्कमा ड्रप गरेर त्यहाँअवस्थित काज क्रेओल हाउससम्म पुरयाइदिएँ । जुन घरका दुई वटा कोठा उनीहरूको निम्ति रिसोर्टले तालिम अवधिभरको लागि व्यवस्था गरेको थियो । हाउस किपिङ टिमले उनीहरू बस्ने कोठा सजाएर चिटिक्क पारेको थियो । कोठाबाट चेरी एयर फ्रेश्नरको सुवासना मगमग आइरहेको थियो । धेरै धन्य भए मसँग उनीहरू । उनीहरुलाई पुनः स्वागतम् भनें मैले । नाइस टु मिट यु भनियो दोहोरो । फेरि भेटौंला शब्द साटियो अनि म छुटें त्यहाँबाट ।
म निस्किदै गर्दा जुलियानाले बडो प्रेमपूर्वक भनी – ‘Thank you for everything Dinesh, You are very nice person.” अलिक तल पुगेर काज क्रेओल हाउसतिर हेरें । बरन्डामा उभिएर हात हल्लाउंदै बाई भन्दै थिई जुलियाना । मैले पनि बायाँ हातले क्लब कार को स्टेरिङ्ग अचेट्दै दायाँ हात उठाएर बाई फर्काएँ। आम्मै जुलियानाले त फ्लाइङ किस पो पठाई । मलाई अचम्म लाग्यो । यी कुइरेनीहरू कति उदार मनका हुन्छन् नि । रोमान्चित हुँदै तीव्र गतिमा हुइकिएँ आफ्नो अफिसतिर । बेबी टरटोइजको सेल्टर अनि कन्जर्वेशन भोलिन्टियर बेस क्यामलाई दायाँबायाँ पारेर।
– हाई डेनिस, हाउ आर यु ?– जुलियानाले पछाडिबाट कुममा छुँदै बोल्दा झसङ्ग भएँ ।
मेरो नाम डेनिस होइन, दिनेश हो । थोरै रिसाएजस्तो गरेर भने ।
थाहा छ, तर डेनिस भन्न सजिलो लाग्यो । किन रिसाइहालेको त ? के मैले डेनिस भनेर बोलाएँ भने रिसाउँछौं तिमी ?– गहिरा आँखा मतिर हुत्याउँदै नरम बोली जुलियाना ।
– रिसाउन त किन रिसाउनु । तर, आफ्नै नाम प्रिय लाग्छ मलाई – मैले सामान्य जवाफ फर्काएँ ।
रिसोर्टको साइबर क्याफेमा छु । आफ्नो ल्यापटप बिग्रेकोले त्यहाँ आएको । एउटा अनलाइन पत्रिकालाई कविता पठाउनु थियो । जुलियाना पनि उसको अकोमोडेशनमा इन्टरनेट राम्रो नचलेकोले इमेल चेक गर्न त्यहीं आएकी रहिछे। छेवैको कम्प्युटरमा बसी । लेख्न थालेपछि म एकसुरे छु । डायरीमा भएका कविताका अक्षरहरू युनिकोडबाट कम्प्युटरमा सार्दैछु टाइप गरेर। उसका क्रिस्टल क्लिन आँखाहरू घरीघरी छड्के पाराले मतिर चिहाउन अभ्यस्त छन्। मैले थाहा पाएन भन्दी हो, तर व्यस्तताकै बाबजुद सबै कुरा नियालिरहेको छु । त्यसो त म पनि उप्रति त्यत्तिक्कै आकर्षित भइरहेको छु । म टाइप गरिरहेकै छु । उसले आफ्नो काम सकिछे ।सायद मुन्टो नजिकै ल्याएर बिस्तारो सोधी– यो कुन भाषा ?
– लौ कुन भाषा भन्नु ? नेपाली नि । क्रेओल होइन होला ? इङ्गलिस होइन होला ? – उसको सोधाइप्रति चित्त नबुझेझैं गरी म आफ्नै धुनमा जवाफ दिन्छु।
के लेखेको ?
कविता ।
कवि हौ ?
कहिलेकाहीं लेख्छु ।
English मा पनि लेख्छौ ?
होइन, नेपालीमा मात्र ।
English मा पनि लेख्ने गर प्लिज !
कोसिस गर्न सक्छु । तर, नेपालीमा जस्तो भाँती पुरयाउन सक्दिन होला। म गललल हाँस्छु । ऊ पनि मलाई हाँस्न सघाउँछे । यतिबेलासम्म कविता टाइप गरीवरी इमेल गरेर पठाइसक्छु म ।
– तिम्रो कविताको टाइटल के हो ? फेरि बडो जिज्ञासु पारामा सोध्छे ऊ ।
यतिबेला उसको सोधाइमा भन्दा ज्यादा उसको आँखामा गहिरो भाव मिसिएको अनुनय देखें मैले।
– तिमीलाई छुने रहर ।
– यसको इङ्लिसमा के हुन्छ ?
Desire to touch you !
ओ माई गड । – आँखा तन्काएर निस्सासिए जस्तो भई जुलियाना। गोरो अनुहार रातो हुँदा साँच्चै गुलाब नै हुँदोरहेछ । अलिअलि लजाएजस्तो,थोरै असहज अनि धेरै प्रेमिल भाव छल्किएको उसको मुहारमा फुलेको ओठ र गाला अचम्मै सुन्दर देखिए। टपक्कै टिपूँ लाग्ने फक्रेको गुलाबझैं । अलिकति सम्हालिएर फेरि ओठ खोली टाइटल नै यस्तो छ, भित्र केके होला नि?
– यो लभ पोएट्री हो । लभकै कुरा छन् । – मैले यत्ति बोलें।
पूरै इङ्लिसमा सुन्न पाए।
रहर गरी उसले । म बुझ्दछु उसको अन्तरात्माको चाहना। उसले बुझ्नेसम्मको कामचलाउ अनुवाद गरिदिएँ । सुनिसकेर फेरि लामो सास तानी । मलाई च्याप्पै अँगालो मारी अनि मायालु आवाज निकालेर मेरा आँखामा एकतमासले हेर्दै भनी – “ You are a truly great man. Its my great pleasure to meet such a poet like you here.”
यतिबेला झन् बढी निस्सासिने पालो मेरो थियो । यति कसिलो स्त्री अँगालो कहिल्यै भोगेको थिइन मैले आफ्नी आमाबाहेक। झन् विदेशी त्यसमाथि कुइरेनी । अचम्मै भए जस्तो लाग्यो । आँखा तिरमिराए। उसले मलाई अँगालोमुक्त पारेपछि एक लामो सास छोडेर उसैको आँखामा हेरें। उसका आँखा झन् प्रेमिल देखें। मेरो वाक्य फुट्नै सकेन। एकछिन त एक्कासि एउटा लघु शब्द फुत्कियो – ‘Thank you so much !’
म क्याफेटेरियाको प्यान्ट्रीमा कफी तयार पार्दै गर्छु, आऊ है ! - यति भनेर जुलियाना स्टाफ साइबरको ढोका खोलेर फुत्त बाहिर निस्की एक्कासी ।
मैले ट्वाल्ल परेर ऊ गएको बाटो एकोहोरो हेर्नु बाहेक केहि बोल्न सकिन l तर मनमनै सोचें- ‘साला, कुइरेनिहरु कति छिटा र उदार हुन्छन् जुन कुरामा पनि l’
अघिदेखि अलपत्र इमेलहरूलाई साइन आउट गर्छु । फेशबूक साइन इन गर्छु । जुलियानाले फ्रेन्ड रिक्वेस्ट पठाएकी रहिछ। एस्सेप्ट गर्छु । नेपालको घिनलाग्दो राजनीतिक अवस्था र आआफ्नै तालका केही समाचार अनि स्टाटस हेरिसकेर कम्प्युटर शट डाउन गर्छु र पुग्छु जुलियानाको कफी निम्तो मान्न । दुई कप नै कफी टेबलमा राखीवरी मलाई पर्खेर बसेकी जुलियानाको हातमा चुरोट पनि देखें । ठिक सामुन्ने बसेर मैले कफीको कप तान्नै लाग्दा मार्लबोरो चुरोटको बट्टा तेर्साई मतिर ।
मैले पिउदिन भनेपछि Sorry भनेर आफूतिरै फर्काई । मान्छेको अनुहार पढ्न सिपालु रहिछे जुलियाना। मैले चुरोटको धुवाँ मन नपराएर निधार खुम्चाएको कति छिटो बुझिछे । फेरी एक पटक Sorry भनेर जुरुक्क उठी र अलिक परको स्मोकिङ जोन मा गएर फुसफुस उडाउन थाली। म कफी पिउँदै उसैको क्रियाकलाप नियाल्दैछु। उसका पनि आँखा मैतिर तन्किन तल्लिन छन् । एकैछिनमा चुरोट सकेर टेबलमै फर्किहाली अनि खुरुखुरु कफी खान थाली । दुई चुस्की कफी खाएपछि मतिर उसका दुई वटा चोर नेत्र पठाई । चतुर मेरा आँखा पनि के कम उसैलाई पछ्याइरहेका थिए ।पक्रिहाली । गल्ती महसुस गर्दै उसका ओठ मुस्कुराए। माफी माग्दै मेरा दन्त हाँसे । केही बोलुँबोलुँ जस्तो लागेछ क्यार। वाक्य फुटाई– डेनिस, यो सन्डे मेरिना बिच जाउँ है ।
– फेरि मेरो नाम बिगारेको ?
– मलाई सजिलो लाग्छ नि त। तिम्रो नेपाली नाम अफ्ठेरो ।
–तिम्रो सेसेल्वा नाम पनि त अफ्ठेरो छ नि । जुलियाना कत्ति लामो ।
छोटकरीमा बोलाऊ न त – जुली... भनेर !
ओके ! किन जाने मेरिना बीच जुली.....?
स्मार्ट ब्वाई....! छुट्टी मनाउन नि !
को-को ?
तिमी र म मात्रै !
अनि तिम्रा ति दुई हब्सी साथी ?
उनीहरू अन्तै जान्छन् । कहीं जाँदा पनि छुट्दैनन् । यौटै कोठामा बस्छन्,यौटै बेडमा सुत्छन् । गे हुन् नि त तिनीहरू ।फरक्क आँखा फर्काएर लामो हाँसो छोडी जुलीले ।
मलाई पनि एउटा जिज्ञासा छ , सोधिहाल्छु– साँची, यो देश यति सानो छ । तर गेहरूचाहिँ कति धेर हो । यही आइल्याण्डमा पनि हेर त कति छन् ।
सेसेल्समा जात,धर्म,वर्ण,वर्ग,लिङ्गजस्ता मान्छेले मान्छेलाई छुट्ट्याउने कुनै पनि विभेद छैन । मानवाधिकार र व्यक्ति स्वतन्त्रताको महत्व ठुलो छ यहाँ। जसलाई जुन कुरामा इच्छा र खुशी छ त्यो गर्न पूर्ण स्वतन्त्र छन् यहाँका मान्छेहरु । समलिंगीहरुलाई होच्यायो भने कानुन पो लाग्छ यहाँ त । उसले मेरो जिज्ञासाको बडो चित्तबुझ्दो, घतलाग्दो र समानुपातिक जवाफ दिई ।
म घोरिएर मेरो देश सम्झिन्छु, जहाँ विभेद नै विभेद छ । मान्छेले मान्छेलाई चिन्दैन। राजनीतिक कर्मीहरुले जनतामा विभिन्न खाले जातीय,धार्मिक,वर्गीय र साम्प्रदायिक विद्वेषको बिउ छरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्दै छन् ।
‘म जान्छु ल ’ – जुलीले मेरो कुममा हात राख्दै भन्दा पो झस्किन्छु।
‘हुन्छ, फेरि भेटौंला है ।’ – फिस्स हाँसेर हात उठाउँछु।
‘आउँदो सन्डे, मेरिना बिचमा ।’ – जुली जुरुक्क उठ्छे र मेरो कानमै आएर फुसफुसाउँछे – ‘ त्यो कविता मेरै लागि लेखेको होइन त ? ’ यति भनेर फटाफट अघि बढ्छे । अलि पर पुगेर एक भुल्को रसिलो हाँसो पोख्दै पुनः चिच्याउँछे– ‘ होइन त । ’
म पनि आफ्नो कोठातर्फ लाग्ने मेसोमा आफुलाई तयार पार्छु । केही बोल्दिन हो भनौ कि होइन भनौ । एक मनले त भन्छ हो, तेरै लागि लेखेको मैले यो कविता । ऊ आफ्नो बाटो लागि । ग्राण्ड आन्स मोडबाट ओझेल परुन्जेल हेरें । त्यसपछि रोमान्चित हुँदै कोठातर्फ मोडिएँ म पनि ।
आइतबार अपरान्ह २ बजे नै मेरिना बीचको सन बेडमा ढल्किन पुगें । हातमा छ नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ । रिसोर्टमा गेस्टहरू कमै छन् । खासै चहलपहल छैन । गर्मी उखुम छ । बालुवा टल्केको छ । बिचमा लहरै उभ्याइएका छातामुनिका सन बेडमा उपरखुट्टी लाएर ढल्केको छु । क्रिस्टल क्लिन समुन्द्रको पानीमा हरक्षण आइरहने लहरले मन प्रफुल्ल छ । सानाठुला विविध प्रजातिका माछासँगै पानी कछुवा पुलुकपुलुक थुतुनो देखाउँछन् । एकछिन किताब पढ्न छोडेर रौसिएर हेर्छु तिनीहरूले देखाएको रमिता । जुलीले बोलाएकी थिई । अहिलेसम्म आएकी छैन । विदेशीहरू ढाँट्दैनन् भन्ने कुरा भ्रम हो किझैं लाग्दैछ । तत्क्षण इन्द्रकमलको फूलजस्तो नरम चिजले मेरो आँखामा स्पर्श गर्दछ पछाडिबाट । आफ्ना दुवै हात पछाडि लम्काएर छाम्छु । तिमीलाई मैले चिनिसकें – जुली भन्छु । खरायो जस्तो बुर्लुक्क उफ्रेर मेरो अगाडि टुक्रुक्क बस्छे र मधुर मुस्कान छोड्दै भन्छे – एस् स्मार्ट ब्वाई ।
हेर्छु जुलीको पहिरन अचम्मकै छ आज । बिकिनीमा उत्तेजक भएर आइछे । त्यसो त समुन्द्रको बिचमा आउने कुइरेनी, सारी सुटमा के आवस् त । छेउमा टाँस्सिएर बस्छे र सोध्छे– वाइन पिउने?
सँगै ल्याएको सानो झोलाबाट एक बोतल रेड वाइन अनि दुई वटा प्लास्टिकका कप पनि झिक्छे । म भन्छु – ‘नो, थ्यांक्स । ’
आश्चर्य माने झैं बोल्छे ऊ – ‘ तिमी त अचम्मको कवि रहेछौ , न सिगरेट पिउने न मदिरा पिउने ।’
म केही बोल्दिन । हाँसीहाँसी टारिदिन्छु।
ऊ फेरि सोध्छे – कहिल्यै पिउँदैनौ ?
पहिला अलिअलि पिउँथे। आजकल पिउँदिन – म हल्का जवाफ दिन्छु।
– आज मलाई एक्लै नपार प्लिज । मैले तिमी र मेरो लागि नै ल्याएकी यो । तिमीले मलाई सघाउनै पर्छ । बरु अरू दिन नपिउनू । आजचाहिं प्लिज । दुवै गिलासमा वाइन खन्याई अनि चियर्स भन्दै मेरो हातमा थमाइदीई। हार्न सकिन । वाइनको गिलास समाएँ र चियर्स गरें । आज धेरै दिनपछि वाइन खाएँ ।
म एकोहोरो समुद्रतिर हेरेको देखेर जुलीले सोधी– किन एकोहोरिएको ?
पिउँदैछु ! – मेरो छोटो जवाफ ।
के ? – उसले पनि फेरी छोटै प्रश्न राखी।
समुद्र !
वाइन कि समुद्र ?
समुद्र !
तिमीलाई वाइन मिठो कि समुद्र ?
समुद्र !
कारण ?
कारण थुप्रै हुन सक्छन् l तिमध्य एक – म प्रकृतिप्रेमी मान्छे हूँ, दुई – मेरो देशमा समुद्र छैन l
यो पटक जुली अनौठो पाराले गलल्ल्ल्ल हाँसी र पुनः अर्को प्रश्न फाली – के यो समुद्र हेर्दाहेर्दै पनि मनमा कविता लेख्छौ कवि तिमी ?
म भन्छु- ‘हो त , लेख्छु नि !’
‘कि लेखिसक्यौ ?’
‘मनमा त लेखिसकें, मतलव प्लटिङ गरिसकें l’
नसकिनेभो कविसँग !’ – फेरी एक सर्को हाँसो छोडी l सायद उसलाई वाइन हल्का लाग्दैछ l मैले त त्यहि एक गिलास पनि सकेको छैन, उसले २ पटक थपिसकी l
जुलीलाई वाइन लाग्दै गएछ। त्यसो त म पनि झुमझुम हुँदैछु । अलिक भावुक पाराले मप्रति सहानुभूति दिएजस्तो गरेर बोली ऊ – “तिम्रो देशमा समुद्र छैन। तर, तिमी समुद्रजस्तै शान्त छौ। सगरमाथाको देशबाट यो सामुद्रिक मुलुकमा आएका छौ, एन्जोय गर कवि। मन त तिम्रो कस्तो अटल छ साँच्चै सगरमाथाझैँ बुद्धभूमिबाट ल्याएको अलिकति बुद्दत्व मलाई पनि दिइराख है कवि। ” यति भनिसकेर झ्याप्पै अँगालो मार्दै तातो चुम्बन गरी मेरो निधारमा। म एक भन्नु न दुई भन्नु भएँ। त्यो कामोत्तेजक स्पर्श र चुम्बनभन्दा प्रिय उसले मेरो देशको बारेमा दिएको गर्विलो अभिव्यक्ति लाग्यो ।
मनमनै सोचे– विश्व मानचित्रमा नेपाल देश राम्रो पढेकी रहिएछे केटीले। त्यसो त हाम्रो चिनजान भएदेखिका कतिपय भेटमा मैले पनि केही कुरा त बुझाएकै छु।
अँगालोबाट हात छुटाउने सिलसिलासँगै मेरो चिउँड़ो उसको दायाँ हातले उचाल्दै मलिन अनुहार पारेर पुनश्च बोली ऊ– ‘डेनिस, मेरो इन्टर्नशिप सकिनै लाग्यो। एकदुई हप्तामै म यो आइल्याण्ड छोडेर जान्छु। भिक्टोरिया आएको बेला मलाई भेट्नू है। जेट्टीमा आएर मलाई कल गर्नू। म कार लिएर तिमीलाई पिक अप गर्न आउनेछु। ’
उसका कुराले मलाई पनि कताकता नमिठो लाग्यो। मसिनो स्वरमा सोधें– ‘ कहिले जाने ? केमा जाने ? बोटमा कि हेलिकोप्टरमा या प्लेनमा ? ’
अघि सम्मको घुर्मैलो अनुहार एक्कासी घमाइलो पारेर उसले भनि – ‘ आबुई.....बोटमा त म ट्राभल गर्नै सक्दिन, सी सिक हुन्छ l पोहोरको साल क्याटमारानमा चढेर लाडिग आइल्याण्ड जाँदा वमिट गर्दा-गर्दा झन्डै मरेको l अनि फर्किंदा चाहिं प्लेनमै फर्कें l त्यहाँदेखि म कहिल्यै बोट ट्राभल गर्दिन l ठुलाठुला शिप अथवा क्याट कोको सम्म ठिकै छ l यहाँबाट त म अस्ति आउँदा जस्तै हेलिकोप्टर या प्लेन मै हो जाने l’
सानोमा मलाई बसमा यात्रा गर्दा वमिट भए जस्तै हुँदोरहेछ यसलाई, मनमनै सम्झें l र, उसलाई ढाडस दिंदै भनें- ‘ Don’t worry dear ! Surely, you will get an empty leg Helicopter.’
फेरी एक पटक मलाई बेस्सरी अंगालोमा कसेर जुलीले भनि – ‘Thank you so much dear .’
वाइन सक्किसकेको थियो। साँझ पनि झमक्कै पर्दै थियो। समुद्रको क्षितिजमा अघिसम्मको सेतो सूर्य अब क्रमशः रातो हुँदै कालो हुने उपक्रममा थियो। अब आजलाई छुट्टिने निधो गरेर बीचबाट मेरिना कार पार्कमा निस्क्यौं हामी। मेरिना बिचमै गेस्ट डिनरका लागि तयारी गर्न आएका एफ एण्ड विमा काम गर्ने सेसेल्वा स्टाफहरूको गेटरमा लिफ्ट मागेर जुली आफ्नो अकोमोडेशनतर्फ हुँइकिई । म पनि हिंड्दैहिंड्दै आफ्नो बासस्थानको बाटो नाप्न थालें ।
रातभरि निदाउन हम्मे पर्यो मलाई। जुलीलाई कस्तो हुँदैछ, त्यो म जान्दिन । ‘पल्पसा क्याफे’ पनि सिर्फ चार पृष्ठ पढेर फ़र्काएको छु मेरिना बीचबाट। बाँकी सप्पै समय जुलीले नै खाइदिई । बालुवासरिको खुट्टा नधोई कोठाभित्र पसेछु । पछि आफ्नै पैताला बिझाउँदा पो थाहा पाएँ साकिराको फुटबल गीत । ‘ Coz this is Africa ‘ गुनगुनाउदै बाथरूम छिरेर नुहाउँछु l
पुनः कोठामा आएर ओछ्यानमा ढल्किंदै आफ्नै कविता ‘तिमीलाई छुने रहर ‘ पढ्छु । जुलीलाई भेट भएदेखि अहिलेसम्म कल्पिन्छु । म दिनेशबाट डेनिस भएको छु । जुलियानाबाट जुली भएकी छे ऊ । धूमपान,मदिरापान,पहिरन, अलिकति छाडापन र अस्वाभाविक हाउभाउबाहेक अरू त ठिकै लाग्छ । मायालु छे, मिठो बोल्छे र मेरा निम्ति मरिहत्ते पनि गर्छे । ऊ यस्तै सामाजिक वातावरणमा जन्मीहुर्की, अनि मैले ठेट नेपालीपन खोज्नु पनि त भएन उसमा । आत्माको स्वीकारोक्तिका साथमा उसलाई एकदम सहज रूपमा स्वीकारूँ यदि उसले प्रेम नै गरेकी हो भने । फेरि तुरुन्तै यथार्थमा फर्किन्छ मन –‘हेरू त कुइरेनीहरू यस्तै फ्र्यांक हुन्छन्, कहाँ बग्नु भावनामा बिनासित्ती ।’
सामान्य बेचैनी,छटपटाहट र सुस्केराकाबिच भावनाको नौका खियाउँदाखियाउँदै लखतरान थाकेछु क्यार । रातको अन्तिम प्रहरतिर निदाएछु । बिउझाउने मान्छे कोही नभएको र मोबाइलमा आलार्म लाउन पनि बिर्सेकोले अबेरसम्म सुतेछु । धन्न बिहानको ड्युटी थिएन त्यो दिन ।
अन्यत्रबाट गेस्ट लिएर आएको हेलिकोप्टर रित्तै फर्किनेभयो भने स्टाफहरू एम्प्टी लेगमा जानको लागि दाउ छोप्दछन् ।ि गेस्ट लिन आएको हेलिकोप्टर गेस्ट नै बाहेक खाली आउनेभो भने पनि उताबाट आउनेले त्यो सुविधा प्रयोग गर्दछन् । यो सुविधा रिसोर्ट र सम्बन्धित वायुसेवाबिचको आपसी सम्झौता हो । जुली पनि त्यस्तै सुविधा प्रयोग गरेर यहाँ आएकी थिई । अब फर्किंदा पनि उही सुविधाको सदुपयोग गर्न चाहन्थी । इन्टर्नशिप सकिएर माहे फर्किने दिन नजिकिदै थियो । उसको एक खालको अमिलोपन मनमा निचोरिन्थ्यो । त्यसलाई म जबर्जस्ती किलकिलेमै राख्थें, न निल्नु न ओकल्नुको दोसाँधमा । भेट पातलिदै थियो, कारण व्यस्त थिएँ म पनि र ऊ पनि कोर्षको प्याक अपमा अलमलिएकी थिई । कहिलेकाहीं साँझतिर मेरिना बिचमा टहलिन आउँथ्यो । युवायुवतीको एउटा मिश्रित समूह त्यहींभित्र कतै जुली पनि छे भन्ने कुराको प्रमाण उसले बेलाबेला निकालेको तिखो हाँसोले दिन्थ्यो । एक बेलुका स्टाफ बारमा बियर पिउनको निम्ति निम्तो गरेर फोन गरेकी थिई । तर, म उसको आमन्त्रण स्वीकार्न असमर्थ भएँ ड्युटीमा व्यस्त भएकोले । त्यसै पनि म सार्वजनिक स्थलमा खुलेआम मदिरापान गर्न रुचाउन्न ।
कस्तो खातिर गरेकी थिई र पनि मैले समय मिलाउनै सकिन l अलिअलि रिसाएजस्तो गरेर फोन झ्वाट्टै काटेकी थिई l भनेकी थिई- ‘Its Fine. Thanks !’ बबेलुका ११ बजेसम्मको ड्युटी सकेर, नुवाइधुवाई गरी एकछिन इन्टरनेटमा घुमफिर गरेर सुत्दा १ बजेको थियो होला । बिहान स्वभावैले अबेलासम्म सुतें। दिउँसो उठेर अफिस जाँदा पो बिहानको सिफ्ट गर्ने सहकर्मी प्याट्रिकमार्फत थाहा पाएँ ।जुली त बिहान साढे दश बजे गेस्ट लिएर आएको हेलिकोप्टरको एम्प्टी लेग पक्डेर माहे आइल्याण्ड भिक्टोरिया गइसकिछे । खास जानुपर्ने त भोलिपल्ट थियो, तर आजै गइछे किनभने भोलिपल्टको हेलिकप्टरमा एम्प्टी लेग सुविधा उपलब्ध भए पनि हेलिकोप्टर माहे आइल्याण्ड नभएर प्रालिन आइल्याण्डतर्फ डाइभर्ट हुने भएको पछिल्लो जानकारी फ्रन्ट अफिसबाट पाएपछि आजै मौका छोपिछे। बोटमा यात्रा गर्न त उसलाई सी सिकनेस हुन्छ भन्थी । प्याट्रिकको समाचार सुनेर एकछिन मौन व्रत बसें। त्यहाँबाट जुरुक्क उठेर सरासर कोठामा आएँ। एक कप कालो कफी बनाएँ । तीनचारचुस्की लगाएपछि बेस्कन हाँस उठ्यो। मनले बडो गज्जबसँग एउटा रमाइलो वाक्यांश निकाल्यो – साला, कुइरेनीहरूको भरै नहुने ।
प्रकाशित: १६ माघ २०७७ ०७:५५ शुक्रबार