कला

सिंह उहिले र अहिले

कविता

 

उहिले सिंहहरू  

ओडारमा बस्थे र मृग सिकार गर्थे

अहिले सिंहहरू  

सिंहदरबार ओडारमा बस्छन्  

र आफूजस्तै निमुखा सिकार गर्छन्  

उहिले सिंहहरू

जंगलमा षड्यन्त्र गर्थे

अर्ना, जेब्रा र जिराफ एम्बुसमा पार्थे

अहिले सिंहहरू

दरबारभित्र षड्यन्त्र बुन्छन्  

र आफूजस्तै निमुखाहरूलाई एम्बुसमा पार्छन्  

फरक यति छ

उहिले सिंहहरू  

ढुंगाको ओडारमा दिनभरि सुत्थे  

र रातमा सिकार गर्थ्यो

अहिले  सिंहहरू  

दरबारभित्र सुत्छन्  

दफा र उपदफामा सिकार गर्छन्

खसीको  टाउको देखाई  कुकुरको मासु बेच्छन् 

उहिले सिंहहरू

जंगल कब्जा गर्थे अधिपत्य जमाउँथे

अहिले सिंहहरू

अड्डा –अदालत अनि बस्ती कब्जा गर्छन्

अहिले सिंहहरू ओडारमा बस्दैनन्

अनि शिशमहलमा गर्जन्छन् 

उहिलेका सिंहहरू  

ब्वाँसाहरू लखेट्थे र आफ्नो सिमाना सुरक्षा गर्थे

अहिलेका कृत्रिम सिंहहरू  

आफ्नो वरिपरि हैकम जमाउँछन्  

सिमानाको बाघ भनेपछि सुरुवाल भिजाउँछन्  

आफ्नो आहारा नजराना टक्र्याउँछन्  

बस् यति फरक छ उहिले र अहिलेको सिंहमा । 

प्रकाशित: ५ माघ २०७७ ०६:५२ सोमबार

अक्षर