कला

दरबन्दी मिलान

लघुकथा

नारायण गिरि 

 

– के भो फेरि ! बूढीले अलि चर्को स्वरमा बोलेपछि बूढा झसङ्ग भए र भने– केही भा छैन। किन र अलि गम्भीर अनि चिन्तित जस्तो पो देख्दैछु र त हो । बूढीले जवाफसँगै शङ्का व्यक्त गरिन् ।

– चिन्ता त खासै केही होइन बूढी । अलि सोचमग्न भा’को हो , को कता जालान् भनेर  बूढाले बूढीको शङ्कामा घिउ थप्ने काम गरे । हन के भो फेरि सोचमग्न हुनुपर्ने  अनि को कता जानुपर्ने ।  फ्याट्ट भने त हुने नि।  किन होला मलाई औडाहामा हाल्ने ! बूढीले  सवालसँगै जवाफ फर्काइन् ।

एकछिन गमेपछि बूढाले भने – ह्या तिमी पनि त्यत्तिकै धेरै शङ्का र चिन्ता गर्छ्यौ क्या । त्यस्तो केही होइन भनेको ।  फेरि पनि बूढीलाई चिन्ताको भुमरीमा धकेलिदिएर चुप लागे बूढा । बूढी झन् चिन्तामा डुबिन् ।

बूढीलाई खटपटी लाको देखेर बूढाले मुख फोरे– दरबन्दी त अस्ति नै थपेर भर्ना खोलेका थिए । अब दरबन्दी मिलान पनि गर्न लाएका रहेछन् ।

बूढाले भन्न भ्याएका के थिए बूढी त झन् आत्तिइन् – लौन नि त्यत्रो लाखलाख खर्चेर कतिका खुट्टा परेर घरपायक सरुवा गराको जागिर अब कहाँ पुरयाउनु हुने यो बुढेस कालाँ ।  म जागिर खाने भा जानीँ थे।  हजुर नबोल्ने लपस्तरो भएर पनि हो के दुःख पाउने । बूढीले आत्तिदै भनिन् ।

बूढीको कुरा सुनेर बूढा मुसुमुसु मुस्कुराए । आफूलाई यहाँ कत्रो चिन्ता भइसको तिम्लाई हाँसो भा छ ।  घर छोडेर हिँड्न मन लाको होला नि । बूढी फत्फताउदै थिइन् । बूढाले रोक्दै भने – हाम्रो हैन के , भो चूपचाप लाग।

अनि कस्को हो त फेरि । अघि नै भन्नु पर्दैन ।  आफूलाई कत्रो टेन्सन भो ।  धन्न हाडफिल भ’को । बूढीले सन्तोषको सास फेरिन।

अघि नै भन्न त सुन्ने धैर्य नि गर्नु परयो नि । अलिकति सुन्नेबित्तिकै को, के र कहाँ नभनी नबुझी आफू मात्र परपर गर्छ्यौ अनि तिम्लाई टेन्सन नभएर कस्लाई हुन्छ त नि भन्दै बूढाले बेलीबिस्तार लाए – त्यो काठमाडौंमा ठूलो स्कूल खोलेर देशभराँ शाखा चलाएका सञ्चालकहरू थे नि, तिनीहरू छुट्टिएर दुई गुट भएछन् के । अब मास्टर र विद्यार्थीहरू बाँडफाँड हुँदै छन् । टाँइफाइ गर्ने, मीठो बोल्न जान्ने, अभिभावक प्रभाव पार्ने, केटाकेटी तान्न सक्ने मास्टरहरूको तानातान छ । तिनैलाई मिलाउन दरबन्दी नि थपेर दरबन्दी मिलान गर्दै  रहेछन् । को कहाँ जाने होलान् , यसो सोच्दै छु के।  

प्रकाशित: २४ पुस २०७७ ०७:१५ शुक्रबार

अक्षर