विद्याप्रसाद घिमिरे
नदीकिनारमा एक जोडी प्रेमलापमा मस्त थियो । प्रेमीले नदीको स्वच्छ जल हातमा लिएर कसम खायो, “म यो जीवनभर तिमीबाट छुट्टिने छैन ।”
अर्को जोडी पार्कमा गफिँदै थियो । केटोले अचानक भन्यो, “विश्वास गर । हाम्रो प्रेमलाई हामीले नै एक दिन सफल बनाउनेछौं । म आज तिमीसामु कसम खाएरै भन्छु कि तिमीलाई छोडेर म अरू कसैसित विवाह बन्धनमा बाँधिने छैन ।”
रेष्टुरेन्टमा दुई युवक चियाको चुस्कीमा व्यावहारिक गफ गर्दै थिए । एउटाले कुरो राख्यो, “यति सहयोग गर्नुभयो भने म तपाईंप्रति सधैं आभारी रहनेछु । म वृद्ध आमाबाबुको कसम खाएर भन्छु कि तपाईंबाट लिएको यो सापट रकम म एक महिनाभित्र फिर्ता गर्नेछु ।”
यस्तैयस्तै अनगिन्ती कसम खाइरहेको हुन्छ मान्छे । बीसौँ शताब्दीमा जर्मनका महान दर्शनवादी लेखक कार्ल जेसपर्सले “मानिस कसम लिने र निर्णय गर्न सक्ने क्षमता भएको प्राणी हो” भनेका छन् । यस भनाइको आधारमा मानिसबाहेक यस धर्तीमा कसम खाने र निर्णय लिने प्राणी अर्को छैन । मानिस कहीँ अरूलाई आफ्नो विश्वासमा पार्न कसम खान्छ त कही अरूप्रति आफू विश्वस्त हुन अरूलाई कसम खुवाउँछ । सायद अन्य प्राणीभन्दा चेतनशील भएकै कारण होला, जब अप्ठेरोमा पर्छ मान्छेले निमेषभर समय खेर नफाली कसम लिन्छ र दिन्छ पनि ।
आफूलाई अरूले विश्वास गरून् भन्ने आशमा कसम खाइन्छ र अर्को पक्षप्रति विश्वस्त रहनका निम्ति अरूबाट कसम लिइन्छ । के भविष्यप्रति आश्वस्त रहन मात्र मान्छेले कसमको लेनदेन गर्छ त ? होइन, हिजो भइसकेको काममा पनि कसम लिनेदिने गरिन्छ । कसम खाएपछि मानिसले झूटो बोल्दैन, यही विश्वासमा कसमको लेनदेन हुन्छ । अदालतमा बयान दिँदा व्यक्तिको मान्यताअनुसार धर्मग्रन्थ छुवाएर झूटो नबोल्ने कसम खुवाएको हामीले देख्दै आएका छौँ ।
विवादित विषय जब मुद्दाको रूपमा अदालत पुग्छ । सत्यसाँचो बोल्नका लागि दुवै पक्षलाई धार्मिक ग्रन्थ छुवाएर कसम खुवाइन्छ । के तपाईंले विचार गर्नुभएको छ ? अदालतमा दुवै पक्षले धर्मग्रन्थ छोएर मज्जाले कसम खान्छन् । दुईमध्ये एउटा पक्षले मात्र सत्य बोलेको छ भन्ने अदालतलाई थाहा हुन्छ । तर अचम्म ! त्यही अदालतमा दुवै पक्षले कसम खान्छन् र आपूm सत्य भएको दाबी गरिरहेका हुन्छन् । केहीबेरमा फैसलाले सत्य सार्वजनिक गर्छ भनेर थाहा हुँदाहुँदै पनि संकोच नमानी कसम खाइरहेको हुन्छ मान्छे । अब भन्नुहोस् जतासुकै कसम लिने मानिसको कसमको मूल्य कति होला !
सबै मानिस भीष्म हुँदैनन् । महाभारतका पितामह भीष्मको जस्तो इच्छामरण शक्ति सबैमा भइदिए कुरो बेग्लै । जीवित रहन चाहेको अवधिसम्म बाँच्ने तालाचाबी आफ्नै हातमा हुने भीष्मजस्ताले कसमलाई पूरा गरेर देखाउन सक्लान् । होइन भने सामान्य मानिसले मिनेट–मिनेटमा खाएको कसमको तौल कति होला ! वास्तवमा कसम भनेको पानीमा गरेको हस्ताक्षर हो, जसको कुनै मूल्य हुँदैन । यस्तो मूल्यहीन कसमले महत्व पाउनु अनौठो हो । यति धेरै महत्व पाएको कसमको मूल्य मानव जीवनमा कति छ ? यसबारे विवेचना गरौँ ।
सिकन्दरसँगको लडाइँमा राजा पुरुले विजय हासिल गरी छोड्ने कसम खाएका थिए । किनकि सिकन्दर धेरै परबाट आएको योद्धा थियो । आपूm जन्मे– हुर्केको परिचित भूमिमा भएको लडाइँमा पुरुले आफ्नो विजय सुनिश्चित देख्नु अनौठो थिएन । तर लडाइँमा पुरुको लज्जास्पद हार भयो । सिकन्दरका सिपाहीले बन्दी बनाएर पुरुलाई दरबारमा उपस्थित गराए । सिकन्दरले पुरुसँग सोध्यो, “तिमी मबाट कस्तो व्यवहार अपेक्षा गर्छौ ?” “एउटा राजाले अर्को राजालाई कस्तो व्यवहार गर्नुपर्छ, यो मैले बताइरहनु नपर्ला । एउटा सत्य नबिर्स कि हिजोसम्म म राजा थिएँ । एकै रातमा मेरो यो अवस्था होला भन्ने हिजोसम्म सोचेको थिइनँ । भोलि के हुन्छ कसैलाई थाहा छैन ।” भनी पुरुले जवाफ दिए । सिकन्दर गहिरो सोचमा परयो । अचानक उसले आदेश दियो, “पुरुको शरीरबाट जञ्जीर हटाइदेऊ ।” पुरुलाई बाँधेको जंजीर काटियो । सिकन्दरले सिपाहीलाई अह्रायो, “मेरो सिंहासनकै हाराहारीमा अर्को सिंहासन लगाऊ र सिकन्दरलाई सम्मानपूर्वक त्यसमा राख ।”
मानिसले खाएको शपथ, कसम वा बचनको महत्व यति नै हो । हिजोसम्म जित्छु भनी कसम लिएका पुरुको कसमलाई यहाँ कसरी लिने ? यसरी मानिसले लिएको प्रतिज्ञालाई समय र परिस्थितिले क्षणभरमै मूल्यहीन बनाइदिन सक्छ । राजामहाराजा होस् वा शक्तिशाली सेनाका सेनापति, जो भए पनि मानिस नै हो । आफ्नो हातमा के नै हुन्छ र मानिसले कसम खानु ? तैपनि ऊ हरेक क्षण म यसो गर्छु र उसो गर्छु भन्दै कसम खाँदै र बचन दिँदै हिँडिरहेको हुन्छ ।
त्यस्तै ‘सिकन्दर महान’को निकै चाखलाग्दो सन्देशमूलक जीवनी छ । कुनै न कुनै लडाइँमा नेपोलियन, हिटलरजस्ता महायोद्धाले समेत हार व्यहोरेको इतिहास छ । सिकन्दरले कहिल्यै कसैबाट पराजय भोग्नु परेन । सधैँ विजयको स्वाद चाखेको कारण उसलाई महान भनिएको हो ।
दार्शनिक अरस्तुबाट शिक्षा लिएको सिकन्दरलाई इतिहासका विभिन्न प्रसंगमा मातृभक्ति र गुरुभक्तिको उदाहरणीय व्यक्तित्व मानिन्छ । अहिलेको पञ्जाव राज्यसमेत आफ्नो कब्जामा पारेको सिकन्दर जब विश्वविजय अभियानमा मेसेडोनियाबाट पूर्वतर्फ जाँदै थियो, उसलाई गुरुले पूर्वको एउटा सन्यासीलाई साथमा लिएर आउनु भने । उनी देशवासीलाई पूर्वीय दर्शनबारे जानकारी दिन चाहन्थे । गुरुभक्त सिकन्दरले आफू फर्कंदा सन्यासीलाई लिएर फर्कने बाचा गरयो ।
पूर्वका धेरै भूभाग जितेपछि ऊ गृहनगर फर्कने तयारीमा थियो । उसले गुरुलाई दिएको बाचा सम्झ्यो र सन्यासी खोज्न सिपाही पठायो । सिपाहीहरूले एउटा सन्यासीलाई भेटेर सिकन्दरले भेट्न बोलाएको खबर दिए । सन्यासीले सिकन्दरलाई नचिन्ने बताए, जुन कुरा सिकन्दरलाई सुनाइयो । सुनेर उसले अपमानित महसुस गर यो । संसार जितेको सिकन्दरमा नाम, पद, शक्ति, धनको अभिमान थियो । विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिले बोलाउँदा चिन्दिन भनी भेट्न नचाहने व्यक्तिलाई पाठ सिकाउन आफै जानुपर्ने ठानी ऊ सन्यासी भेट्न गयो ।
वरपर क्षेत्रमा नाम चलेका सन्यासी सर्वाङ्ग नग्न थिए । नाङ्गो मान्छे देखेर सिकन्दर अकमकायो । सन्यासीले सिकन्दरलाई अपलक हेरिरहे, जुन हेराइ असामान्य थियो । उसले सोध्यो, “किन यसरी हेरेको ? के मलाई चिनेनौ, म सिकन्दर महान ।” सिकन्दरको आवाजमा दम्भ थियो । यो सुनेपछि सन्यासी च्याँट्ठिए, “चुप लाग् मूर्ख ! तँ कसरी महान ?” सिकन्दरले भन्यो, “सारा संसारलाई हराएर विजय हात पारेको छु ।”
यो दम्भले भरिएको जवाफ सुनेर सन्यासी चिच्याए, “पहिला म तेरो महानताको परीक्षा लिन्छु । आफ्नो राजधानी फर्कने क्रममा हिँड्दै जाँदा मरुभूमिको बीचमा बाटो बिराइस् र सेनासँग छुटिस् । त्यहाँ प्यासले छट्पटिएर जीवनको भीख माग्दै पानी...पानी...भनिरहेको बेला म तेरो अघिल्तिर यो एक लोटा पानी लिएर पुगेँ भने यसको बदलामा के दिन्छस् मलाई ?” सिकन्दरले भन्यो, “यस्तो स्थिति आए म आधा राज्य दिनेछु ।” उसको घमन्ड केही गिरेको देखेर उनले फेरि सोधे, “यति सस्तोमा म पानी बेच्दिन, के बुद्धिहीन ठानेको छस् मलाई ? यस्तो सुनौलो अवसर सजिलै हातबाट जान म दिन्न, कति दिन्छस् हिम्मत गरेर भन्, ज्यान जान लागिसकेको छ ?” सिकन्दरले केही सोच्नै सकेन । उसको मुखबाट अनायासै फुत्कियो, “यदि ज्यानै जाने अवस्था आए म पूरै राज्य दिनेछु ।” सिकन्दरको घमन्डलाई पूरै गिराएपछि सन्यासी चिच्याए, “त्यसो भए तँ के महान ? जुन राज्यप्रति घमन्ड गरिरहेको छस्, त्यो आज मेरो एक लोटा पानीमा बिक्यो । त्यसैले अभिमान नगर्, म एउटा कुरा भन्छु, जब तेरो अन्तिम घडी आउँछ, पूरै राज्य दिएर पनि क्षणभर समय किन्न पाउने छैनस् । तेरो राज्य मलाई चाहिएन, मैले दिएको राज्य लिएर तँ यहाँबाट गइहाल् ।”
संसार कब्जा गरेको सिकन्दरले पूर्वबाट फर्कंदा एउटा सन्यासीलाई लैजान सकेन । सिकन्दरजस्तो विश्वविजेताले समेत युद्धमा जानुअघि गुरूलाई दिएको वचन पूरा गर्न सकेन भने अरूको अवस्था के होला ? यहाँनेर उसको कसमलाई कसरी लिन सकिन्छ ? उसको बचनको मूल्य कति ?
भारत विजयपछि बेबिलोन पुगेको सिकन्दर फौजसहित मेसेडोनियातर्फ जाँदै गर्दा बाटैमा मरयो । मृत्यु भएको ठाउँबाट उसको दरबार चौबीस घण्टाको दूरीमा थियो । घरबाट हिँड्दा आमासामु “युद्धबाट फर्केपछि सारा संसार तिम्रो पाउमा चढाउनेछु” भनी कसम खाएर हिँडेको सिकन्दरले आमासँग भेट हुनुअगावै प्राण त्याग्यो । अन्तिम समयमा विश्व सम्राट सिकन्दर आफ्ना मन्त्री, सेनापति, वैद्य सबैका अगिल्तिर लाचार बनेर रोएको थियो । आमालाई भेट्ने तीव्र इच्छा थियो उसको । आफ्नो सारा राज्य र श्रीसम्पत्ति लिएर चौबीस घण्टा बचाइदिन सबैसँग याचना गरेको थियो उसले ।
अचानक सिकन्दरका आँखा रसाए । “जीवनभर सबैलाई मार्दै र विजयमा रम्दै हिँड्ने सकिन्दर कुनै दिन यतिसम्म लाचार बन्न सक्छ भनेर किन कसैले मलाई बताएन ? सिकन्दरले आफ्नो सारा जीवन अर्पिएर कमाएको वैभवले चौबीस घण्टा समय किन्न सक्दैन भने सिकन्दरले के कमायो र ऊ कसरी महान ? मृत्युपछि लाशको बाकसबाट मेरा दुवै हात बाहिर निकालिदिनु । हेर्नेलाई सन्देश मिलोस् कि, विश्वविजेता सिकन्दर पनि संसारबाट जाँदा खाली हात गएको थियो ।” यसरी जीवनको अन्तिम घडीमा पश्चातापमा जलेर मरेको थियो, सिकन्दर ।
यहाँ पनि सिकन्दरको कसम मूल्यहीन बनेको थियो । युद्धमा जानुअघि आमालाई “युद्धबाट फर्केर सारा संसार तिम्रो पाउमा चढाउनेछु” भनी कसम खाएर हिँडेको सिकन्दरले आमालाई दिएको बचन पूरा नगरी, बीच बाटोमा विश्राम लियो ।
मृत्युको अन्तिम घडीमा जीवनको सत्य कसैले नबताएको भनेर पश्चाताप गर्ने सिकन्दरको यो भनाइलाई अर्को एउटा प्रसङ्गले खण्डन गरेको छ । त्यो हो डायोजेनिजसँगको भेट । आआफ्नो इज्जत र प्रतिष्ठा बचाउन सक्षम यी दुई महान् व्यक्तिहरूको भेटलाई ऐतिहासिक घटना मानिन्छ । बिलकुल दुई विपरीत ध्रुवको मिलन पनि सम्भव रहेछ र जटिल परिस्थितिमा पनि दुवैले आआफ्नो आदर्श र चरित्रलाई बचाउन सक्ने रहेछन् भन्ने प्रमाण सिकन्दर र डायोजेनिजको भेटले देखाउँछ ।
एउटा भौतिक संसारमा चुर्लुम्म डुबेको सिकन्दर र अर्का घोर अपरीग्रही डायोजेनिज । सिकन्दर संसारकै अधिपति बन्ने चाहना बोकेर घरबाट निस्केको थियो भने डायोजेनिज सांसारिक वस्तु र वैभवले जीवनमा सुख दिँदैन भन्थे । एउटा धन, सम्पदा, पद, प्रतिष्ठा र शक्तिका प्रतीक र अर्का सबै कुरा त्याग गरेका नङ्गा फकिर ।
यो घटनालाई इतिहासमा प्रतिलोम अथवा विपरीत दुई ध्रुवको मिलन मानिन्छ । एकातिर तरबारको बलमा संसारकै अधिपति बन्ने महत्वाकाङ्क्षा बोकेर युद्धमा होमिएको सिकन्दर र अर्कातिर घोर अपरिग्रही डायोजेनिज । एउटा धन, सम्पदा, पद, प्रतिष्ठा र शक्तिको प्रतिमूर्ति र अर्का सांसारिक वस्तुलाई तृण बराबर ठानेर परित्याग गरेका फकिर । डायोजेनिज सांसारिक विषयभोगबाट यतिसम्म पर थिए कि, कुकुरले नदीबाट सिधै पानी पिएको देखेपछि सम्पत्तिको नाममा आफूसँग रहेको एउटा भिक्षापात्र समेत अनावश्यक ठानेर उनले मिल्काइदिएका थिए ।
एक दिन सिकन्दर कोरिन्थी पुग्दा त्यहाँका गन्यमान्य सबै सिकन्दरको दर्शनमा उपस्थित भए, तर डायोजेनिज त्यहाँ देखिएनन् । सिकन्दरको अपमान गर्ने मनसायले उनी नगएका थिएनन्, यो उनीभित्र रहेको अन्तर्चेतनाको प्रभाव थियो । डायोजेनिज ज्ञानी फकिर थिए र सबैलाई समान ठान्थे । सिकन्दर राजा होऊन् या रङ्क यसमा उनलाई लिनुदिनु थिएन । तर, सिकन्दरलाई डायोजेनिजको व्यवहार पचेन । गुरुबाट सन्तको अपमान गर्न नहुने उपदेश पाएको सिकन्दरको भित्री मनसम्म यो वाक्य गढेको थियो । यही शिक्षाको प्रभावले जीवनको अन्त्यसम्म सिकन्दर गुरुभक्तिको उदाहरणीय व्यक्तित्वमा गनिएको थियो । ऊ डायोजेनिजको असन्तुष्टि बुझ्न गयो । सिकन्दर पुग्दा डायोजेनिज नदीकिनारको वालुवामा सुतेर बिहानको घाम ताप्दै थिए ।
यसअघि सिन्धुकिनारका नागा साधुको दिव्य ज्ञानबाट प्रभावित भएको सिकन्दरले डायोजेनिजको अघिल्तिर शिष्टाचारसहित कुरा राख्यो, “तपाईंको मप्रति कुनै असन्तुष्टि भए भन्नुहोला । म तपाईंको हरेक इच्छा पूरा गरिदिनेछु ।”
सामान्य मानिस भए सिकन्दरको यो आग्रह जीवनकै सर्वाधिक अवसर हुने थियो । तर डायोजेनिजको अनुहारमा व्यङ्ग्य नाच्यो । उनले साधुशैलीमा जवाफ दिए, “तिमी त्यहाँ उभिँदा तिम्रो शरीरले मेरो घाम छेकेको छ । तिमी त्यहाँबाट हटिदियौ भने ममाथि ठूलो कृपा हुनेछ ।” यो जवाफ सिकन्दरका लागि अनपेक्षित थियो । डायोजेनिजको यो माग विपुल सम्पदाका धनी सिकन्दरको मान, शान र अभिमानमाथि एउटा गतिलो झापड थियो । सिकन्दरलाई त्यसै क्षण डायोजेनिजको अभ्यन्तरमा रहेको शान्ति, बोध र दिव्यता छर्लङ्ङ भयो । केही बेरसम्म डायोजेनिजलाई हेरेपछि सिकन्दरको मुखबाट अनायासै निस्क्यो, “यदि म सिकन्दर थिइनँ भने अवश्य डायोजेनिज हुने थिएँं ।” यहाँनिर सिकन्दरलाई आफ्नो मानसिक अशान्ति, उद्विग्नता र निर्धन सोचको आभास भएको हुनु पर्दछ ।
अतिवादले अतिवाद नै रोज्छ । अतिवादी सोचको मानिस बीचमा रहन चाहँदैन । एक अतिबाट अर्को अतिमा जान उत्सुक हुन्छ । सायद यस बेला सिकन्दरको मन यही मनोदशाले विचलित बनेको थियो । आम मानिसको जीवनमा विभिन्न अवस्था हुन्छन् भन्ने बुझेर पनि उसले बीचको अवस्थालाई छनोट नगरी विश्व सम्राटबाट आफू लाई सोझै डायोजेनिज बन्ने परिकल्पना गरेको थियो ।
कहिल्यै कसैसित नहारेको सिकन्दरले ३० वर्षकै उमेरमा आफ्नो वरपरको पूरै ज्ञात विश्वलाई आफ्नो बनाइसकेको थियो । ग्रिस, एसियालगायत केही क्षेत्र जितेपछि विश्रान्ति लिने उसको इच्छा थियो । युद्धमा हिँड्नुअघि ऊ पुनः डायोजेनिजलाई भेट्न गयो । सिकन्दर त्यहाँ पुग्दा ढुङ्गामाथि राखिएको खाना एकातिर कुकुरले र अर्कोतिर डायोजेनिजले खाइरहेका थिए ।
सिकन्दरले डायोजेनिजलाई आफू विश्वविजय यात्रामा जान बिदा माग्न आएको बतायो । “विजयपछि के गर्छौ ?” डायोजेनिजले सोधे । यो मेरो अन्तिम यात्रा हुनेछ । यसपछि विश्रान्ति लिने इच्छा छ, म फर्केपछि अवश्य विश्राम लिनेछु” भनी डायोजेनिजलाई वचन दियो । उसको वचनलाई मूर्खतापूर्ण भनी डायोजेनिजले व्यङ्ग्य गरे, “वचन ? कसम ? बाचा ? प्रतिज्ञा सबै व्यर्थ छन्, यस्तो बेकारको कुरा नगर । मान्छेको वचनको अर्थ के छ ? आजसम्म कसैले आफ्नो यात्रालाई टुङ्गोमा पुरयाएको मलाई थाहा छैन, सबै यात्रा बीच बाटोमा टुङ्गिन्छ । भोलि यसो गर्छु भनेर सुतेको मान्छे थाहै नपाई राति नै समाप्त हुन्छ । के विश्रामका लागि दुनियाँ जित्नुपर्छ भन्ने छ ? जागृति नभएसम्म विश्राम सम्भव छैन ।”
यति भनेर उनी कुकुरतिर फर्के । कुकुरलाई मित्र सम्बोधन गर्दै उनी बोल्न थाले, “हेर साथी ! के हामी विश्राममा छैनौं ? के विश्रामका लागि दुनियाँलाई मार्दै हिँड्न जरुरी छ ?” उनी पुनः सिकन्दरतिर फर्केर बोले, “हेर हामी दुई प्राणी विश्राममा छौं, मैले खाना र पानीका लागि एउटा भाँडो राख्थेँ । एकदिन म पानी पिउन नदीतर्फ जाँदै थिएँ, यो (कुकुर) पनि तिर्खाएको रहेछ, हाँफ्दै यसले बीच बाटोमा मलाई उछिनेर नदीमा पुग्यो र तृप्त हुने गरी पानी पियो । यदि यसलाई पानी पिउन भाँडो चाहिँदैन भने मैले मात्र किन यो भाँडोको चिन्ता गर्नू ? तत्काल भाँडोलाई नदीमा बगाइदिएँ । त्यो भाँडो पनि सम्पत्ति नै थियो । त्यो त्यागेको दिनदेखि म निश्चिन्त छु । न केही हराउने चिन्ता, न कतै छुट्ने डर, बोकेर हिँड्ने झन्झटबाट पनि मुक्ति मिल्यो ।
त्यही दिनदेखि यो कुकुरसँग मित्रता गासेँ । आखिर यो मेरो गुरु थियो । नगरवासीले फोहर फाल्ने कन्टेनर पुरानो भएपछि यहाँ ल्याएर छोडेका छन् । हामी दुवैको वर्षा, जाडो, गर्मी यही कन्टेनरले थेगेको छ । हामी मस्तले यसैमा विश्राम गर्छौँ । तिमी पनि आएर हामीसँगै बस्न सक्छौ ।”
आकाङ्क्षाहरू दुष्पुर हुन्छन् भन्ने नबुझेको सिकन्दरले विश्वविजय यात्रा सुरु गरयो । यस पटक गृहनगर छोडेर हिँडेपछि ऊ फर्केन । बीच बाटोमा ११ दिनको बिमारीले ३३ वर्षको अल्पायुमै उसको ज्यान गयो । परस्पर विपरीतधर्मी यी दुवै अतिवादी पुरूषले इसाको ३२३ सालअघि एकै दिन संसार छोडे । युद्धपछि विश्रान्ति लिन्छु भनी डायोजनिजलाई बचन दिएको सिकन्दरले यहाँ पनि वचन पूरा गर्न सकेन, र सदाका लागि संसार छोड्यो ।
प्रकाशित: १५ पुस २०७७ १०:०२ बुधबार