कला

अध्यात्मले सत्य ग्रहण गर्न सक्तैन

दर्शन

शीतल गिरी

 

प्रत्येक विचार–पद्धति आफूमा आफ्नो समयको प्रवृत्तिहरू धारण गर्छ र त्यसलाई प्रकट गर्दछ तसर्थ यसलाई सही रूपमा तब बुझ्न सकिन्छ जब हामी त्यस दृष्टिकोणलाई पहिले ग्रहण गरौं जसबाट संसारको व्याख्या गर्न, साथै त्यो स्वाभाविक प्रेरणा पनि बुझ्ने प्रयत्न गरौं । जसको कारण उक्त विचारपद्धति सम्भव हुन पनि सक्यो । बुद्धको जन्म भएको समयमा आर्यभूमिमा कसैको पनि एकछत्र साम्राज्य थिएन तर खास–खास गणजातिहरू र गोत्रहरूको शासक राजाहरू भने थिए, जो आफ्ना छुट्टै ससाना राज्य निर्माण गर्न प्रयत्नतरत रहन्थे । विभिन्न स्थानिय भाषाहरूको प्रयोग हुन्थ्यो र संस्कृतले सामान्यतः पवित्र भाषाको मान्यता पाएको थियो साथै वेदले रहस्यमय पवित्र ग्रन्थको रूपमा मान्यता पाइसकेको थियो । त्यस समयमा पौरस्त्यका प्रसिद्ध छ दार्शनिक सम्प्रदायहरूको पूर्ण विकास भइसकेको थिएन ।  यद्यपि त्यस किसिमको कल्पनाको भाव जसको कारण उक्त दर्शनपद्धतिहरूको रचना पछि गएर सम्भव हुन सक्यो। त्यस समयमा आफ्नो कार्य भने गरिरहेको थियो । त्यस समय सम्पूर्ण वातावरण परस्पर–विरोधी मन्तव्यहरू र कल्पनाहरूको एउटा शशीभूत पुञ्जले परिपूर्ण थियो, जसलाई एउटाले अंगीकार गथ्र्यो त अर्कोले मान्न निषेध, जो व्यक्तिको साथमा बदलिन्थ्यो एवं वैयक्तिक आचरण, भावनाहरू एवं तिनको निर्माताहरूको आन्तरिक इच्छाहरूलाई प्रतिविम्बित गर्दथ्यो ।

त्यस समयमा जगत् र आत्माको नित्यता, अनित्यता, अथवा दुईमध्ये एउटा वास्तविकता, मृत्युपछि पनि आत्माको अस्तित्व एवं इच्छाको स्वातन्त्र आदिको विषयमा संवाद आफ्नो पूर्ण विकसित अवस्थामा आइसकेको थियो।

केहीले परमेश्वरलाई सर्वोपरि स्वीकार्थे । केही परिष्कृत अध्यात्मविद्या–सम्बन्धी कल्पनाहरूको निर्माणमा व्यस्त थिए।  यसको विपरीत, अर्कोतिर त्यस्ता पनि थिए जो ती कल्पनाहरूको खण्डन गर्नमा नै परिश्रम गरिरहेका थिए । त्यस समयमा हामी निग्गण्ठ भेट्दछौं जसले आफूलाई सबै बन्धनबाट मुक्त भएको भन्दथे, श्रमण भेटिन्थे अर्थात् यस्ता तपस्वी जो ब्राह्मणहरूभन्दा फरक र जसले संसार त्यागेमा मात्र आत्माले शान्तिलाभ पाउँछ भन्दथे। यस्ता पनि थिए जसले आत्मनियन्त्रणका लागि दीर्घकालसम्म अन्नग्रहण गर्न त्यागिदिन्थे, यस्ता पनि थिए जसले आफ्नो आत्माभिमानको कारण आफूभन्दा ठूलो ज्ञानी अरूलाई ठान्दैनथे जस्तो सच्चक, जसले घृष्टताको साथ यहाँसम्म भन्यो, “यस्ता कोही पनि श्रमण, ब्राह्मण, शिक्षक, आचार्य अथवा कुनै सम्प्रदाय–विशेषको प्रधान–भलै उसले आफूलाई पवित्रात्मा, सर्वोपरि बुद्ध नै किन नभनोस्— छैन जो यदि शास्त्रार्थ गर्न मेरो सम्मुख पर्ने साहस गरेमा नलर्बरियोस्, काम्न नथालोस् र डरले गर्दा पसीनै पसीनाले निथ्रुक्कै नभिजोस् । र यदि म एउटा जड खम्बामा पनि आफ्नो वाणीले प्रहार गरे भने त त्यो पनि लर्बराउँछ र काम्न थाल्छ, अनि त मनुष्यबारे के भन्ने ।” १  

अध्यात्मविधातर्फ प्रवृत्ति रहने ती मानिस हुन् जो कल्पनापरक साहित्यको मार्गबाट स्फुरित हुँदाहुँदै पनि सत्य ग्रहण गर्न सक्तैनन् । पारलौकिक कल्पनाहरूको सूक्ष्म विभेदले अथवा अविराम प्रश्नात्मक प्रवृत्तिले, अथवा दार्शनिक सम्प्रदायहरूको जटिल वादविवादद्वारा तर्कलाई सूक्ष्म विभेदहरूले अथवा अविराम प्रश्नात्मक प्रवृत्तिले, अथवा दार्शनिक सम्प्रदायहरूको जटिल वादविवादद्वारा तर्कलाई सूक्ष्म र परिमार्जित गर्नाले आत्माको मोक्ष प्राप्ति गर्न सक्दैन । विचारको क्षेत्रको अव्यवस्थाले नैतिक क्षेत्रमा पनि अव्यवस्था ल्याउदछ । बौद्धधर्ममा अध्यात्म विद्या या परलौकिकशास्त्रको जे जति विषय हामी पाउँछौं, त्यो मौलिक ‘धम्म’ होइन, अपितु त्यसमा पछिबाट थपिएको हो, अर्थात् अभिधम्म हो । बौद्ध धर्म अनिवार्य रूपले मनोविज्ञान, तर्कशास्त्र र नीतिशास्त्रको समुच्चय हो, त्यसमा अध्यात्मशास्त्र सन्निविष्ट छैन । त्यस समय देवीदेवताहरू र प्रेतात्माहरूको नै शासन जनसाधारणहरूको मनमा थियो, जसमा क्षति पुगाउने र दुःख दिने शक्ति थियो, साथै खुसी भएर वरदान दिने र गौरवान्वित गरिदिने पनि शक्ति थियो । धेरैजसो मानिस वैदिक धर्मलाई बडो श्रद्धासाथ मान्दथे, जसरी युरोपका ती मूर्ति पूजा गर्नेहरूले जसरी धनी–सम्पन्नशाली बन्ने अभिलाषा लिएर अग्निदेवतासम्मुख शिर झुकाउँथे र आफ्नो गृहसामग्रीको दशौं भाग अर्पण गर्दथे। विमारीबाट छुटकारा पाउन एस्कूलापिअस नामक देवतालाई भाले चढाउँथे। ती मानिस देवताहरूलाई प्रसन्न पार्न लागिरहन्थे । यहाँसम्म कि एकेश्वरवादीहरूको परमेश्वरलाई यदि कसैले अपहेलना गरेमा क्रुद्ध बन्दथे ।  क्रोध शान्त भएपछि क्षमाशील पनि थिए । परमेश्वर प्रतिशोधको स्वभाव भएको युद्ध देवता, हामीसँग जस्तो चाहन्थ्यो व्यवहार गर्दथ्यो र युद्धमा हामीलाई शत्रुहरूसँग सामना गर्ने आदेश दिन्थे । धू्रमकेतु उसको कोपको प्रतीक थियो, जसलाई पापपूर्ण संसारमा चेतावनी गराउन निमित्त प्रेषित गरिएको थियो । चमत्कार त्यस समयमा साधारण घटना मानिन्थ्यो । यदि हामी खराब छौं त उत्तरदायी त्यही परमेश्वरको हो, यदि राम्रा छौं भने तब पनि उत्तरदायी त्यसैको हो।

प्रत्येक पाप कर्म परमेश्वरको नियमको उल्लंघन हो र उसलाई खुसी पार्ने एउटा मात्र उपाय पश्चात्ताप  गर्नु एवं धूलोमा लडीबुडी गर्नु हो । मानिस पापको स्वाभाविक परिणामहरूप्रति उदासीन रहन्थे। यद्यपि मौलिक रूपले कर्मप्रति निष्ठा देखाउने गर्थे । परिणाम त धर्मलाई जीवनभन्दा अलग ठान्दथे र परमेश्वर एवं संसार एकअर्काका विपरीत थिए । परमात्माको विषयमा मिथ्या विश्वासको कारण मानिसको नैतिक जीवनमा ठूलो क्षति पुग्यो । यस संसारमा आधार शास्त्र र धर्मलाई एकअर्कामा मिश्रित गरिदिएको हुँदा कतिपय खराबी भयो— यसको अनुमान लगाउन गाह्रो छैन।

 कल्पनाको आधारमा संशयवादीहरूका लागि सदाचारी हुनु आवश्यक छैन । कमजोर विश्वास भएको व्यक्तिले सदाचारनीतिको आज्ञा अवहेलना गरयो भने कुनै आश्चर्य हुँदैन । एउटा यस्तो धर्मको प्रचारद्वारा जसले यस्तो घोषणा गर्न सकोस्, जस्तो— प्रत्येक मनुष्य पुरोहितहरूको मध्यस्थता नलिएर अथवा देवीदेवताहरूमा विश्वास नगरेर पनि आफ्नो लागि मोक्ष प्राप्त गर्न सक्दछ, जसले मानवीय स्वभावप्रति प्रतिष्ठालाई बढाएर नैतिकताको भावनालाई पनि उन्नत पार्नेछ । बुद्धको प्रचारको उपरान्त प्राकृतिक नियमहरूको स्थिरता एवं व्यापकतामा विश्वासले एक किसिमले मानवीय आत्मामा स्वाभाविक अन्तः प्रेरणाको रूप लियो।

कर्मको सिद्धान्त यसको व्याख्या गर्नका लागि पर्याप्त छ । बुद्ध उपनिषद्को कल्पनाको समर्थन गर्दै सेंट पालका निर्णयको पूर्वकल्पना गर्दछन्, जब उनी भन्दछन्, “आश्चर्य छ ईश्वरको विवेक एवं ज्ञानको विपुल राशि यति अगाध छ, एवं उसको निर्णयहरूको पनि खोजी गर्न सकिन्न।  उसको कार्य गर्ने पद्धति पनि थाहा पाउन सकिन्न ।”२ यसकारण उनका शिक्षाहरू तुच्छ मिथ्या विश्वासको अस्तव्यस्त अवस्थामा मिसिएर हरायो । शाक्य बुद्धको मनमा विचार आयो ।  म यहाँ यस जम्बु द्वीपमा जन्मिएको छु – यस्ता मानिसहरूरूको बीचमा जसको अगाडि तिर्थिकाहरू अथवा सत्यको प्रकाशकहरूले  घेरिरहनाले बौद्धिक मुक्तिको कुनै आशा बचेको थिएन।  र यो यस्तो समय थियो, उनको अन्तर्निहित शक्तिहरू विषयासक्तिरूपी गोहीको पकडमा पर्नाले वक्रगतिमा आएको थियो । मूर्ख व्यक्तिहरूमध्ये कतिपय त यस्ता थिए जसले आफ्नो मन्त्रहरूको अर्थ पनि बुझ्न सक्दैन थिए । केही त आफ्नो हात चाट्दथे । केही भने एकदम मलीन थिए। केहीलाई त मन्त्रको पनि ज्ञान थिएन। केही अरू धर्मशास्त्रको खोजीमा यताउति डुल्दथे।  केही यस्ता पनि थिए गाई, हरिण, घोडा, सुंगुर, बाँदर अथवा हात्तीजस्ता पशुको पूजा गर्दथे । कोही आफ्नो तपश्चर्या साधनाका लागि धुवाँ र आगोलाई पनि निल्ने प्रयत्न गर्दथे साथै सूर्यतर्फ एकोहोरो हेरिरहन्थे, पंचाग्निपूजा गर्दथे।  एउटा खुट्टाको भरमा उभिन्थे भने कोहीचाहिँ एउटा हातमाथि उठाइरहन्थे । विविध कष्ट सहिरहन्थे ।

यस्ता पनि मानिस थिए जसको भनाइ थियो, तपस्याद्वारा देवताहरूलाई आफूअनुकूल बनाउन सकिन्छ । मिथ्या विश्वासको बर्बरताले त्यागको सौन्दर्यलाई मलीन पारिदियो, अथवा यसो भनौं कपलक्क निल्यो । साधारण मानिसहरू मिथ्या विश्वासको विविध क्रियाकलापमा एवं अनुष्ठानहरूमा फसेका थिए जसको विधान यस्ता मानिसहरूले बनाएका थिए जो आफ्ना अन्धभक्तहरूद्वारा दिइने भोजनमा पालिएका थिए र जसलाई बुद्धले “प्रवंचक एवं नाम मात्रको पवित्र शब्द उच्चारण गरेर पेट पाल्ने निकम्मा, अल्छी, शुभअशुभ बताउने, भूतप्रेत भगाउने जान्ने, सधैं ठगी गरिरहने आदि नामले सम्बोधन गर्दथे ।”३ बुद्धको मनमा यस्ता वास्तविक ब्राह्मणहरूका लागि जसले ब्रह्मको सन्देश भन्न सक्दथे, “मलाई सुन अथवा चाँदी केही पनि चाहिदैन। न म सुनचाँदीको मोहमा नै पर्दछु”, हार्दिक प्रशंसाको भाव थियो । धनसम्पत्तिद्वारा मोक्ष प्राप्त गर्ने पद्धतिले मानवीय हृदयको अन्तस्तलका आवश्यकताहरू समाधान गर्न सक्तैन । बुद्धले सम्पूर्ण मिथ्या विश्वासीहरूलाई जसलाई साधारण मानिस धार्मिक नियमहरूको अभिन्न अंग मान्ने गर्दथे, पूर्णत खोक्रो पाए । बुद्धले देवताहरूको दिव्यताको खण्डन गर्नुभयो । मानिसहरू आत्मा परिवर्तन चाहिरहेको थियो । तिनीहरू मिथ्यावादीहरूको विश्वास टुट्नाले कुनै राम्रो सिद्धान्तको खोजीमा लागेका थिए । बुद्धले सत्यप्रति हृदयमा उब्जने स्वाभाविक अभिलाषातर्फ संकेत गरे र भने कि त्यही शिव र सुन्दर हो ।  

जस्तो यूनान देशमा प्लेटो र अरस्तूको महत्वपूर्ण अध्यात्म विद्यासम्बन्धी दर्शन पद्वतिहरूपछि स्टोइक र एपिक्यूरियनको नैतिक कल्पनाहरू आयो, ठीक त्यसैगरी प्राचीन भारतमा पनि भयो । यदि नीतिशास्त्रको निर्माण अध्यात्मशास्त्र अथवा परमार्थविद्या जस्तो बालुवाको घर बनाउने हो भने त त्यो निश्चय नै भत्किन्छ । प्राचीन बौद्ध धर्मले परमेश्वरको पूजाबाट मानिसको ध्यान हटाएर, मनुष्य समाजको सेवा गर्नेतर्फ आफ्नो प्रत्यक्षवादसंग सादृश्य राख्दछ । एउटा यस्तो धर्म प्रवर्तन श्रेय सिद्धार्थ गौतमलाई छ जसले रुढिवादी, पुरोहित वर्गको आधिपत्य, एवं यज्ञ–यागसम्बन्धी निरर्थक क्रियाकलापबाट सर्वथा मुक्त दिए र जो हृदयको आन्तरिक परिवर्तन र आत्मसंस्कृतिमा धेरै जोड दिन्थे । उनले स्पष्ट घोषणा गरे— चरित्रलाई निर्दोष बनाएर पुण्य कर्ममा प्रवृत्त हुँदा मात्र मोक्षलाभ प्राप्त गर्न सकिन्छ । बुद्धअनुसार, सत्य अज्ञानको कारण नै संसारमा सबै किसिमको दुखहरूको सृष्टि भएको हो । प्राचीन बौद्ध मतको शिक्षाहरूमा हामी तीनवटा सुस्पष्ट विशेषता पाउँछौ्, अर्थात्— एक किसिमको नैतिक तत्परता, परमार्थ विद्यासम्बन्धी प्रवृत्तिको अभाव एवं अध्यात्मशास्त्र सम्बन्धी कल्पनाप्रति अरुचि अथवा त्यसबाट विमुखता।

बुद्धको समयमा जब आत्मजिज्ञासा एवं आत्मपरीक्षाको साथसाथै मानिसहरूले धेरै तीक्ष्ण दृष्टिको साथ ती सबैलाई जो त्यतिबेलासम्म कुनै विचारबिना नै स्वीकार गरिएको थियो— हेर्न थाले, जुन असम्भव थियो, विश्वास गरेर आलोचना बिनानै छाडिन्थ्यो । बुद्धले समीक्षक भावनालाई ग्रहण त गरे तर त्यसको मर्यादा पनि तोक्न उचित ठाने । उनका विचार पद्धतिहरू र क्रियात्मक प्रयोग एक किसिमको व्यावहारिक कल्पनाहरू नै त हो, जसद्वारा परवर्ती समयको मनुष्य आफ्ना महत्त्वाकांक्षाहरूलाई पूर्ण बनाउने प्रयत्न गर्दछन् र बढ्दै गएको ज्ञान एवं उन्नतिशील आन्तरिक प्रेरणामा सामञ्जस्य स्थापित गर्दछन् । संशयवादको भावनाले आफ्नो कार्य आरम्भ ग¥यो । विवेकी विद्वान धेरै विस्तृत कल्पनाको निर्माणमा निमग्न थिए, जसको आधारमा जीवनयापन सफल हुन सकोस् एवं जसद्वारा मनुष्यको स्वाभाविक महत्त्वाकांक्षाहरूको, जसलाई उच्छेद गर्न सकिन्न, अनुभवहरूबाट प्राप्त सामग्रीसँग सामञ्जस्यमा ल्याउन सकिन्छ । प्रचलित मिथ्या विश्वासहरूविरुद्ध जुन प्रतिक्रिया आफ्नो स्थान जनतामा बनाइरहेको थियो त्यसले बुद्धको मनलाई प्रभावित गरयो । उनले आफ्नो युगको भावनालाई लक्ष्य गरे र विवेकी पुरुषहरूको सन्दिग्ध र क्रमविहीन भावनाहरूलाई वाणी प्रदान गरे, जसले गर्दा उनी प्रकट रूपमा जनताको अगाडि आउन सके । हेगेल कुनै प्रतिभाशाली व्यक्तिको उसको युगसंग कस्तो सम्बन्ध हुन्छ यसको तुलना यस्तो व्यक्तिसँग गर्दछ जो कुनै बुट्टा कुँदिएको आकर्षक छतमा अन्तिम ढुंगा त्यसलाई बलियो पार्न लगाउँछ । बुद्धको हात यस्तै किसिमको एक महान कलाकारको हात थियो जो आफ्नो समयको संसारकै महानतम विचारक थिए । जहाँ एकातिर बुद्धका विचार पद्धति प्रचलित समीक्षाको लहरको अभिव्यक्ति मात्र थियो, त्यही अर्कोतिर आफ्नो उद्देश्यद्वारा प्रचलित समीक्षाको लहरलाई प्रतिकूल दिशामा घुमाएर यथार्थ सत्ताको आध्यात्मिक अर्थहरूमा (धार्मिक अर्थमा होइन) सत्य विचारलाई सृदृढ पार्नु पनि थियो।

हामी बुद्धलाई हेतुवादी भन्न सक्दैनौं किनभने हेतुवाद या मुक्तिवादको परिभाषामा “धार्मिक विश्वासहरूलाई नष्ट गर्न तर्क प्रयोगको जुन मानसिक प्रवृत्ति छ त्यही आउँदछ ।” ४एउटा निरपेक्ष सत्य जिज्ञासु भएको हुँदा उनले आफ्नो मनमा कुनै किसिमको पक्षपातलाई अघिबाटै ठाउँ दिनुभएन । अलौकिक ईश्वरको विषयमा बुद्ध आधुनिक वैज्ञानिकहरूसँग एकमत हुनुहुन्छ, जसको सम्मतिमा प्राकृतिक घटनाहरूको व्याख्यामा कुनै अलौकिक सत्ताको हस्तक्षेपको प्रवेश हुनु हुँदैन । यस कुरालाई राम्ररी अनुभव गर्न यस्तो समय जब सबै किसिमको विश्वासमाथि श्रद्धा घटिसकेको थियो, श्रद्धामा जोड दिनाले कुनै लाभ हुँदैनथ्यो, उनले तर्क र प्रत्यक्ष अनुभवमा धेरै भर पर्नुभयो र आफ्नो मततर्फ जनसाधारणलाई आकर्षित गर्न तर्कबल मात्र प्रयोग गरेका छन् । उनले कहिले पनि आफूलाई अवतार हँु भनी प्रचार गर्न उचित ठानेनन् । उनी आफ्ना अनुयायीहरूका अगाडि ती अनुभव मात्र प्रस्तुत गरे जसबाट उनी स्वयंले पालन गरी बुझेका थिए र उनले अनुयायीहरूलाई प्रेरणा दिने गर्दथे, ‘तिमीहरू आफ्नो तर्फबाट पनि मेरो विचारहरूलाई व्यवहाररूपी कसीमा जांचेर यथार्थ बुझ अनि मात्र पालन गर ।’

बुद्धले मानिसहरूलाई मोक्ष दिलाउने कार्य गरेनन् बरु त्यस पद्धतिको उपदेश दिने गर्थे जसलाई पालन गर्नाले तिनीहरू आपसेआप मोक्षप्राप्त गर्न सक्दछ, जसरी उनले सत्य प्रचारबाट आकृष्ट हुन्थे। यसकारण होइन कि बुद्धले यस्तो भनेका थिए, तर उनको वाणीबाट जागृति प्राप्त गरेर उनको मतहरूको प्रकाशमा, जे जति उनले उपदेश दिनुभयो, सुन्नेको वैयक्तिक ज्ञान उदय हुने गथ्र्यो ।५  यसैगरी दुःखले व्याकुल मनुष्य–मनमा आफ्ना विचारहरूको यथार्थ एवं पक्षपातरहित निष्कर्षहरूलाई अभिव्यक्तिद्वारा आध्यात्मिक उन्नतिको मन्त्र फुके । यस किसिमबाट अध्यात्मशास्त्रसम्बन्धी कल्पनाहरूलाई एकातिर राखेर उहाँले अनुभवमा पाइएको यस जगतमा कानून र व्यवस्थाको शासनको खोजी गर्नुभयो ।

नोट १ं) ओल्डनवर्ग – “बुद्ध” पृष्ठ ७० ।

२) सेंट पाल – “रोमान्स” ।  

३) रीज डेविड्स – “बुद्धिष्ट इण्डिया” पृष्ठ २१५ ।

४) बेन – “हिस्ट्री आफ इंग्लिस रेग्निलिज्म इन द नाइनटींथ सेंच्युअरी” खण्ड १, पृष्ष्ठ ४ ।

५) ओल्डनबर्ग – “बुद्ध” ।

प्रकाशित: १५ पुस २०७७ ०८:४५ बुधबार

अक्षर