गोम विक्रम
– कति साह्रै पातली । कहिल्यै जीउ लिन सकिनस् हगि ? जहिले पनि यस्तै देख्छु । कति छेस् नि अहिले ?
– ३५ किलो ।
– घर राम्ररी खान दिँदैनन् कि ? दुब्ली पनि कस्तो सुकेनास लागेजस्तो । खाने बेलामा धपाएजस्तो ।
धेरै जसो सुस्मितालाई यस्तै भनेर जिस्काउँथे ।
धारा, कुवा, मेलापात, जता पनि उसकै दुब्लो र पातलोपनबारे चर्चा चल्थ्यो ।
– साँच्चै भिटामिनको मोटाउने सुई पाए पनि लगाउँथे होला । जसले पनि सोधेरै हैरान पारे त बा । जवाफ हुन्थ्यो उसको ।
निकै फरासिली, रसिक स्वभावकी सुस्मीलाई आफ्ना साथीहरूले स्लिम सुन्दरी भनेर पनि भन्ने गर्दथे ।
केही वर्ष बित्यो । पहिले जति पातली भए पनि अहिले सुस्मीमा आकाश– जमीनको अन्तर थियो । ऊ अहिले त्यस्ती पातली थिइन । उसको तौल ६५ किलोभन्दा कम थिएन । पुटुक्क गाला, सुडौल जीउ, श्रृंगार र वेशभूषा हेर्दा निकै आकर्षक देखिन थालेकी थिई । कहिले कुन कहिले कुन व्युटीपार्लरमा भेटिन्थी । अचेल भने साथीहरू उस्तै तारिफ गरिरहन्थे । कुनै सिनेमाकी नायिका वा मोडलभन्दा कम थिइन । कहिले कोसित कहिले कोसित हिडिँरहन्थी ।
– तिम्रा बूढा कहाँ हुनुहुन्छ नि ?
– कोरिया ।
–कति वर्ष भो ?
– पाँच ।
–भनेसी कमाइ राम्रो छ । घर पनि बनायौ कि ? साथीहरूले सोधिरहन्थे ।
–बनाएँ नि । यसो आऊ न मेरोतिर । उसले डाक्दै भन्थी । अचेल ऊ पूर्ण शहरीया भैसकेकी थिई ।
नभन्दै एक दिन उसलाई मेडिकलबाट निस्कँदै गर्दा भेटियो र सोधेको त सञ्चै छु रे । मनमा चिसो पस्यो ।
– म भिटामिनको सूई लगाउँछु नि । उसले हाँसेर प्रष्ट्याउन खोजेकी थिई ।
– होइन, अस्ति तिमीलाई पछाडि राखेर हिँडाउने चैं को नि ? मैले त हेल्मेटभित्र राम्ररी ठम्म्याउन सकिनँ र ।
त्यसको जवाफ सजिलै खुलेन ।
निकै वर्षदेखि मेरो नि तौल बढ्न नसकेकाले मलाई नि रहर थियो र सोधेकी नि । कुन भिटामिनको राज रहेछ भनेर पो त ।
भिटामिनको सुई लिन थालेपछि त उसको जीउ मात्र होइन मन पनि फेरिएको रहेछ । उसले निर्धक्कले भनी– अचेल त म यति ढुक्क र आत्मसन्तुष्ट छु । नत्र किन लाग्थ्यो र यसरी जीउ । सायद उसले आफ्नो तौल र सौन्दर्यको राज खोल्दै थिई । मैले खूब सोचिरहेँ ।
प्रकाशित: १० पुस २०७७ ०५:०५ शुक्रबार