कला

मुसाहरूको बस्ती

कविता

 कृष्णबहादुर बुढाथोकी 

 

अनायास आएको भुईचालोले

 मुसाहरूको बस्तीमा हल्ला छ, खलबल छ

साना डुहुरेहरू बिलखबन्दमा छन्

यत्रतत्र सर्वत्र हच्किएर, दौडधुपमा  

अतालिदै आआफ्ना मालिकको खोजीमा व्यस्त

कति डुहुरेहरू निसासिएर गन्तव्य मार्ग थुनिएर छटपटाहटमा छन्

कति डुहुरेहरू अलमलमा परेर,

कता जाने भनी गन्तव्यहीन छन्

ह्वान्द्रे मुसोहरूको एकल साम्राज्य ढल्यो ।

अनिकालको जोहो गरेको कमाइ पुरियो

तुरियो ।  

मंसिरमा किसानको कमाइ रातारात चोर्ने ह्वान्द्रे र डुहुरेहरू

अरू मुसालाई खान्की खुवाएर आफ्नो हुलमा भित्र्याउने दाउमा छन्

भत्किएको पुरानो महल ठड्याई अरूको मेख मार्ने योजना बुन्दैछन्

किसानको कमाइ चोर्न नपाउनेहरू  

आफ्ना डुहुरे अरूतिर जालान् र आफू एक्लो परिएला भन्ने आतुरीमा छन् ।

ह्वान्द्रे मालिकका पछि लागेर पेटपालो गर्नेलाई नपर्नु शोक परेको छ ।  

मुसाहरूको बस्तीमा खैलाबैला छ,

उकुसमुकुस छ

हुन त मुसाहरूले पौरख देखाउन

आफू बसेको धरती छियाछिया बनाएर  

लामा र बेसोमतका छिद्रा बनाए

योजनाविहीन प्वाल खनेर

किसानको उपज आफ्नो भँडारमा ओसारे

तँछाडमछाडको गतिमा गरिएको  

सुरुङे विकासले मुसाहरूलाई शोक– सागरमा

डुबाएको छ ।

चोरिएको अनाजमा कतिबेला कसले अधिकार कायम गर्ने हो  

कतै काला मुसा, सेता मुसा, राता मुसाहरूले हात हाल्लान् कि

अर्को तर्कना छ ।

माटोमा प्वाल बनाउने मुसाहरूको दुनियाँमा

बडेमाका पाषण पत्थरको ओइरो लागेको छ

सुरुङमा थुनिएकाहरू बाहिर निस्कन नपाइएला भन्ने चिन्तामा

बाहिर आएकालाई

बिल्ली राजाको भय

आफ्नै वर्गका न्याउरीले पनि सिध्याउने त्रास

भाग्नका लागि बनाइएका छिद्रामा पत्थरको उपस्थितिले

मुसा साम्राज्यमा न्याउरीको आक्रमण घातक हुन्छ,

कारण न्याउरी, मुसा प्रजाति हो उसका लागि सुरुङ सहज मार्ग हुन्छ  ।

मुसा साम्राज्यमा बिल्ली बादशाहको चर्को उपस्थित छ

काला बिल्ली बादशाह, राता बिल्ली बादशाह, सेता बिल्ली बादशाहको जगजगी छ

सेता राता बिल्ली बादशाह त हब्बेकब्बे आउँछन्

काला बिल्ली बादशाह त चोर दुलाको मुखमै ढुकेर बस्छ

धेरै ह्वान्द्रे र डुहुरेलाई आहारा बनाइसकेको छ

यसको नियमित कर्म नै पहाडी अनकण्टारमा लुकेका मुसाहरूलाई  

समात्नु खेलाउनु र मरणासन्न बनाएर पेट भर्नु हो ।

कालो बादशाह समयनुसार भिन्न रूपमा आउँछ  

कुनाकन्दरा, जल, जमिन, जङ्गल चाहर्छ

कतै नि चयन दिदैन।  

चारो चर्न उसको आदेशविना सम्भव हुँदैन ।

जताततै उहीँ बादसाह  

कविकाल, मुसाहरूले हाँक दिए

राता बिल्ली बादशाहलाई गुहार माग्छ

सैयौ दिन सुरुङमा बसेर चुनौती दिने स्वाभिमानी मुसाहरू निकाल्न ।

सेता बिल्ली बादशाह बलवान् छ

तथापि,  

राता , काला बादशाहले विश्वास गर्दैनन् ।

खटाएर खाने , माया दिएझै गरेर

मुसाहरूको हुल आफ्नोतिर ओसार्ने चेष्टा छ उसको ।

संकटको भुमरीमा फसेका मुसाहरूको बस्तीमा

मुर्दा शान्ति आउन नपाउँदै अर्को विध्वंस निम्तिएको छ

आपस्तमा कुस्ती खेल्ने घरेलु ह्वान्द्रेहरू  

राता, काला, सेता मुसाहरूको शरणमा

लम्पसार नपरी

लापत्ता सुरुङ खुल्दैनन् ।

मित्र वर्गका मुसाको समीप

पुग्न नपाउँदै  

कैयौ ह्वान्द्रेलाई

बिल्ली बादशाहले

कब्जामा राख्ला

कैयौको ईहलीला खतम बनाउला

ह्वान्द्रेहरूको मति नमाझिए

काला राता मुसाहरूले

यिनका सुरुङमा, बस्तीहरूमा साम्राज्य चलाउन

समय नलाग्ला ।

प्रकाशित: १० पुस २०७७ ०४:१५ शुक्रबार

अक्षर