पुष्पा सायरा
बुवाले नयाँ किताब किन्नुभएछ कृष्ण चरित्र । आमाको खाट नेरी गएर पल्टाउँदै पढ्नु हुनुहुँदो रहेछ । जति पढ्यो उत्ति नै आनन्द यी हेर न कृष्णा नच क्लेश भयन्त्यापि न चशोषयति मारुत । यो शरीर मरणशील छ । आत्मा कहाँ मर्छ र ।
यो बानी बुवाको छुटेकै छैन । आमा परलोक भएको एक वर्ष बित्यो तर पनि ।
आमा त्यति पढेलेखेकी हुनुहुन्नथ्यो तर गीता देवी भागवतका केही श्लोक कंठाग्र थिए । दाजुभाइले पढ्न पाए । आफूलाई चै स्कुल पठाउनु भएन बुवाले । आमाको गुनासो यही हुने गर्थ्यो ।
बाहिर हिँडेपछि बुवा ढिलो घर आउनुहुन्थ्यो ।
बुवा घर आउँदा आमा सबै काम सकेर बत्ती बनाउँदै गर्नुहुन्थ्यो । जस्तै भए पनि बुवामाथि आमाले कुनै दिन केही पनि प्रश्न गर्नु भएन । आमाको बानीलाई बुवा जहिलै सम्मान गर्नुहुन्थ्यो ।
एकदिन घरमा एक महात्मा आएका थिए । केही किताब रहेछन् राम्रा लागेर किताब किन्नुभयो । अलिअलि अक्षर फुटाउन थाल्दै निकै पढ्ने हुनुभो । आमाको बानी नै किताब पढ्ने अनि बुझेका कुरा साथीभासंग सुनाउने पो भयो । अरू गफै हुन्न थे आमाका । बिस्तारै बुवाको पनि बानीपर्यो । बुवा रिटायर्ड हुनु भो । अब त दुवैको दिनचर्या नै यस्तै पो भयो ।
पछि गाउँघरका तीर्थ गए संगमा बुवाआमा पनि जानु भो । झन्डै एक महिनाको तीर्थ सकेर घर आएपछि आमा बिरामीपर्नु भो । लामै बेथा लागेपछि आमा रहनुभएन । काम सकेपछि सबै आआफ्ना काममा लागे । केही दिन त बुवाले पनि मन बुझाउनुभयो तर सँधै यही अवस्था रहेन । अलि बेहोसी कुरा गर्न थाल्नु भो । कान्छा छोरा र बुहारी बुवाको सेवा गर्न जागिर छोडेर घरै बसे । खानपिन सबै राम्रै छ र रोग पनि छैन।
अचम्म तर बुवाले कृष्ण चरित्र किताब किन्नु भएछ उनै महात्मा आएका रहेछन् । तर कसैसंग गफ गर्नु हुन्न । फेरि उही आमाको ओछ्यानछेउ बस्नुहुन्छ र एक्लै गफ गरिरहनुहुन्छ । किताब पढ्दै अर्थ लाउन थाल्नुहुन्छ – बुझ्यौ कृष्ण यो आत्मा त अमर छ !
प्रकाशित: २६ मंसिर २०७७ ०४:१९ शुक्रबार